Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न: स्वास्थ्यमन्त्री खतिवडा

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका  नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ । अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा सरकार अहिले भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग राससका प्रमुख समाचारदाता कृष्ण अधिकारी र समाचारदाता शरद् शर्माबाट लिइएको अन्तर्वार्ताको सारांश:

रासस: नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन ? अतिरिक्त खोपले नै पुग्दैन र ?

मन्त्री खतिवडा : कोरोना महामारी फैलिँदै गयो भने ‘बुष्टर डोजर’ लगाउनुपर्छ । कोरोनाबाट थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिलाई छ महिनापछि ‘बुष्टर डोज’  दिने गरिन्छ । महामारी फैलिँदै गएका खण्डमा सरकार यहाँका नागरिकलाई ‘बुष्टर डोज’ दिन तयार रहेको छ ।  नीति तथा व्यावहारिक रुपमा हामी लगाउनुपर्छ भनेर हामी तयारी अवस्थामा नै छांैँ । कुल जनसङ्ख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएका खण्डमा मात्र हामीले ‘बुष्टर डोज’ खोप लगाउँछौँ तर बीचमा नै महामारी आयो भने लगत्तै र नभएका खण्डमा समग्र जनसङ्ख्याको ५० प्रतिशतले खोप लगाएका खण्डमा ‘बुष्टर डोज’ लगाउँछौँ । यही मितिदेखि भन्ने हामीले तय गरिसकेका छैनौँ । ‘बुष्टर डोजर’ का लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग मेरो सल्लाह भइसकेको छ । उहाँले ‘बुष्टर डोजर’  लगाउनका लागि अगाडि बढ्नू भन्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटुरोगी, मिर्गौला र  दीर्घरोगीलाई मात्र ‘बुष्टर डोज’ लगाउनका लागि सिफारिस गरेको छ तर आम रुपमा अनिवार्य ‘बुष्टर डोज’ दिनुपर्छ भनेको छैन । यही पुस ४ गतेदेखि प्रत्येक स्कुलमा खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउँदै छौँ ।

रासस: अहिले दैनिक एक लाख ८६ हजारले खोप लगाएको देखिन्छ । लक्षित समुदाय खोप लगाउन त्यत्ति उत्सुक भए जस्तो लाग्दैन । घरदैलामा नै खोप लगाउने केही योजना छ ?

मन्त्री : शहरी क्षेत्रमा ८० प्रतिशतभन्दा माथिका मानिसले खोप लगाइसकेका छन् तर ग्रामीण भेगमा ३५ प्रतिशतले मात्र खोप लगाएका छन् । हामीसँग अझै पनि ७० लाख मात्रा खोप रहेको छ । साढे तीन करोड पाइपलाइनमा छ । मानिस खोप लगाउन आएका छैनन् । यसभन्दा अगाडि हामीले जिल्लामा मात्र केन्द्रीत भएर खोप लगाएका थियौँ । तर गाउँका मानिसहरु चेतनाको अभाव वा लापरवाही के ले गर्दा हो खोप आएनन त्यो थाहा भएन । 

उनीहरू आइनन भने हामी चुप लागेर बस्दैनौँ । अहिले हामीले छ हजार खोप केन्द्रबाट खोप लगाइरहेका थियौँ । अब हामीले पुसको पहिलो हप्ताबाट १६ हजार खोप केन्द्र राखेर खोप लगाउँछौँ । जनताको घरदैलोमा खोप केन्द्र पुगेपछि मानिसले पक्कै पनि खोप लगाउने छन् । सोह्र हजार खोप केन्द्रबाट पनि सबै नेपालीलाई खोप लगाउन सकिएन भने हामी जनगणना जस्तै गरी टोलटोलमा पुगेर लगाउँछौँ । 

रासस: नेपालमा तीन करोड १४ खोप मात्रा आइसकेको छ । खोप दुई करोड सात लाख मात्रले लगाएको तथ्याङ्क छ । खोप भण्डारणमै थन्किए भन्ने कुरा पनि उठेको छ ? किन यसरी भण्डारण भए ? खोपमा किन सबैको सहभागिता नभएको हो ?

मन्त्री : राजनीति पार्टीले खोप अभियानलाई मुद्दा नै बनाएका छैनन् । मैले हालै संसद्को स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा पनि सबै मिलेर सर्वसाधारणलाई खोप लगाउने अभियानमा जुटौँ भनेको छु । गाउँ, समाजमा रहेका समूह, गैरसरकारी संस्था, पत्रकारलगायत सङ्घसंस्थालाई पनि भनेको छु । राजनीतिक दल र नेताहरूलाई “पहिले भोट माग्न  पर्चा लिएर जानुहुन्थ्यो, यसपल्ट खोप लिएर जानुहोस्” भनेको छु । खोप र स्वास्थ्यकर्मी दिने काम हाम्रो हो भनेको छु । पहिले हामी सिधै भोट माग्न मतदातासमक्ष गएका थियौँ तर यसपटक स्वास्थ्य दिन आएको छौँ भनेर सबै राजनीतिक दलका नेता–कार्यकर्तालाई ५००–७०० मात्रा खोप निश्चित तापक्रममा राखेर जानुहोस् भनेर अनुरोध गरेको छु । मलाई लाग्छ केही दिनपछि राजनीतिक दलले जनतालाई खोप लगाउन चेतना प्रदान गर्ने छन् भन्ने विश्वास लिएको छु । यदि राजनीतिक दलले नगरेमा हामीसँग भएका जनशक्तिबाट सबैलाई खोप लगाउँछौँ । 

रासस : कोरोनाको ओमिक्रोन भेरियन्ट रोकथाम गर्न सरकारको योजना के छ ?

मन्त्री : हामी अहिले ज्ञानविहीन अवस्थामा छैनौँ । पहिले कोभिड–१९ हुँदा खोप केही थिएन । हाहाकार भएको बेला पनि नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला अक्सिजनको अभाव थियो तर अहिले हामीसँग प्रशस्त्र मात्रामा अक्सिजन छ । अक्सिजन निकाल्ने सानादेखि ठूलो उपकरण हामीसँग छ । स्वास्थ्यचौकीमा अक्सिजन पुर्‍याएका छौँ । ठूला अस्पतालमा १० हजार लिटरका प्लाण्ट स्थापना गरिसकेका छौँ । निजी संस्था आउँछन् भने सबै भन्सार मिनाहा गरेर अक्सिजन प्लाण्ट खडा गर्न सहुलियत दिएका छौँ । डेढ वर्षमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको हुनाले हरेक स्वास्थ्य केन्द्रमा न्यूनतम सामग्रीदेखि चिकित्सक र स्वास्थ्यकर्मी पुर्‍याएका छौँ । आइसियु र भेन्टिलेटर पनि वृद्धि भएको छ, गत वर्ष जस्तो हाहाकार छैन । 

विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ ।  पहिले जस्तो हाहाकार महामारी हुँदैन । हामी अहिले सबैले खोप लगाइसकेका छौँ । ओमिक्रोनको आक्रमण कम हुन्छ कि भन्ने हामीलाई लागेको छ । 

अस्पताल, जनशक्ति सबै तयारी अवस्थामा छन् । भारतबाट नेपाल आउने १६ ठाउँमा सहायता कक्ष राखेका छौँ । शङ्कास्पद मानिसलाई क्वारेन्टिनमा राखेका छौँ । अरु मानिसलाई कार्ड हेरेर आउने, जाने व्यवस्था गरेका छौँ । ओमिक्रोन जस्तै अरु भेरियन्ट देखिएका देशबाट नेपाल आउनका लागि मानिसलाई रोक्छौँ । 

अर्को, शुरुमा ओमिक्रोन अरुभन्दा चारगुणा बढी खतरनाक छ भनेर भ्रम फिँजाइयो । ओमिक्रोन गत मङ्सिर ३ गते देखिन थालेको हो । यस बेलासम्म कुनै पनि बिरामीमा थकाइ नलाग्ने जस्ता समस्या देखिएको छैन । सङ्क्रमण देखिएको छ तर सामान्य मानिस जस्तै देखिएका छन् । मङ्सिर ३ गतेयता विश्वमा ६०० जनामा  मात्र देखिएको छ । हाम्रो देशमा दुई जनालाई देखिएको थियो । ती सङ्क्रमित सञ्चो भइसकेका छन् । हामीले कयाँै देशबाट मानिस आउनका लागि रोक लगाएका छौँ । 

रासस : सबै स्वास्थ्यकर्मीले अझै कोभिड भत्ता पाएका छैनन् । कहिलेसम्म तिनले अतिरिक्त पारिश्रमिक पाउलान् त ?

मन्त्री : वैशाखदेखि असारसम्मको कोरोना भाइरस भत्ता हामीले मागिसकेका छौँ । रु ४५ करोडभन्दा माथि नै रहेको छ । अर्थ मन्त्रालयबाट निकास भइसकेपछि हामी उपलब्ध गराउँछौँ । धेरै जसोलाई दिइसकेका छौँ । केही कर्मचारी मात्र छुटेका हुन् । 

रासस: सरकारी अस्पतालमा उपचारका लागि अझै लाम लाग्नुपर्ने अवस्था छ । जनताले सरल तरिकाले स्वास्थ्योपचार कहिलेदेखि पाउँछन् ?

मन्त्री : हामीसँग भएको जनशक्ति र स्रोत परिचालन गरेका छौँ । शय्या र जनशक्ति थप्ने योजनामा हामी छौँ । वीर अस्पतालमा ५०० शय्या थपिएको छ । अन्य अस्पतालको क्षमता र शय्या विस्तार गर्नका लागि  धेरै बजेट विनियोजन गरेका छौँ । अहिले अस्पतालको निर्माण प्रक्रिया चलिरहेको छ । अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति थप्ने काम भइरहेको छ ।  अब बिरामी लामबद्ध हुने अवस्थाको अन्त्य गछाँै । 

रासस: नेपालमा स्वास्थ्योपचार सेवामार्फत समाजवादको अवधारणा कार्यान्वयन गर्न केकस्ता मौलिक नीति, योजना तथा कार्यक्रम ल्याउने सोचाइ राख्नुभएको छ ?

मन्त्री : समाजवाद भनेको दु:खी, गरिब सबैले अवसरमा समानता पाउने प्रणाली हो । स्वास्थ्य बिमा नि:शुल्क गर्ने तयारीमा छौँ । ज्येष्ठ नागरिकको उपचार नि:शुल्क गरेका छौँ । गरिबीको रेखामुनि रहेका मानिसलाई परिचयपत्रका आधारमा नि:शुल्क उपचारको व्यवस्था गरेका छौँ । सरकारी अस्पतालमा कडा र दीर्घ खालका रोगको उपचार नि:शुल्क गरिरहेका छौँ । नि:शुल्क गर्न नसकिएको बिरामीलाई आर्थिक सहयोग गरिरहेका छौँ । अहिले उपलब्ध गराइएको सुविधा पर्याप्त छैन, अझ सेवा, सुविधा विस्तार गर्नुपर्छ । 

रासस: कडा खालका मुटु, मिर्गौला, अर्बुदरोग, एड्स जस्ता रोगीलाई शतप्रतिशत नि:शुल्क उपचार गराउने केही योजना छ ? 

मन्त्री : हामी भर्खर आएका छौँ । हामीसँग भएको स्रोतसाधन, बजेटको स्थिति त्यो सबै हेरेर के गर्न सकिन्छ भनेर हामी गृहकार्य गरिरहेका छाँै । हाम्रो आर्थिक स्रोतमा  रु एक–दुई करोड तलमाथि पार्न सक्दा बढीभन्दा बढी जनताले फाइदा पाउन सकिन्छ कि भनी हामी हेरिरहेका छौँ । अहिले हामी मुटु रोग, मिर्गौला, एड्सजस्ता बिरामीको नि:शुल्क उपचार गरेका छौँ । बजेटमा विभिन्न प्रकृतिका बिरामीलाई रु पाँच हजार रुपियाँ दिने भनिएको छ । थप अझ के गर्न सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ । 

रासस: स्वास्थ्य बिमा सबै जिल्ला र सबै ठाउँमा कहिले पुर्‍याइने होला ?

मन्त्री : स्वास्थ्य बिमामा हामीले आकर्षण बढाउन सकेका छैनौँ । त्यो स्थानीय जनप्रतिनिधि र हाम्रो नै कमजोरी हो । रु तीन हजार ५०० लगानी गर्नेबित्तिकै आफूसँग पैसा नभएका बेला पनि उपचार गर्न पाउँछौ भन्न हामीले सिकाएका छैनाँै । हामीमा परेका बेला मात्र खर्च गर्ने बानी छ । स्वास्थ्य बिमामार्फत सबैलाई नि:शुल्क गर्न सकिन्छ कि भनेर हामी सोचिरहेका छौँ । ज्येष्ठ नागरिक, विपन्न, आर्थिक अवस्था कमजोर भएकामध्ये केहीलाई नि:शुल्क गरिसकेका छौँ र केहीको तयारीमा हामी छौँ । अहिले पनि दलित तथा ७० वर्षभन्दा माथिका नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा छ ।

रासस: उपचार र उपचार खर्च नपाएर अहिले पनि मानिसहरूले असमयमै ज्यान गुमाइरहेका छन् । यस्तो स्थितिको अन्त्य कहिले हुने हो ?

मन्त्री : उपचार गर्न नपाएर मानिसहरू अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्था अब हुँदैन । अस्पतालको ढोकामा पुगिसकेपछि बिरामीलाई अस्पतालले उपचार गरेका छन् । हामीसँग भएको क्षमता र  जनशक्तिबाट हामीले सेवा पुर्‍याइरहेका छौँ । हामीले सरकारी अस्पतालको क्षमता बढाउँदै जाने हो । सरकारी अस्पतालमा सहुलियत पनि छ । त्यसैले त्यहाँ भिड देखिएको हो । हामी सरकार अस्पतालमा जनशक्ति र शय्या थप्ने जस्ता काम गरिरहेका छाँै । वीर अस्पतालमा ५०० शय्या थपिँदै छ । त्यसपछि त्यहाँ भिड कम हुन्छ । हामीले विभिन्न अस्पताल र प्रतिष्ठानमा बजेट विनियोजन गरेका छौँ । रु आठ अर्बका निर्माण प्रक्रिया चलिरहेका छन् । 

रासस: प्रदेश र स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढ गर्ने केके योजना छन् ? अब सङ्घीयतालाई बढावा दिन पनि हरेक प्रदेशमा एकएक चिकित्सा विश्वविद्यालय स्थापना गरिनुपर्ने होइन र ?

मन्त्री : सात प्रदेशमा शिक्षण अस्पताल र प्रतिष्ठान खोल्नका लागि निर्माण प्रक्रिया पूरा गरेर हामी ठूला अस्पताल स्थापना गर्छौँ । रामराजाप्रसाद सिंह, गिरिजाप्रसाद कोइरालाजस्ता नेताका नाममा प्रतिष्ठान खोलिँंदै छ जसमा विद्यार्थी पढ्ने र उपचार पनि हुने व्यवस्था गरिंँदै छ । पुराना अस्पतालको क्षमता विस्तार गरी सुविधासम्पन्न बनाइरहेका छौँ । पालिकास्तरमा पाँचदेखि १५ शय्याको अस्पताल बनाइरहेका छौँ । कुनै पनि स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्नुपर्छ भनेर काम गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रलाई सकभर जनताको पहुँचमा पुर्‍याउने काम भइरहेको छ । गाउँगाउँसम्म स्वास्थ्यको सेवा पुगोस् भन्नेमा सरकारको ध्यान गएको छ । 

रासस: प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थी रकम अभावमा चिकित्सा शिक्षा अध्ययन गर्न वञ्चित छन् । चिकित्सा विषय पढ्न खोज्ने विपन्न विद्यार्थीलाई सहुलियत दरमा वा नि:शुल्क अध्ययनको व्यवस्था त सरकारले नै गर्नुपर्ने हैन र ?

मन्त्री : छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई हामीले पढाइनै रहेका छौँ । क्षमता र योग्यता भएका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । छात्रवृत्ति कोटा पनि छुट्टाइएको छ । काठमाडौँ उपत्यका बाहिर शिक्षण अस्पताल खोल्न आउँछन् भने हामीले अहिले पनि अनुमति दिन्छाँै । 

रासस: तपार्इँ स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य क्षेत्रमा कस्ता विकृति देख्नुभयो रु त्यसको समाधान गर्न के प्रयास गर्दै हुनुहुुन्छ ?

मन्त्री : जसले जे जिम्मेवारी पाएको छ, त्यसले त्यो पूरा नगरेको अवस्था छ । खटाइएको ठाउँमा जानुपर्‍यो । छल्न र झुक्काउन भएन । ठूला अस्पतालमा शय्या बढाउने जस्ता समस्या  छन् । औषधिलगायत ठाउँमा कालोबजारी भएको छ भने नियन्त्रण गर्नुपर्‍यो । स्वास्थ्य बिमा धेरै ठाउँमा पुर्‍याइने जस्ता विषय समस्याका रुपमा देखिएका छन् । यसमा हाम्रो ध्यान पुगेर काम गरिरहेका छाँै । 

रासस : वैकल्पिक स्वास्थ्य चिकित्सा प्रणालीलाई प्राथमिकतामा राख्नका लागि केकस्ता प्रयास भएका छन् रु

मन्त्री : देशका विभिन्न ठाउँमा प्राकृतिक चिकित्सालय पनि खोलिरहेका छाँै । जनशक्ति उत्पादन भइरहेका छन् । परम्परागत रुपमा चल्दै आएका वैकल्पिक चिकित्सा प्रणालीलाई इन्कार गरेका छैनौँ । केही वर्षमा ह्वात्तै आयुर्वेदिक र प्राकृतिक चिकित्साको लोकप्रियता बढेको छ । राज्यले यसलाई संरक्षण र प्रोत्साहन गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies