ती जो आज तारिफ गरिरहेका छन्, सधैँभरी वहाँंको प्रसंशा गरेर बस्दैनन् किनकी आजका केयौं प्रसंशकहरु माओवादी राजनीतिका खुंखार विरोधी छन् । प्रचण्डले भर पर्नुपर्ने शक्ति भनेको आफ्नो संगठनात्मक शक्ति हो जो यस बीचमा बर्षौं थन्काएर राखेको गाडी जस्तो जाम भएर बसेको छआंशिक जीतको साइड इफेक्ट नयाँ संविधान जारी भएपछि माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो पटक व्यापक प्रसंशा पाउनु भयो । माओवादी सदस्य र समर्थकहरुका लागि निश्चय नै यो खुशी र गर्वको कुरा हो । तर, के कुरामा स्पष्ट हुनु पर्दछ भने यो प्रसंशा केही दिनको लागिमात्रै हो । ती जो आज तारिफ गरिरहेका छन्, सधैँभरी वहाँंको प्रसंशा गरेर बस्दैनन् किनकी आजका केयौं प्रसंशकहरु माओवादी राजनीतिका खुंखार विरोधी छन् । प्रचण्डले भर पर्नुपर्ने शक्ति भनेको आफ्नो संगठनात्मक शक्ति हो जो यस बीचमा बर्षौं थन्काएर राखेको गाडी जस्तो जाम भएर बसेको छ । नयाँ संविधानको क्यास गर्नुपर्ने संगठन नै यो हालतमा भएपछि त्यत्तिकै आफैं माओवादी राम्रो भनेर भनिदिने अरु त हुंदैनन् । यो बीचमा प्राप्त राजनैतिक विजयलाई माओवादीले आफ्नो संगठनमा कति सदुपयोग गर्न सक्छ, प्रतिस्पर्धात्मक आगामी राजनीतिमा उसको भविष्य त्यसैमा निहित रहने छ । माओवादीका लागि नयाँ संविधान आंशिक विजय मात्र हो । माओवादीले आफ्ना केयौं मुद्दाहरुमा सम्झौता गरेका छ र विरोधीहरुका आधारभूत रुपले फरक एजेण्डा पारित हुनदिएको छ । यसले गर्दा माआवादीलाई विगतमा कांग्रेस र एमालेद्वारा संचालित औपचारिक लोकतन्त्र र वित्तीय अल्पतन्त्रको शसक्त विकल्प ठान्ने शक्ति र समुदायमा संशय थपिएको छ । नेपालमा आम रुपमा विश्वास गरिन्थ्यो कि माओवादीले राजा मात्र होइन, कांग्रेस एमालेको गलत प्रवृत्तिविरुद्ध पनि झण्डा उठाएको थियो । तर, संविधानजारी भएसंगै ‘यी सबै दल एकै ठाउंमा आए, अब सबै उस्तै हुन्’भन्ने मनोविज्ञान बन्दै जाने छ जुन माओवादीका लागि प्रतिकूल हुने छ । माओवादीका लागि अन्य सत्ताधारी दल जस्तै हुन सक्ने उसको छवी नै राजनैतिक रुपमा मुख्य आगामी चुनौती हो । नेपालको इतिहासमा फरक मत राखेर संविधान मानेका विगतका केही दलहरु बिस्तारै फरक मतलाई बिर्सेर सत्तामा विलीन भएका दृष्टान्तहरुका कारण तत्काल माओवादीलाई अरुभन्दा फरक देखिन सहज छैन । फरक नदेखिने हो भने (किनभने ऊ बास्तबमै अरु भन्दा फरक नै हो) माओवादीलाई टिक्न सजिलो पनि छैन । माओवादीले नै संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समावेशी समानुपातिक प्रतिनिधित्वको लोकतन्त्र जस्ता अहं महत्वका परिवर्तन ल्याए पनि जनताको बीचमा पुराना राजनैतिक डनहरु फेरि हावी हुन सक्छन् । माओवादीको चालू हालत हेर्दा त्यो चिर्न सक्छ त ? भन्ने प्रश्न जवर्जस्त उठ्छ । अन्तिम मौका एमाओवादी पार्टीको हकमा एउटा सत्य के हो भने माथिदेखि तलसम्मको सिंगो तप्का नसुध्रिएसम्म यो पार्टी एक पाइला पनि अगाडि जान सक्दैन । माओवादी आन्दोलनले यी चार प्रश्नहरुको सही जवाफ नदिइ विल्कूल अगाडि जाँदैन । के पार्टीका सबै नेताहरु बाहिरी रमझमलाई छाडेर पार्टी संगठन मुख्य हो भन्ने ठाउँमा आइपुग्छन ? के पार्टीभित्रको स्थाई गुटवन्दीको अन्त्य गरेर स्वस्थ वैचारिक बहसले पार्टी चलाउने ठाउँमा पार्टी आइपुग्छ ? के नेताहरु स्वच्छन्द पाँडे पजनी शैली छाडेर एउटै पद्धतिबाट पार्टी चलाउने आँट गर्न सक्छन् ? अनि, के कार्यकर्ताहरु गनगन गर्न छाडेर एक पटक फेरि माओवादी हुनुको गर्व बोधका साथ जोशिएर काममा लाग्न सक्छन् ? छोटोमा कुरा के हो भने माओवादीले संगठन र कायैशैली बदल्नै पर्छ । संगठन बदल्ने भन्नुको तात्पर्य उसले सिद्धान्तमा दृढ र प्रतिस्पर्धामा काबिल संगठनात्मक टीम र कौशलबढाउनु पर्छ । कार्यशैलीको अर्थ पार्टीभित्र अनावश्यक आइरहने गुटवन्दीदेखि जनतासँग सम्बन्धित कामहरुमा लिइने पहलकदमीसम्मलाई गुणात्मक रुपले सकारात्मक विकास गर्ने कुरासँग सम्बन्धित छ । यसो गरेमा आगामी दिनहरुमा माओवादीको पुनरोदयलाई कसैले रोक्न सक्दैन । (विचारधारको क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने भएपनि हेटौंडा महाधिवेशनको कार्यदिशा आधारभुत रुपमा सही भएको र त्यसलाई पक्रदैं जाँदामात्रै पनि धेरै कुरा हल हुने भएकोले यहाँ चर्चा गरिएन ।) एमाओवादी पार्टी यही नेतृत्व टीमसहित अगाडी जानका लागि वस्तुतः यो अन्तिम अवसर हो । आम पार्टीपंक्तिको चाहना र देशको आवश्यकता यही हो कि अध्यक्ष प्रचण्डको नेतृत्वको वर्तमान टीमले नै अझै केहीवर्ष पार्टी चलाओस् र देशमा नयाँ विकल्प स्थापित गरोस । तर, आमचाहना र आवश्यकतालाई बुझिएन र यथास्थितिलाई टालटुल गरेर अगाडि जान खोजियो भने त्यसले ल्याउने दुर्घटना मात्रै हो । नत्र विकल्प यदि अपेक्षित गतिमा पार्टी सुधार भएन भने कार्यकर्ताहरु नयाँ विकल्प खोज्न थाल्ने छन् । त्यस्तो विकल्प के होला अहिले नै भन्न कठीन छ तर यत्ति कुरा ठोकेर भन्न सकिन्छ कि (केही नेताहरुले भने जस्तो)बदलिएन भने पनि एमाओवादी पार्टी विघटन हुँदैन । सानो ठूलो होला, त्यो अर्कै कुरा हो तर हजारौं योद्धाहरुले बनाएको सवभन्दा पछिल्लो नयाँ शक्तिको त्यति सजिलै विघटन हुनै सक्दैन । नयाँ पुस्ता अगाडि सरेर त्यसले यसको जिम्मा लिन्छ र अगाडि बढाउँछ । त्यसै गरी, असफलतामाअहिलेको नेतृत्व टीमको कुनै एक जना होइन सिंगो टीम नै असफल हुने छ । पच्चिसौं बर्षदेखि पार्टी चलाउंदै आएको वर्तमान नेतृत्व टीम सदस्यहरुका केही मात्रात्मक अन्तरहरु अवश्यै होलान्, तर स्थापित कमजोरीका कोही पनि कम जिम्मेवार हुन सक्दैनन् । यो नै सत्य हो । तसर्थ, समयसापेक्ष पार्टी संगठनलाई जति चाँडो बदल्न सक्यो, नेपालमा माओवादी आन्दोलन मात्र होइन परिवर्तनको प्रक्रृया पनि त्यति नै व्यवस्थित हुने छ । असोज ४, २०७२
प्रतिकृया लेख्नुहोस्: