भाद्र ७ गते, २०७२ सोमवार 24th August, 2015 Mon०९:२९:०६ मा प्रकाशित
पहिलो भेट
०५९ सालमा मैले पहिलोपटक उहाँ (लालबाबु)लाई देखेकी हुँ । उहाँसँग मेरो बिहेको कुरा एमाले नेतृ सुशीला नेपाल दिदीले ल्याउनुभयो । त्यसपछि उहाँलाई भेट्न गएँ । सुशीला दिदीले नै भेटघाटको चाँजोपाँजो मिलाउनुभयो ।
सिंहदरबारमा भेट्ने कार्यक्रम निश्चित भयो । त्यतिवेला म ३७ वर्षकी थिएँ ।
उहाँ त्यतिवेला ४४ वर्षको हुनुहुन्थ्यो । म ३७ की र उहाँ ४४ को भएकाले होला, सुशीला दिदीले हाम्रो बिहे गराउन खोज्नुभएको । म सुशीला दिदीलाई निकै आदर गर्थेँ । दिदीले मेरै हितमा कुरा गर्नुभएको हो भन्ने लाग्यो ।
त्यसैले, सुशीला दिदीसँग धेरै सोधखोज गरिनँ । सुशीला दिदीले भन्नुभएको थियो, ‘हाम्रो पार्टीका एक नेता छन्, उहाँसँग तिमीले बिहे गर्दा हुन्छ ।’ उहाँसँग भेट्ने तय भएपछि एक्लै जान अप्ठ्यारो लाग्यो । गाउँले काकीलाई सँगै जान अनुरोध गरेँ । काकीले सहजै स्विकार्नुभयो । काकी र म सिंहदरबार गयौँ ।
सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा म र काकी पुग्दा सुशीला दिदीसँगै एमाले नेताहरू भरतमोहन अधिकारी, ईश्वर पोखरेल हुनुहुन्थ्यो । अर्को एकजना पनि हुनुहुन्थ्यो । उहाँलाई त्यसअघि मैले देखेको थिइनँ । हामी पुग्नेबित्तिकै सुशीला दिदीले त्यही अपरिचित अनुहारलाई देखाउँदै भन्नुभयो, ‘उहाँ नै हो केटा ।’ देख्नेबित्तिकै मेरो मन कुँडियो । सुशीला दिदीले मेरा लागि छान्नुभएको केटा होचो लाग्यो । हेर्दा मेरो मन त्यति खुसी भएन । ‘यो मान्छेसँग केही पनि छैन होला,’ मेरो मनमा खेल्यो । त्यहाँ विवाहसम्बन्धी कुरा हुन थाले । भरतमोहन र ईश्वर कमरेडले हामी दुईको जोडी मिल्ने बताउनुभयो । तर, मैले निर्णय लिन सकिनँ । एकैछिन गफिएपछि भरतमोहन कमरेडले भन्नुभयो, ‘अहिले नै पठाइदिउँm यी दुईलाई बिहे गराएर ।’ सुशीला दिदीले पहिलोपटक बिहेको कुरा गर्दा निश्चिन्त भएको मेरो मन दोधारमा पर्यो ।
ठोस जवाफ दिन सकिनँ । मैले भनेँ, ‘होइन, घरसल्लाह पनि गर्नुपर्छ । अहिले नै म एक्लैले कसरी निर्णय गर्नु ?’
यस्तो होचो मान्छेसँग विवाह गर्नु र † भन्ने मनमा खेलेको थियो । धेरै पछिसम्म यही कुरा मनमा खेल्यो । साथीहरूलाई पनि भनेँ, ‘केटा त हेरेँ, तर होचो रहेछ ।’ लामो समयसम्म मनमा यही कुरा खेलिरह्यो ।
पार्टी कार्यालयमा बिहे
मैले निर्णय लिन सकेकी थिइनँ । तर, लामो समयसम्म काकीले सम्झाउनुभयो, ‘मान्छे इमानदारजस्ता लाग्छन् । तेरो उमेर पनि धेरै भइसक्यो । अब ढिलो नगर । बिहे गर्दा हुन्छ ।’
काकीले सम्झाएपछि मेरो मन झन् अन्योलमा पर्यो । सुशीला दिदीले पनि सम्झाउनुभयो । उहाँको इमानदारिताको चर्चा गर्नुभयो । चार महिनापछि बल्ल निर्णय गरेँ । मैले ‘हुन्छ’ भनेँ । हाम्रो बिहे हुने भयो ।
बिहेको पूरै तारतम्य सुशीला दिदीले नै मिलाउनुभयो । एमाले पार्टी कार्यालय बल्खुमा प्रगतिशील विवाह गर्ने उहाँले नै सुनाउनुभयो । हामीले ०५९ साल फागुनमा बिहे गर्यौँ ।
बिहेमा सबै गाउँले
बाल्यकालमा मैले धेरै दु:ख पाएँ । म गर्भमा हुँदै बुबाले हामीलाई छाडेर जानुभयो । जन्मिएपछि आमाले पनि त्यति धेरै स्याहार गर्नुभएन । बुबाको मृत्युले आमालाई ठूलो चोट पुगेको थियो, सायद । हाम्रो लालनपालनमा उहाँले धेरै समय दिन सक्नुभएन ।
तर, छरछिमेकको मायाले म हुर्किएँ । मेरो एकजना दाइ हुनुहुन्थ्यो । उहाँको पनि घरायसी ‘टेन्सन’ले असमयमै निधन भयो । हाम्रै काकाले जमिन हडपेर हामीलाई दु:ख दिएका थिए । दाइ मुद्दामामिलाको झमेलामा फस्नुभयो । उहाँलाई मुद्दामामिलाले नै कमजोर बनायो । उहाँ बारम्बार भन्नुहुन्थ्यो, ‘मैले सकिनँ भने पनि मेरा छोराछोरीलाई न्याय दिलाउने काम यही विमलाले गर्छे ।’ यो मेरा लागि ठूलो जिम्मेवारी थियो । म सचेत थिएँ । मैले दाइका शब्द खेर जान दिइनँ । १४/१५ वर्षसम्म मैले मुद्दा लडेर दाइका छोराछोरीलाई दाइले भनेको जस्तै न्याय दिलाएँ । त्यसैले लामो समय मेरो विवाह हुन सकेन । त्यो मुद्दा नसकिएसम्म विवाह गर्दिनँ भन्ने प्रण गरेकी थिएँ । त्यसबीच मलाई माग्न केटाहरू नआएका होइनन्, तर मैले सबैलाई अस्वीकार गर्दै गएँ ।
त्यो लडाइँ लड्दा–लड्दा गाउँमा म परिचित भइसकेकी थिएँ । दु:खमा परेका गाउँलेलाई सहयोग गर्नु मेरो दिनचर्या थियो । त्यसैले, ०५४ सालको स्थानीय निर्वाचनमा मलाई गाउँलेहरूले वडाअध्यक्षमा जिताउनुभयो । यो उहाँहरूले मलाई लगाएको ठूलो ऋण हो ।
त्यसैले होला, प्रगतिशील विवाह भने पनि मेरो विवाहमा गाउँका सबैजसो आउनुभयो । यो उहाँहरूको मप्रतिको स्नेह थियो ।
बिहेपछि विराटनगरमा
काठमाडौंमा विवाह भएपछि उहाँ र म विराटनगर गयौँ । घरायसी जिम्मेवारी सम्हाल्न थालेँ । उहाँ राजनीतिमा व्यस्त हुनुहुन्थ्यो । त्यसैले, घरका अधिकांश काम म आफैँले गर्नुपथ्र्यो । उहाँले इमानदारीसाथ राजनीति गरिरहेकाले पनि मैले उहाँलाई घरमा अल्झाउन चाहिनँ । उल्टो म आफैँ पनि राजनीतिमा क्रियाशील भइरहेँ । उहाँलाई साथ पुगोस् भन्ने चाहना थियो । उहाँलाई म भन्थेँ, ‘तपाईं कुनै टेन्सन नलिनुस् । अरू सब म हेरौँला । तपाईं अगाडि बढ्नुहोस् ।’
विवाहपछि मैले उहाँसँग कहिलेकाहीँ मायाप्रीतिका कुरा गर्न पनि चाहेँ । तर, उहाँ यस्ता कुरामा चासो दिनुहुन्नथ्यो । घुमफिर गर्न जाऊँ भन्दा भन्नुहुन्थ्यो, ‘तिमी साथीहरूसँग जाऊ न ।’ सधैँ देशकै चिन्ता
छ भन्नुहुन्थ्यो ।
त्यस्तो वेला लाग्थ्यो, ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ’ भन्ने गीत उहाँकै लागि लेखिएको हो । उहाँकै लागि गाइएको हो ।
जनआन्दोलनमा सँगसँगै
उहाँलाई पारिवारिक रूपमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि सहयोग गर्छु म । त्यसैले, उहाँका निर्णय मैले मान्दै गएँ । उहाँलाई सहयोग गर्दै गएँ । ०६२/६३ को जनआन्दोलनले देशको मुहार फेर्छ भन्ने उहाँको मान्यता थियो । मलाई पनि त्यस्तै लाग्यो । त्यसपछि हामी दुई विराटनगरमा आन्दोलनमा होमियौँ । नभन्दै, हामीले चाहेजस्तै संसद् पुनस्र्थापना भयो । उहाँ फेरि सांसद हुनुभयो । हामी काठमाडौं फर्कियौँ ।
केही समयपछि पहिलोपटक संविधानसभा निर्वाचन भयो । पार्टीले उहाँलाई टिकट दिएन । तर, समानुपातिकबाट सभासद् बनायो । त्यसपछि हाम्रो अधिकांश बसाइ काठमाडौंमै भयो ।
मन्त्री भएपछि उहाँ
पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । संविधानसभाको दोस्रो निर्वाचन भयो । हामी दुवैले पार्टीका लागि काम गर्यौँ । तर, प्रत्यक्ष र सामानुपातिक दुवैमा पार्टीले उहाँलाई सभासद्मा दोहोर्याउन चाहेन ।
एक दिन उहाँ घरबाट पार्टीको केन्द्रीय कमिटीको बैठकका लागि बल्खु जानुभयो । केही समयपछि उहाँको फोन आयो । ‘रिसिभ’ गरेँ । उहाँले भन्नुभयो, ‘तिमी तयार भएर बस । मलाई पार्टीले मन्त्री बनाउने भएछ । पार्टीअध्यक्ष झलनाथ कमरेडले फोन गर्नुभएको थियो ।’
खुसीले मन भरियो । उहाँ मन्त्री भएपछि पनि यसअघिको जस्तै देशका लागि काम गर्न सघाउनुपर्छ भन्ने सोचेँ । उहाँले नेपाल सरकारको सामान्य प्रशासनमन्त्रीको पदमा शपथ लिनुभयो ।
शपथ लिएपछि उहाँ शीतलनिवासबाट मन्त्रालय जानुभयो । मैले कोठामा सामानहरू मिलाउन थालेँ । केही दिनपछि हामी पुल्चोक निवास जाने कुरा थियो । त्यतिवेला हामी कोटेश्वरमा डेरामा बस्थ्यौँ । मन्त्रीको कार्यकाल सकिएपछि पनि त्यहीँ जान्छौँ ।
मन्त्री भएपछि उहाँमा कुनै परिवर्तन आएको छैन । पहिले जस्तो हुनुहुन्थ्यो, अहिले पनि त्यस्तै ।
पुल्चोक क्वार्टर
मन्त्री भएपछि उहाँको दिनचर्या पहिलेको भन्दा व्यस्त हुन थालेको छ । मन्त्रालयको काम, भेटघाटका लागि उहाँले क्वार्टरमा कसैलाई बोलाउनुहुँदैन । मन्त्रालयमै गर्नुहुन्छ । त्यसैले, उहाँको अधिकांश समय मन्त्रालयमै बित्छ । फेरि कार्यक्रमहरूमा पनि जानैपर्यो ।
मन्त्री भएपछि उहाँले डिभी–पिआरसम्बन्धी विधेयक प्रस्ताव गर्नुभयो । त्यसलाई कानुन बनाउन अहोरात्र खटिनुभयो । उहाँ देशका लािग जे गर्न परे पनि तयार छु भन्नुहुन्छ । त्यो विधेयक ल्याएपछि मलाई भेट्न आउनेको संख्या पनि बढ्यो ।
मलाई भेट्नेहरू भन्थेँ, ‘तपाईंलाई जे गर्नुपर्छ हामी त्यही गर्न तयार छौँ । तपाईंलाई जे चाहिन्छ, त्यही दिन तयार छौँ । तपाईंले मन्त्रीज्यूलाई त्यो कानुन नल्याउन ‘कन्भिन्स’ गरिदिनुपर्यो ।’ कसै–कसैले त मलाई करोडौँ दिन्छु पनि भने । तर, मैले कहिल्यै उहाँसँग यस विषयमा कुरा गरिनँ । उहाँ जे गर्दै हुनुहुन्थ्यो, देशका लागि गर्दै हुनुहुन्थ्यो । त्यसैले, उहाँप्रति मेरो कुनै गुनासो छैन ।
उहाँ प्राय: क्वार्टरमै खाना खानुहुन्छ । उहाँलाई मकै औधी मनपर्छ । मैले उहाँका लागि क्वार्टरमै मकै रोपेकी छु ।
ठाकठुक पर्नु स्वाभाविक
उहाँलाई मधुमेह छ । उच्च रक्तचाप पनि । त्यसैले, उहाँलाई ‘टेन्सन’ नहोस् भन्नेमा म सचेत छु । तर, श्रीमान्–श्रीमतीबीच ठाकठुक पर्नु स्वाभाविक हो । हाम्रो पनि कहिलेकाहीँ ठाकठुक पर्छ ।
सामान्य विषयमा मतभेद हुँदा पनि उहाँ लामो समयसम्म बोल्नुहुन्न । त्यसलाई मिलाउन म आफैँ अग्रसर हुन्छु । फकाउनैपर्छ । उहाँ एउटा कुरामा अडान लिएपछि त्यसलाई छाड्नुहुन्न । तर, अडान लिनुभन्दा पहिले नै त्यस विषयमा लामो समय सोच्नुहुन्छ ।
तर, के पनि साँचो हो भने उहाँको बानी मैले बुझिसकेकी छु । उहाँलाई सहयोग गर्न म सधैँ तयार छु । उहाँसँग विवाह नभएको भए, म पनि राजनीतिमा क्रियाशील हुन्थेँ होला । अहिले सांसद नै पो हुन्थेँ
कि ? त्यसो त अहिले पनि मैले पूर्ण रूपमा राजनीति छाडिसकेकी छैन ।
घरपरिवारलाई समय दिए हुन्थ्यो
उहाँको सबैभन्दा कमजोरी पक्ष भनेको घरपरिवारलाई यथोचित समय दिन नसक्नु हो । श्रीमतीका इच्छा के छन् भनेर उहाँ खासै ध्यान दिनुहुन्न । देश र जनताको चिन्ता लिने उहाँले हाम्रा चाहना र इच्छा पनि बुझिदिए हुन्थ्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: