भूकम्पपछि उजाडिएको तामाङ बस्तीमा मनकारीले यसरी गरे सहयोग
जेष्ठ ११ गते, २०७२ सोमवार 25th May, 2015 Mon०९:०६:३३ मा प्रकाशित
छापगाउँ, (सिन्धुपाल्चोक), बारीमा मकै छरिरहेकै बेला एक्कासि भुइँचालो आयो । हतारिँदै घर पुगे नारायण तामाङ । विडम्बना उनको मात्रै हैन टोलका सबै घर भत्किएको रहेछ । घरले च्यापिएर नारायणका आमा, ठूली आमा र श्रीमतीको ज्यान गइसकेको थियो ।
“सोच्दै नसोचेको घटना भयो, घर मात्रै भत्केन परिवार नै उजाड भयो”–नारायणले भने । वैशाख १२ को ७.६ रिक्टर स्केलको भुइँचालोले देशका अत्यधिक प्रभावित १४ मध्येको एक जिल्ला सिन्धुपाल्चोक साँगाचोक गाविस वडा नम्बर ४ छापगाउँका नारायणले अझै राम्रोसँग बातचित गर्न सकेका छैनन् । “घरमा भात पकाउने मान्छे पनि भएन, मर्ने मरेर गइहाल्यो बाँच्नेलाई कति पीडा कति पीडा”–नारायणले भने ।
नारायणको घरसँगै जोडिएको अर्को घरमा अनिसयोञ्जन तामाङकी वृद्ध हजुरआमा र दिदीको ज्यान गयो । हजुरआमालाई बचाउन जाँदा दिदीको ज्यान गएको अनिसले बताए । “एकै झड्कामा गाउँ नै सखाप भयो, एउटै घर ठाँडो रहेन”–गाउँमा च्याङ्वा भनेर चिनिने अनिसले भने ।
सामुदायिक भवनमा छलफल गर्ने तयारीमै रहेकी कुमारी तामाङले घरभित्र जम्मा भएका चारपाँचजना दिदीबहिनीसँगै लौ भुइँचालो आयो भन्दै बाहिर भागेर ज्यान बचाएको सुनाइन् । “घरभित्र पुरिएका भाँडाकुँडा, अन्नपात र अरू सामान निकाल्दैछौँ”–आइतबार श्रीमान्सँगै ढुङ्गामाटो पन्छाउँदै उनले भनिन् ।
राजधानी काठमाडौँबाट ६५ किमी पूर्व साँगाचोकबाट तीन किलोमिटर कच्ची बाटो पार गरेपछि पुगिने यहाँका प्रायः सबै घर तामाङ जातिको छ । छापगाउँका घाङडोल, कोलगाउँ र मेलदीम बस्तीका ५८ मध्ये मात्र एउटा आरसिसी घर ठडिएको छ । अरू सबै ध्वस्त भएका छन् । झन्डै ३५० मानिस आवादीको छापगाउँमा भूकम्पको पहिलो झड्काले तीन पुरुषसहित आठको ज्यान लियो ।
टुकीसङ्घ सुनकोसीले २०५८ सालमा बनाएको ४५ जना पढ्ने जनकल्याण प्राथमिक विद्यालयको भवन पनि चकनाचुर भयो । गाविसका दुई हजार ७२३ घरमध्ये प्रायः सबै चर्के भत्के । १५८ को ज्यान गयो । केही घर जोगिए ।
छापगाउँको पिप्ले सामुदायिक वन छेउमा भुइँचालोले जमिनमा ठूलो धाँजा परेको छ । ठाउँठाउँ चिरा परेको छ । “गाउँको ठाउँठाउँमा चिरा परेको छ, बस्न हुने हो कि नहुने कुनै भूगर्भविद् आएका छैनन्, पहिरो जाने डर छ”–पिप्ले सामुदायिक वनका पूर्वअध्यक्ष पूर्णबहादुर तामाङ भन्छन् ।
उजाड बनेको यो गाउँका मानिसहरुको मुख्य खेती मकै र बदाम हो । भुइँचालो गएको महिनादिन नबित्दै गाउँका मानिसले सिकर्मी, डकर्मी गर्नेजस्ता सीप भएकाले पुराना टिन, जस्तापाता खोज्दै बारीका कान्लाको उपयोगसमेत गर्दै बस्नलाई अस्थायी टहरो बनाएका छन् । तर हावाहुरीले पानी पस्ने र भल बग्ने हो कि भन्ने डर स्थानीयवासीमा रहेको छ । सरकारी राहत र सहयोग यहाँ पुग्न सकेको छैनभन्दा हुन्छ ।
जाम जाम नमस्ते नामक संस्थाका राजेश लामा तामाङले आइतबार ५८ घरका ३५० जनालाई चामल, दाल, तेल, नुन, मस्यौरालगायत एक लाख ११ हजार रुपैयाँबराबरको सामग्री गाउँमा वितरण गरे । नर्वेबाट आएका मनकारी जितबहादुर लामा तामाङले नगद सहयोग पु¥याउनुका साथै गाउँमै पुगेर सामान वितरण गरे । छेवैको काभ्रे गाउँमा पनि केही खाद्यान्न उपलब्ध गराइयो । “गाउँ नै तहसनहस भएको रहेछ, दुखैदुःखमा बसेका जनतालाई केवल सहानुभूति मात्र दर्शाउन सकियो”–राजेश र जितबहादुरले आफना भावना व्यक्त गरे ।
चार महिनाअघि काभ्रे तिमाल गाउँका नेमा तामाङको ढाड भाँच्चिदा उपचार गर्न तीन लाख ५० हजार रुपैयाँ दिएर सुरु भएको सो संस्थाले अहिले भूकम्पपीडितलाई सहयोग गरेको छ । यसमा नेपालमा साहसिक खेल क्यनोनिङ पानीको झरनामा डोरी बाँधेर झर्ने साहसिक खेलका प्रसिद्ध खेलाडी एवम् हिमाल आरोहण र पदयात्रा पथप्रदर्शनमा कहलिएका राजेश लामालाई फ्रान्समा क्याम्पिङ नमस्ते नामक संस्था चलाएकी सेलिमेन्सी लेभरग्नेले आर्थिक सहयोग गरेका छन् ।
लेभरग्नेले त्यहाँबाट भूकम्पपीडितका लागि चन्दा सङ्कलन गरेर पठाएको र अन्यत्रबाट पाएको सहयोग नेपालमा राजेशले संयोजन गर्दै पीडितसम्म पु¥याउने काम गरिरहेका छन् । सिन्धुपाल्चोककै कुभिण्डेमा जाम जाम नमस्तेले ६१ घरका भूकम्पपीडित परिवारलाई खाद्यान्न, त्रिपालसहित एक लाख ८९ हजार रुपैयाँको राहत वितरण गरेको सो कार्यमा सक्रिय अमर लामा दोङले जानकारी दिए ।
जाम जाम नमस्तेले अन्य भूकम्पपीडितका लागि पनि सहयोग गर्ने तयारी गरेको छ । “अहिले हामी भूकम्पपीडितलाई बढी सहयोग गर्ने सोचअनुरुप सहयोग जुटाउँदैछौँ, देशलाई दुख्दा हामीले अलिकति भए पनि मलहम लगाउन सकियो भने त्यो पनि धेरै ठूलो कुरो हुँदोरहेछ”–राजेशले भने ।
रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: