“सुरुमा मजदुर थिएँ, अहिले मालिक भएको छु” उनले भने । उनी वि.सं. २०४६ मा रौतहटबाट काम खोज्दै चितवन छिरेका हुन् । खेतबारीमा काम गर्दागर्दै उनले एक–दुई कट्ठा जग्गा भाडामा लिएर तरकारी लगाउन थाले । त्यसपछि बचेको पैसाले भाडाको जग्गा बढाउँदै गएपछि एक्लैले १० बिगाहाको तरकारी खेती गर्न सक्ने बनेको उनी बताउँछन् । उनले झैं आफ्नै तरकारी खेतीबाट नाम र दाम दुबै कमाएका अर्का किसान चन्द्रबहादुर अधिकारी आफू मात्र होइन, गाउँका अरु किसानलाई पनि खेतीमा सघाउँछन् । फूलबारी क्षेत्रमा उनले गरेको प्राङ्गारिक तरकारी खेती हेर्न स्वदेशका विभिन्न क्षेत्रबाट किसान आउने गर्छन् । “गाउँका २ सयभन्दा बढी किसानलाई सहकारीमा आबद्ध गराएर खेती गरिरहेको छु” उनले भने । सहकारीले लाखाैंको कारोबार गर्छ । मल, बीउ र तरकारी तथा अन्न उत्पादनमा कहलिएका उनले थुप्रै सम्मान र पुरस्कार पनि पाइसकेका छन् । चितवनको पश्चिमी भेग अहिले तरकारी खेतीका लागि फस्टाउँदै गरेको क्षेत्र हो । यहाँका किसान मौसमी–बेमौसमी तरकारी खेती गरेर आफू मात्र होइन, अरुको परिवारलाई पनि आम्दानीको बाटो देखाउने गर्छन् । विदेश जान लागेका युवा, विदेश गएर फर्किएका र नितान्त बेरोजगार रहेका युवालाई लक्षित गरेर नेपाल सरकारले चलाइरहेको अनुदान कार्यक्रममा उनीहरु पनि सहभागी छन् । वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेका अनुसार सरकारले मध्यपहाडका नौ तथा तराईका १६ जिल्लामा यो कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमअन्तर्गत यहाँ ४७ बिगाहा क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । जिल्लामा ६ हजार २ सय हेक्टरमा तरकारी खेती हुने गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: