नेपालमा केही सातापछि नै बर्खायाम सुरु हुने भएकाले यतिखेर नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका भूगर्भविद् जोखिमपूर्ण क्षेत्रमा अनुसन्धानका लागि गइरहेको जानकारी खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले दिएका छन् । भूकम्पका कारण जमिनमा व्यापक धाँजा फाटेको छ । वर्षामा धाँजा फाटेको जमिनमा पानी छिर्न गई माटोलाई नरम बनाउने र त्यसपछि जाने पहिरोले धनजनको क्षति हुन सक्ने सम्भावनालाई आङ्कलन गर्दै माटो जाँच प्रयोगशालाका प्रमुख सिद्धार्थ शङ्करले सुरक्षित बासस्थानको खोजीमा रहनुपर्ने बताए । भूकम्पपछि गोरखाको बारपाकदेखि दोलखासम्म सानाठूला गरी तीन हजार ५ सय स्थानमा पहिरो गएको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । सरकारले नीतिगतरुपमा पहिरो जोखिमको नक्साङ्कन गरी उच्च, मध्यम र न्यून वर्गीकरण गरेर रोकथामका कार्यक्रम अघि बढाए भूकम्पपछि पहिरोबाट हुने क्षति कम गर्न सकिने विज्ञहरुले बताएका हुन् । सरकारका तीन निकाय क्रमशः खानी तथा भूगर्भ विभाग, भू तथा जलाधार संरक्षण विभाग र जल उत्पन्न प्रकोप नियन्त्रण विभागले भूकम्पपछिको पहिरोका विषयमा काम गरे पनि पहिरोसम्बन्धी नीतिनिर्धारण नभएको विज्ञहरुले बताएका छन् । भूकम्पपछि मुलुकका तीन हजार ५०० स्थानमा सानाठूला पहिरो गएकामा २५० स्थानको पहिरोले जोखिम निम्त्याउन सक्ने विज्ञको अध्ययनबाट देखिएको छ । भूकम्पपछिको पहिरोको विषयमा सरकारी तीन विभागले अध्ययनका साथै कार्यक्रम लैजाने तयारी गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान विपद् अध्ययन केन्द्रका विज्ञ डा वसन्तराज अधिकारी जोखिमको क्षति घटाउन सरकारले छिटो पहिरोसम्बन्धी नीति निर्धारण गर्नुपर्ने बताउँछन् । “जोखिम भएका स्थानका बस्ती जोखिम नभएका स्थानमा सार्ने, बस्ती सार्न नसकिने स्थानमा पहिरोको जोखिम हटाउन रोकथाम आदि कार्यक्रम बनाइनुपर्छ”–डा. अधिकारीले भने । नेपालको एकमात्र विपद् व्यवस्थापनमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरिरहेको इन्जिनियरिङ अध्ययन संस्थानले पहिरोको जोखिम भएका सडकमा स्थलगत अध्ययन गर्दा अरनिको, पासाङ ल्हामु, बिपी, कोदारी, पृथ्वी राजमार्ग तथा गोरखाको बारपाकदेखि लाप्राक, चरिकोटदेखि सिँगटी र काठमाडौँ–हेटौँडा मार्गमा सतही पहिरो गएको प्रारम्भिक अध्ययनबाट देखिएको उनले बताए । भूकम्प नगएका समयमा पनि नेपाल पहिरोको उच्च जोखिममा भएको क्षेत्र हो । कम उमेरको हिमालय र नदी गहिरिएर बगेकाले नेपाल पहिरोको जोखिममा रहेको विज्ञको भनाइ छ । यस वर्ष भूकम्पले हल्लाएकाले बढी पहिरो जान सक्ने अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) का क्षेत्रीय कार्यक्रम व्यवस्थापक डा. अरुणभक्त श्रेष्ठले बताए । “भूउपग्रहबाट लिइएको तस्बिरका आधारमा भूकम्पपछिको पहिरोका विषयमा अमेरिका, क्यानडा, बेलायत, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, चीन, भारत, पाकिस्तान, जापानलगायत देशका पहिरो विज्ञ इसिमोडको सञ्जालमा रही स्वयंसेविका रुपमा नेपाललाई सहयोग गर्ने उद्देश्यले अध्ययन गरिरहेका छन्”–उनले भने । पहिरोका विषयमा राम्रो अध्ययन गरेका अन्तर्राष्ट्रिय सञ्जालका बीचमा छलफल गरेर आएको प्रारम्भिक निष्कर्ष इसिमोडले सरकारलाई बुझाएको छ । निष्कर्षका आधारमा सरकारले बिहीबारबाट बढी प्रभावित सिन्धुपाल्चोक, गोरखा, दोलखा, रसुवा, नुवाकोट र धादिङमा ४० जना विज्ञको समूह अध्ययनका लागि पठाएको छ । भूउपग्रहबाट लिइएका तस्बिरका आधारमा भूकम्पपछि ६ स्थानका पहिरोमा उच्च जोखिम देखिएको छ । त्यसमध्ये एउटा तिब्बतमा पर्ने, अर्को मनाङ जिल्लाको मस्र्याङदी नदीको किनारस्थित पिसाङमा गएको पहिरो नेपालकै उच्च जोखिममा रहेको इसिमोडले जनाएको छ । पछिल्लो समयमा प्राकृतिकरुपमै पिसाङको जोखिम कम हुँदै गएको छ । गोरखा जिल्लास्थित बूढीगण्डकी नदी किनारका प्रोक र लो बजारमा मध्यमस्तरीय जोखिमका दुईवटा पहिरो गएका छन् । मनाङको पिसाङसँगैको लार्ताङ र लाङटाङमा पनि जोखिमकै कोटीका पहिरो गएको इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक श्रेष्ठले बताए । भू तथा जलाधार संरक्षण विभागले विशेष कार्ययोजनासहित पहिरोको कार्यक्रम निर्माण गरेको महानिर्देशक प्रेमनारायण कँडेलले बताए । “रोकथाम र स्थलगत अध्ययन सहितको कार्यक्रम समेटेर विशेष कार्ययोजना ल्याएका छौँ, यो कार्यक्रममा जल उत्पन्न प्रकोप नियन्त्रण विभागसँग पनि सहकार्यका साथ अगाडि बढ्ने नीति लिएका छौँ– महानिर्देशक कँडेलले भने । त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रा.डा. मेघराज धिताल प्रारम्भिक अध्ययन नै नगरी २२ ठाउँका बस्ती सार्नुपर्ने निष्कर्ष दिई जनमानसमा आतङ्क सिर्जना गर्न खोजिएको बताउँछन् । “भूउपग्रहबाट खिचिएको तस्बिरका आधारमा देखिएको धाँजा सबै पहिरो नहुनसक्छ, अहिले नै बस्ती सार्ने निष्कर्ष निकाल्ने तथ्य आएका छैनन्, सामान्य अवस्थालाई बढाइचढाइ गरेर मानवीय संवेदनाका समयमा थप चिन्ता फैल्याइनु हुन्न”– उनले भने ।
प्रतिकृया लेख्नुहोस्: