काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएको छन् ।
साउन २७ गते थबाङ गाउँपालिका–५, उवा र सुनछहरी गाउँपालिका–२, भित्रीगामलगायतका स्थानमा गएको पहिरो तथा बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहसँग भेट गरी उद्धार, राहत र पुनर्निर्माणका लागि गम्भीर ध्यानाकर्षण गराएको हो।
प्रधानमन्त्रीसमक्ष बाढी-पहिरोमा परी बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको नि:शुल्क उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घरबारविहीन भएकालाई तत्काल अस्थायी आवास तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटमा अवरुद्ध सडक, खानेपानी र विद्यालयलगायतका सार्वजनिक संरचनाको शीघ्र पुनर्निर्माण गर्न तथा भौगोलिक विकटतालाई ध्यानमा राखी उद्धारका लागि हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राख्न आग्रह गरिएको उहाँको भनाइ छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले उवा घटनामा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिसकिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए। उनले अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन गर्ने र जाजरकोट(रुकुम भूकम्पपछि अपनाइएको पुनर्निर्माणको मोडलअनुसार रोल्पाको क्षतिको पनि पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीसँगको भेटमा लुम्बिनी प्रदेशका नेता पुनसँगै पूर्वमन्त्री सुदर्शन बरालमगर, नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ र सहसंयोजक कृष्ण अधिकारीको समेत सहभागिता रहेको थियो।
यसैबिच, रोल्पाका जनप्रतिनिधिले विपद्को यस दु:खद् घडीमा उद्धार र राहतका लागि राज्यबाट प्राप्त हुने आफ्नो एक महिनाको तलब बाढी-पहिरोपीडितलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ। साथै, देश-विदेशमा रहेका सम्पूर्ण नेपालीलाई रोल्पाका पीडितको राहत र पुनर्निर्माणमा सहयोग गर्न आह्वान गरिएको छ।
प्रधानमन्त्रीसँग नेता पुनले राख्नुभएका चार सवाल
- पछिल्ला दिनमा आएको बाढी तथा पहिरोबाट रोल्पामा धेरै मानिसको मृत्यु, बेपत्ता र घाइते भएका छन्। कतिपय बस्ती नै बगेका छन्। घर–आवास, पशुचौपाया तथा खाद्यान्नमा क्षति पुगेको छ भने सडक, खानेपानी, विद्यालयलगायतका सार्वजनिक संरचना भत्किएका छन्। यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कुरा राखेको छु।
- उवा घटनामा बेपत्ताको खोज तथा उद्धारमा संघीय सरकारसहित विभिन्न तहका सरकार र सुरक्षा निकायले देखाएको तदारुकता सराहनीय छ। उवा तथा भित्रीगामका पहिरोमा अझै बेपत्ता रहेकाहरूको खोज तथा उद्धारलाई प्रभावकारी र तीव्र बनाउन तथा घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको छु।
-बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, आवासविहीन भएकाहरूलाई तत्काल अस्थायी आवास तथा राहत र दीर्घकालीन पुन:स्थापनाको व्यवस्था गर्न आग्रह गरेको छु। सडक, खानेपानीलगायत अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन गर्न तथा दीर्घकालीन रूपमा सडक, खानेपानी, विद्यालयलगायतका संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छु।
- वर्षायाम अझै बाँकी रहेको र थप बाढी–पहिरोको जोखिम कायमै रहेकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि रोल्पाको भौगोलिक विकटतालाई समेत ध्यानमा राखी आवश्यक उद्धार टोली तथा हेलिकोप्टर तयारी अवस्थामा राख्न आग्रह गरेको छु।
प्रतिकृया लेख्नुहोस्: