काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी) ले सामन्ती सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापना गर्ने भन्दै जनयुद्धको घोषणा गर्यो। १० वर्ष लामो सशस्त्र युद्धमा करीब १७ हजार नागरिकको ज्यान गयो।
१७ हजार नागरिकमध्ये १३००० भन्दा बढी नागरिकको ज्यान राज्य पक्षका तर्फबाट गएको थियो। जनयुद्धका क्रममा माओवादीका करीब दर्जनजति केन्द्रीय सदस्यहरु शहिद भए। माओवादीले जनयुद्ध सुरु गर्नुअघि नै केन्द्रीय सदस्य रामवृक्ष यादव शहिद भए।, उनी मधेशका लोकप्रिय बौद्धिक नेता थिए। त्यो श्रृङ्खला शान्ति सम्झौताको अघिल्लो वर्षसम्म कायमै रह्यो। यहाँ हामीले जनयुद्धका क्रममा केन्द्रीय नेतृत्वमा रहेर शहादत प्राप्त गर्ने शहिदहरुबारे संक्षिप्तमा उल्लेख गरेका छौं।
१. रामवृक्ष यादव ‘मास्टरसाहेव’ रामवृक्ष यादवको जन्म धनुषा जिल्लाको बरमझिया गाविसमा २००३ मा भएको थियो। घरपरिवार, विद्यालय हुँदै राजनीतिमा प्रवेश गरेका उनी वि.सं २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगे। उनी तात्कालीन नेकपा (एकता–केन्द्र) को केन्द्रीय सदस्य थिए। उनले मधेशका विभिन्न किसान संघर्षको नेतृत्व गरेका थिए। २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किंदै थिए। सोही क्रममा २०५१ भाद्र २ गते तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली काँग्रेसको इसारामा उनी षड्यन्त्रपूर्वक मारिए। उनी जनयुद्ध घोषणा हुनुपूर्व शहादत हुने केन्द्रीय सदस्य हुन्।
२. सुरेश वाग्ले ‘वासु’ नेता सुरेश वाग्लेको जन्म वि.सं. २०१० साल भदौ २४ गते गोरखा जिल्लाको आँपपीपल गाविसमा भएको थियो। पार्टीभित्र वैचारिक छविका नेता मानिने वाग्ले पार्टीभित्र सबैका अभिभावक थिए। शिक्षण पेशा छोडेर सक्रिय राजनीतिमा लागेका वाग्ले तात्कालीन नेकपा (माओवादी) का वैकल्पिक पोलिटव्यूरो सदस्य थिए। उनलाई २०५६ भदौ २३ गते गोरखाको छोप्राकमा प्रहरीकाे कब्जामा परे। उनी त्यही शहिद भए। वाग्ले जनयुद्धमा शहादत प्राप्त गर्ने सबैभन्दा उच्च नेता हुन्।
३. रीतबहादुर खड्का ‘प्रताप’ नेता रीतबहादुर खड्काको जन्म २०२८ भदौ १२ गते दोलखा जिल्लाको जुगुमा भएको थियो। उनी २०३८ सालबाटै वामपन्थी राजनीतिमा झुकाव राख्न थालेका थिए। खड्का तात्कालीन माओवादीको केन्द्रीय समिति सदस्य थिए। उनी माओवादीको २०५७ सालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए। केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा २०५९ असार २ गते रौतहतमा उनको शहादत भयाे।
४. नेपबहादुर केसी ‘परिवर्तन’ जनमुक्ति सेनाका कमाण्डर एवं तात्कालीन माओवादीका केन्द्रीय समिति सदस्य नेपबहादुर केसीको जन्म रोल्पाको इरिवाङमा सामान्य किसान परिवारमा भएको थियो। उनी माध्यमिक तहको अध्ययनकै क्रममा वामपन्थी राजनीतिमा सक्रिय भएका थिए। पार्टीभित्र लडाकु र इमान्दार छविका केसीको २०६१ वैशाख ३१ गते शहादत भएको थियो।
५. शेरमान कुंवर ‘विशाल’ नेता कुंवरको जन्म २०२५ साल असार ४ गते सिन्धुलीको रतनचुरामा भएको थियो। २०३८ सालमा अनेरास्ववियू (छैटौं) का बाट राजनीतिक यात्रा सुरु गरेका कुंवरको २०६१ भदौ २० गते सिराहाको धन्छवारमा केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा शहादत भएको थियो। उनी तात्कालीन माओवादीमा केन्द्रीय समिति सदस्य थिए।
६. मोहनचन्द्र गौतम ‘कुमार’ माओवादी नेता गौतमको जन्म वि.सं. २०२२ साल वैशाखमा सिन्धुलीमा भएको थियो। उनले २०४६ सालको जनआन्दोलन वरिपरिबाट तात्कालीन मशालको सक्रिय राजनीति सुरु गरेका थिए। गौतमको २०६१ भदौ २० गते सिराहाको धन्छवारमा केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा शेरमान कुंवरसँगै शहादत भएको थियो। उनी तात्कालीन माओवादीमा केन्द्रीय समिति सदस्य थिए।
७. किमबहादुर थापा ‘सुनिल’ नेता थापा २०१८ असारमा रोल्पाको गजुल गाविसमा जन्मिएका थिए। उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आइकम पास गरी गाउँकै विद्यालयमा १३ वर्ष शिक्षण पेशा गरेका थिए। उनी जनमुक्ति सेनाको ब्रिगेड कमिसार र पार्टीको केन्द्रीय समिति सदस्य थिए। थापाको २०६२ मंसीर १४ गते रोल्पाको जिनावाङमा शाही सेनाको हवाइ हमलामा शहादत भएको थियो।
८. तेजमान घर्ती ‘दीर्घ’ नेता घर्ती २००७ सालमा रोल्पाको थवाङमा जन्मिएका थिए। सादा जीवन र उच्च विचारका पर्याय मानिने घर्ती पार्टीका अत्यन्तै इमान्दार नेता थिए। २०२८ सालबाट सक्रिय वामपन्थी राजनीतिमा होमिएका घर्ती तात्कालीन माओवादीमा केन्द्रीय समिति सदस्य थिए। उनी एक वरिष्ठ कलाकार र पार्टीका केन्द्रीय सल्लाहकार थिए। बांगेतालबाट सेनाको पक्राउमा परेका घर्तीको २०१६ असोज २५ गते शहादत भएको थियो।
९. कृष्ण सेन ‘इच्छुक’ जनादेशका सम्पादक एवं साहित्यकार कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो। कृष्ण सेनको पुख्र्यौली घर प्यूठान जिल्लाको साराङकोटमा थियो। कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा पढेका इच्छुकले एमएसम्मको अध्ययन गरेका थिए। इच्छुकका रचनाहरू इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जलि लगायतका झण्डै आधादर्जन कृतिहरू उत्तिक्कै प्रख्यात छन्। उनी पञ्चायती संघर्षका क्रममा पटकपटक जेल परेका थिए। सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तारपछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते शहादत भयाे।
१०. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’ वि.सं. २००३ चैत्र १२ गते चितवनको गीतानगरमा जन्मिएका न्यौपाने जनयुद्ध सुरु गर्दा माओवादी केन्द्रीय सदस्य थिए। बौद्धिक नेताका रुपमा चिनिने न्यौपाने पार्टीभित्र उच्च छविका इमान्दार नेता मानिन्थे। उनी २०५६ जेठ ७ गते काठमाडौंबाट गिरफ्तार परे। त्यसपछि उनी हालसम्म बेपत्ताको सूचिमा छन्। न्यौपाने जनयुद्धमा बेपत्ता पारिने सबैभन्दा उच्च तहका नेता हुन्।
प्रतिकृया लेख्नुहोस्: