भूकम्पबाट र त्यसपछि गएको शक्तिशाली पराकम्पले गाउँमा पहिरो र धाँजा फाट्न थालेपछि उनीहरु काठमाडौँका बौद्ध, जोरपाटी, थली, जगडोललगायत क्षेत्रमा बसाइँ सरेका हुन् ।
फुल्पिङकट्टी गाविस– ४ की पशुपति सुनार भन्छिन् –\'गाउँ भीरमा छ, चारैतिरबाट पहिरो आइरहन्छ, गाउँतल भोटेकोसी भएकाले वर्षातमा बस्न नसक्ने स्थिति भएकाले काठमाडौँ बसाइँ सर्नुपर्यो, बस्नका लागि सरकारले उपयुक्त स्थानको व्यवस्था गरे सिन्धुपाल्चोकमै गएर काम गरेर बस्ने थिएँ ।\'सोही गाउँकी चन्द्र पौडेलको व्यथा पनि उस्तै छ– \'गाउँमा कुटो–कोदालो गरेर जीविकोपार्जन गर्दै आएका थियौँ, आफ्नो घर थियो, जस्तो भए पनि खान र लाउन पाएका थियौँ, यहाँ आएपछि खान र बस्नको ठेगान छैन, यहाँ खेतमा आएर बसेका छौँ, राति भएपछि भ्यागुता कराएर हैरान हुन्छ, बेलाबेलामा सर्प आएर सातो लाने गरेको छ ।\'
फुल्पिङकट्टीकै डोल्मा शेर्पा भूकम्पले घरबारविहीन बनाएपछि काठमाडौँमा आएर बसेको बताउँदै अहिलेकाे बसाइ साह्रै पीडादायी भएको बताउँछिन् । उनले भनिन्– \'महिलाको पीडा कसले बुझ्छ ? कयौँ महिला गर्भवती छन्, कयौँ सुत्केरी छन्, कयौँ बिरामी छन्, कयौँकाे सातो भूकम्पले लगेको छ । यस्तो अवस्थामा पालमुनि बस्दा साह्रै गाह्रो भएको छ ।\'
भूकम्पपीडित क्षेत्रका कयौँ विद्यालय जेठ १८ गतेदेखि सुरु भए पनि पालमुनि बस्ने बालबालिका भने शिक्षाकाे अवसरबाट वञ्चित हुन पुगेकाले यसबारे सरकारले छिट्टै ध्यान दिनु आवश्यक भएको फुल्पिङकट्टीवासी बताउँछन् ।
सिन्धुपाल्चोकबाट काठमाडौँ बसाइँ सरेर आएका भूकम्पपीडितलाई भेट्न सोमबार पुगेका एमाले नेता माधवकुमार नेपालले भने– \'भूकम्पपीडित क्षेत्रमा नयाँ योजना बनाएर अगाडि बढ्नुपर्छ, साथै भूगर्वविद्लाई त्यस क्षेत्रको अध्ययन गर्न छिट्टै खटाएर सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्छ ।\'
एमालेका पोलिटब्युरो सदस्य तथा त्यस क्षेत्रका नेता अरुण नेपालले जिल्लाका फुल्पिङकट्टी, गाती, मार्मिङ, लिस्तीलगायतको क्षेत्रमा भूकम्पले बस्नु नहुने अवस्था पैदा गरेकाले काठमाडौँ आएका बासिन्दालाई बस्नका लागि उचित बासको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए ।
विस्थापित भई काठमाडौँ आउनेमा फुल्पिङकट्टी, गाती, मार्मिङ, लिस्तीलगायत गाविसका २ सय ५० घरपरिवारका १ हजारभन्दा बढी मानिस छन् । (रासस)
प्रतिकृया लेख्नुहोस्: