आषाढ़ १ गते, २०७२ मगलवार 16th June, 2015 Tue१३:५६:५३ मा प्रकाशित
१ असार, काठमाडौं । दलहरुबीच हालै भएको सोह्रबुँदे सहमतिपछि छिट्टै नयाँ संविधान बन्ने परिस्थिति देखिँदै छ । नयाँ संविधानको घोषणासँगै राष्ट्रपति, सभामुख, प्रधानमन्त्रीलगायत राजकीय निकायका सबै मुख्य पदहरु खालि हुँदैछन् । झन्डै ८ वर्ष राष्ट्रपतिको पद सम्हालेका रामवरण यादवको बहिर्गमनसँगै गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्ने सौभाग्य कसको थाप्लोमा लेखिएको होला भनेर यतिबेला सर्वत्र जिज्ञासा, चासो र चर्चा व्यापक छ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यसअघि नै पटकपटक नयाँ संविधान घोषणालगत्तै आफूले राष्ट्रपति पद त्याग्ने वचनबद्धता जाहेर गरिसकेका छन् । उसो त सुशील कोइराला नेतृत्वको वर्तमान सरकार गठन गर्ने सन्दर्भमा गतवर्ष कांग्रेस–एमालेबीच भएको सहमतिमा पनि नयाँ संविधान घोषणासँगै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र प्रधानमन्त्री सबै पदको नयाँ निर्वाचन गराउने कुरा उल्लेख छ ।
त्यस्तै, हालै कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका संयोजकबीच भएको १६ बुँदे सहमतिले समेत यसै विषयलाई केन्द्रमा राखेको कुरा स्पष्ट नै छ । यसरी हेर्दा सम्भवतः अबको १ महिना बित्दानबित्दै अर्थात (साउनको पहिलो साता) अथवा ढिलै भएछ भने पनि ४ महिनाभित्र (कात्तिकको पहिलो साताभित्र) नेपालमा राष्ट्रपतिको पद खालि हुने पक्कापक्कीजस्तै देखिएको छ ।
को–को हुन् राष्ट्रपतिका उम्मेदवार र चर्चाका पात्र ?
दोस्रो राष्ट्रपति चयनका सन्दर्भमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सबैतिरबाट निकै बढी चर्चामा ल्याइएको पाइन्छ । ०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनअघि एकीकृत नेकपा (माओवादी) ले आफ्ना अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिका उम्मेदवार’ भनेर निर्णय गरी सार्वजनिक घोषणा नै गरेको हुनाले प्रचण्डलाई सधैंभरि राष्ट्रपति पदका आकांक्षी ठानेर प्रचार गरिनु अनौठो कुरा होइन । त्यतिबेलासम्मको सन्दर्भमा कांग्रेस–एमाले गणतन्त्रको पक्षमा नउभिई राजतन्त्रलाई नै बलियो पार्न लागिपर्ने सम्भावना प्रबल रुपमा कायमै थियो ।
त्यसकारण कुनै पनि हालतमा गणतन्त्र स्थापना गरिछाड्ने उद्देश्यका साथ मुलुकको सर्वाधिक शक्तिशाली एवम् जनताले सबैभन्दा बढी आशा र भरोशा गरेको माओवादी शक्तिले आफ्ना अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको थियो, जुन कुरा समयको माग नै थियो भन्ने कुरा यतिबेलाका घटनाक्रमले स्पष्ट पारेका छन् । अर्कातिर त्यतिबेलाको एमाओवादी वा अहिलेका सबै माओवादी घटकहरुको स्ष्ट एजेन्डा कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुप स्थापना गर्नु हो । त्यसरी कार्यकारी राष्ट्रपति चयन गर्नुपर्ने अवस्थामा एमाओवादीले त्यो पदमा अध्यक्ष प्रचण्डलाई नै पठाउने कुरा पनि बिल्कुलै स्वाभाविक हुन्थ्यो ।
तर, अहिलेको सन्दर्भ फरक छ । राजतन्त्रको समुल उन्मूलन भई गणतन्त्र संस्थागत भइसकेको छ । अन्तरिम संविधानअनुसार या अब बन्ने भनिएको नयाँ संविधानअनुसार पनि नेपालमा कार्यकारी नभई संवैधानिक राष्ट्रपतिको पद खडा भएको छ । राजतन्त्र पुनरुत्थानको सम्भावना नभएको र राष्ट्रपतिको पद कार्यकारी नभई संवैधानिक मात्रै भएको सन्दर्भमा एमाओवादीजस्तो प्रभावशाली राष्ट्रिय राजनीतिक दलका अध्यक्ष प्रचण्ड, जो उमेरले पनि अझै केही दशक राजनीतिको कार्यकारी कमान्ड सम्हाल्ने स्थितिमा छन्, उनी पार्टी अध्यक्षको भूमिका मात्र होइन, सदस्यता समेत त्यागेर त्यसखाले ‘सेरेमोनियल’ या संवैधानिक राष्ट्रपति बन्न जाने कुराको कल्पना गर्न सकिँदैन । र, यो कुरा प्रचण्ड स्वयमले समेत बारम्बार स्पष्ट पार्दै आइरहेकै छन् । त्यसैले प्रचण्ड नेपालको दोस्रो राष्ट्रपतिका उम्मेदवार होइनन् र हुँदैनन् ।
संविधानसभाको दोस्रो निर्वाचनका बेला अघिल्लो संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङलाई नेपालका दोस्रो राष्ट्रपतिको उम्मेदवारका रुपमा व्यापक प्रचार गरिएको थियो । तर, उनी दोस्रो पटक समेत संविधानसभाका अध्यक्ष र संसदका सभामुख भइसके । नयाँ संविधानको घोषणासँगै उनी त्यो पदबाट समेत मुक्त हुनेछन् तर उनका निम्ति यसपटकका लागि भने राष्ट्रपतिको उम्मेदवार बन्ने अवसर प्राप्त नहुने निश्चित छ ।
एमालेको नवौं महाधिवेशनका सन्दर्भमा खड्गप्रसाद ओली र माधव नेपालबीच तीव्र प्रतिस्पर्धा हुँदा झलनाथ खनाललाई आफूतिर तान्न वा ‘न्युट्रल’ राख्नका लागि ओली पक्षले खनाललाई भावी राष्ट्रपतिको उम्मेदवार भन्दै व्यापक रुपमा प्रचार गराएको थियो । त्यसैगरी एमालेका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल प्रथम राष्ट्रपतिको चुनावताकादेखि नै व्यग्रताका साथ राष्ट्रपति बन्नका निम्ति लालयित छन् । यद्यपि पार्टीभित्र र बाहिरको माहोलले यतिबेला उनलाई त्यो अवसर प्रदान गर्ने सम्भावना देखिँदैन ।
यतिबेला संविधानको दोस्रो ठूलो दलका हैसियतले, गतवर्ष सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा कांग्रेस–एमालेबीच भएको सम्झौताका कारणले र भर्खरै ४ दलबीच भएको १६ बुँदे सम्झौता समेतको आधारमा अब खड्गप्रसाद ओली प्रधानमन्त्रीका उम्मेदवार बन्दैछन् । एमालेकै अध्यक्ष प्रधानमन्त्रीका उम्मेदवार भइसकेपछि झलनाथ खनाल वा माधवकुमार नेपालजस्ता सोही पार्टीका कुनै नेता राष्ट्रपतिको उम्मेदवार बन्न नमिल्ने र अरुले पनि नमान्ने कुरा स्पष्टै छ । यसर्थ, यसपटक राष्ट्रपति पदका लागि एमालेबाट कुनै उम्मेदवार नहुने निश्चित छ ।
तत्काल संविधान बने आफूले प्रधानमन्त्री पद त्याग्नुपर्ने पीडाबाट सुशील कोइराला पीडित छन् भने आठ वर्ष अघिदेखि खाईपाई आएको आफ्नो राष्ट्रप्रमुखको पद गुम्ने त्रासमा राष्ट्रपति यादव विक्षिप्त छन् । विभिन्न सन्दर्भमा हालै आएका उनीहरुका अभिव्यक्तिले उनीहरुको यो ‘दुःख’ छर्लङ्ग पारिरहेकै छ । अझ संविधान बन्नेबित्तिकै आफ्नो प्रधानमन्त्री पद र पार्टीबाट प्रतिनिधित्व भएको राष्ट्रपति पद समेत गुम्ने भएपछि पाइने चाहिँ के हो त भनेर प्रधानमन्त्री सुशील कोइरालाले १६ बुँदे सहमति बन्नुअघि ठूलै ‘लफडा’ मच्चाएको र ‘बार्गेनिङ’ गरेको कुरा प्रकाशमा आइसकेको छ । र, १६ बुँदे सहमतिको पूर्ण कार्यान्वयन भई संविधान जारी हुने र संविधानसभाभित्रका सबैको समुचित प्रतिष्ठा कायम रहनेगरी राष्ट्रिय सरकार बन्ने स्थिति आएमा सुशील कोइरालालाई नै राष्ट्रपति बनाइने ‘भद्र सहमति’ भएपछि मात्रै १६ बुँदे सहमतिमा हस्ताक्षर सम्भव भएको कुरा छर्लङ्ग भइसकेको छ ।
यसरी हेर्दा वर्तमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला नै गणतन्त्र नेपालका दोस्रो राष्ट्रपतिका उम्मेदवार हुन् । र, राजनीतिक रुपमा कुनै पक्षबाट ‘बेइमानी’ भएन भने सुशील कोइराला नै बन्दैछन् नेपालका दोस्रो राष्ट्रपति ।
तर, यी कुरा राजनीतिक हुन् र यो राष्ट्र नेपाल हो । कुनै काम फत्ते भईनसकुन्जेल यहाँ क्षणभरमै जे पनि बदलिन र नयाँ सन्दर्भ देखापर्न सक्दछ । प्रथम राष्ट्रपति चयन गर्ने सन्दर्भका घटनाक्रम सम्झने हो भने ज–जसका बीच जे–जस्ता सहमति भए तापनि अन्त्यमा आएर फरक नतिजा निस्कन सक्छ भन्ने कुरा स्पष्टै देखिन्छ ।
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति को बन्ने भन्नेबारे अनेकौं अड्कलबाजी, तानातान र हानाथापपछि पहिले कहिल्यै चर्चामा नआएका कांग्रेसका तत्कालीन महामन्त्री डा. रामवरण यादव राष्ट्रपतिको उम्मेदवार बन्न पुगे । उनी उम्मेदवार बन्दासम्मको राजनीतिक परिवेश र दलहरुबीचको समीकरण हेर्दा समेत डा. यादव राष्ट्रपति बन्ने सम्भावना अत्यन्तै क्षीण थियो । राष्ट्रपतीय निर्वाचनको घडीसम्म पुग्दा त्यसबेला तेस्रो ठूलो राजनीतिक दलका रुपमा रहेको एमाले र मधेशवादी गुटहरु एमाओवादीसँगको पूर्वसहमति तोडेर एक्कासि कांग्रेस उम्मेदवारको पक्षमा उभिन पुगे । र, अनपेक्षित उम्मेदवार डा. रामवरण यादव गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बन्न पुगे ।
यसपटक पनि त्यस्ता ‘खेल’ नहोलान् भन्न सकिँदैन । र, त्यस्ता ‘अनपेक्षित खेल’ भएनन् भने छिटोमा साउनभित्र र ढिलोमा हिउँद सुरु हुँदासम्ममा सुशील कोइराला नै नेपालका दोस्रो राष्ट्रपति भइसक्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: