सार्वजनिक सवारी साधनमा पाकेटमारको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्न डर मर्दो भएको छ । सार्वजनिक यातायातमा कहिले कसको त कहिले कसको सामान चोरी भइरहेको हुन्छन् । कार्यालय समय र बेलुका पाकेटमारहरूको पाकेट मार्ने गर्दछन् । भिडभाड भएको मौका छोपेर उनीहरूले चोरी गर्छन् । त्यस्तै, दसैँको आगमनसँगै चोरीका घटना पनि बढ्न थालेका छन् ।
दसैँ लागेसँगै किनमेल जानेको चहलपहल बढेको छ । बाटोमा हिँडेकै अवस्थामा समेत चोरी भइसकेको हुन्छ । उभिएकै ठाउँमा पनि कतिखेर पाकेट मारिसक्छन्, थाहा नै हुँदैन । बजारमा पनि व्यापक पाकेटमारका घटना घटिरहेका छन् । कसैले तलब थापेर ल्याएका हुन्छन्, त्यो चोरी गरिदिन्छन् ।कोही ऋण धन गरेर घर जानका लागि खर्च तयार पार्छन्, त्यो पनि चोरी भइहाल्छ ।
जहाँ पनि पाकेटमार छन् । सर्वसाधारणलाई दसैँ मान्न घर जान हतारो छ । भनिन्छ नि,‘हतारको काम लतरपतर ।’ उमगंका साथ घर जान आटेका हुन्छन्, चोरले पाकेट मारिँदा तनाव हुन्छ । अहिले मात्र होइन, विगतदेखि नै चाडबाडमा चोरीको घटना बढ्छ । दिनदहाडै चोरी हुन्छ । जताततै भीड हुने भएकाले चोरलाई चोर्न सहज हुने गरेको छ । जसका कारण बाटो हिँड्दा, बसमा यात्रा गर्दासमेत असुरक्षित महसुस हुने गरेको छ ।
कति बेला कहाँ लुटिने हो ? भन्न सकिँदैन । यता, दिउँसै घर फुटाएर चोरेको घटनाहरू पनि बाहिरिन्छन् । सर्वसाधारणले असावधानी नअपनाउने भएकाले पनि चोरी हुने गरेको छ । घर जाने खुसीमा उनीहरू सबै कुरा बिर्सिन्छन् । दसैँ मान्न भनेर झोला बोक्छन् अनि दौडिन्छन् । घरको झ्याल ढोकामा थुनेको छ कि छैन भन्ने पनि थाहा हुँदैन । घर जान लागेको भनेर घरबेटीलाई समेत जानकारी गराउँदैनन् ।
नेपाल प्रहरीले बारम्बार घर जानुअघि घरबेटी, छिमेकी वा प्रहरी कार्यालयमा जानकारी गराउन सुसूचित गराउँदै आएको छ । तर, त्यसरी जानकारी गराएर हिँड्नेको सङ्ख्या न्यून छ । विगतभन्दा अहिले धेरै चोरीका घटना घटिरहेका छन् । चोरीका घटना बढ्नुका धेरै कारण छन् । पहिलो त बढ्दो बेरोजगारी नै हो । रोजगारी छैन । भएकाहरू पनि मुलुकमा आर्थिक मन्दी देखिएसँगै बेरोजगार भएका छन् ।
दसैँ सबैको चाड हो । वर्ष दिनमा आउने चाडमा सबैलाई राम्रै खाऊँ, राम्रै लाऊँ भन्ने हुन्छ । तर, कहाँबाट ल्याउने ? आम्दानीको स्रोत छैन । अनि उनीहरूले चोरी गर्छन् । पछिल्लो केही समययता घरघरमा काम खोज्दै आउनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । काम त पाइएन, कसैबाट सरसापटी लिऊँ भन्दा पनि पाइँदैन । सहयोगी हातहरू हुने हो भने कसैले चोरी त गर्दैनथे।
खान नपाएपछि मान्छे चोरीमा संलग्न हुन्छ । आज चोर्छ, भोलि चोर्छ, उसलाई त्यसकै लत लाग्छ । तर, सबैले साथ सहयोग गर्ने हो भने यी घटनामा कमी आउन सक्छ । घरधनी, छरछिमेक, आफन्तको यसमा ठुलो भूमिका छैन । आम्दानी नभएकाले सहयोग गर्नुपर्छ । भोलि उसले जहिले सक्छ, तैले तिर्छ । मान्छेले सबैभन्दा थेग्न नसक्ने भोक हो । भोक लागेपछि हात फैलाइन्छ ।
भोक लाग्दा कसैले खान दियो भने उसले चोर्दैन । भोक सहनै नसक्ने भएपछि अनि उसले चोर्छ । चोरेर खानु कसैको रहर होइन । आम्दानी हुने, व्यापार व्यवसाय हुनेले त चोर्दैनन् । जनसङ्ख्या बढेको बढ्यै छ । जनसङ्ख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । जनताको सङ्ख्या बढिरहेको छ तर सरकारले रोजगारीको सुनिश्चितता गर्न सकेको छैन । सरसापट पाउनेहरू कामका लागि खाडी छिरिरहेका छन् ।
बलले सक्नेहरू धमाधम विदेशिरहेका छन् । केही समय अघिसम्म मजदुरीको काम पनि पाइन्थ्यो । इट्टा बोक्ने, बालुवा चाल्ने, रंगरोगन गर्नेहरूले राम्रै आम्दानी गरिरहेका थिए । अहिले त्यो पनि पाइँदैन । मन्दीले गर्दा घर बनाउने छाडिएपछि मजदुरी गर्नेहरू मर्कामा परेका छन् । घरायसी काम गर्नेहरूलाई समेत भटाभट कामबाट निकालिएको छ । होटेल, रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था, सङ्घसंस्था र पसलमा काम गर्नेबाट पनि रोजगारी खोसिएको छ ।
सर्वसाधारणको चुल्हो निभ्न लागिसकेको छ । एकातिर काम छैन, अर्कोतिर महँगी बढेको बढ्यै छ । अनि कहाँबाट ल्याएर छाक टार्नु ? काम पाउँदा उनीहरूलाई त्यति समस्या हुँदैन । व्यापार व्यवसाय सुकेपछि व्यापारीहरू पनि मर्कामा परेका छन् । दिनभर बोनी गर्न पनि समस्या परेको व्यापारीहरूको गुनासो छ । व्यापार नहुँदा पेसाबाटै हात धुनुपर्ने अवस्था आएको गुनासो उनीहरूले गरिरहेका छन् ।
यहाँ बस्नै नसक्ने भएपछि धेरै आफ्नो गाउँ ठाउँ फर्किसकेका छन् । कोठा भाडा तिर्न, बिहान बेलुका छाक टार्न र छोराछोरी पढाउनै नसक्ने स्थिति सिर्जना भएपछि उनीहरू गाउँ फर्किएका छन् ।
अधिकांश ठाउँमा टुलेको पोस्टर टाँसेको देखिन्छ । यो सङ्ख्या दसैँपछाडि झनै बढ्ने अनुमान लगाइएको छ । देशको अर्थतन्त्र डामाडोल छ । सबैको व्यापार व्यवसाय ठप्प बनेको छ । जसले मुलुकमा चोरी, ठगी, डकैतीको आतङ्क ल्याउने निश्चित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कुनै मतलब नै छैन । रोजगारीको सिर्जना कसरी गर्ने ? जनताको पेट कसरी भर्ने ? डामाडोल बनेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने ? उनीसँग यसको उत्तर नै छैन । सर्वसाधारणले कर तिर्न छाडेका छन् । बिहान बेलुका खानलाई छैन, केको कर तिर्नु ? सरकारले निकै न्यून राजश्व उठाइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बजारको अवस्था के छ ? थाहा छैन । उनले कहिले सडकमा आएर जनताको अवस्था बुझेका छन् ? न उनले सञ्चारकर्मी र उद्योग व्यवसायीले बोलेका कुरालाई मनन गर्छन् । सरकारले भन्दा बढी रोजगारी निजी क्षेत्रले दिएको छ । यहाँ सरकारी जागिर खानेको सङ्ख्या कति नै छ र ? व्यक्तिहरूले आफ्नै लगानीमा व्यवसाय गरेका छन् । राज्यलाई राजश्व तिरेका छन्, रोजगारी पनि दिएका छन् ।
तर, ती व्यवसायी डुबेसँगै धेरै बेरोजगार भए । लगानीकर्ता डुब्नु भनेको उसलाई मात्र घाटा हुनु होइन । उसको व्यवसाय डुब्ने बित्तिकै उसबाट रोजगारी पाइरहेका बेरोजगार हुन्छन् । राज्यले राजश्व पाउँदैन । उद्योग व्यवसायी महासङ्घका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र ध्वस्त भइसकेको घोषणा गरेका छन् । विडम्बना, सरकार आँखा चिम्लेर र कानमा तेल हालेर बसेको छ ।
रोजगारीको सुनिश्चित गर्नु राज्यको दायित्व हो । जनताले रोजगारी देऊ भनिरहेका छन् । सबैले रोजगारी पाउने हो भने कसले चोर्छ ? सरकारी कर्मचारीलाई मात्रै भोक लाग्छ, महँगी पनि उनीहरूलाई मात्र बढ्छ जस्तो गर्छ, सरकार । जनताको विषयमा सोच्न राज्य सञ्चालकहरूसँग समय नै छैन । जनता खान नपाएर भोक भोकै तड्पिएका छन् । सरकारलाई कुनै फरक परेको होइन ।
जनताको विषयमा सरकार नै गम्भीर छैन अनि आपराधिक घटना बढ्नु त स्वाभाविकै हो । यता, गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि जनताप्रति जिम्मेवार भएको देखिदैन् । गृहमन्त्री श्रेष्ठले आपराधिक क्रियाकलाप रोक्न कुनै योजना अघि सारेका छैनन् । न मुलुकभरका जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई सुरक्षा कडाइका लागि परिपत्र गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट पैसा निकाल्दा उनीहरू चनाखो हुँदैनन् ।
चाडबाडमा चोरहरू बैङ्क तथा वित्तीय संस्थाबाहिर ढुकेर बस्छन् । अहिले पनि गहना लगाएर देखाउने क्रम जारी नै छ । सरकारले घरैपिच्छे सुरक्षा दिन सक्दैन । नागरिक आफैँ सचेत हुनुपर्छ । जबसम्म नागरिक जिम्मेवार हुँदैनन् तबसम्म यस्ता घटना घट्छन् । दसैँ कसैको लागि दशा नबनोस् । दसैँ मनाउने नाममा कसैको सम्पत्ति नगुमोस् । यसमा सरकार र सर्वसाधारण नै सचेत बनुन् ।
प्रतिकृया लेख्नुहोस्: