काठमाडौं । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोप हुन थालेका हुन् ।
तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि र गाउँघरमा विद्युतीकरण हुन थालेसँगै ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो ।
बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् ।
केही वर्ष अघि सम्म गाउँघरमा बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्या भने साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पर्ने अवस्था रहेको थियो । तर, केही वर्ष देखि सडक निर्माणसँगै विद्युतीकरण भएपछि गाउँघरमा पुराना ढिकीजाँतो पाइन छाडेको छ ।
हिजोआज बिजुलीबाट चल्ने मिल गाउँगाउँमा बने सँगै महिला तथा ज्यालामजदुरी गरेर दुईछाक खानेहरुलाई सुविस्ता भएको छ । ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो ने भए पनि सजिलो र समय बचाउन पनि आजकाल ढिकीजाँतोको प्रयोग हुन छाडेको छ । बिजुलीमा पिसेको खानामा त कुनै स्वाद नै नहुने बुढापाकाहर बताउँछन् । त्यो समयमा आफुहरुले धेरै दुःख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुक्ख पाएका ७० काटेका आमाहरुले बताउने गरेका छन् ।
कुटानी–पिसानीको काम ढिकी रजाँतोमा गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको ग्रामिणमहिलाहरुको भनाइ छ । ढिकी–जाँतोको काम गर्न नपर्दा र हरेक घरघर र टोलटोलमा पिउनेपानीको व्यवस्था भएपछि समय बचत समेत हुने गरेको छ ।
कतिपय गाउँमा अझै पनि खानेपानीको समस्या भने जस्ताको तस्तै रहेको छ । ढिकी, जाँतो नहुँदा विवाह र पूजाआजामा बारा (बटुक) बनाउने गेडागुडी कुट्न र पिस्न भने नपाउने अवस्था रहेको छ । ढिकीमा कुटेर बनाएको, सेलरोटी लगायतका खाद्यवस्तु भने वेस्वादका हुने गरेका ग्रामिण महिलाहरु बताउँछन् ।
घरघरै हुने ढिकी, जाँतो गाउँगाउँमा बिजुली पुगे सँगै पछिल्लो समय गाउँघरमा हुने विभिन्न धार्मीक तथा सामाजिक कार्यहरुमा सात गाम डुल्दा समेत पाइन दछाडेका छन् । कुनै कुनै गाउँमा केही घरमा भएका ढिकी उक्काएर फाल्न खोजेको अवस्थामा पुराना पुस्तालाई देखाउन हुन्छ भनेर अडाएर राखेको पाईन्छ ।
कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले समयको बचत हुँदा बिहान घरको काम गरेर महिलाहरु दिउँसा विभिन्न कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिलाउन थालेका छन् । समय बचत भएपछि सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन समेत गर्ने गरेको पाइन्छ ।
गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा रहेको छ । पछिल्लो समय सिप पुस्तान्तरण नहुँदा ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो समेत लोप हुँदै गएका छन् ।
हिजो मानिसका अभावका सारथी आज मासिँदै जाँदा बुढापाहरु चिन्तीत हुन थालेका छन् । कतिपय स्थानमा त समुदायका पहिचानसँग सम्बन्धित परम्परा र संस्कारहरु पनि नाश हुँदै गएका छन् । नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, भेशभूषा, परम्परा र संस्कार जगेर्ना गर्नु पर्ने अवस्था आएको छ ।
प्रतिकृया लेख्नुहोस्: