ईश्वरीय रचना सृष्टि सुव्यवस्थित ब्रह्माण्डीय नियम अनुसार चलिरहन्छ । गुरु शिष्य सम्बन्धको उद्गम ईश्वरीय नियममा हुन्छ । ईश्वरीय विधान अनुसार ईश्वर (भगवान्) को खोज गर्न सकिन्छ । कुनै सद्गुरुद्वारा नै ईश्वरसँग मिलाउन सकिन्छ । सद्गुरुले भगवान् पाउने बाटो पहिलै खोजिसकेको हुन्छ । अर्थात् भगवान् प्राप्त गरिसकेको हुन्छ । गुरुपूर्णिमाको वास्तविक अर्थ के
हो ? जीवको सद्गुरु अथवा मायातीत महापुरुषप्रति पूर्ण शरणागति । जसरी कृष्णले अर्जुनलाई गीताको ज्ञान पनि पूर्ण शरणागतिको लागि नै दिनुभएको थियो । शरणागतिका धेरै कक्षा हुन्छन्, जसरी संसारी विषयका कक्षा हुन्छन् ।
पढाइमा पनि तपाईं देख्नुहुन्छ, पहिलो कक्षा, दोस्रो कक्षा, दसौँ कक्षा आदि । यसै प्रकार साधनाभक्तिद्वारा बिस्तारै बिस्तारै शरणागति बढ्दै जान्छ । मानवको पूर्ण शरणागति भयो भने गुरुपूर्णिमा ठिक ढङ्गले मनाइएका प्रमाणित हुन्छ । वेदमा भनिएको छ, थोरै पनि अन्तर छ भने त्यो पूर्ण शरणागति मानिँदैन । उदाहरणका लागि हामी गुरुको तìव ज्ञान जानेको हुन्छौँ तर ठिक व्यवहारमा लागु गरेका हुँदैनौँ भने पूर्ण शरणागति हुँदैन अनि भगवान् पनि प्राप्त हुँदैन । द्रौपदीको आफ्नो दाँतले साडी टोकिन् त्यसैले भगवान् सहयोग गर्नु आउनुभएन । किनकि त्यस क्षण उनी पूर्ण शरणागति थिइनन् । साडी टोक्नुको अर्थ उनलाई आफ्नो बलप्रति भरोसा थियो । जब द्रौपदीको दाँतले टोकेको साडी छुट्यो र कौरव पक्षले साडी तान्दै गयो उनी बलहीन हुन पुगिन्, त्यसपछि कृष्णलाई स्मरण गरिन् अनि कृष्णले साडी बनेर द्रौपदीलाई रक्षा गरे ।
अर्जुनले प्रारम्भमा नै भनिदिए म हजुरको प्रपन्न शिष्य हुँ । प्रपन्नको अर्थ पूर्ण शरणागत । अर्जुन धेरै चलाख थिए । उनले सोचे, यदि मैले कृष्णलाई भगवान् मानेको भए उनले भन्ने छन्, गुरु खोज्न जाऊँ । मैले हजुरलाई गुरु मान्छु । कालु राई साधारण व्यक्ति थिए । उनी गुरुको पूर्ण शरणागत भएर प्रपन्नाचार्य भए । उनले भगवत् विषयमा धेरै पुस्तक लेखेका छन् । भगवान्ले भन्नुभयो, गुरुको अर्थ भगवत् प्राप्त मायातित महापुरुष । शरणागत त छाँै तर प्रपन्न गलत बोलिरहेको छ । प्र भनेको पूर्ण र पन्न भनेको चरणमा पर्नु ।
कुनै व्यक्तिले सन्त महापुरुषको चरणमा शिर राख्यो तर उसको मन गुरुको चरणमा छैन भने यसको मतलब यो होइन कि ऊ शरणागत छ । प्रपन्नको अर्थ मनसहित शरणागत हुनु । शरीरको दण्डवत् गर्छ र मन शरणागत छैन भने यसलाई पूर्ण शरणागति मानिँदैन । तसर्थ मनयुक्त शरणागतलाई नै प्रपन्न भनिन्छ । अर्जुनले भन्छन्, म प्रपन्न छु र भगवान् भन्नुहुन्छ, “मलाई बेबकुफ बनाइरहेको छ । अरे ! नरक मिल्ला, म युद्ध गर्दिनँ ।” भगवान् भन्नुहुन्छ– “के तेरो दिमाग खराब थियो ? तँ द्वारिका आइस् मसँग बिनाहतियार मलाई मागिस्, त्यसबेला त तेरो अड्कल परिपूर्ण थियो कि यी भगवान् हुन्, यसैले हाम्रो जित हुने छ ।”
अब यस युद्ध भूमिमा आएर के मेरो नाक कटाउने छस् ? मान्छेहरूले के भन्लान्, भगवान्को पक्षवाला अर्जुन यस्तो कायर कसरी निस्क्यो ? पूरै गीताको लेक्चर दिइयो, त्यसमा अन्तिम अध्यायमा एक शब्दलाई जोडेर ज्ञान दिइयो ‘सर्वधर्मान् परित्यज्य’ धर्म धर्म भनेर जुन भनिरहेको छस् अर्जुन तैँले यी सबलाई मारेपछि अधर्म होला । हेर, सब धर्मलाई छोडिदे र मामेकं शरणं व्रज ? मेरो शरणमा आइज । तैँले भने पाप गर्ला भनिरहेको छस् ।
मेरो कानुन छ कि जो मेरो शरणमा आउँछ त्यसको अनन्त जन्मको पापलाई मैले नाश गरिदिन्छु तर पूर्ण प्रपन्न हुनुपर्ने छ प्रपन्न माने पूर्ण शरणागति । अर्थात् मन, बुद्धि पनि रणागत होस् । मन र बुद्धि पनि मलाई दे । गीतामा भनिएको छ कि अर्जुन ! तिमीले आफ्ना मन बुद्धि दुवै मलाई देऊ । मनलाई दिन्छौँ तर बुद्धि लगाउँछौँ ? यो चल्दैन ।
गुरुपूर्णिमा मनाउनुको असली भावार्थ हो कि गुरुको बुद्धिमा आफ्नो बुद्धि जोडिदिनु । जसरी कुनै अशिक्षित व्यक्तिले वकिलको बुद्धिमा आफ्नो बुद्धि जोडिदिन्छ र अदालतमा त्यही व्यक्तिले वकिलको बुद्धिमा आफ्नो बुद्धि जोडिदिन्छ । अदालतमा त्यही बयान दिन्छ, जुन वकिलले बताएको हुन्छ अनि पीडित पक्षले सफाइ पाउँछ । तपार्इं विद्यालयमा पढ्न जानुहुन्छ, जहाँ अङ्ग्रेजी शब्दको स्पेलिङ बताइन्छ, त्यसरी नै तपाईंले रट्नुहुन्छ । अङ्ग्रेजी जान्ने मन छ तर फेरि रट्नुपर्ने छ । यो यस्तो किन भयो भन्ने नसोध, गुरुले जवाफ दिन्छन् । याद गर अनि रट नत्र भन्ने गलत हुन्छ ।
डाक्टरले जुन औषधी दिन्छ दुई थोपा खानु भन्छ त तीन थोपा नखानु । पूर्ण शरणागत होउ । तब रोग ठिक होला । संसारमा हामीले सब ठाउँमा पूर्ण शरणागतिको सिद्धान्त अपनाउँछौँ । पूरै जिन्दगीको कमाइ पाँच लाख, १० लाख सानो प्वालबाट हात छिराएर बैङ्कको कर्मचारीको हातमा दिन्छौँ । दियौँ ? हँ दिएँ । उसले कुनै कागज त दिएको छैन तिमीलाई ? अरे दिहाल्छ कि । यदि दिएन भने ? यसमा त १० हजार कम छ भनिदियो भने ? होइन होइन यस्तो भन्दैन । अरे त्यो धेरै झुट बोल्नेवाला संसार भयाबद्ध व्यक्ति हो सधैँ झुट बोल्छ । त्यो ठिक छ तर यस्तो गर्नेवाला कोही छैन यहाँ । संसारमा सब चल्छ । यसरी नै काम चलिरहेको छ । हामी सब ठाउँमा शरणागत हुन्छौँ । अरे ठुला ठुला अर्बपति आफैँ रुपियाँ जम्मा गर्दैनन्, बैङ्कमा सबै नोकर चाकरले राख्न जान्छ । जबसम्म त्यो शरणागत हुँदैन, तबसम्म काम बन्दैन ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।। गीता १८÷६६ तेषा नित्याभियुक्ताना योगक्षेम वहाम्यहम् ।। गीता ९÷२२ अर्थात् पहिले गरेको पाप पनि नष्ट गरिने छैन र पछिको पनि ठेक्का लिइँदैन । यदि तिमीले हरि गुरुलाई धोका दियौँ भने उनले पनि धोका दिने छन् । जो जुन भावले जति मात्रामा शरणागत हुन्छ बस् म उसलाई त्यति नै मात्र आफ्नोपन÷प्रेम कृपा दिव्य शक्ति दिन्छु । पूरा चाहन्छौँ भने पूरा शरणागत गर तिमीलाई जस्तो फल चाहिन्छ त्यस्तै कर्म गर । तसर्थ वास्तविक गुरुपूर्णिमा त्यस दिन सार्थक होला, जुन दिन कुनै जीवले आफूलाई मायातीत महापुरुषप्रति पूर्ण शरणागत गर्ने छ । गाेरखापत्र दैनिकबाट
प्रतिकृया लेख्नुहोस्: