Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कसले लेख्ने सीमान्तकृतको इतिहास ?

राजकुमार दिक्पाल

काठमाडौं । सामाजिक र भौगोलिक विविधताले नेपालको सौन्दर्य भरिपूर्ण छ तर यहीँ विविधताभित्र अनेकौँ असमानता पनि छन् । ती असमानतालाई विभिन्न कोणबाट निरुपण गर्न प्राज्ञिक माध्यमबाट पनि प्रयास थाल्नुपर्ने ठूलो आवश्यकता छ । विकास र शान्तिका लागि सामाजिक असमानता ठूलो बाधक हो । समतामूलक समाज निर्माणका लागि विगतमा भएका कमजोरीको इतिहास बटुलेर त्यसलाई निफल्न जरुरी छ । विगतमा राज्यबाटै ऐन निर्माणका क्रमबाट भएका कमीकमजोरीले कतिपय जातिगत र सामाजिक समूह अहिले पनि सीमान्तकृत अवस्थामा गुज्रिएका छन् । त्यसैले सीमान्तकृतको छुट्टै इतिहास लेखनको क्षेत्रले पनि यथोचित प्रोत्साहन पाउन सकेन । नेपालको इतिहास भनेकै राजा महाराजाको गाथा हो भन्ने धारणालाई चिर्न पनि अब सीमान्तकृतको इतिहास लेखनले उचित वातावरणको खोजी गरिरहेको यस प्रसङ्गमा स्मरणीय छ ।

नेपालको इतिहास लेखन  

तत्कालीन इष्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्कप्याट्रिकले सन् १८११ ९विसं १८६८० मा प्रकाशित गरेको ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाउल’ नेपालका बारेमा लेखिएको पहिलो इतिहासको पुस्तक हो । उनी १८४९ सालमा नेपाल आएका थिए । एक महिना जति नेपाल बस्दा उनले जे जति टिपोट गर्न भ्याए, त्यसैलाई उनले पुस्तकका रुपमा प्रकाशित गरे । त्यसको आठ वर्षपछि फ्रान्सिस ह्यामिल्टनले ‘एक एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ ९सन् १८१९० प्रकाशित गरे । नेपालको इतिहास लेखिएको यो दोस्रो पुस्तक हो ।

नेपालमा इस्ट इन्डिया कम्पनीको रेजिडेन्स खुलेपछि ह्यामिल्टन एक चिकित्सकका रुपमा नेपाल आएका थिए । त्यही मौकामा उनले नेपालको इतिहास बटुलेर पुस्तकको आकार दिए । विदेशी लेखकले नेपालको इतिहास प्रकाशित गरेको एक सय तीन वर्षपछि १९७९ सालमा बल्ल एक नेपाली लेखक अम्बिकाप्रसाद उपाध्ययले ‘नेपालको इतिहास’ प्रकाशित गरे । भारतमा रहेर कानुनविद्का रुपमा काम गरिरहेको बेला उनले यो पुस्तक प्रकाशित गर्दा चन्द्रशमशेरले नेपालको शासन चलाइरहेका थिए । ‘नेपाल देशका अधिपति’, ‘विष्णुको अंश’ आदि विशेषणका साथ चन्द्रशमशेरलाई नै समर्पण गरिएको यो पुस्तक राणाहरुको प्रशंसाले भरिएको छ ।

राणाकालजस्तो त्यो अन्धकार युगमा पुस्तक प्रकाशित गर्नु एक जोखिमपूर्ण काम थियो । त्यस्तो जोखिमपूर्ण समयमा प्रा तोत्रराज पाण्डे र पं नयराज पन्त मिलेर २००४ साल ‘नेपालको सङ्क्षिप्त इतिहास’को प्रकाशन भयो । त्यहीँ बेला भारतमा आएको नवजागरणले त्यहाँ रहेका नेपालीलाई पनि प्रभाव पारेको थियो । त्यसैबेला दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीले द्रव्य शाह र पृथ्वीनारायण शाहको इतिहास लेखेका ज्ञवालीले ‘भानुभक्तको जीवनी’, ‘अमरसिंह थापा’, ‘वीर बलभद्र’ जस्ता इतिहास पनि लेखे । भानुभक्त आचार्य, अमरसिंह थापा, बलभद्र कुँवरहरु कुनै राजा महाराजा होइनन् । भुइँबाट उठेर देशको सेवा गर्ने यी व्यक्तित्वहरुको इतिहासको लेखनले त्यसबेलै इतिहास राजा महाराजाहरुको मात्रै हुँदैनन् भन्ने मान्यता स्थापित हुन पुगेको थियो । राणाशासनकै समयमा सिक्किमको गान्तोकमा रहेर इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ लेखेर इतिहास लेखनको क्षेत्रमा अर्को आयाम थपे । उनले जातिगत र सामाजिक समूहको पनि छुट्टै इतिहास लेख्न सकिन्छ भन्ने अवधारणा त्यसबेलै प्रस्तुत गरेका थिए तर त्यसपछि लेखिएका इतिहासहरु राजा महाराजाकै सेरोफेरोबाट खासै मुक्त हुन सकेको देखिँदैन ।

सीमान्तकृत समूह

राजा जयस्थिति मल्लको थितिलाई नेपालको प्रारम्भिक कानुनको प्रारुप मानिएको छ । विसं १९१० मा जङ्गबहादुरले बनाएको मुलुकी ऐन नै नेपालको पहिलो लिखित कानुन हो । यो ऐनले नेपालका जाति र सामाजिक समूहलाई विभेदयुक्त ढङ्गले विभाजित गरेर एउटै अपराधमा जातिअनुसार कसैलाई धेरै र कसैलाई कम सजाय दिने व्यवस्था गर्यो ।

‘छोइछिटो हाल्नु पर्ने अछूत’ र ‘छोइछिटो हाल्नु नपर्ने अछूत’ भनी कानुनी रुपमा तोकेरै छुवाछूतलाई मुलुकी ऐनले मान्यता दियो भने ‘मासिन्या मतुवाली’ र ‘नमासिन्या मतुवाली’ भनेर समुदायमा अर्को विभेदको पर्खाल पनि मुलुकी ऐनले नै खडा गर्यो । आज यिनै जाति तथा समुदाय सीमान्तकृत अवस्थामा छन् । विगतमा गरिएका यस्ता कमीकमजोरीले कतिपय जाति तथा समुदाय सीमान्तकृत अवस्थामा छन् । उनीहरु आर्थिक, सामाजिक, शैक्षिकजस्ता सबै क्षेत्रमा पछौटेपन र अवसरविहीनताको सिकार बनेका छन् । उनीहरुको इतिहास पनि न्यायोचित ढङ्गले लेख्नु त कता हो कता, अग्रज इतिहासकारले यसप्रति गम्भीर भएर विचार गर्ने चेष्टासमेत गरेको पाइँदैन । त्यसैले पनि इतिहास भनेकै राजा महाराजाको गाथा भन्ने धारणा बलियो रुपमा स्थापित हुन पुगेको हो । यसले इतिहास विधालाई नै न्याय गरेको ठहर हुँदैन ।

इतिहासको स्रोत

लिखित दस्तावेज नै इतिहासको मूल स्रोत हो । इतिहास भनेको विगतको घटनाको प्रामाणिक लेखन र प्रस्तुति हो । विगतमा लेखिएर सुरक्षित रुपमा राखिएका दस्तावेजहरुका आधारमा प्रामाणिक इतिहास लेखिन्छ । यसैगरी, सम्बन्धित घटनाका साक्षीले व्यक्त गरेको धारणाहरु पनि इतिहासका प्रमाणहरु हुन् ।

सीमान्तकृत समुदायको इतिहास लेखनको मूल समस्या भनेकै उनीहरुसँग सम्बन्धित लिखित दस्तावेजको अभाव हो । सीमान्तकृत समुदायमा अहिले पनि लेखन तथा दस्तावेजीकरणको अभाव छभने विगतमा लेखन र दस्तावेजीकरणको परम्परा नै थिएन । इतिहासको महत्वपूर्ण स्रोतका रुपमा रहेका शिलालेख, भोजपत्र, लालमोहर, इस्तिहार, मुद्रा आदि विगतमा राजा, मुख्तियार वा भारदारहरुबाट प्रसारित हुने गर्थे । यस्ता सामग्रीमा तत्कालीन समाजका कुलीन र अधिकारसम्पन्न वर्गका सवालले मूलरुपमा प्राथमिकता पाउने गर्दा पनि सीमान्तकृत समुदायको इतिहास लेखनमा समस्या आएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

नेपाली लेखकको कलमबाट इतिहास लेखनको परम्परा सुरु हुँदा सम्बन्धित लेखकले तत्कालीन समयका शासकको गुणगानका प्रशस्त कलमको मसी खर्च गरेको प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ । नेपालमा राजतन्त्र सक्रिय रहँदासम्म पुराना ऐतिहासिक सामग्रीहरुको अध्ययनको पहुँच सहज पनि थिएन । यस्तो अहसज परिस्थितिमा राजदरबारको प्रतिकूल हुने गरी इतिहास लेख्नु जोखिमपूर्ण पनि थियो । त्यसैले नेपाली इतिहासकारहरुले सकेसम्म राजदरबारप्रति नरम भाषा प्रयोग गर्दै इतिहास लेख्दै जाँदा इतिहास भनेकै राजा महाराजाको गुणगान हो भन्ने प्रतीत हुन पुग्यो । यिनै कारणहरुले इतिहासकारहरुले सीमान्तकृतहरुको सवाललाई सीमान्तमा मात्र पारेनन्, यसप्रति उनीहरुको खासै ध्यानाकर्षण हुन सकेन । परिणाममा सीमान्तकृतहरुको इतिहास लेखिएन ।

हिजो सीमान्तकृतहरुको इतिहास लेखिएन भनेर अब लेखकहरुले कलम थन्क्याएर बस्न पनि भएन । सीमान्तकृतहरुको इतिहास लेखनको क्षेत्र व्यापक छ तर यसमा लेखन प्रयासहरु भने नगण्य छ । त्यसो त राजा महाराजाहरुबाट प्रसारित शिलालेख, लालमोहर, इस्तिहार, सनद आदिबाटै सीमान्तकृतहरुको ऐतिहासिक सवाल खोज्न नसकिने होइन । उदाहरणका लागि, तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री भीमशमशेरले १९८९ भदौ ६ मा जारी गरेको इस्तिहारलाई लिन सकिन्छ । यो इस्तिहारमा विगतमा तामाङ लेख्न नपाइने अवस्था रहेकामा अबदेखि भोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नू भन्ने उल्लेख छ । यसबाट विगतमा तामाङहरुले भोग्न परेको जातीय पहिचानकै इतिहासलाई खोतलखातल गर्न ठूलो सहयोग मिल्छ ।

यस्तै १८८८ कात्तिक सुदी १४ मा तत्कालीन राजाले दूधकोशी र बहादुरा खोला पूर्व र अरुण पश्चिम माझकिरातका तालुकदारहरुको नाममा जारी गरेको एक रुक्कामा राई, मझिया, किराती, मुर्मी आदिका प्रत्येक घरबाट हरेक वर्ष जनावरको छाला अनिवार्य सङ्कलन गरी सरकारले सञ्चालन गरेको मेगेजिन अड्डामा दाखिल गर्न आदेश दिइएको छ । जनावरको छाला बुझाउन नसक्ने प्रत्येक घरबाट हरेक वर्ष दुई–दुई आनाको दरले दस्तुर उठाउन उल्लेख गरेकामा कामी र सार्कीको घरबाट आठ–आठ आना दस्तुर उठाउन आदेश दिइएको छ । यो आदेशबाट अहिले पनि दलित उत्पीडित अवस्थामा रहेका कामी र सार्कीहरुलाई राज्यबाट कस्तो आर्थिक उत्पीडन र शोषण परेको थियो भन्ने इतिहासको खोजी गर्न ठूलो सहयोग मिल्छ ।

कसले लेख्ने इतिहास ?

इतिहास अनुसन्धानमा हात बसिसकेका इतिहासकारहरुले सीमान्तकृतहरुको इतिहास लेखी दिए अत्युत्तम हुने थियो । अझ इतिहास लेखनमा नाम चलेका र स्थापित इतिहासकारहरुले नै सीमान्तकृतहरुको इतिहास लेखिदिए त उनीहरुको नामसँगै सीमान्तकृतहरुको ऐतिहासिक सवालहरु सहज रुपमा स्थापित हुने थियो तर स्थापित इतिहासकारहरुले सीमान्तकृतहरुको इतिहासलाई आजसम्म त्यति महत्व दिएनन् । त्यसैले अब सीमान्तकृतहरु आफैँ आफ्नो इतिहास लेखनका लागि तयार हुनु नै एक उत्तम विकल्प हुन सक्छ । गौतम बुद्धको भनाइ छ, ‘अप्पो दीपो भवस्’ अर्थात् आफ्नो दीपक आफैँ बन । आफ्नो इतिहासप्रति चिन्ता हुनेहरुले आफ्नो इतिहासको अन्वेषण र लेखन आफँै गर्न तत्पर हुनुपर्छ । अरूको भर परेर हुँदैन ।     
(लेखक इतिहास अध्ययनमा रुचि राख्ने पत्रकार हुन्)
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending