कमरेड माओत्सेतुङ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष र विश्व सर्वहारा वर्गका महान नेता हुन् । कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षको उमेरमा भएको थियो । सन् १९२१ जुलाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो । माओ पनि चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापक सदस्य थिए ।
कमरेड माओ दीर्घकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुन् । उनले चिनियाँ कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूर्ण योगदान गरेका छन् । माओका योगदानहरुलाई विश्वका कम्युनिष्टहरुले माओवादका रुपमा संश्लेषण गर्दै आएका छन् ।
माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत र श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गरे, त्यसले माक्र्सवाद–लेनिनवादको ज्ञानभण्डारमा महत्वपूर्ण योगदान पुर्यायो । यस लेखमा माओका ती सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
कमरेड माओ माओवादका प्रवर्तक र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुन् । माक्र्सवाद गतिशील सिद्धान्त हो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण नै माओवाद हो । माओवाद कमरेड माओले प्रतिपादन गरेको सिद्धान्त हो । सामन्तवादी र साम्राज्यवादी शोषणको दोहोरो शोषण र उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खासगरि सन् १९५३ मा मृत्युपश्चात जसरी सन् १९५६ मा खु्रश्चोभी आधुनिक संशोधनवादको जन्मसँगै रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोभी आधुनिक संशोधनवादका विरुद्धको भीषण लडाई लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेश्रो, नयाँ र गुणात्मक उचाइँमा पुर्याउने काम भयो । यो नै माओको सबैभन्दा ठूलो र सार्वभौम योगदान थियो ।
यसरी विश्व सर्वहारा वर्गको पथप्रदर्शक र मार्गदर्शनको रुपमा रहेको माक्र्सवाद–लेनिनवादलाई माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई सर्वप्रथम पेरुभियाली कम्युनिष्ट पार्टी (साइनिङपाथ) सहित अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन (रिम) र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरूले संश्लेषण गरेका थिए । त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए ।
वर्ग संघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको रुपमा माक्र्सवादको अनुसन्धान हुनपुग्यो । यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि थियो । जीवनभर अनवरत संघर्ष र महान प्रतिभाका परिचयका साथ कार्ल माक्र्सद्वारा उद्घाटित माक्र्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख अंग रहेको कुरा पनि हाम्रा सामु सर्वविदितै छ । स्वयं एउटा विज्ञान भएकाले माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
लेनिन (सन् १८७०–१९२४) ले माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पुर्याउने ऐतिहासिक कार्यभार पूरा गरे । आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ, जुन विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बनेको छ । यो नै माओको एउटा महत्वपूर्ण र सार्वभौम योगदान हो विश्व सर्वहारा क्रान्तिका लागि । कमरेड माओले दर्शन, माक्र्सवादी अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा गरेका योगदानलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
दर्शनमा योगदान :
द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रुपमा अन्तरविरोधको नियम अर्थात् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रुपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको नियमको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणको द्वन्द्ववादको बुझाइको विकासलाई नयाँ उचाइमा उठाएको छ । क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका यसले स्वतः स्पष्ट पारिदिएको छ । विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या । एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध, व्याख्या र प्रयोग पार्ने माओले गरे ।
संशोधनवादका विरुद्ध सङ्घर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा एक दुइमा विभाजन हुन्छ भन्ने सम्बन्धमा माओद्वारा गरिएको व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरूको हातमा अभेद्य धारिलो हतियार प्राप्त भएको छ । फेडरिक एंगेल्सले द्वन्द्ववादका तीनवटा मूल नियमहरूको व्याख्या गरेका छन् । विपरित तत्वको एकत्व, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को र निषेधको निषेधको नियम । तर, यसमा माओले तीमध्ये दुईवटा मूल नियमहरूलाई अस्वीकार गरेका छन् र विपरितहरूको एकत्व चाहिँ द्वन्द्ववादको आधारभूत नियम हो । गुणको परिणाममा रुपान्तरण र परिणामको गुणमा रुपान्तरण भन्ने कुरा गुण र परिणाम जस्ता विपरित तत्वहरूको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन ।
गुणको परिणाममा रुपान्तरण र परिणामको गुणमा, निषेधको निषेध र विपरित तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रुपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको त विपरित तत्वहरूको एकता हो । अतः गुणको परिणाम र परिणामको गुणमा रुपान्तरका भन्ने कुरा गुण र परिणामजस्ता विपरित तत्वहरूको एकत्व मात्रै हो । तसर्थ निषेधको निषेध हुँदैन भन्ने व्याख्या माओले गरेका छन् । एकता, सङ्घर्ष र रुपान्तरणको नियमलाई मात्र माओले द्वन्द्ववादका मूल नियम मानेका छन् । दर्शनको जन्म संघर्षबाट हुन्छ, त्यसैले माक्र्सवादी दर्शन संघर्षको दर्शन हो । ठूलो माछाले सानो खान्छ भन्ने मान्यता माओको रहेको छ ।
ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रुपान्तरणको दुई छलाङको सिद्धान्तको रुपमा माओद्वारा विकास र व्याख्या राम्ररी भएको छ । साथै माओले वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय ग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा गर्नु भएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद छ ।
आधार र उपरिसंरचनाको आपसी सम्बन्ध बारे अघिभूतवादी र एकलकाटे दृष्टिकोण अपनाई ‘उत्पादनको शक्तिको सिद्धान्त’ र ‘अर्थवाद’तीर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाइँमाथि प्रहार गर्दै खास खास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको माओद्वारा गरिएको व्याख्याले पूँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ । दर्शनलाई पुस्तकालय, दार्शनिकहरुले अध्ययन र कोठे चिन्तनबाट निकालेर आम जनतासम्म पुर्याई एउटा अजय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसका विधिबारे क माओले गरेको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत बनाएको छ ।
राजनीतिक अर्थशास्त्रमा योगदान
अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलूकको आर्थिक संरचनाबारे माओले मौलिक व्याख्या गरेका छन् । नोकरशाही पूँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्वपूर्ण खोजी हो । सामन्तवादसँग साँठगाँठ गरी जनतालाई लुट्ने एकाधिकार पूँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरूमा क्रान्तिका निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंश गरी उनीहरूको सम्पति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्ष माओले निकालेका छन् ।
नयाँ जनवादी क्रान्तिका सन्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंश गर्ने, एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवं घरेलु आर्थिक नियमहरूलाई कब्जा, जनजीवनलाई नियन्त्रण गरी पूँजीलाई सीमित, नियन्त्रित र निर्देशित गर्ने अर्थनीतिहरूको वैज्ञानिकता जीवनद्वारा प्रमाणित भइसकेका छन् ।
समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त र सोभियत संघका अनुभवहरूको आलोचनात्मक अध्ययन माओको अर्को मौलिक पक्ष हो । सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमी वृद्धि गरेर नै समाजवादी अर्थ व्यवस्थालाई विकास गर्न सकिन्छ भनी “क्रान्तिलाई पक्रेर उत्पादन बढाउ”, तथा लाल र निपूण’को नीति अघि सारे । उपयुक्त तथ्यहरूले माक्र्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको योगदानको उचाइँ बुझ्न सकिन्छ ।
वैज्ञानिक समाजमा योगदान
उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा माओको योगदान ऐतिहासिक छ । दीर्घकालिन जनयुद्धको कार्यनीति, छापामार युद्ध, आधार इलाकाहरूको निर्माण, गाउँदेखि शहर घेर्ने रणनीतिक लक्ष्य निर्धारणमा माओको महत्वपूर्ण योगदान रहेको छ । सन् १९३८ मा माओद्वारा अगाडि सारिएको जनयुद्धको कार्यदिशा र सन् १९४० मा नौलो जनवादसम्बन्धी कार्यक्रम समाजवादको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुन् । जनयुद्धका ३ चरणबारे स्पष्ट पार्दै माओले रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीति प्रत्याक्रमणको संश्लेषण गरेका छन् ।
साम्राज्यवादी युगको वर्गसंघर्षको अनुभवको आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त “थ्यौरी अफ वार”को विकासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियार मिल्यो । राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको संश्लेषणले सत्ता प्राप्तिमा बलप्रयोगको भूमिकालाई उच्च महत्व दिएको छ । माओले आफ्नै कार्यकालमा समाजवादी क्रान्तिको मोडेल र चरित्रबारे महान् बहस चलाए । सोभियत कम्युनिष्ट पार्टीसँग माओले गरेको वैचारिक बहस माक्र्सवाद समाजशास्त्रका विद्यार्थीका लागि निकै महत्वपूर्ण छ ।
‘समाजवादमा पनि वर्गसंघर्ष जारी रहन्छ, सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राखेर मात्र समाजवादको रक्षा गर्न सकिन्छ ।’ माओको यो निष्कर्ष समाजवादका क्षेत्रमा निकै गहन छ । सन् १९६६ देखि माओद्वारा सर्वहारावर्गको नेतृत्वमा चालिएको महान सर्वहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग र सन् १९७६ मा भएको प्रतिक्रान्ति विश्व सर्वहाराका लागि ऐतिहासिक मार्गनिर्देशन र शिक्षा पनि बन्दै आएको छ । साम्राज्यवादलाई कागजी बाघ देख्ने माओको दृष्टिकोणले लामो सङ्घर्षका लागि कम्युनिष्टहरुलाई हौसला मिल्ने गरेको छ ।
‘सही विचार कहाँबाट आउँछ ?’ माओ भन्छन्, ‘मानिसमा सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछ, ती तीन किसिमका सामाजिक व्यवहार, उत्पादनको निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ ।’ यसरी माओले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा विश्व सर्वहारा वर्ग र क्रान्तिकारीहरुलाई सार्वभौम योगदान गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: