बलेवा। बिहान उज्यालो भएदेखि झिमिक्कै रात नपरेसम्म फोहरसँग पौँठेजोरी नखेले घरको चुल्हो बल्दैन।
ससाना छोराछोरीको विद्यालय खर्च, नानाचाचा र सिङ्गो परिवारको दानापानीको मुख्य स्रोत नै फोहरसँगको पौँठेजोरीबाटै प्राप्त हुन्छ उनीहरुको।
वर्षौंदेखिको दैनिकी भएकाले उनलाई फोहरसँग जुध्ने बानी परेको छ। बागलुङ नगरपालिका–१ मालढुङ्गा खुर्दुकेस्थित बागलुङ बजारको फोहर व्यवस्थापनस्थलमा उनीहरुको दैनिकी यसरी नै बित्ने गर्दछ।
दिनानुदिनको कामलेभन्दा उनीहरुलाई पीडा त्यतिबेला हुन्छ जतिबेला समाजले फोहरमा काम गर्ने भनेर फरक दृष्टिले हेर्छ। अनि उनीहरु र उनका साथीहरुले अपमानको महसुस गर्छन्।
पर्वत घर भएकी एक युवतीले आजभोलि यस्तै अपमान महसुस गर्ने गर्छिन् । उनी मात्रै होइन अस्थायी फोहर सङ्कलनस्थलमा काम गर्ने ११ जना महिलाको समस्या एउटै हो । कुनैबेला दाता आएर आफूहरुलाई सहयोग गर्दासमेत मुख खोलेर अनुहार देखाउन नसकिएको गुनासो उनीहरुको छ ।
बजारवासीले आफ्नो घर, आँगनको फोहर बाहिर फाल्छन् र आफू सफासुग्घर बन्छन् । नगरले निर्माण गरेको अस्थायी फोहर सङ्कलन केन्द्र केही मजदुरका लागि भने जीवन निर्वाहको माध्यम बनेको छ । बजारबाट सङ्कलन हुने फोहरमा फालिएका पुनःप्रयोगमा आउने सामग्री सङ्कलन गरेर बागलुङ तथा जिल्ला बाहिरका मजदुरले आफ्नो रोजीरोटी चलाइ राखेको छन् ।
फोहरमा फालिएका फलाम, काँटी, सिसालगायतका अन्य धारिला वस्तुले बेलाबेलामा शरीरका विभिन्न अङ्गमा काट्छ, घाइते बने पनि आफूसँग स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्ने आवश्यक रकम नहुँदा जोखिम मोलेर काम गर्दै आएको उनी बताउँछिन् ।
“काटे पनि सहनुपर्ने रैछ दिनभरी दुःख गरेर कमाएको पैसाले घर खर्च चलाउनुपरो, कहाँ सुरक्षा सामग्री खरिद गर्न सकिन्छ ररु”, उनीले भनिन्, “कसैले दिन आए भने पनि एक÷दुई दिनका लागि मात्रै दिन्छन्, हाम्रो काम त सधैँ चल्ने हो नि ।”
गुरुङ जस्तै ११ जना महिला फोहरमा फालिएका कबाडी उठाएर गुजारा चलाउँछन् । अन्य समयमा सामान्य मजदुर जस्तै गरी एकआपसमा हाँसीखुसीका साथ काम गर्ने मजदुर फोहर सङ्कलन केन्द्रमा अपरिचित व्यक्ति प्रवेश गरे आफ्नो पहिचान ढोक्छन् ।
फोहरमा काम गरेर जीवन चलाएको भन्दै समाजले हेला र घृणा गर्ने डरले उनीहरुले आफ्नो मुख देखाउँदैनन् । नयाँ मान्छेसँग फोटो खिच्नसमेत मान्दैनन् ।
“फोहरमा काम गरेको भनेर धेरैले हेला गर्छन्”, २७ वर्षीया अर्की एक मजदुर युवतीले भनिन्, “जो आएर फोटो खिचे पनि हाम्रो दुःख जाने होइन ।”
मजदुरीमा सहभागी अधिकांश महिला नयाँ मान्छे देखे भने विश्रामस्थलबाट बाहिर आउँदैनन् । जोडका साथ अनुरोध गरेमा अनुहार नचिन्ने गरी, आफ्नो पहिचान नखुलाउन अनुरोध गर्दै आफ्ना दुःख र पीडाका विषय राख्छन् ।
“हामीले त दैनिक नै यहीँ काम काम गर्ने हो, यसैबाट पेट पालेका छौँ”, उनीले भनिन्, “हामीलाई बिदा पनि हुन्न, के–के दिवस पनि थाहा हुन्न ।” नयाँ मान्छे आउँदा लाज लाग्ने उनीहरुको दुखेसो छ । फोहरको दुर्गन्धले बिरामी पर्ने गरेको विकको भनाइ छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मानवअधिकार तथा शान्ति समाज बागलुङले मजदुरका लागि व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरेको छ । समाजले रुमाल, साबुन, सेनिटाइजर, पञ्जा वितरण गरेको समाजका अध्यक्ष नीलकण्ठ शर्माले बताए। एघार जना मजदुरलाई पुग्ने गरी सामग्री प्रदान गरिएको थियो ।
सामग्री हस्तान्तरणका क्रममा अधिकांश महिला मजदुर विश्रामस्थल बाहिर आएनन् । पाको उमेरका महिला मजदुर अनुहार पहिचान नहुने गरी बाहिर आएको अध्यक्ष शर्माको भनाइ छ । “उनीहरुलाई समाजले घृणा र अपमान गर्ने त्रास देखियो”, उनले भने, “समाज सबै श्रमको सम्मान गर्ने संस्कृति नहुँदा यो समस्या आएको हो ।”
प्रतिकृया लेख्नुहोस्: