त्यस दिन काठमाडौंमाथिको आकाश त्यस्तै थियो, दिनभरिको रिस पोख्न नपाएको अनुहारजस्तो । एउटा नाट्यघरमा संयुक्त वाचन गरिने दुईजना युवाकविहरुको कविता सुन्न जाने तयारीमा थिएँँ । सुरुवाल उर्फ पाइन्टको इँजार उर्फ बेल्ट कस्दै थिएँ । दिनको ठीक ११ः५६ बजे । हल्लायो, साला यो अराजक गिदी खल्बलिनेगरी । ‘वायु’ चढेको ‘झाँक्री’ भन्दा ठूलो रेक्टरले पो कामेको रहेछु । लाग्यो, साला ! यो अराजक अभियान यहींनेर सकिने भयो अब । एक मन डरले थर्थराउँदै चिच्याउँला झैं गर्यो । तर, यो अराजक खप्परेले हल्लिइरहेको एक तलामाथिको कङ्क्रिटको भुइँमा खुट्टा बजार्दै भन्यो– ‘हल्ट भुइँचालो हल्ट ।’ अर्को बेडमा रहेको भाइ आत्तिँदै कराउन थाल्यो । मेरो खप्परले आदेश दियो, ‘खाटमुनि छिर् केटा, खाटमुनि छिर ।’ उसले त्यसै गर्यो । म यो अराजक खप्परलाई जोगाउन टेबुलमुनि टाउको घुसाउन खोज्दै थिएँ । जनयुद्घताका पड्केको ग्रिनेड झैँ ड्वाङ्ङ आवाज आयो । छेवैको दराज बज्रिएछ भाइ लुकेकै खाटमाथि ।
हत्त न पत्त दराज उठाउँदै भनें– ‘भूकम्प रोकियो, भाग् केटा, बाहिर भाग् ।’ पश्चिम फर्केको झ्यालबाट बाहिर हेरेको त अगाडिको चोकमा शब्दमा व्यक्त गर्न नसकिने... थियो । म पनि त्यही चोकमा पुगें । तर, मेरो यो अराजक गिदीले त्यहाँ बस्नै दिएन । खुरुक्क एक तलामाथि कोठामा उक्लें । एउटा क्यामरा र झोला भिरेर तुरुन्तै बहिर निस्कें र दाँयाबाँया नसोची पूर्व ताकेर पहिलो १५ मिनेटभित्रै सुरु गरें– ‘भूकम्प म्याराथन ।’ म रहेको क्षेत्र काठमाडौं मनपाअन्तर्गत चौमती–शोभाभगवती हो ।
करिब ५ मिनेटको दुरीमा सधैं देख्ने गरेको गाई पाल्ने माटोको घर गर्ल्यामगुर्लुम भत्केको रहेछ । दुई फ्याक चिरिएका रक्ताम्य पैताला बोकेर नातिनी चिच्याइरहेकी थिइन् । घुँडामा लागेको चोट बिर्संदै बुहारीचाहिँ पुरिएका ससुरा’बालाई निकालिदिन हारगुहार गर्दै रहिछन् । उनको गुहार सुन्ने फुर्सद त्यहाँ कसैसँग थिएन । उनलाई साथ दिने भन्दा सबैको ध्यान आफ्नै ज्यान कसरी जोगाउने भन्नेतिरै थियो । मैले पनि सबै मिलेर पुरिएको मान्छेलाई निकालौं, जिउँदै हुनसक्छन् भनें । तर, त्रासको त्यस घडीमा कोही पनि आफ्नो ज्यान जोखिममा राख्न तयार भएनन् । तर, मेरो यो अराजक खप्परले त्यत्तिकै छाडेर जान मानेन । र, एक्लै थालें माटोको गाह्रो खोस्रन ।
परै बसेकाहरु मलाई त्यसरी ‘मूर्ख नबन्न’ आग्रह गर्दै थिए । तर, मैले आफूलाई रोक्न सकिनँ । सानो माटोको घर भएकाले मान्छे जिउँदै हुन सक्छन् भन्ने आशाले मन हतारिइरहेको थियो । एक्लै माटो र इँट्टा खोस्रँदै थिएँ । एक जना अधबैंसे दाइ आफ्नै जिउमा लगएको १० रेक्टरको भूकम्प हल्लाउँदै नजिक आएर सोधे– ‘भाइ ! के भ’को हो त्यहाँ ?’ भनें– ‘दाइ ! यहाँ घर लडेर एकजना बा पुरिएछन्, उनी जिउँदै रहेछन्, आउनोस् न खन्नुपर्यो ।’ ऊ खुट्टा लर्बराउँदै आयो र खोस्रन थाल्यो मसँगै भत्किएको गारो । जढ्याहाप्रति ‘सम्मान’ जागेको मेरो जीवनकै पहिलो घटना थियो त्यो ।
दुई जना मिलेर खोस्र्रन थालेको देखेर बिस्तारै दुई–तीन–चार हुँदै अरु बहादुरहरु थपिन थाले । खन्न थालेको २० मिनेटजतिमा पुरिएको मान्छेको देर्बे हात फेला पर्यो । जब मैले उनको हतमा समातें, उनले हात अफूतिर ताने । जोडले चिच्याएँ, ‘बूढो जिउँदै छ ।’ खुशीले मन गद्गद् भो । झन् छिटछिटो खन्यौं ।
बूढा मान्छेको अनुहार बोराले छोपेको रहेछ । टाउकोपट्टिको माटो निकालिसकेपछि उनी बोल्न थाले । कोल्टे परेको अवस्थामा पुरिएकाले एउटा खुट्टाचाहिँ काठको निदालले थिचेको रहेछ । बिस्तारै निदाल पन्छाएपछि उनलाई सकुशल बाहिर निकाल्यौं । उनी त्यति बोल्न सक्ने अवस्थामा नभएकाले हामीले उनीसँग धेरै कुरा सोधेनौं । उनलाई नजिकैको चौरमा लगेर पुछपाछ पारेरे पानी पिलायौं । त्यतिन्जेलसम्ममा उनका छोरा र आफन्त आइसकेकाले उनीहरुलाई जिम्मा लगाएर झन्डै ५ जना जतिको हाम्रो टोली तुरुन्त अर्को घटनास्थलतर्फ दौडियो ।
‘भूकम्पविरुद्घको पहिलो सफल कार्बाही’ बाट हामी साँच्चै उत्साहित भयौं । मेरा लागि भूकम्पमाथिको त्यो जित ऊर्जा र प्रेरणाको संयुक्त आधार भएको थियो । त्यही आधारमाथि टेकेर निरन्तर उद्घारमा जुट्न र जोखिमविरुद्घ लड्न साहस मिलिरह्यो ।
भूकम्पविरुद्घकोे पहिलो लडाइँमा जुट्दाजुट्दै उत्तिनैखेर बनेको हामी अपरिचितहरुको ‘उद्घार टोली’ अर्को ‘भूकम्प म्याराथन’ मा पश्चिमपट्टि हान्नियो । पहिलो घटनास्थलबाट ४ सय मिटर मात्रैको दुरिमा दुई ठूला पक्की घरहरु ढलेका रहेछन् । एउटा घरमा सप्ताह र अर्को घरमा बेल–विवाह (नेवार समुदायमा कुमारी कन्याहरुको पुरुषसँग बिहे हुनुअगाडि केही दिनको गुफा राखेर बेलसँग विवाह गर्ने प्रचलन छ; जुन बेललाई कन्याले बिहेपछि पनि आफुसँगै सुरक्षित राखिरहन्छिन्) चलिरहेका बखत ज्यानमारा भूकम्पले छोपेको रहेछ । सप्ताह चलिरहेको घरमा कथित भगवानले भूकम्प रोक्न नसक्दा १७ जनाको एउटै चिहान बन्यो भने बेल–विवाह चलिरहेको घरमा पापी बेल (दुलाहा) रिसाउँदा ५ जना निर्दोषहरुले अकालमा ‘काल’ स्वीकार्नुपर्यो ।
हामी पुग्दा सप्ताह चलिरहेको घर ढलेर ढलानले च्यापिएका दुई व्यक्ति ‘बचाऊ–बचाऊ’ भन्दै थिए । हामीले नजिकैको घरमा गल र हम्मर खोज्यौं । बल्लतल्ल एउटा हम्मर मिल्यो । गलको काम त्यही घर भत्किँदा उछिट्टिएको भर्याङमा लगाइएको पाइपजस्ता रडले चलायौं । दुईजना बाहिरै देखिनेगरी च्यापिएका घाइतेहरूलाई निकाल्यौं । अर्का एक जना बिजुलीको काम गर्ने व्यक्तिलाई अलि भित्रबाट जीवितै उद्घार गरी बाहिर निकाल्यौं । ढलान घरभित्र फसेका बाँकी अरुलाई भने हामीले केही गर्न सकेनौं । लगत्तै हामी बेल–विवाह चलिरहँदा ढलेको अर्को घरमा पुग्यौं । त्यहाँ अत्यन्तै कारुणिक दृश्य देखिएको थियो । पीडा भरिएको चीत्कारले नजिकैको स्वयम्भू डाँडो छिचोलिरहेको थियो ।
चार तले ढलानघर भत्किँदा छतको स्ल्याबले कम्मरमुनिको आधा शरीर किचेको र ढाडमाथिको आधा ज्यान चाहिँ कोप्रो परेको स्ल्याबमुनि निकाल्दै छट्पटाइरहेकी एक अधबैंसे दिदीको त्यो हृदयविदारक दृश्य आजसम्म पनि यो अराजक खप्परमा फनफनी नाचिरहेको छ । उनी देब्रे हातले ईशारा गर्दै बचाउन अनुरोध गरिरहेकी थिइन् । उनका ओठ सुकेका थिए । आँखा पिलिक्पिलिक गरिरहेका थिए । अनुहार पूरै पसिनाले भिजेको थियो । भर्खरै पानीबाट पाखामा फालेको माछाले जसरी मुख खोल्ने र बन्द गर्ने गर्दै थिइन् । मैले बोतलबाट पानी पिलाउने कोसिस गरें । ‘नआत्तिनोस्, हामी बचाउँछौं’ भनें । तर, त्यत्रो बढेमानको छत हामी ८–९ जनाले उठाउने कुरा तत्कालै सम्भव थिएन । तत्कालका लागि कोप्रो परेको त्यो छतलाई तल भुइँमा खसेर उनलाई पूरै च्यापिन नदिनु नै उत्तम विकल्प लाग्यो । हामीले त्यसैअनुसार लहरै इँट्टाको चाङ लगायौं ।
एक साथीले नजिकैबाट सुकेको रुखका मुढा ल्याए, त्यसैको ओत राख्ने काम गर्यौं । त्यसपछि भित्र पुरिएकाहरुलाई खोज्ने काम गर्यौँ । च्यापिएकी महिलानजिकै एकजना अन्दाजी वर्ष जतिकी नानी पनि किचिएकी रहिछन् । उनलाई निकालयौं । त्यस घरबाट दुई जनाको शव निकाल्यौँ । त्यतिन्जेलसम्ममा नेपाली सेनाका जवानहरु उद्धारका लागि आइपुगिसकेका थिए । सबै जना मिलेर च्यापिएकी महिलालाई निकाल्यौं र निजी सवारीमा राखेर तुरुन्तै अस्पताल पठायौं ।
त्यसलगत्तै हाम्रो ‘भूकम्प म्याराथन टोली’ सोझियो पूर्वी दिशातर्फ । तेस्रो घटनास्थलबाट करिव ५ सय मिटरजतिको दुरीमा प्रहरी पोस्टनजिकै तीन घर लहरै भास्सिएको ठाउँमा पुग्यौं । तीनैओटा घरका पहिलो तला भुइँतला भएर फसेका रहेछन् ।
हामीले तिनै घरबाट बचेर उम्किन सफल व्यक्तिसँग स्थिति बुझ्ने प्रयास गर्यौं । करिव ९–१० जना फसेको अनुमान गरियो । भासिएको ठाउँमा भित्र पस्ने बाटो बनाउन लाग्यौं । कसो–कसो हामी दुई जना भित्र छिर्यौं र जोडले करायौं । नजिकैको अँध्यारो कुनाबाट कोही कराएको जस्तो आवाज आयो । यताउति हेर्यौँ र फेरि बोलायौं ।
आवाज सुनियो– ‘म जिउँदै छु । मलाई बचाउनोस् ।’ टर्च बालेर हेर्यौँ । अलि पर ढलान कोल्टे परेको भर्याङमुनि एक जना छटपटिरहेको जस्तो देखियो । चारपाउ टेकेर घिस्र्रँदै नजिक पुगें । हातमा चिसो–चिसो अनुभव भयो । ज्वलनशील पदार्थ केही हो कि भन्ने लागेर हातलाई नाकमा पुर्याउँदा त आलो रगतको गन्ध पो आउँछ । नौनारी पूरै गलेको जस्तो भो ।
बाहिरको उज्यालो कतैबाट देखिँदैनथ्यो । माथिबाट अलिकति मात्र ढलान भास्सिए जीवनको अन्त त्यहीं थियो । पछाडि सुल्केर निस्कौंजस्तो लागेको थियो । तर, पीडाले निरन्तर चिच्याइरहेको त्यो ध्वनिले मलाई पछाडि फर्कन दिएन । पछाडि घस्रँदै आइरहेको साथीलाई पनि हिम्मत गर्न आग्रह गरें । झन्डै ३ मिटरजति घिस्रिएपछि भर्याङमुनिको अलि खुलाजस्तो ठाउँमा पुग्यौं ।
त्यहाँ एक जना मान्छे तिघ्रादेखि तलको भाग च्यापिएको र घोप्टिएको अवस्थामा छटपटाइरहेका थिए । उनलाई च्यापेको ढलान उचाल्न खोज्यौं, तर सकेनौं । त्यसपछि बाहिर रहेका केही साथीहरुलाई गलसहित भित्र डाक्यौं । केही घन्टाको प्रयासपछि अन्दाजी २५ वर्र्षजतिको युवालाई बाहिर निकाल्यौं । घुँडासहित तल्लो भाग किच्चिएकाले उनलाई अस्पातल लाने व्यवस्था बाहिर रहेका साथीहरुले मिलाए ।
भित्र रहेको हाम्रो टोलीले आसपासको अँध्यारो चेपतिर टर्च बालेर हेर्न र बोलाउन थाल्यो । भुइँमा रगतको आहाल थियो । हामी सबैजसो रगतमा लतपतिइसकेको थियौं । दायाँपट्टिको चेपमा कपडा देखियो । नजिकै गएर छामेको त मान्छे पुरिएका रहेछन् । ढोकानजिकै ४ जना एकै चिहान भएका रहेछन् । झन्डै ३ घन्टाजति लाग्यो हामीलाई, ती सबैको शव निकाल्न । दु ःखको कुरा, अझै भित्रपट्टि एक जना बालक कराइरहेको आवाज सुन्दासुन्दै पनि हामीले भित्र पसेर ढलान फोर्ने आँट गर्न सकेनौं किनभने आफ्नो ज्यानको माया अलि ज्यादै लाग्दोरहेछ मान्छेलाई !
यत्तिन्जेलसम्ममा रातको झन्डै ८ बजिसकेको थियो । हाम्रो टोलीले ६ जनालाई जीवितै र ७ वटा शव उद्घार गरिसकेको थियो । रात परिसकेकाले हामी त्यहाँबाट गह्रौं मन लिएर फर्कियौं । उद्घारका खास सामग्रीबिनै एउटा नागरिकको तहबाट सबैखाले जोखिम मोलेर गर्न सकिने यत्ति नै हो जस्तो लाग्यो ।
ज्यानमारा भुइँचालोले छोपेको पहिलो १५ मिनेटबाटै सुरु भएको ‘भूकम्प म्याराथन’ मा पहिलो दिनका लागि करिब ८ घन्टापछि ब्रेक लगाइयो । अब भने बल्ल दुख्न थाल्यो घरको सम्झनाले । गाउँमा रहेका आमा–बा र भाइ–बहिनीको चिन्ताले अँठ्याउँन थाल्यो अब । एक धुनले उद्घारमा लागुन्जेलसम्म त्यतातिरको यादले खासै चिमोटेको थिएन । हतारहतार डेरातिर आएँ । म बसेको घरनजिकै रहेको भर्खरै प्लटिङ गरिएको खुला ठाउँ पूरै भरिएछ । आफूसँगै रहेका भाइ–बहिनी खोज्नतिर लागियो । बहिनीले गाउँतिर (मकवानपुर– १, फापरबारीमा) कुनै मानवीय क्षति नभएको खबर सुनाएपछि यो अराजक खप्पर अलि शान्त भयो ।
चार्जिङ लाइट बालेर साढे दुई तलाको घर पूरै छापा मारियो । जगदेखि छतसम्म कहीं–कतै पनि नचर्किएको र नभास्सिएको पाएँ । घरधनीसँग सोध्दा उनले त्यो घर १५ वर्षअगाडि प्रत्यक्षतः आफैं खटेर बनाएको सुनाए । त्यसपछि घरमै बस्ने निर्णयमा पुगियो । भाइ र दुईटी बहिनीहरुलाई ‘आज घरैमा बस्ने’ भनी निर्णय सुनाएँ । सुरुमा उनीहरु तर्सिए । सबै कुरा बुझाएपछि घरमै बस्न राजी भए । बहिनीहरु खाना बनाउन लागे ।
हेर्दाहेर्दै वरपरका खालि जमिन, चौर, चोक, बाटाहरुसम्ममा टेन्ट हुनेले टेन्ट, त्रिपाल हुनेले त्रिपाल, त्रिपाल नहुनेले प्लास्टिक, बोरा आदिले बेरेर बास बनाउन थाले । केही पनि नहुनेहरु यत्तिकै खुला आकाशकै मुनि रात काट्ने तयारीमा जुटे । सबैको मन–मस्तिष्क र अनुहार पूरै डर–त्रास र अन्योलताले भरिएको देखिन्थ्यो । लाग्थ्यो, त्यो साँझ हाँसो, खुशी र उत्साह अब कहिल्यै नफर्किनेगरी सबैबाट बिलय भइसकेको छ । अँध्यारो बढेसँगै सबैको मस्तिष्कमा त्रासदीको अन्धकारले छोप्दै गएको थियो । निरन्तरको पराकम्पनले धेरैमा ‘जीवनको अन्त्य अब यहीं रहेछ’ भन्ने त्रास फैलिँदै गएको प्रस्टै देखिन्थ्योे ।
को धनी, को गरिब ! को शासक, को शासित ! को सामन्ती, को सर्वाहारा ! एकै झट्कामा सबैलाई सडकमा ल्याइदियो ज्यानमारा भुइँचालोले । एक मन त्यो असत्ती हत्यारासित आक्रोशित थियो तर अर्को मन त्यो भूकम्पको ‘साम्यवादी चरित्र’ देखेर एक्लै मुस्कुराउन पनि खोज्थ्यो । करोडौँको महलमा बिलासिताको निन्द्रा घुर्ने, एकै छाकमा गरिबको वर्र्षभरिको व्यञ्जन डकार्ने, ह्विस्की र चुस्कीमा लट्ठिनेहरु कम्तिमा एकै रातका लागि मात्रै किन नहोस्, सडकमा धूलो–मैलो र माटोसित लट्पटिँदै सुतेको दृश्य साँच्चै हेर्नलायक थियो ।
ज्यानमारा भूकम्पलाई चुनौती दिँदै यो अराजक खप्पर राति झन्डै १२ बजेतिर पल्टियो, दिनहुँ सुतिरहेको आफ्नै योछ्यानमा । आँखा अनिँदै थिए भने मन बेचैन । निदाउनुअघिसम्म यी कानहरुमा त्यही बालकको चीत्कार गुञ्जिरह्यो । लाग्छ, म त्यस रात सपनामा समेत धेरै पटक त्यही आवाज सुनेर झस्केँ ।
अन्ततः मलाई यसो भन्न मन लागेको छ–
ए, बदमास भूकम्प !
तिमीले केही पनि ख्याँँस्दैनौ
तिमी जतिसुकै विनाशकारी होऔला
जतिसुकै तागतले झम्टौला
जति ठूलो क्रोधले फाटौला
तर, यो मानव–सभ्यता
यो अस्तित्व–
कहिल्यै झुक्ने छैन तिम्रासामु
असम्भव छ मेटिन मानव–अस्तित्व
सिर्फ एक जना
हो, मात्र एक जना जिउँदो रहँदासम्म
उभिइरहने छ ऊ तिम्रो विपरीत ध्रुवमा
र, जोगाइराख्ने छ आफ्नै सभ्यता ।...
(बाँकी अनुभूति अागामी अंकमा....)
प्रतिकृया लेख्नुहोस्: