चितवन । शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै पढाउँदै गरिरहेका छन् ।
रत्ननगर नगरपालिका–१३ सुब्बाचोक निवासी केपीकिरण शर्माले सोही नगरपालिकाका वडा नं ११ मङ्गलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्र खोलेर बालबालिकालाई पालनपोषण र पढाउँदै आएका छन् । चितवन, धादिङ र मकवानपुरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने अतिविपन्न चेपाङ समुदायका बालबालिकालाई केन्द्र खोलेर उहाँले संरक्षकत्व दिँदै आएका हुन् ।
गोरखाको गण्डकी गाउँपालिका–५ मा विसं २०२८ साउन ११ गते जन्मिनुभएका शर्माको बाल्यकाल गाउँमै बिते पनि उच्च शिक्षा काठमाडौँको सरस्वती क्याम्पसबाट भयो । सोही क्याम्पसबाट स्नातक गरेपछि तीनमहिने पत्रकारिता तालिम लिएका उनको आफ्नै कहानी छ । “तत्कालीन समयमा पत्रिकामा लेख्ने रहर जाग्यो”, उनले भने, “विसं २०५८ मा मैले कान्तिपुर पब्लिकेशनको गेटमा रहेको पत्रमन्जुषामा ५० वटा जति लेख छिराएँ तर एउटा पनि प्रकाशित भएन ।” साहै्र दु:ख लागेपछि विदेश गएर पैसा कमाउने र यहाँ फर्किएर आफैँ पत्रिका खोल्ने जोश उनमा जाग्यो । त्यसलगत्तै विसं २०५९ मा दुबई पुगेका उनी छ वर्षको बसाइपछि नेपाल फर्किए ।
दुबईको पैसाले घडेरी र घर मात्रै जोड्नु भएन पत्रिका प्रकाशनका लागि क्यामेरा, ल्यापटप, प्रोजेक्टरजस्ता उपकरण बोकेर विदेशबाट फर्किए । विसं २०६५ साउन १८ गते काठमाडौँ झरेका शर्मा भोलिपल्टै चितवन आए । उनी श्रीमती अम्बिका खनाल चेपाङ गाउँमा पढाउने हुँदा घर आएको भोलिपल्ट क्यामेरा बोकेर पहाडी गाउँ सिद्धी उक्लिएको उनले बताए । एक दिनको त्यहाँको बसाइमा उनले धेरै तस्बीर लिए । ती सबै तस्बीर मन छुने खालका थिए । तस्बीर त लिए कहाँ प्रकाशित गर्ने छटपटी भयो ।
गाउँबाट फर्किएर दुई दिनभित्र उनले गामबेँसीको खबर नामक साप्ताहिक पत्रिका दर्ता गरे । सो पत्रिकामा चेपाङ बस्तीका दु:खका समाचार र तस्बीर प्रकाशित भए । साइकलमा आफँैले जिल्लाका शहरी क्षेत्रमा पत्रिका बाँडे । अलिअलि विज्ञापन उठ्यो । त्यसपछि उनले बचेको पैसाले ११ जना चेपाङ छात्रालाई रु एक हजार ५०० का दरले छात्रवृत्ति दिए । त्यसको दुई वर्षपछि विसं २०६८ मा छात्रवृत्ति पाएकालाई भेट्न जाँदा केही परिवर्तन भएको उनले पाए ।
“श्रीमतीसँग अब म परिवारको आश पनि गर्दिनँ, मैले कमाएर दिन पनि सक्दिनँ भनेर चेपाङ संरक्षण अभियानमा लागेँ”, शर्माले शुरुआती दिनको स्मरण गर्दै भने । त्यही गाउँ बस्तीबाट २५ बालबालिका लिएर उनी शहर झरे । विसं २०६८ को वैशाखमा हालको कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी माविमा ती बालबालिकालाई छात्राबासमा राखे । त्यसैबेला कान्तिपुरका पत्रकार विमल खतिवडासँगै सङ्गत भयो । शर्मासँगै पहाड उक्लिएका खतिवडाले बन्दीपुरे चेपाङको कथा लेखे । शर्माले भने, “यो कथा कान्तिपुरमा आएपछि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई रात बिताउन चेपाङको घर आउनुभयो ।” त्यतिबेला शर्माले त्यहाँको कथा, व्यथा, पीडा सबै प्रधानमन्त्री भट्टराईलाई सुनाउने अवसर पाए ।
त्यसपछि प्रधानमन्त्री भट्टराईले बाख्रापालनका लागि रु ९० लाख बजेटको व्यवस्था गरे । त्यसमा हेफर, सपना भिलेजलगायतका संस्थाले थप सहयोग गरे । शर्माले विगत सम्झँदै भने, “गएको दशैँमा म त्यो गाउँ पुग्दा रु आठ करोड ५० लाखको खसी बोका बिक्री भएभन्दा खुशी लाग्यो ।”
छात्राबासमा पढिरहेका बच्चाका बारेमा समाचार आएपछि सिप्रदी सहायता संस्थाले स्नातकसम्म पढाउने व्यवस्था गर्यो । यससँगै शर्मा अन्य बालबालिकाको संरक्षणमा जुटे । विसं २०६९ मङ्सिरमा उनले जिल्लाको पहाडी गाउँ कोराक, चण्डीभज्याङ, कविलास, काउले, लोथरलगायतका क्षेत्रबाट ५० बालबालिका ल्याए । रत्ननगरको जयमङ्गलामा मासिक रु आठ हजार ५०० भाडा तिरेर घर लिई ती बालबालिकाको पालनपोषण र पढाइ शुरु गरे । त्यतिबेलाको स्मरण गर्दै उनले भने, “छ महिनासम्म मैले बोरा बोकेर सहयोग जुटाएँ ।”
क्रमश: सहयोग जुट्दै गयो । बालबालिका थपिँदै गए । दुई वर्षपछि आफ्नै संरचना बनाउनुपर्छ भन्ने उनलाई लाग्यो । उनले भने, “मैले रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ‘कि ठाउँ दिनुहोस् नभए सबै बालबालिकालाई नगरपालिकाको गेटमा राख्छु भनेँ ।” त्यसपछि कार्यकारीले हाल केन्द्र रहेको नजिकै ठाउँ त देखाइदिए तर स्थानीयवासीले बस्न दिएनन् । त्यो थाहा पाइसकेपछि स्थानीय पञ्चवेदज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले स्कूल नजिकैको सार्वजनिक जग्गा व्यवस्था गरिदिए । सोही जग्गामा संरचना बनाउन शुरु भयो ।
तत्कालीन गैरआवासीय नेपाली सङ्घका अध्यक्ष जीवा लामिछानेको रु एक लाख सहयोगबाट थालिएको संरचना क्रमश: जापानमा रहेका दीपक नेपालले जुटाइदिएको रु तीन लाख हुँदै विभिन्न दाताको सहयोगले संरचना बनेको छ । हालसम्म सबै संरचना निर्माण गर्दा रु दुई करोड ५० लाख खर्च भइसकेको छ । त्यहाँ १६५ बालबालिकालाई आवासीय सुविधा उपलब्ध छ । ती बालबालिका रत्ननगरका विभिन्न विद्यालयमा अध्ययनरत छन् । पछिल्लोपटक सौराहाका रामकुमार अर्यालको समन्वयमा जर्मनीमा बसोबास गर्नुहुने रामप्रताप थापाले रु ४० लाख खर्च गरेर छात्राबास बनाइदिनुभएको छ । थापाले दुई महिनासम्म ती बालबालिकाको सम्पूर्ण खर्चसमेत बेहोरे ।
पछिल्ला दिनहरु धेरै सहज भएको शर्माले बताए । उनले २० भन्दा बढी दाताहरु साँचेर राखेका छन् । बच्चाले खान पाएनन् भने नारायणगढका बालगोपाल चुके, छाया श्रेष्ठ, रोटरी क्लब अफ नारायणगढजस्ता दाताहरु उनका छन् । गाउँमा खान र पढ्न नपाएका ती बालबालिकाले तातो बाफ उठाउँदै खाना खाँदा र राम्रो अङ्क ल्याएर कक्षा उत्तीर्ण हुँदा आनन्द आउने शर्माले बताए ।
चेपाङ बालबालिकाका संरक्षक शर्मालाई धेरैले चेपाङका ‘बा’ भनेर चिन्छन् । उनले खुशी दुँदै भने, “यहाँ बसेर पढेका आठ जेटिए, चार स्टाफनर्स, एक एचए र पाँच जना सिएमए बनेका छन् ।” एक जना सिभिल इञ्जीनियर पढ्दैछन् । सकेसम्म शुल्क मिनाहा गर्ने नसके शुल्कसमेत तिरेर दाता जुटाई उच्च शिक्षासम्म उनले पढाउँदै आएका छन् ।
दाताहरुसँग नगदभन्दा जिन्सी माग्ने उनको केन्द्रमा ठूला बालबालिकाले पालो मिलाएर आफैँ खाना पकाउँछन् । एकजना मात्रै सहयोगी रहेको उनले बताए । यो अभियानमा उनलाइ चितवनका पत्रकारहरुको साथ छ । अभियानमा पत्रकार अखण्ड भण्डारी, दीपेन्द्र बडुवाल, विमल खतिवडा, शिशिर सिंखडा, अनिल ढकाल, होमनाथ सापकोटा, अनिता अर्याल, ध्रुवराज खनाल, रमेश रानालगायतले प्रत्यक्षरूपमा साथ दिएका छन् । यससँगै जिल्लाका अन्य पत्रकारको पनि सहयोग रहेको शर्मा बताए ।
चेपाङ बालबालिकाको पीडा राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा आएपछि सहयोग जुट्ने गरेको छ । शर्माको अभियानमा साथ दिँदै आउनुभएका पत्रकार सिंखडा पत्रकारहरुलाई पनि शर्माले चेपाङगाउँ पुर्याएर स्थापित गर्नमा सहयोग गर्दै आएका बताए । कालिका नगरपालिका निवासी सिंखडाले आफ्नो सम्पूर्ण जीवन चेपाङ बालबालिकाको हितमा शर्माले व्यतित गरेको बताए ।
जिल्लाका चेपाङ बस्ती उक्लिँदा अधिकांश पत्रकारले शर्मालाई सँगै लिएर जाने गर्दछन् । अखबारहरुमा त्यहाँको पीडा लेखिएमा राहत पाउने आशमा शर्मा नियमितरूपमा पहाड उक्लिने गरे । सिंखडाले भने, “चेपाङका बालबालिका पढाउन सकियो भने उनीहरुको भविष्य अहिलेको पुस्ताजस्तो हुँदैन ।” तिनै बालबालिकाले आफ्नो परिवार र समाज परिवर्तन गर्न सक्ने सिंखडाको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: