काठमाडौँ । नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्न सोमबार त्यसतर्फ गएको छ ।
प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग इन्धन आयातको प्राविधिक पक्षमा छलफल गरेपछि व्यापारिक सम्झौता गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा अर्को टोली त्यसतर्फ पठाउने तयारी गरिएको छ ।
सोमबार त्यसतर्फ गएको प्रतिनिधिमण्डलमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल छन् । नेपालले चीनको सरकारी कम्पनी पेट्रोचाइनाबाट इन्धन आयात गर्ने विषयमा प्रारम्भिक सम्झौता भने यसअघि नै गरिसकेको छ । सोही सम्झौताका आधारमा इन्धन आयातको प्रक्रिया अगाडि बढे पनि स्थानीय कर र आयातमा देखापर्ने विभिन्न जटिलताका विषयमा अन्तिम निष्कर्ष निस्कन नसकेपछि सरकारले पहिलो चरणमा निगमका अधिकारीलाई चीन पठाएको हो ।
टोलीले चिनियाँ अधिकारीसँग पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातको विषयमा महत्वपूर्ण छलफल गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
केही दिनपहिले चीन गएका वाणिज्य तथा आपाूर्तिमन्त्री गणेशमान पुनले चिनियाँ अधिकारीसँग इन्धन खरिद गर्ने विषयमा अनौपचारिक छलफल गरेका थिए । छलफलका आधारमा चीन नेपाललाई व्यावसायिक रुपमा इन्धन दिन तयार भएको हो । निगमको टोलीको नेतृत्व चीनमा रहनुभएका नेपालका राजदूत महेश मास्केले गर्नुहुने छ । निगमको प्राविधिक टोलीले प्राविधिक तथा अन्य आयातका विषयमा छलफल गरेपछि सरकारको उच्चस्तरीय टोली चीन जाने र व्यापारिक सम्झौता गर्ने सरकारको तयारी रहेको छ ।
सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा कानुन, परराष्ट्र, अर्थ मन्त्रालयका उच्च अधिकारी चीन पठाउने तयारी गरेको थियो । केही विषयमा कुरा मिल्न बाँकी रहेकाले पहिलो चरणमा निगमका दुई अधिकारीलाई मात्रै चीन पठाइएको हो । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि विभिन्न स्रोतबाट इन्धनको आपूर्ति गर्ने विषयमा छलफल गरेको सरकारले बङ्गलादेशबाट खाना पकाउने ग्यासबाहेक अन्य इन्धन आयात गर्न सकिने बताउँदै आएको छ ।
प्रतिकृया लेख्नुहोस्: