बागलुङ । बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे । युएईको दुबईमा एउटा घरमा करिब एक वर्ष काम गरिसकेका थिए ।
परिवारको समान्य खर्चसमेत नचलेपछि युएई पुगेका उनले महिनाकै खर्च घर पठाउँदै आएका थिए । छोराछोरीको पढाइलेखाइ, औषधि उपचार र घर खर्चसमेत धेरथोर बचाउने र भविष्य सुन्दर बनाउने उनको सपना थियो । तर एक दिन उनको सपना तुहियो । घरमा सुतिरहेकै बेला उनको मृत्यु भएको खबर घर पुग्यो । वैदेशिक रोजगार बोर्ड, सुरक्षित आप्रवासन कार्यक्रम र बरेङ गाउँपालिका समेतको सक्रियतामा उनको शव घर ल्याइयो ।
परिवारकै खर्च चलाउन लामो समय खाडी मुलुक साउदी अरबमा काम गरेका बागलुङ नगरपालिका–१३ पैञ्युपाटाका अर्का ३९ वर्षीय पुरुषको कथा पनि उस्तै छ । लामो समय साउदी अरबको एक कम्पनीमा काम गरेका उनको मुटुमा समस्या आयो । नेपाल आएर केही समय उपचार गरे र पुनः साउदी अरब फर्किए । काम गर्दागर्दैै उनको जीवन लिला पनि त्यहीँ अस्तायो । घर र प्रदेशको दौडधुपमै उनले आफ्ना सपना सेलाए । दुई छोराछोरी, श्रीमती र परिवारका अन्य सदस्य अझै विक्षिप्त छन् ।
बागलुङबाट विदेश पुगेर आफ्ना सपना सेलाउने उनीहरु मात्रै होइनन् । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका दश जनाको विदेशमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नौ पुरुष र एक जना महिला छन् । तीमध्ये नौ जनाको विदेशमा र श्रम स्वीकृति भएका एक जनाको नेपालमा मृत्यु भएको हो ।
आप्रवासी स्रोत केन्द्र बागलुङका अनुसार, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेहरुमा बागलुङ र गलकोट नगरपालिकाका दुई/दुई जना, जैमिनी नगरपालिका, बडिगाड, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका एक/एक जना रहेका छन् । मृत्यु हुनेहरुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, जापान र रोमानिया गएका छन् ।
चालु वर्षमा समस्यामा परेका १३८ जना कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता गङ्गा शर्माले जानकारी दिइन् । तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो ।
आार्थिक वर्ष २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश ४० वर्षभन्दा कम उमेरका थिए । मृत्यु हुनेहरुमा सबैभन्दा बढी साउदी अरबमा गएका रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १५६ जना विभिन्न समस्यामा परेका थिए । तीमध्ये १३७ पुरुष र १९ महिला पीडित थिए । विदेशमा जाँदा समस्यामा नपरून् भनेर केन्द्रले नियमित परामर्श सेवा दिने गरेको छ । चालु वर्ष पनि नौ हजारभन्दा बढीलाई परामर्श दिइसकेको शर्माले जानकारी दिए ।
यस्तै, गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेका तमानखोला गाउँपालिकाका एक युवा अशक्त भएर १९ वर्षपछि मात्र घर फर्केका छन् । बिचौलियाको लहलहैमा १९ वर्षअघि सन् २००७ मा बहराइन पुगेका तमानखोला–२ भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती अशक्त भएर घर फर्किएका हुन् ।
गैरकानुनी रुपमा बहराइन पुगेको ६ महिनादेखि घर्ती सम्पर्कविहीन भएका थिए । गत वर्षको फागुनमा बहराइनको दूतावासबाट घर्तीको परिवारमा श्याम कोमामा छन् भन्ने खबर आएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र छिमेकी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वैदेशिक रोजगार बोर्डमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी स्रोत केन्द्रले आवश्यक कागजात दूतावासमा पठाएपछि घर्ती बिरामी अवस्थामा भेटिएका थिए । उनको उपचार भए पनि गैरकानुनी रुपमा बसेकाले १५ लाख उपचार खर्चसमेत नेपाल सरकारले तिर्नुपरेका थियो । “पहिचान खुलेपछि भने बहराइनबाट घर्तीलाई नेपाल पठाइयो,” परामर्शकर्ता शर्माले भने ।
विसं २०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी कन्सुलर र दूतावासमा आवश्यक र मागे अनुसारको कागजात पठाएपछि एक वर्षमा घर्ती नेपाल आइपुगेको रिजालले बताए । घर्ती अहिले गाउँको घरमा बाबुको साथमा बस्छन् । उनीहरुको दैनिकी पालिकका सहयोगमा चलेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
प्रतिकृया लेख्नुहोस्: