काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताए ।
उनले कम्युनिष्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वान गरे । “विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ” ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उनले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताए । “परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट शक्तिलाई विशेष रुपले अपिल गर्न चाहन्छु”, उनले भने ।
परिवर्तनका मुद्दालाई स्थापित गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र न्यायपूर्ण आन्दोलनका सहिदका सपना पूरा गर्न परिवर्तनकामी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नैपर्ने बताए ।
“हामीले जित्दा राष्ट्रले जित्छ, जनताको जीत हुन्छ”, उनले भने, “माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जिताउन जनता अग्रसर हुनुपर्छ ।”
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु माओवादीमा प्रवेश गरेका थिए । जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलीप थापामगर लगायतलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्: