Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८२ बुधबार | 14th May, 2025 Wed
Investment bank

विज्ञान र दर्शनको सबभन्दा गहन प्रश्न : जीवको उत्पत्ति

नारायण गिरी
नारायण गिरी

जीवको उत्पत्तिको प्रश्न मानव सभ्यताको शुरुवातदेखि नै दार्शनिक र वैज्ञानिकहरूको लागि एक गहन रहस्यको विषय रहेको देखिन्छ । यो एक जटिल र बहुआयामिक वैज्ञानिक प्रश्न हो । यसको लागि धेरै वैज्ञानिक परिकल्पनाहरू प्रस्तावित गरिएका छन् ।  प्राचीन ग्रिक दर्शनदेखि लिएर १९औं शताब्दीको वैज्ञानिक क्रान्तिसम्म जीवको उत्पत्तिको बारेमा निरन्तर खोजहरू अगाडि बढ्दै आएको छ । अहिलेसम्म पनि यो प्रक्रिया अझ गहन रूपमा अगाडि बढिरहेको छ । पहिले जीव निर्जीव पर्दाथबाट स्वयं उत्पन्न भएको मानिन्थ्यो । डार्विनले जातिहरूको उत्पत्तिमा जीवको विकासको सिद्धान्त दिए तर उत्पत्तिको प्रश्नलाई भने रहस्मय शुरुवात भनेर छोडिदिए । बीसौं शताब्दीमा ओपेरिन-होल्डेनले पहिलो पटक रासायनिक विकासलाई वैज्ञानिक आधार प्रदान गरे । सन् १९५३ मा मिलर-यूरेले प्रयोगशालामा एमिनो-एसिडको संश्लेषणबाट अजैविक रसायन विज्ञानको विकासलाई बढावा दिए । आधुनिक युगमा आरएनए संसार (कोशिकाहरूमा प्रोटीन संश्लेषणको निर्देशन दिने र केही विषाणुहरूमा आनुवांशिक सामग्रीको पनि कार्य गर्ने)  र हाइड्रोथर्मल भेन्ट (समुद्र सतहमा उच्च तापक्रम, रासायनिक झर्नामा ऊर्जा र खनिजको उपस्थितिबाट जीवको उत्पत्तिको लागि अनुकूल परिस्थिति)  जस्ता परिकल्पनाहरूले अनुसन्धानलाई नयाँ दिशा प्रदान गरेको छ । अन्तरिक्ष अन्वेषण अन्तर्गत मंगल ग्रहमा जीवनको खोज र उल्कापिण्डहरूमा कार्बनिक यौगिकहरूको उपस्थितिले पेनस्पर्मिया (जीव अन्तरिक्षबाट आएको हो भन्ने सिद्धान्त)  सिद्धान्तलाई पुनर्जीवित गरिएको छ ।  

जीवको उत्पत्ति विज्ञानको सबभन्दा गहन र स्थायी रहस्यहरूमध्ये एक हो । शताब्दियौंदेखि मानिसले हामी कहाँबाट आएका हौं ? जीवनको शुरुवात कसरी भयो ?  र,  सबभन्दा पहिलेको जीव कस्तो देखिन्थ्यो ?  जस्ता विभिन्न प्रश्नहरूमाथि चिन्तन गर्दै आइरहेका छन् । जीवनको आधारलाई बुझ्ने कुराको खोजले जीवविज्ञान,  रसायनविज्ञान, भौतिकविज्ञान र दर्शनशास्त्रसम्मलाई प्रभावित गर्दछ । वैज्ञानिकहरूले यसका रहस्यहरूलाई बुझाउनका लागि उल्लेखनीय प्रगति गरेका छन्, तर जीवनका शुरुवाती प्रश्नहरूको उत्तर अहिलेसम्म पनि प्राप्त हुनसकेको छैन । वैज्ञानिकहरूद्वारा प्रस्तावित गरिएका सिद्धान्तले जीवन सबभन्दा सरल परिस्थितिबाट कसरी उत्पन्न भयो होला भन्ने कुराको आकर्षक झलक प्रदान गर्छन् ।

जीवको उत्पत्तिको लागि सबभन्दा लोकप्रिय वैज्ञानिक सिद्धान्त के हो भने यसको शुरुवात जटिल रासायनिक प्रक्रियाको एक श्रृङ्खलाबाट गुज्रिने सरल अणुहरूबाट भएको हो । जसको परिणामस्वरूप अन्ततः स्व-प्रतिरूप अणु बने, त्यसपछि यी अणु विकसित भए, अनुकूलित भए र अन्तमा जीवित जीवहरूलाई जन्म दिन सके । यो विचारलाई एबियोजेनेसिस  (निर्जीव पदार्थ वा कार्बनिक अणुहरुबाट प्राकृतिक रूपले जीवहरूको उत्पत्ति हुने प्रक्रिया)  सिद्धान्तको रूपमा बुझ्न सकिन्छ । यो सिद्धान्त अनुसार जीवन निर्जीव पदार्थबाट उत्पन्न भएको हो । अरबौं वर्षसम्म पृथ्वी जटिल,  तप्त र बन्जर ग्रहको रूपमा थियो । यसमा भयंकर ज्वालामुखी विस्फोट हुनुका साथै तीव्र विकिरण प्रवाह हुन्थ्यो । यस्तो अवस्थामा पनि कुनै रूपमा जीवको उत्पत्ति भयो । तर यस्तो कसरी भयो त ?  यो कुरा बुझ्नको लागि सबभन्दा पहिले त्यो समयलाई हेर्नुपर्छ, जतिखेर पृथ्वी आजको समयको संसारभन्दा अलग थियो ।

करिब ४.५ अरब वर्ष पहिले पृथ्वीको निर्माण सूर्यको वरिपरिको धूलो र ग्यासबाट भएको हो । आफ्नो प्रारम्भिक वर्षमा पृथ्वी एक तातो र पग्लिएको पिण्ड समान थियो । विस्तारै-विस्तारै सतह चीसो हुँदै गयो र महासागरहरूको निर्माण भयो । यस अवधिमा पृथ्वीको वातावरण आजको वातावरणभन्दा अत्यन्तै भिन्न थियो । त्यसबेला यहाँको वातावरण मिथेन, एमोनिया, पानीको वाफ र कार्बनडाइअक्साइड जस्ता ग्यासहरूबाट बनेको थियो र यसमा अक्सिजन थिएन । यसले गर्दा त्यसबेला धेरै फरक प्रकारको वातावरण बनेको थियो,  जसमा जीवन अस्तित्वमा रहन सक्थ्यो । तर यो त्यही वातावरण थियो, जसले बिजुलीको ऊर्जा, ज्वालामुखीय गतिविधि र सूर्यबाट तीव्र रूपमा आउने पराबैजनी किरणसँगै मिलेर जीवनका आधारभूत निर्माण-खण्ड बनाउनको लागि आवश्यक परिस्थिति प्रदान गर्न सक्थ्यो ।

बीसौं शताब्दीको दोस्रो दशकमा रूसी जैव-रसानयविद अलेक्जेण्डर ओपेरिन र ब्रिटिश वैज्ञानिक हल्डेनले स्वतन्त्र रूपले पृथ्वीको प्रारम्भिक वातावरण सरल कार्बनिक अणुहरूको निर्माणको अनुकूल हुन सक्छ भन्ने प्रस्ताव गरे । उनीहरूका अनुसार प्रारम्भिक वातावरणमा रसायन पर्यावरणबाट ऊर्जाको उपयोग गरी एमिनोएसिड,  ग्लूकोज र न्यूक्लियोटाइडले जीवनका आवश्यक घटक बनाउनको लागि एक-अर्कोसँग प्रतिक्रिया गर्न सक्थे । यी अणु आदिम महासागरमा जम्मा भएको हुनुपर्छ,  जसलाई ओपेरिनले आदिम सूपको रूपमा वर्णन गरे । यही सूप जीवनको जन्मस्थान रहेको हुनुपर्छ,  जहाँ जटिल अणु शुरुमा जीवित जीवहरूमा एकत्रित भए ।

अमेरिकी रसायनशास्त्री स्टेनली मिलर र हेराल्ड उरेले सन् १९५३ मा एक प्रयोग गरे,  जसमा जीवको उत्पत्तिमाथि वैज्ञानिक विचारको शिक्षालाई नै बदलिदिए । उनीहरूले प्रयोगशाला व्यवस्थापनमा प्रारम्भिक पृथ्वीको स्थितिलाई पुनः निर्माण गरे । उनीहरूले एक बन्द प्रणालीलाई पानी, मिथेन, एमोनिया र हाइड्रोजनले भरिदिए । के मानिन्छ भने यी ग्यासहरूले प्रारम्भिक वातावरणको निर्माण गरेका थिए । त्यसपछि उनीहरूले बिजुलीको अनुकरण गर्नको लागि यसमा विद्युतको प्रयोग गरे । एक हप्तापछि आश्चर्यजनक परिणाम निक्लियो । प्रयोगबाट धेरै एमिनोएसिड उत्पन्न भए, जुन प्रोटीनका निर्माण-खण्ड हुन् । यो जटिल कार्बनिक अणु प्रारम्भिक पृथ्वीको समान मानिने परिस्थितिमा बन्न सक्छन् भन्ने पहिलो ठोस प्रमाण थियो ।

मिलरको प्रयोगले जीवन कसरी उत्पन्न भयो भन्ने अनुसन्धानको एउटा क्षेत्र खोलिदियो । वैज्ञानिकहरूले जीवन एमिनोएसिड, न्यूक्लियोटाइड र लिपिड जस्ता सरल अणुहरूबाट उत्पन्न हुन सक्छ भन्ने विचारलाई व्यावहारिक रूप दिन शुरु गरे । सामुन्ने आएको एउटा मुख्य विचार के थियो भने यी अणुले प्रोटीन न्यूक्लिक एसिड जस्ता पोलिमर (बहुलक)  बनाउन सक्थे,  जुन जीवनको लागि आवश्यक हुन्छ । पहिले पोलिमर अणुहरूको सरल श्रृङ्खला रहेको हुनुपर्छ, तर समयसँगै ती महत्त्वपूर्ण जैविक कार्य गर्न सक्षम धेरै जटिल संरचनाहरूमा विकसित हुन सक्छन् ।

जीवको शुरुवातको लागि कार्बनिक अगुणहरू बन्नु मात्र पर्याप्त हुँदैन । तिनीहरूले यसरी एकसाथ आउने आवश्यकता पनि हुन्छ,  जसबाट तिनीहरूले स्वयंलाई दोहोर्‍याउने अनुमति दिन सकून् । यहीं आरएनए जस्ता न्यूक्लिक एसिडको भूमिका अगाडि आउँछ । जीवनको शुरुवात आरएनएबाट भयो भन्ने सिद्धान्तलाई आरएनए विश्व-परिकल्पना भनिन्छ । यो सिद्धान्तको प्रस्ताव सन् १९८६ मा कार्ल भोजले गरेका थिए । यो सिद्धान्त अनुसार आरएनए आधारभूत सूपमा अप्रत्यासित रूपमा बन्न सक्थे र आनुवांशिक जानकारीका भण्डार र रासायनिक प्रतिक्रियाका उत्प्रेरक दुवैको रूपमा कार्य गर्न सक्थे ।

यो जीवको उत्पत्तिमा एक महत्त्वपूर्ण कदम हो, किनभने यसले सरल अणु र जीवका जटिल प्रणालीहरूको बीचको दूरीलाई कम गर्दछ । आरएनए विश्व परिकल्पनाबाट प्रारम्भिक जीव रूप आरएनएमा आधारित थिए,  डीएनएमा होइन भन्ने कुरा थाहा हुन्छ । र, आरएनए अणु स्वयंलाई दोहोर्‍याउनमा सक्षम थिए । समयसँगै यी आरएनए अणु विकसित हुन सक्छन् र धेरै जटिल हुन सक्छन् । यसबाट डीएनएमा आधारित जीवको उदय हुनसक्छ । यो परिकल्पनालाई विगत केही वर्षमा समर्थन प्राप्त भएको छ । विशेषगरी वैज्ञानिकहरूले आरएनएले प्रोटीन समान उत्प्रेरक कार्य गर्न सक्दछ र यो प्राकृतिक छनौटको माध्यमबाट विकसित हुनसक्छ भन्ने कुरा पत्ता लगाएपछि समर्थन प्राप्त भएको हो । यद्यपि आरएनएमा आधारित जीव रूपलाई डीएनएमा आधारित जीवमा परिवर्तित गर्न सकिने त्यो सटिक प्रक्रिया एक रहस्य बनेको छ ।

जीवको उत्पत्ति त्यो उत्पन्न भएको पर्यावरणबाट पनि प्रभावित हुनसक्छ । एउटा संभावना के देखिन्छ भने जीव गहिरो समुद्रको ‘हाइड्रोथर्मल भेन्ट’ बाट शुरु भएको हो । यो सिद्धान्तको प्रस्ताव सन् १९८० को दशकमा वाचटरशोस र कोरलिसले गरेका हुन् । समुद्र सतहमा पाइने छिद्रले तातो खनिजयुक्त पानी निकाल्दछन् । यो स्थितिले रसायन र ऊर्जाको सही मिश्रणसँगै जीवको शुरुवातको लागि आदर्श वातावरण प्रदान गर्न सक्थ्यो । यी छिद्रहरूमा पाइने उच्च दबाव, तापक्रम र रासायनिक प्रवृत्तिले जटिल अणुहरूको निर्माण र प्रथम आदिम कोशिकाहरूको विकासलाई सुविधाजनक बनाएको हुनुपर्छ ।

‘हाइड्रोथर्मल भेन्ट’ मा जीवन उत्पन्न हुने विचारलाई एक्सट्रेमोफाइल्स (उच्च तामक्रम,  अत्याधिक लवणता,  तीव्र अम्लियता वा अत्याधिक दबावमा पनि जीवित रहने सूक्ष्म जीव) जीवहरूको खोजबाट समर्थन प्राप्त हुन्छ,  जुन उच्च तापक्रम, उच्च दबाव र उच्च अम्लीयता जस्ता चरम स्थितिमा जीवित रहन सक्छन् । केही वैज्ञानिकको मान्तया अनुसार जीवको उत्पत्ति प्रारम्भिक पृथ्वीको रसायनविज्ञानले सरल जीवहरूलाई जन्म दिएको वातावरणमा भएको हुनुपर्छ  । तिनीहरू अन्ततः जीवका धेरै जटिल रूपहरूमा विकसित भए । यी प्रारम्भिक जीव आधुनिक समयका आर्किया समान हुन सक्छन् । तिनीहरू एककोशीय जीव हुन् र तिनीहरू चरम वातावरणमा हुर्किन्छन् । समयसँगै यी प्रारम्भिक जीव अलग-अगल वातावरणमा अनुकूलित हुन सक्छन् र यिनीहरूले जीवहरूको विशाल विविधतालाई जन्म दिन सक्छन्,  जुन आज पृथ्वीमा विद्यमान छन् ।

पहिलो पटक जीव रूप अगाडि आउँदा जीवित रहन र प्रजनन गर्नको लागि तिनीहरूले विकसित हुनुपर्‍यो । प्राकृतिक छनौटद्वारा संचालित क्रमविकासको यो प्रक्रियाले लाखौं वर्षमा तीव्रतापूर्वक जटिल जीवहरूको विकासलाई जन्म दिएको हुनुपर्छ । पहिलो जीव रूप संभवतः ब्याक्टेरिया जस्ता सरल एककोशीय जीव थिए । यी जीव ऊर्जा प्राप्त गर्न, आफ्नो आनुवांशिक सामग्रीको प्रतिरूप बनाउन र जीवनका आधारभूत कार्यहरूलाई पूरा गर्नका लागि रासायनिक प्रतिक्रियामा निर्भर रहेको हुनुपर्छ । यी प्रारम्भिक जीव विकसित हुँदै गएपछि तिनीहरूले ऊर्जाको दोहन गर्न, पर्यावरणबाट आफ्नो रक्षा गर्न र एक-अर्कोसँग संवाद गर्ने नयाँ तरीका विकसित गरेको हुनुपर्छ । अन्ततः यिनीहरूमध्ये केही जीव बहुकोशीय जीव जस्ता जीवनका धेरै जटिल रूपहरूमा विकसित भएको हुनुपर्छ । एककोशीयबाट बहुकोशीय जीवमा परिवर्तन पृथ्वीमा जीवको इतिहासमा महान कदम थियो,  किनकि यसबाट विशेष कोशिका र अंगहरूको  विकासको अनुमति प्राप्त भयो;  त्यसपछि वनस्पति, जनावर, ढुसी, आदिको उदय भयो ।

जीवको उत्पत्तिलाई बुझ्नमा भएको प्रगतिको बावजुद अझै पनि धेरै अनुत्तरित प्रश्न रहेका छन् । सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा निर्जीव पदार्थबाट जीवको उत्पत्ति कसरी भयो होला भन्ने कुरा बुझ्नु हुन्छ । वैज्ञानिकहरूले के देखाएका छन् भने जटिल अणु सही परिस्थितिमा बन्न सक्छन् । त्यो सटिक प्रक्रियाद्वारा यी अणु पहिले जीवित जीवहरूमा एकत्रित भएको कुरा अस्पष्ट नै छ । के यो एक क्रमिक प्रक्रिया थियो वा जीव अचानक जटिलताको विस्फोटमा उत्पन्न भयो ?  के ब्रम्हाण्डमा कतै अन्य विभिन्न परिस्थितिमा जीवको उत्पत्ति भयो ?  यी प्रश्नहरूले केही वैज्ञानिकहरूलाई पेन्सपर्मियाको संभावनाको बारेमा पत्ता लगाउनको लागि प्रेरित गरेका छन्,  जसानुसार जीव ब्रम्हाण्डमा कतै अन्त उत्पन्न भएको हुनुपर्छ र धूम्रकेतु, छुद्र ग्रह वा धूलोका कणहरूबाट पृथ्वीमा आइपुगेको हुनुपर्छ भन्ने विचार उत्पन्न हुन्छ । यो विचार अझै काल्पनिक भएपनि यसले जीवनको प्रकृति र सम्पूर्ण ब्रम्हाण्डमा यसको क्षमताको बारेमा रोचक संभावनाहरू पैदा गर्दछ ।

जीवको उत्पत्ति केवल एउटा वैज्ञानिक प्रश्न मात्र होइन, यो दार्शनिक प्रश्न पनि हो । सम्पूर्ण इतिहासमा विभिन्न संस्कृति,  धर्म र दर्शनले जीवहरूको उत्पत्तिको बारेमा आ-आफ्ना व्याख्या प्रस्तुत गरेका छन् । यिनीहरूमा प्रायः अलौकिक शक्तिद्वारा निर्माण वा हस्तक्षेप जस्ता कुरा पनि सामेल हुन्छन् । विज्ञानले प्राकृतिक प्रक्रियाहरूको माध्यमबाट जीवको उत्पत्तिको व्याख्या गर्दछ । तर पनि केहीले यसको अर्थ खोज्नको लागि आफ्नो धार्मिक मान्यतातिर दृष्टि दिन्छन् । त्यसकारण जीवको उत्पत्तिको प्रश्न वैज्ञानिक मात्र नभएर एक गहन अस्तित्व सम्बन्धी परीक्षण पनि हो ।

यसरी जीवको उत्पत्ति विज्ञानको सबभन्दा महान रहस्यहरूमध्ये एक हो । यसको बारेमा धेरै सिद्धान्त प्रस्तुत गरिए पनि जीवको शुरुवात हुने सटिक प्रक्रिया अझै पनि अनिश्चित छ । वैज्ञानिकहरूले फरक-विचार विचार पत्ता लगाउने काम जारी राखेका छन्; यसमा प्राइमरियल सूप सिद्धान्त (पृथ्वीको प्रारम्भिक वातावरणमा सरल कार्बनिक यौगिकहरूको संयोजनद्वारा जटिल अणु बने,  जसबाट अन्ततः जीवको उत्पत्ति भयो)  देखि लिएर हाइड्रोथर्मल भेन्ट (समुद्र सतहमा उच्च तापक्रम, रासायनिक झर्नामा ऊर्जा र खनिजको उपस्थितिबाट जीवको उत्पत्तिको लागि अनुकूल परिस्थिति)  सम्म र आरएनए (कोशिकाहरूमा प्रोटीन संश्लेषणको निर्देशन दिने र केही विषाणुहरूमा आनुवांशिक सामग्रीको पनि कार्य गर्ने) को संसारदेखि लिएर अन्तरिक्षबाट जीवको आगमनको संभावनासम्म पर्दछन् ।

प्रत्येक खोजले पृथ्वीमा जीवको उत्पत्ति कसरी भयो भन्ने कुराको निकट लिएर जान्छ । जीवको उत्पत्तिको खोज विज्ञान, दर्शन र मानव विचारको सबभन्दा गहन क्षेत्रमध्ये एक यात्रा हो । यो एउटा यस्तो यात्रा हो, जसले एक दिन हाम्रो अस्तित्वको बारेमा सबभन्दा गहन प्रश्नहरूको उत्तर दिन सक्छ । जीवको उत्पत्तिको रहस्यले वैज्ञानिकहरूलाई मात्र आकर्षित गर्दैन, बरु यसले अस्तित्वको प्रकृतिमाथि पनि गहन चिन्तनलाई अगाडि बढाउँछ । जैव-रसायन, भौतिकविज्ञान र ब्रम्हाण्ड विज्ञानको क्षेत्रमा गहिराईमा जाँदै गर्दा जीवको उत्पत्तिको विचारले हाम्रो बोधलाई चुनौती दिइरहन्छ । यदि सही परिस्थितिमा निर्जीव पदार्थबाट जीवको उत्पत्ति हुनसक्छ भने यो ब्रम्हाण्डमा अन्त कतै जीवको संभावनाको बारेमा के भन्न सकिन्छ ?  के जीव केवल पृथ्वीमा मात्र छैन भन्ने कुरा संभव छ ?  यो संभावनाले खगोलविज्ञानको रोचक क्षेत्रलाई जन्म दिएको छ । यसमा अनुसन्धानकर्ता अन्य ग्रहमा जीवको संभावनाको बारेमा पत्ता लगाउने प्रयास गर्दछन् ।

जीवको उत्पत्तिको अध्ययनमा सबभन्दा महत्त्वपूर्ण कारकहरूमध्ये एक एक्सोप्लानेट (सौर्यमण्डल बाहिर कुनै ग्रहमा जीवको संभावनाको खोजी) को खोज हो । पृथ्वी जस्तै एक्सोप्लानेटको खोजले पृथ्वीमा पाइने समान परिस्थितिमा ब्रम्हाण्डमा कतै अन्त पनि जीव विद्यमान हुनसक्छ भन्ने संभावनालाई बढाइदिएको छ । जीव हाम्रो ग्रहसम्म मात्र सीमित हुनसक्दैन भन्ने विचारले पेनस्पर्मिया (जीव अन्तरिक्षबाट आएको हो भन्ने सिद्धान्त)  लाई बढावा दिन्छ,  जसले जीव वा जीवको निर्माण-खण्ड सम्पूर्ण ब्रम्हाण्डमा उत्पन्न हुनसक्छन् र छुद्र ग्रह, आदिको माध्यमबाट पृथ्वीमा पुग्न सक्छन् ।

जीव पृथ्वीमै उत्पन्न भएको होस् वा जहाँसुकै, जीव ब्रम्हाण्डमा अपरिहार्य नभए पनि एक आम घटना हो भन्ने धारणा विचारोत्तेजक अवधारणा हो । यो विचार काल्पनिक भए पनि यसले जीवनको बारेमा हाम्रो कम ज्ञानलाई दर्शाउँदछ । अन्य ग्रहमा रोगाणुहरूको खोज वा बुद्धिमान जीवको संकेतले शताब्दियौंदेखि मानवलाई हैरान बनाइरहेका प्रश्नहरूको उत्तर दिन सक्छन् । पृथ्वीमा जीवको उत्पत्तिको खोज जारी छ । यसले हामीलाई जीवन फस्टाउनको लागि आवश्यक परिस्थितिको नाजुक सन्तुलनमा गहन अन्तर्दृष्टि प्रदान गर्छ । हामीले आफ्नो ग्रहमा जीव निर्माणको अध्ययन गर्दै जाँदा ब्रम्हाण्डको विशाल विस्तारमा आफ्नो स्थानको बारेमा पनि अझ बढी सिक्दै जान्छौं । जीवको उत्पत्तिलाई कुनै बेला शायद कहिल्यै बुझ्न नसकिने एक प्रश्नको उत्तर ठानिन्थ्यो । अहिले निरन्तर विकसित भएको रहस्यले विज्ञानका सीमा र हाम्रो कल्पनालाई चुनौती दिन्छ । निरन्तर भइरहेको खोजले जीव उत्पत्तिका नयाँ रहस्यहरूको उद्घाघटन हुँदै जान्छ र मानव ज्ञान अझ समृद्ध बन्दै जान्छ ।

जीवको उत्पत्ति एक अचानक घटना होइन,  यो निरन्तर रासायनिक प्रक्रिया – उपापचय, स्व-प्रतिरूप,  संगठनात्मक संगठन –  को परिणाम हो । समुद्री वातावरणले अणुहरूको स्थरीकरण र प्रतिक्रियाको लागि आदर्श माध्यम प्रदान गर्‍यो । ज्वालामुखी  गतिविधि,  परावैजनी विकिरण र रासायनिक ऊर्जाले प्रक्रियालाई प्रेरित गरे । तर स्व-प्रतिरूप गर्ने आरएनए अणुहरूले कसरी कोशिकीय संरचनाहरूको रूप लिए भन्ने कुरा स्पष्ट रूपमा अझैसम्म बुझ्न सकिएको छैन । अर्कोतिर ऊर्जा उत्पादनको प्रारम्भिक प्रणाली कसरी विकसित भयो भन्ने कुरा पनि स्पष्ट रूपमा थाहा पाउन सकिएको छैन । अहिले क्रेग भेन्टरद्वारा माइक्रोप्लाज्मा लेबियमको संश्लेषण गरी सिन्थेटिक जीवविज्ञान अन्तर्गत प्रयोगशालामा कृत्रिम कोशिकाहरूको निर्माण भइरहेको छ । जेम्स वेब टेलिस्कोपद्वारा अन्य ग्रहमा बायोसिग्नेचरको खोजको लागि एक्सोप्लानेट अनुसन्धान भइरहेको छ । जैविक प्रक्रियामा क्वान्टम भूमिकाको परीक्षणको लागि क्वान्टम जीवविज्ञानमा अनुसन्धान भइरहेको छ ।

अन्तमा, जीवको उत्पत्तिको प्रश्न अझै पनि विज्ञान र दर्शनको सबभन्दा गहन रहस्यहरूमध्ये एक बनिरहेको छ  । अहिले रासायनिक रहस्यका धेरै टुक्राहरूलाई जोडे पनि जीवको उत्पत्तिको सम्पूर्ण चित्र भने अस्पष्ट नै छ । आउने समयमा अन्तरिक्ष अन्वेषण,  कृत्रिम बौद्धिकता र क्वान्टम जीवविज्ञानको संयुक्त प्रयासबाट यी रहस्यहरूको उजागर हुने देखिन्छ । यो विश्लेषणबाट जीवको उत्पत्ति अझै पनि वैज्ञानिक अनुसन्धानको एक सक्रिय क्षेत्र हो भन्ने बुझिन्छ । यसमा हुने नयाँ खोजले हाम्रो बोधलाई निरन्तर विकसित गरिरहनेछ ।

सन्दर्भ स्रोतहरू

Lazcano, Antonio, and Stanley L. Miller. “The origin and early evolution of life: prebiotic chemistry, the pre-RNA world, and time.” Cell (1996).
NASA’s Astrobiology Institute
Oparin, A. I. “The Origin of Life on Earth” (1936, translated version).
Miller, Stanley L. “A production of amino acids under possible primitive Earth conditions.” Science (1953).
Gilbert, Walter. “Origin of life: The RNA world.” Nature (1986).
Hoyle, Fred, and Wickramasinghe, Chandra. “Lifecloud: The Origin of Life in the Universe” (1978).
“The Vital Question” https://avalonlibrary.net/ebooks/Nick%20Lane%20-%20The%20Vital%20Question%20-%20Why%20Is%20Life%20The%20Way%20It%20Is%3F.pdf
“Origins of Life”, https://catdir.loc.gov/catdir/samples/cam032/99021079.pdf
NASA Astrobiology Program (2023)
“Life’s Origin: The Beginnings of Biological Evolution” (J. William Schopf, 2002)
Evolution, Origin of Life, Concepts and Methods – Pierre Pontarotti Editor, Springer
The Staircase of Life: The Story of the Origin and Evolution of Life and Humankind, by Gerard Alexander Willighagen (Author), Kindle
The Origin and Evolution of Life, Henry Fairfield Osborn (Author), Legare Street Press
Origins & Evolution: Evolution of Our Universe and Planet, and the Origins of Life and Meaning, Frank H Laukien (Author), Evolution Press
The Origins of Life: From the Birth of Life to the Origin of Language by John Maynard Smith (Author), Eörs Szathmáry (Author), Oxford University Press, 2000
The Origin and Early Evolution of Life: Prebiotic Systems Chemistry Perspective, Editors Michele Fiore Emiliano Altamura . MDPI
The Origins of Life, Subject Area(s):  Cell Biology; Molecular Biology; Biochemistry; Origin and Evolution of Life, Edited by David Deamer, University of California, Santa Cruz; Jack W. Szostak, Howard Hughes Medical Institute, Massachusetts General Hospital
Origin of the Life of a Human Being: Conception and the Female According to Ancient Indian Medical and Sexological Literature, Rahul Peter Das (Author), Motilal Banarsidass publishers, 2003
Discovering the Origin of Human Life (Science Frontiers) Library Binding – January 1, 2017 by Todd Kortemeier (Author), 12-story Library
The Origin of Life: A Popular Treatise on the Philosophy and Physiology of Reproduction, in Plants and Animals, Including Details of Human Generation, … the Male and Female Organs Frederick Hollick, Forgotten Books publishes
https://narayangiri.wordpress.com/2025/01/10/prithvi-ma-jeebko-utpatti-tatha-bikash/
Study and Research of various websites, blogs, online portals, youtube channels, documentaries, etc. 

narayangiri.wordpress.com बाट साभार

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देही ३ मा कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिर्वाचन गर्ने तयारी

काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...

रुपन्देही ३ मा कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिर्वाचन गर्ने तयारी

काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...

वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन

काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...

वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन

काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...

स्थानीय जनप्रतिनिधीको मिलिमत्तोमा एकल महिलाको सम्पत्ति हडप्ने चलखेल

रौतहटको चन्द्रपुर २ र ४ का अध्यक्षहरुको अमानवियताः एकल महिलामाथि ज्यादती

जनयुद्धका सहिद तथा बेपत्ता पत्रकारको नाममा कोष बनाउन माग

काठमाडौं । प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकाहरुको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । सञ्चार मन्त्र...

नेपाली चेलीलाई दिल्ली पुर्‍याउन खोज्ने युवक पक्राउ

रौतहट । ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले...

६ घण्टापछि बल्ल नियन्त्रणमा आयो मखन टोलको आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो करिब तीन घण्ट...

गाजाको अस्पतालमा इजरायली आक्रमण: २८ जनाको मृत्यु, दर्जनौँ घाइते

गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा...

भोगचलन गरेको ३५ वर्षपछि जग्गा धनिपुर्जा

काभ्रेपलाञ्चोक ।  पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्।   साविक देवभूमि बालुवा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending