काठमाडौं । हामी के खाइरहेका छौं, कस्तो पिइरहेका छौं भन्ने कुराबाट हामीहरुको शरीर र अंग प्रभावित भइरहेका हुन्छन् । यो कुरामा मुटुका हकमा पनि लागू हुन्छ । खराब जीवनशैलीका कारण विश्वभर मुटुका रोगीको संख्या बढिरहेको छ ।
हाम्रो मुटुको स्वास्थ्य स्वस्थ रक्तनली र रक्तसञ्चारमा भर पर्छ । यी दुईमध्ये कुनै एकमा समस्या आए, मुटुको समग्र कार्य नै प्रभावित हुन्छ । नेशनल इन्सिच्युट अफ हेल्थका अनुसन्धानकर्ताहरुले यस्तो बताएका हुन् ।
हालै युरोपेली हेल्थ जर्नलमा प्रकाशित नेशनल इन्सिच्युट अफ हेल्थद्वारा गरिएको अनुसन्धानमा शरीरमा पानीको कमीले हृदयघातसहित हार्ट फेलियरसमेत हुने खतरा बढ्ने देखिएको छ ।
तरल पदार्थको कमीले मुटुको कामकाज प्रभावित पार्ने देखिएको छ । यसैले पर्याप्त मात्रामा पानी पिउनाले मुटुको कार्यक्षमता बढ्ने अनुसन्धानको निस्कर्ष छ ।
अनुसन्धानका क्रममा ४५ देखि ६६ वर्षसम्मका १५ हजारभन्दा बढी वयस्क व्यक्तिको तथ्यांक विश्लेषण गरिएको थियो, जसमा सन् १९८७–८९ को बीचमा मुटुको कुनै न कुनै समस्या थियो । ती मानिसमा मधुमेह, मोटोपना, हाइड्रेसन र मुटुको गतिविधिका विषयमा विश्लेषण गरिएको थियो । यसक्रममा पानीको कमी र नुन सेवनमा विशेष ध्यान दिइएको थियो ।
यसक्रममा थाहा भयो–सोडियमले शरीरको तरल पदार्थको स्तरको कमीलाई बढावा दिन्छ र विशेष रुपमा हर्ट फेलियरको जोखिमलाई बढाउन भूमिका खेल्छ । अर्थात् जो मानिस नुनको बढी सेवन गर्थे, उनीहरुमा मुटुको गतिविधि प्रभावित हुने गरेको पाइएको थियो । यही कुरा पानीको कमीसँग पनि सम्बन्धित थियो ।
खासगरी, शरीरमा पानीको कमीले रक्तनली र रक्तसञ्चारलाई प्रभावित गर्छ र यसबाट मुटुको रोगी हुने जोखिम बढ्ने अनुसन्धानबाट पाइएको थियो । पानीको कमीले रक्तचाप बढाउँछ र कैयौंपटक रक्तनलीमा अवरोध आउने र अचानक हर्ट फेल हुने खतरा पैदा गर्छ ।
पानीजस्ता तरल पदार्थले मुटुलाई रगत पम्प गर्न सहयोग गर्छन् । साथै रक्तनलीलाई चौडा राख्छ, जसबाट सहज रुपमा रक्तसञ्चार भइरहन्छ । यसैले अनुसन्धानकर्ताहरुले शरीरको आवश्यकताका आधारमा महिलाले १.५ देखि २.१ लिटर र पुरुषले २ देखि ३ लिटर पानी पिउनुपर्ने सुझाव दिएका छन् ।
प्रतिकृया लेख्नुहोस्: