काठमाडौं । रोल्पाको एउटा गाउँबाट शिक्षक हुँदै कम्युनिष्ट आन्दोलनमा लागेका कृष्णबहादुर महरा अहिले डिल्लीबजार कारागारमा कैद बनेका छन् ।
गुण, दोष, रिस, राग वा अन्य विविध कुराहरुलाई भुलेर हेर्दा उनी गाउँले जीवनबाट नेपाली जनताको मुक्तिका लागि संघर्ष गर्दै प्राण त्यागको बाटोमा सहजै होमिएका एउटा योद्धा हुन् । मानिस सकेसम्म बाँचिराख्न चाहन्छ । उसलाई कुनै रोग या अन्य परिवन्धले छिट्टै मृत्युको मुखमा लैजाने अवस्था आयो भने उ डराएर भगवानको शरणमा पुग्छ । चाहे त्यो कट्टर कम्युनिष्ट होस या कट्टर धर्म विरोधी ।
तर, यी कुराको अपवादको रुपमा जनताको मुक्ति र स्वाधिन मुलुक निर्माण गर्न ज्यानलाई धरापमा राखेर उनी युद्धमा होमिए । त्यतिबेला प्रचण्डले नेतृत्व गरेको पार्टीमा न उनको तलब थियो न भत्ता नत सुख सयल नै । निस्वार्थ राजनीतिमा होमिएका महरा शान्ति प्रक्रियामा आएपछि केहि महत्वपूर्ण जिम्मेवारी सुम्पिने मौंका पाए । देशको पाँचौं बरियताका व्यक्ति बने । पाँचौं बरियताबाट उनी ढलाइए र स्याल हुइया सुनेर उफ्रनेहरुका लागि राम्रै मसला बन्यो ।
केहिले महराको विषय उछालेर सम्पत्ति समेत आर्जन गर्न भ्याए । केहिले कतै नियुक्ति पाए भने कोहि एक पद माथि उक्ले । तर, महरा भने कारागारको अन्धकारमय कोठामा कारावास जीवन विताउन बाध्य पारिए ।
के महराले बलात्कार प्रयास गरेकै हुन त ? उनले आफ्नो पदको दुरुपयोग गरेर तल्लो तहका कर्मचारीलाई प्रलोभनमा पार्ने काम गरेकै हुन त ? या उनी नैतिक रुपमा पतित व्यक्ति हुन ? यी यस्तै थुप्रै अनुत्तरित प्रश्नले उब्जाएका विषयहरु समयक्रमसँगै खुल्दै जालान् । तर, यी विषयवारे केहि भन्नु आवश्यक ठानेको छु ।
महरा सरको बारेमा यसरी बोल्दा लेख्दा मलाई जोकर भनिएला या अन्य कुनै आरोप लगाइएला तर, निष्कलंक व्यक्तिलाई अन्धाधुन्धा आरोप लगाउनु भनेको राज्य प्रणालीलाई कमजोर पार्नु हो ।
पछिल्लो समय विकशित घटनाक्रमले एमसीसी प्रकरण र जनतादेखि नेता कार्यकर्ता र विश्लेषकदेखि विज्ञसम्मले यहि विषयमा चासो व्यक्त गरिरहेका छन् । मुलुककाको सत्तासिन नेकपाले केन्द्रिय कमिटी बैठकमा छलफलमा लैजादा समेत यो विषयमा निर्णय गर्न सकेन तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने निःसन्देह यसलाई पारित गर्नुपर्ने पक्षमा अडान लिदै आएको छ । यहिनेर भन्न मन लाग्छ, हाम्रो आर्थिक परराष्ट्र निति के हो ? आर्थिक कसैको अनुदान लिदा उसको सर्त मान्नु पर्छ या हाम्रो कानुनलाई धार मान्नुपर्छ ? यो विषय पेचिलो बन्न थालेको छ ।
नेपाल पञ्चशिलताको सिद्धान्त र असंलग्न राष्ट्र हो भनेर भाषणका चिल्ला पाठ दिनेहरु नै मुलुकको अस्मितासँग खेल्न खुव मजा मान्छन् । यस्तो खेलका पात्र को हुन ? किन खेल्छन भन्ने कुरा गम्भीर हो तर, यहि टिप्पणी गर्न खोजियो भने मजाक गरेको भनिएला । यसर्थ यसलाई समयको जिम्मा दिउँ । समयक्रमले यस्ता पात्रबारे बताउने नै छ । वताउनु पर्छ पनि ।
संसदीय राजनीतिमा कसरी घटनाक्रम अगाडी बढ्छन भन्ने कुरा सरकारी जग्गा लतिता निवासबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्धाबाट प्रष्ट हुन्छ । यो हाम्रो देशमा मात्र नभएर संसदीय व्यवस्थामा हुने एउटा शक्ति सत्ता स्वभाव हो । उस्तै खालका घटनाक्रममा एउटालाई उन्मुक्ति दिने र अर्कालाई भएको र देखिएको बन्दा बढी सजाय दिनु यो व्यवस्थाको अर्को लज्जा हो । शक्ति र सत्ताको दुरुपयोग कति हुने र कसरी हुने मात्रात्मक रुपमा केहि फरक पर्ला तर स्वभावतः यो व्यवस्थामा हुने यस्तै नै हो । यसलाई यतिमै छाड्दा विज्ञ पाठकले नबुझ्ने कुरा नआउला सायद ।
एमसिसि प्रकरणमा देखिएको पछिल्ला छलफल र अभिव्यक्तिहरुले महरा कसरी बलात्कार प्रयासको सिकार बनाइए या भए भनेर बुझ्न काफी छ । यसलाई सहि र मिहीन ढंगले व्याख्या गर्न र बुझ्न जरुरी छ । घटनाको सबै प्रकृतिको समग्र मुल्याङकन नगरि उनलाई दोषीको नजरले हेर्नु राजनीतिक रुपमा बेइमानी हो ।
सिधा विषयतर्फ लागौंं –पीडित भनिएकी महिलाले नै महरा सरले ममाथि कुनै दुर्व्यवहार गर्नु भएको छैन भनेर अदालतमा निवेदन दिएकी छन् । उनले आफ्नो स्वास्थ्य समस्याबारे बताउदै अनावश्यक फाइदा उठाएको भन्दै वेलावेलामा रोष व्यक्त गर्छिन् । अझ घटनाको रहस्य बाहिर ल्याएको भन्दै एमसीसी नेपालमा ल्याउने मुलुक अमेरिकाले घुमाउरो शैलीमा डलरमा पुरस्कार समेत दियो । एमसीसी परियोजना मार्फत विश्वका विभिन्न मुलुकमा आफ्नो प्रभुत्व कायम गरेर छिमेकी शक्ति राष्ट्रहरुलाई घेर्ने रणनिती अनुसार शक्तिराष्ट्र अमेरिकाले महरालाई फसाउन घटनाको मञ्चन मात्रै गरेन । यस्तो कार्य गर्नेलाई उत्प्रेरित गर्न इनामको समेत व्यवस्था गर्यो ।
अमेरिका सुपर पावर हो, एमसीसी पास हुन्छ भनेर सम्माननिय प्रधानमन्त्रीले किन भनिरहनु भएको छ ? संसदबाट एमसीसी पास गर्नुछ । अमेरिकी सहयोग स्विकार गर्नुछ । त्यसमा कुनै स्वार्थ छैन भने किन भन्नु भयो ? यी र यस्ता प्रश्नहरुको सामना उहाँ ९प्रधानमन्त्री०ले कति गर्नुपरेको छ थाहा भएन तर कार्यकर्ताले त गरेका छाैं । फेरी उहाँले महरा जीले एमसीसी फाइल अगाडी नबढाएर रोक्नु गल्ती थियो भनेर सार्वजनिक रुपमै बोलेपछि त यसबारे चलेको आन्तरिक दाउपेच बाहिर निस्केन मात्र पर्दा पछाडीको रहस्य पर्दाफास भएको कुरा सतहमा आयो ।
भारतीय नाकाबन्दीका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानका कारण नेपाली जनताले आफ्नो अमुल्य मतदान कम्युनिष्ट पार्टीलाई दिएको कुरा समेत भुल्न हुदैन । उसोतः त्यो समयमा प्रधानमन्त्रीले लिएको अडानले जसरी राष्ट्रवादी नेताको छवी बनाउन मदत गरेको थियो त्यसरी नै एमसीसी प्रकरणले परिक्षाको घडी तयार पारेर राखेको छ ।
एमसीसीलाई राष्ट्रको हित र मुलुकको सार्वभौमसत्ता र स्वाधिनतालाई ख्याल गर्न सकिएन र जस्ताको तस्तै पारित गरियो भने प्रधानमन्त्रीका लागि मात्रै नभएर सिंगो नेपाल र नेपाली जनतामाथि नै घात हुनेछ । यसर्थमा प्रधानमन्त्रीले राष्ट्र हितलाई शिरोपर गरेर अडान लिने काम गर्नुपर्छ भन्ने कुरा हो ।
यस्तै, पार्टी अध्यक्ष प्रचण्डले समेत एमसीसीका बुँदालाई केलाउन र यसबारे अत्यन्तै सचेततापूर्वक निर्णय लिन आवश्यक छ । पार्टीका विभिन्न दस्तावेज हुन या १० वर्षे जनयुद्धको बेला होस अमेरिकालाई हेर्ने दृष्टिकोणबारे धेरै भन्नै पर्दैन । उहाँको अमेरिकाप्रति हेर्ने दृष्टिकोणमा समयक्रमसँगै अहिले केहि परिवर्तन भएको होला तर, ठ्याक्कै उल्टो त हुनै सक्तैन । यसरी नै एमसीसीबारे पनि वाहिर आएका आवाजहरुलाई नियाल्दै नेपालको हित अनुकुल स्विकार गर्नुको विकल्प छैन ।
महरा शान्त र शालिन स्वभावको मान्छे भएको हुँदा समेत उहाँलाई भेट्दा खासै विषयवस्तुबारे बोल्नु हुन्न । राजनीतिक अवस्था र देशको स्थितिको चिन्ता गर्नु हुन्छ । यसरी उहाँले आफूलाई आफू भित्रे दबाएर राख्नु भएको छ । यसमा पनि कयौं बाध्यता छन्, होला । त्यो बेग्लै पाटो हो । तर, हाम्रो पार्टीका मान्छेहरु महरालाई कोरोना भाइरसको संक्रमण भएको जस्तो कसैले जेलमा भेटेर समस्या के हो तपाईको गल्ती के हो भन्नेबारे सोध्दैनन् । अझ माओवादी आन्दोलनमा महराका चेला भनिएकाहरु त कारागार होइन, यस विषयबारे बोल्न नै चाहदैनन् । किनकी उनीहरुलाई अमेरिकी दबाबले थिलोथिलो मात्रै पारेको छैन । महराको हालत बनाउने अघोषित धम्की खेप्नु परेको सुनिन्छ ।
यसरी अर्काको दबाबमा हामीले गलतलाई गलत र सहिलाई सहि भन्न सकेनौं भने हामी कसरी कम्युनिष्ट ? कसरी राष्ट्रवादी ? कुन अर्थमा देश र जनताप्रति वफादार भएको भन्ने ? जवाफ शुन्य प्रायः पाइनेछ, यस्ता प्रश्न गरियो भने । आज देशको शक्तिशाली कम्युनिष्ट पार्टीले एमसीसी पारित गर्ने या के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेन। नेकपा केन्दिय कमिटीले यसबारे निष्कर्ष निकाल्न नसक्दा कार्यदल गठन गर्नुपर्ने अवस्था आयो । यसरी विकशित घटनाक्रमले एमसीसी नेपालको हितमा छ या छैन भनेर थप प्रश्न गर्नुपर्छ भन्ने म ठान्दिन । तर, आशा छ नेपालको हितलाई सर्वोपरि ठानेर पार्टी नेतृत्वले आवश्यक निर्णय लिनेछ । एमसीसी बहस सिर्जना भएसँगै समसामयिक विषयमा टिप्पणी गर्ने नेताहरु मौंन रहनुले यसबारे थप प्रष्ट पारेको छ । तर, आम नेपाली जनमानसको नजरमा भने एमसीसी अल्पकालिन वा दिर्घकालिन रुपमा नेपालको सार्वभौम सत्ता र नेपालको राष्ट्रिय स्वाधिनतामाथि कुनै असर नपर्ने गरि पारित गर्न या सम्झौता गर्न नेतृत्वले सोच्न जरुरी छ ।
तत्कालिन माओवादी नेता पोष्ट बहादुर बोगटीको देहान्तपछि महासचिव बनेका महरा अटल अबिरल र अविचलित रुपमा प्रचण्डलाई साथ दिदै आए ।
यहि प्रश्न गर्न मन लाग्छ । अप्ठ्यारोमा प्रचण्डलाई काँध थापेर आफू दाउ पर्ने महरा मौन कहिलेसम्म रहन्छन ? उनी नबोलेरै जित्ने प्रयासमा छन, या उनको बोलीमा एमसीसी जस्ता अन्य कुनै प्रकरणले घाटीमा तरबार झुण्ड्याइएका छन् ? त्यो भने उनी स्वंमले नभनेसम्म बाहिर नआउला तर अब उनले आफ्नोबारे विभिन्न माध्यमबाट भन्नै पर्ने बेला आएको छ ।
हामीले जनयुद्धकालदेखि चिनेका महराको अर्को नाम इमान, नैतिकवान र वर्गिय पक्षधरताका पक्षधर व्यक्ति हुन् । तर, समयले उनलाई जसरी एउटा कटघरामा उभाएको छ यसको चिरफार स्वंम महराले गर्नुपर्नेछ । जर्मनको बर्लिन पर्खाल ढलेझै गरि ढाल्न खोजिएका महरा अब यी यस्ता आरोपको खण्डसहित आम जनता, नेता कार्यकर्ता र शुभचिन्तकको विश्वासले जुरुक्क उठ्नु पर्नेछ । आशा छ उनी यसरी एक दिन बाहिर आउनेछन् । पुनः जनताको मुक्तिका निम्ति आवाज बुलन्द गर्नेछन् ।
अन्त्यमा, यो प्रकरणसँग जोडेर जनयुद्ध लडेका र जनयुद्धको उपलब्धिमा समेत धावा बोल्ने र समग्र माओवादी आन्दोलनलाई नै बद्नाम बनाउन खोज्ने प्रवृत्ति खतरा बन्दै आएको छ । महरा दोषी थिए या थिएनन्, त्यो कुरा सम्मानित अदालतले टुंग्याउला । तर, एमसीसी प्रकरणले नेपाली समाजमा अगाडी बढाएको बहसले भने यसका बुँदाबुँदा मात्रै नभएर शब्दशब्द केलाएको छ । जनताले महरा प्रकरणमा एमसीसीको भूमिकाबारे समेत बुज्न थालेका छन् । नागरिकले जसरी एमसीसीबारे बुझ्दै गएका छन्, त्यसरी नै महरालाई बलिको बोको बनाउन खोजेको कुरा खुलेरै बहस गर्न थालेका छन् । तर, केहि अतिवादी चिन्तन बोकेर हिड्नेहरु भने महरा प्रकरणलाई जोडेर जनयुद्ध र समग्र माओवादी आन्दोलनमाथि नै प्रश्न उब्जाउन थालेका छन् । त्यो कुरा सिंगो नेपाली जनताको विरुद्धमा छ । नेपालको शान्ति प्रक्रियाको विरुद्धमा छ । हामी समेत युवा नेता तथा कार्यकर्ताले यसबारे खुलेरै बहस टिप्पणी गर्न आवश्यक छ । किनकी महरा प्रकरण नितान्त व्यक्तिगत विषय हो । तर, माओवादी आन्दोलन र जनयुद्ध नेपाली समाजको रुपान्त्रणको एक महत्वपूर्ण कडी हो । र अहिले हामीले अंगालेको पार्टी कार्यदिशा र राजनीतिक वैचारीक कदमको एक उदाहरण पनि हो ।
प्रतिकृया लेख्नुहोस्: