Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

राष्ट्रियताको वहसः केही घर्षणहरु

\"khagendra_sangruola_khabardabali\"‘म त नेपाली’ / ‘हामी मधेसी’ मधेसी, किराँती, लिम्बू, तमु, तामाङ, मगर, थारु, मुसलमान, इसाई आदि इत्यादि समुदाय आ–आफ्नो आदि पहिचानसहित नेपाली पहिचानमा विस्तारित हुन चाहन्छन्विषयलाई दुईवटा दृष्टान्तको ऐनामा हेरौँ । कुनै एउटा नेपाली टिभी च्यानलको विज्ञापनमा प्रशान्त तामाङ भन्छन्— ‘गर्व लाग्छ मलाई नेपाली हुनुमा ।’ त्यसपछि श्री तामाङ उच्चाटलाग्दो लेग्रे स्वरमा ‘म त नेपाली’ भन्दै हावामा बाँकटे हान्छन् । यहाँ ‘नेपाली’को अभिप्राय विविधतायुक्त नेपालका बहुविध पहिचानहरुको उपेक्षाद्वारा निर्मित एकात्मक र असहिष्णु चरित्रको सनातनी ‘राष्ट्रियता’ हो । सङ्घीयताको दावी गर्दै उठेको मधेस आन्दोलनकालमा मधेसदेखि काठमाडौँसम्मका भित्ताहरुमा एउटा नारा देखापरेको थियो— ‘गर्व से कहो, हम मधेसी छी ।’ पहाड र मधेसका यी दुई आग्रह आपसमा ठाडै बाझ्छन् । पहिलोमा वर्चस्वशाली एकांकी राष्ट्रियता माथिबाट तल थोपर्ने जिद्दी छ, र दोस्रोमा राष्ट्रियताको परिभाषालाई विनिर्माण गरी रैथाने जगबाटै माथि उठाउने आकाङ्क्षा छ । पहिलोले जातीय एवं क्षेत्रीय समुदाय विशेषको रैथाने  पहिचानलाई निषेध गर्छ र दोस्रोले रैथाने पहिचानसहितको नेपालीत्वको दाबी गर्छ । प्रायोजित एवं सुगठित अभियानद्वारा निर्मित प्रशान्त तामाङरुपी ‘आदर्श’ बिम्बमा बाँकी सबैका पहिचानलाई आफ्नै पहिचानको सङ्कुचित वृत्तभित्र विलय गर्ने आत्मकेन्द्रित हठ निहित छ । यो हठ अभिव्यक्तिको न्यूनाधिक पृथक् स्वरुपमा कथित मूलधारका मिडियाभरि नै व्याप्त छ । ‘हम मधेसी छी’को दाबी यो हठको अस्वीकृतिमा उठेको वागी आवाज हो । मधेसी, किराँती, लिम्बू, तमु, तामाङ, मगर, थारु, मुसलमान, इसाई आदि इत्यादि समुदाय आ–आफ्नो आदि पहिचानसहित नेपाली पहिचानमा विस्तारित हुन चाहन्छन् । तर, प्रशान्त प्रवृत्तिले यो चाहनामा तुषारापात गर्छ । बस्, यो द्वन्द्वको चुरो कुरो यही हो । राष्ट्रियताको बहसभरि नै यी दुई आग्रहमाझ भीषण झडप चलिरह्यो । उत्पीडनको तृष्णा / उन्मुक्तिको चाहना सङ्घीयताको आकाङक्षालाई उपेक्षा गर्दै सार्वजनिक गरिएको अन्तरिम संविधान च्यातेर उठेको मधेस आन्दोलन उत्कर्षतिर पुग्न लाग्दा नागरिक आन्दोलनको टोली मधेस दौडाहामा निस्क्यो । टोलीको पहिलो बास नवलपुरमा भयो । आन्दोलनको प्रकृति र प्रवृत्तिबारे चर्चा चल्दा एक बृद्ध ब्राह्मणले बडो खिन्न स्वरमा भनेथे— ‘हैकम चलाउन भनेर पहाडबाट झरिया थ्यो, यी: यस्तो गति भो !’ अर्कोतिर, राष्ट्रियताको बहसमा आफूमाथि भएको उत्पीडनको प्रसङ्गमा मधेसी सहभागीहरुले यत्रतत्र इतिहासको एउटा कटु अनुभवको स्मरण गरेको म सम्झन्छु । श्री ३ को हैकमभरि मधेस–तराईका बासिन्दाले शिवरात्रिको मेला भर्न काठमाडौँ आउँदा फिमफेदीमा राहदानी लिनुपथ्र्यो । मेला सकिएपछि राजधानीलाई बिटुल्याउलान् भनेर प्रहरीले तिनलाई खोजीखोजी पक्रेर उपत्यकाबाट बाहिर लखेट्थ्यो । ऊबेला उर्बर मधेस–तराई त नेपालै थियो तर त्यो माटोका बासिन्दा भने अनेपाली एवं अनागरिक परचक्री थिए । अभिव्यक्तिको रुप फेरिए पनि मधेसी–तराइबासीलाई हेर्ने त्यो दृष्टिकोणमा अझै तात्विक अन्तर आएको छैन । यसबारे नवलपरासीका बाको वचनले धेरै कुरा भन्छ । उता मधेसी–तराईबासीहरु इतिहासको त्यो अपमानकारी व्यवहार सम्झँदै हुङ्कार गर्छन् । नवलपुरका बृद्ध बाको दुखेसोमा उत्पीडनको तृष्णा अझै तृप्त नभएको छनक पाइन्छ । र, मधेसी–तराईबासीको हुङ्कारमा उत्पीडनको पीडा र मुक्तिको आकाङ्क्षा गुन्जिन्छ । राष्ट्रियताको बहसमा यो तृष्णा र यो आकाङ्क्षाबीच कतै प्रस्ट र कतै प्रतीकात्मक रुपले द्वन्द्व भइरह्यो । दौरा–सुरुवाल राष्ट्रवादी/अन्य पोशाक के ? खासगरी पहाडी क्षेत्र र अझ बढी चुरे भेगमा दौरा–सुरुवाल राष्ट्रिय पोशाक हुनैपर्ने आग्रह बलशाली रह्यो । दौरा–सुरुवालधारी राष्ट्रपति यादव र पूर्व प्रधानमन्त्रीद्वय नेपाल एवं खनाललाई भारी प्रशंसाका पात्र बन्ने सौभाग्य प्राप्त भयो, र पूर्व प्रधानमन्त्री प्रचण्डमाथि भत्र्सनाको ओइरो लाग्यो । चुरे भेगको पहाडीबहुल एक बस्तीमा त दौरा–सुरुवालको चर्चाले बहसको झन्डै एक दशांश समय खाइदियो । दौरा–सुरुवाल रहे विश्वमा नेपालको पहिचान रहन्छ, नरहे नेपालको पहिचान सत्यानाश हुन्छ । वक्ताहरुको उत्तेजक बाक्प्रवाहमा अन्तरनिहित तत्व करिब–करिब यस्तो थियो । एकजना विद्वान्को बिछट्टको कथन मेरा कानमा अझै गुन्जिरहेछ । मधेसी राष्ट्रपति रामवरण यादवले दौरा–सुरुवाल लगाउनु हुने, बाँकी मधेसीहरुले चाइने किन लगाउनु नहुने ? चाखलाग्दो कुरा के भने लगभग सवा सय सहभागी भएको त्यो कार्यक्रममा एकजना दौरा–सुरुवालप्रेमीले पनि दौरा–सुरुवाल लगाउने लेठो गरेको थिएन । कुरो सुन्दा अरु–अरुले लगाइदिऊन् र दौरा–सुरुवालको राष्ट्रियता अमर रहोस् भन्ने जिरह मलाई अजीव लाग्यो । सहजकर्ता र संयोजकको आसनबाट गुरुगम्भीर मुद्रा रं विनम्र लबजमा मैले निवेदन गरेँ— बन्धु † मधेस–तराईका बासिन्दामाथि दौरा–सुरुवाल थोपेरर के तिनलाई गर्मी याममा सेकुवा बनाउन खोजिएको हो ? अनपेक्षित प्रश्न सुनेर बहसकक्ष स्तव्ध भयो । र, मौका छोपेर मैले ठट्टा गरेँ— दौरा–सुरुवालधारीमात्र राष्ट्रवादी तत्व हुने भए यहाँ भएका हामी सबै के हौँ ? सबका सब अराष्ट्रिय तत्व ? सभाकक्षको मौनताले मलाई आड दियो र मेरो तर्कको लहरो तन्कियो— स्थानविशेषको पोशाकको प्रकृति त्यहाँको हावापानीले निर्धारण गर्छ । अति जाडो हुने हिमाली भेगका बख्खु, दोचा र भुवादार टोपी, ठिक्क जाडो हुने पहाडी भेगका हिजोका भोटो–सुरुवाल वा दौरा–सुरुवाल वा भोटो–कछाड र उखर्माउलो गर्मी हुने मधेस–तराई भेगका पातला र खुकुला धोती–कुर्ता हाम्रा सामु छन् । पोशाक मर्यादा राख्ने र जाडो–गर्मीबाट जोगिने साधन मात्र नभई पहिचानसूचक संस्कृतिको अवयव पनि हो । जसले जे लगाउँछ, उसलाई त्यही सजिलो लाग्छ र उसलाई त्यही मनपर्छ । कुनै पनि पोशाक निरपेक्षरुपले उत्तम हुँदैन । सबै पोशाक आ–आफ्ना ठाउँमा उत्तम हुन्छन् । सबै पोशाकको आ–आफ्ना ठाउँमा इज्जत र गौरव हुन्छ । तसर्थ बहुभेषयुक्त नेपालमा कुनै एउटा पोशाक अन्य पोशाकधारीहरुमाथि थोपर्नु विविधताको सम्मान गर्नु हो कि विविधताको हुर्मत लिनु हो ? यो मेलमिलापको द्योतक हो कि द्वन्द्वका लागि जोरी खोजाइ हो ? त्यसपछि मतान्तरबाट उत्पन्न तनावलाई साम्य पार्न म मनोविनोदतिर लहसिएँ । मुस्कानमय मुद्रामा भनेँ— दौरा–सुरुवाल लाउनु नै राष्ट्रवादी हुनु हो भने लगभग तीन करोड जनसंख्या भएको समकालीन नेपालका राष्ट्रवादीहरुलाई औँलामा गन्न सकिन्छ । यी विरल मानव दुई थरीका छन् । सदाबहार राष्ट्रवादी र पदीय राष्ट्रवादी । पूर्व महापञ्च सूर्यबहादुर थापा सदारबहार राष्ट्रवादी हुन् र शेरबहादुर देउवा हुन् करिबन सदावहार राष्ट्रवादी । रामवरण यादव, माधवकुमार नेपाल र झलनाथ खनाल पदीय राष्ट्रवादी हुन् । यी मानव पद पाए दौरा–सुरुवाल धारण गर्छन्, नपाए सर्ट–प्यान्ट वा धोती–कुर्ता हल्लाउँछन् । ल भैगो, दौरा–सुरुवालमार्गी यी इनेगिनेका महामहिमहरु त राष्ट्रवादी र देशभक्त रहेछन् रे लौ, अनि हिमाल, पहाड, मधेस–तराईका बाँकी जनहरु ? के बाँकी जनहरु सबै अनेपाली हुन् ? के बाँकी जनहरु सबै अदेशभक्त हुन् ? के दौरा–सुरुवाल इतरका सबै पोशाकहरु अराष्ट्रिय हुन् ? जातिका कुरा नगर / जातिकै कुरा गरिन्छ बहसमालामा घरिघरि उठेको एक उल्लेख्य बुँदा हो यो । बिर्तामोडको बहसमा यो बुँदाले उग्र घर्षणको रुप धारण गर्‍यो । जातिभन्दा माथि, क्षेत्रभन्दा माथि, वर्गभन्दा माथि र लिङ्गभन्दामाथि उठेर राष्ट्रिय अखण्डता र राष्ट्रिय गौरवको रक्षा गर । यो अर्ती बिर्तामोडभरि छताछुल्ल हुने गरी अभिव्यक्त भयो । महामहिम राष्ट्रपति रामवरण यादवको यो अति प्रिय अर्ती हो । त्यसैले त उनी जाति, क्षेत्र, वर्ग र लिङ्गभन्दा माथि उठ्ने अर्ती दिएर कहिल्यै थाक्दैनन् । माथि उठ्नुपर्ने यो आग्रहको अभिप्राय हो, राष्ट्रियताका सन्दर्भमा जे वर्चस्वशाली छ त्यसलाई नि:सर्त स्वीकार गर, जे छैन त्यसको लागि किचलो नगर । अर्थात् चलनचल्तीको नेपाली राष्ट्रियतालाई खुरुखुरु मानेर जुवामुनि नारिएको बूढो गोरुझैँ लुरुलुरु हिँड । यो आग्रहमा साँघुरो मानिएको नेपाली राष्ट्रिय पहिचानको पेटभित्र मुलुकका बाँकी यावत् राष्ट्रिय पहिचानहरुलाई कोच्ने र नेपाली समाजलाई अन्यायपूर्ण यथास्थितिको कैदी बनाइराख्ने जिद्दी ध्वनित हुन्छ । समावेशी राज्यव्यवस्था र शासन प्रणाली  एवं फराकिलो राष्ट्रिय पहिचानको निर्माण  परिवर्तनमुखी नेपालको अभीष्ट हो उत्पीडित जाति, क्षेत्र, वर्ग र लिङ्गहरुको उपस्थिति नेपाली समाजको कठोर यथार्थ हो । र, समावेशी राज्यव्यवस्था र शासन प्रणाली  एवं फराकिलो राष्ट्रिय पहिचानको निर्माण  परिवर्तनमुखी नेपालको अभीष्ट हो । सत्य के हो भने जसरी आफ्नै हातले आफ्ना कान समातेर कोही पनि हावामा उठ्न सक्दैन त्यसैगरी जाति, क्षेत्र, वर्ग र लिङ्गको यथार्थभन्दा माथि कोही पनि उठ्न सक्दैन । उठ भन्नु बकबास हो । जातिका कुरा नगर, अन्यथा मुलुक जातीय कलह र विखण्डनको दलदलमा फस्छ भन्ने आशयको प्रत्युत्तरमा बिर्तामोडमा सङ्घीय लिम्बुवान राज्यपरिषद्का अगुवा सन्जुहाङ पालुङ्वाले जातीय कुरा गरेरै छाड्ने दाबी गरे । उनको तर्कको मजबुन यस्तो थियो: लगभग अढाइ सय वर्ष देशको सत्ता, शक्ति, सम्पत्ति र संस्कृतिमा एकल जातिको हालीमुहाली कायम रह्यो । र, अन्य विविध जातिहरु वहिष्करण र वञ्चनाको अन्धाधुन्ध सिकार भए । देश सङ्घीयतामा जाने मेसो भनेको सत्ता, शक्ति, सम्पत्ति र संस्कृतिमाथिको हकको बाँडफाँट गर्ने अवसर हो । जो जातिका कुरा नगर भन्छ, ऊ जान–अन्जान यो बाँडफाँटको विरोधमा छ । ऊ जातीय कलह र राष्ट्रिय विखण्डनको हाउगुजी देखाएर खाईपाई आएको भुँडेभाग खाइरहन जिद्दी गर्छ । यो बहिष्करण र वञ्चनाको सिकार भएका जातिहरुले आफ्नो हक दाबी गर्ने र तिनलाई सिकार तुल्याउनेहरुले ऐतिहासिक दृष्टिबाट कठोर आत्मसमीक्षा गरी आफ्नो भूल महसुस गर्ने बेला हो । भूलकर्ताले इमानसाथ भूल महसुस गर्नु र भूलको सिकार हुनेले उदारतासाथ क्षमादान गर्नु अनि सत्ता, शक्ति, सम्पत्ति र संस्कृतिको हक बाँडचूँड गरी लोकहितकारी सङ्घीयताको जग बसाउनुमा नै राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको कल्याण छ । यसो नभए के हुन्छ ? श्री पलुङवाले प्रश्न गरे । अनि तिनले आफैँ उत्तर दिए— यसो नगरे सङ्घीयता र राष्ट्रिय एकता सोम शर्माको सातुको कथासरह हुन्छ । भानुभक्तको आरोपण / विद्यापतिको प्रतिकार विद्यापति र तिनका सन्ततिहरुको सांस्कृतिक अस्मितालाई तिरस्कार गर्दै तिनका शिरमाथि बलात् भानुभक्त थोपरिए, थोपराइको प्रकृति जस्तो थियो आखिर परिणति त्यस्तै भयोजनकपुर ओरपरका बहसहरुमा भानुभक्तको सालिकको कारुणिक कथा दोहोरिइरह्यो । कथा यस्तो छ । अन्धराष्ट्रवादी शाही पञ्चायतको पछिल्लो कालमा जनकपुर नगरीको नाभिस्थलमा नेपालीभाषी कवि भानुभक्तको सालिक खडा गर्ने यत्न गरिएछ । मिथिला सभ्यताका विभूति विद्यापतिका सांस्कृतिक सन्ततिहरुले त्यसको विरोध गरेछन् । र, कफ्र्यू लगाएर सङ्गीनको बलले विरोधलाई निरस्त तुल्याउँदै भानुभक्तको सालिक खडा गरिएछ । पछि ६२–६३ को आन्दोलनकालमा कफ्र्यूकै बीचमा त्यो सालिक ढालिएछ । यसरी कफ्र्यूदेखि कफ्र्यूसम्मको वीभत्स कथामा भानुभक्तको सालिक शेष भएछ । सनातनी राष्ट्रवादको चश्मा लगाएर नेपालीभाषी कोणबाट हेर्दा भानुभक्तको सालिकको विनाश जघन्य ज्यादती हो । तर, हेर्ने कोण अर्को पनि त छ । त्यो मैथिली भाषी रैथाने कोण हो । रैथाने नागरिकहरुको सम्मतिविना शक्तिको उन्मादमा भानुभक्तको सालिक खडा गर्ने धृष्टता गर्नु रैथाने भाषा र संस्कृतिमाथि बाहिरिया अहंकारको बलात् आरोपण हो । यहाँ म छु, त्यहाँ त्यो छ, ममा संवेदना छ, त्यसमा पनि संवेदना छ भन्ने बोध, सहिष्णुता र सहअस्तित्वको चेतना भइदिएको भए भानुभक्तको सालिकको हाराहारी विद्यापतिको सालिक खडा गरिँदो हो । अझ बेस त पहाडी मूल र मधेसी मूलका यी दुबै कविको हातेमालो गरेको सालिक खडा गरिँदो हो । तर, जातीय अहंकारले त्यसो गर्न दिएन । विद्यापति र तिनका सन्ततिहरुको सांस्कृतिक अस्मितालाई तिरस्कार गर्दै तिनका शिरमाथि बलात् भानुभक्त थोपरिए, थोपराइको प्रकृति जस्तो थियो आखिर परिणति त्यस्तै भयो । अर्थात् दमनको जबाफ प्रतिकार भयो । यो त भयो सांस्कृतिक आरोपणको केवल एउटा दृष्टान्त । सत्ताधारी वर्चस्वशाली संस्कृतिको थोपराइबाट रैथोन संस्कृति दमित भएका यस्ता कथा इतिहासमा कति छन् कति † जनजातिहरुका संस्कृतिका प्रतीक, गाथा र विभूतिहरु अङ्कित भएका खोलानाला, पाटीपौवा र चौतारी–देउरालीका नामको संस्कृतकरण गरी तिनको सांस्कृतिक अस्तित्व नै नामेट पार्न खोजिएको कथा झनै भयावह छ । सर्वसामेली राष्ट्रियताको निर्माण यस्तो थोपराइबाट होइन, सबै जातिका भाषिक र सांस्कृतिक पहिचानको आपसी सम्मान र स्वीकृतिमा मात्र सम्भव छ । भानुभक्तको सालिकको दारुण कथा सिक्नको लागि एउटा ठूलो पाठ हो । सांस्कृतिक राष्ट्रियता / राजनीतिक राष्ट्रियता सांस्कृतिक राष्ट्रियता कि राजनीतिक राष्ट्रियता ? बहसमा यो प्रश्नले निकै नै उद्वेलन पैदा गर्‍यो । सांस्कृतिक राष्ट्रियताका पक्षधरहरु अतीतमुखी मुद्रामा प्रस्तुत भए । र, तिनले अतीतको ‘गौरव’को यादमा अहा † अहा † को उछ्वास व्यक्त गरे । अहा † भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाह । अहा ! भावनात्मक एकीकरणकर्ता भानुभक्त आचार्य । अहा ! वीर बलभद्र र अमरसिंह । अहा ! बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता ल्याउने जङ्गबहादुर । अहा ! राष्ट्रियताको मैलो गाड्ने महेन्द्र । अहा ! टिस्टा–काङ्गकडा । आहा ! नालापानी—कालापानी । अहा ! नेपाली भाषा, हिन्दु धर्म, दौरा–सुरुवाल–टोपी, आदि । उता राजनीतिक राष्ट्रियताका पक्षधरहरु भने भविष्यमुखी तसर्थ परिवर्तनकामी मुद्रामा प्रस्तुत भए । तिनको भन्नु यस्तो थियो: राष्ट्रियताका अवयवरुपी झन्डा, प्रतीक, गाथा र विभूतिहरुको चयनबाट मात्र साझा तथा सामेली राष्ट्रियताले सर्वाङ्ग रुप धारण गर्दैन । यी त केवल राष्ट्रियताका बोक्रे अलङ्कारहरु हुन् । साझा राष्ट्रियताले तबमात्र सारभूत रुप धारण गर्छ जब राज्य र र सरकारप्रति आम नागरिकमा अपनत्व, ममत्व एवं समर्पण भाव जागृत हुन्छ । एक मधेस–एक प्रदेश र जातीय अग्राधिकार: भय–उत्पादक दुई कारक बहसमा एक मधेस– एक प्रदेश र जातीय अग्राधिकार भयका दुई कारकको औतारमा प्रकट भए । यो भयको प्रस्तुति दुईवटा पृथक् कोणबाट दुई पृथक् आशयले हुनगयो । सङ्घीयताका घोषित विरोधीहरुले यी दुई दाबीलाई जातीय दुर्भाव पैदा गर्ने र राष्ट्रिय विखण्डनमा बल पुर्‍याउने कारकका रुपमा अथ्र्याए । तर सङ्घीयताका पक्षधरहरुको चिन्ता भने सर्वथा भिन्न थियो । तिनको चिन्तालाई यसरी बुझ्न सकिन्छ । मधेस–तराई भाषागत, जातीय र सांस्कृतिक दृष्टिले एक प्रदेश होइन, बहुप्रदेश हो । यो बहुको एकमा जबर्जस्ती कोचाइको कामना कसरी विविधतामा एकताको द्योतक हुनसक्छ ? विभेदकारी र असहिष्णु केन्द्रीकृत एवं एकात्मक राज्यको विकल्पका रुपमा सङ्घीयता रोजिएको हो । तसर्थ केन्द्रीकृत र एकात्मक राज्यको विकल्प पुन: केन्द्रीकृत र एकात्मक राज्यै कसरी हुनसक्छ ? असल मनसाय भएका मानिसहरु आशङ्का प्रकट गर्छन् : एक मधेस–एक प्रदेशको दावीमा कतै हिजो तैँले मनपरी गरिस् अब पालो मेरो भन्ने भावना जानअन्जान प्रकट भएको त होइन ? मधेसी र थारु जुधेर तथा रैथाने मधेसी र आयातीत पहाडीले एकअर्कालाई देखी नसहेर कसरी बन्छ सङ्घीयता ? अनि कसरी खडा हुन्छ सहिष्णुता, सहकार्य र सहअस्तित्वयुक्त राष्ट्रियताको न्यायपूर्ण आधार ? बहसमा जातीय अग्राधिकारको प्रश्न त झन् विवादको मसालै बोकेर उठ्यो । विवादको सार यसरी कहन सकिन्छ । बहुजातीय समाजमा बन्ने बहुजातीय सङ्घीयतालाई जातीय सङ्घीयता भनेर व्यर्थको विवाद रचियो । यो विवादको रचनामा राजनीतिक दलका नेताहरु र जनजाति अभियन्ताहरु दुबैको यथेष्ट  योगदान छ । जनजाति अभियन्ताहरुले अग्राधिकार दावी गरे, तिनको साखुल्य बन्न नेताहरुले केटाकेटीहरुलाई मिठाई बाँडेझैँ थपक्क अग्राधिकार बाँडे । खासखास विशेषता भएको उत्पीडित जातिविशेषको पहिचानको सम्मानार्थ जातिको नामबाट प्रदेशको नाम राखिनुको तात्पर्य जातीय सङ्घीयतामा जानु किमार्थ होइन । अग्राधिकार त झन् लोकतान्त्रिक मान्यताविपरीत कुरा हो । लोकतान्त्रिक निर्वाचनको परिणामले प्रादेशिक सरकारको नेतृत्वको निरुपण गर्छ । अनि निर्वाचन र अग्राधिकारको तालमेल कसरी हुन्छ ? के ठालुमुखी मनोनयकारी व्यवस्था खडा गरेर अग्राधिकार कृपा गरिने हो ? अनि को हो त्यो हुकुमप्रमाङ्गीको अधिकारी कृपाकारी मानव ? सङ्घीयताको काम जनजनलाई जोड्ने हो, टुटाउने होइन । तर, एक मधेस–एक प्रदेश र अग्राधिकारको हौवाले जुटलाई होइन, टुटलाई नै टेको दिएको बुझियो । जोड आन्तरिक राष्ट्रियतामा / न,न, जोड बाह्य राष्ट्रियतामा राष्ट्रियताका आन्तरिक र बाह्य आयाम परस्परविरोधी अर्थ लाग्ने गरी चर्चामा आइरहे । लालको साचेपत्रमा बाह्य राष्ट्रियतालाई कम महत्व दिएको वा उपेक्षा नै गरेको गुनासो पनि घरिघरि सुनियो । यो गुनासो मूलत: माओवादी कोणबाट प्रकट भयो । र, बाह्य राष्ट्रियतालाई जमठ तुल्याउन सिमानामा लहरै फौजी राख्नुपर्ने र बयष्क नागरिकलाई अनिवार्य फौजी तालिम दिनुपर्ने आग्रह पनि अभिव्यक्त भयो । बहसको अर्को पक्षले भने आन्तरिक राष्टियताको सबलीकरणमा जोड दियो । लोककल्याणकारी राज्य र सरकार, सबल अर्थव्यवस्था, सक्षम एवं स्वाभिमानी बौद्धिक जमात र सहिष्णुतायुक्त संस्कृति आन्तरिक राष्ट्रियताका आधारस्तम्भ हुन् । उसो त सर्वसामेली राष्ट्रिय एकताका आधार पनि यिनै हुन् । जब यी आधारहरु दरिला हुन्छन्, बाह्य राष्ट्रियता पनि क्रमश: दरिलो हुँदैजान्छ । बाहुबली तुजुकले बाह्य राष्ट्रियतालाई बलियो बनाउने अभिप्राय उहिलेको कुरा हो, जो खुइलिसक्यो । मेरा आँखाले हेर / हेर्ने आँखा मेरा पनि छन्  राष्ट्रियताको बहसभरि व्याप्त दुई विपरित दृष्टिकोणबीचको द्वन्द्वको सारभूत कुरो यही हो । ‘मेरा आँखाले हेर’ भन्ने आग्रहमा बाँकीहरुका पहिचानलाई मेटेर तिनलाई आफ्नै अहंको सङ्कीर्ण प्रतिरुपमा ढाल्ने सनातनी हठ छ । उता ‘हेर्ने आँखा मेरा पनि छन्’ भन्ने आग्रहमा आफ्नो पृथक् पहिचान र अस्मिताको जब्बर दाबी छ । यी दुई आग्रहबीचको द्वन्द्वको चरित्र हेर्दा लाग्छ, साझा राष्ट्रियताको निर्माण हुनुअघि नेपाली समाजले थप द्वन्द्व र रक्तपात बेहोर्न बाँकी नै छ । (मार्टिन चौतारीले सञ्चालन गरेको राष्ट्रियता सम्बन्धि वहसमा देशका विभिन्न ठाउँमा सहभागी हुँदाका अनुभवबारे लेखिएको निबन्धको सम्पादित अंश । \'राष्ट्रियताको झोली बोकेर घुम्दा\' शिर्षकको यो निबन्ध संग्रौलाको पछिल्लो पुस्तक \'इतर विचार\'मा संग्रहित छ ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies