Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी चलाएको थियो माओवादीले जनयुद्धकालमा ‘डोके रेडियो’ (भिडियो सहित)

\"rediyo_cover\"

मंगलबार साँझतिर माओवादी छापामारहरु प्रायः डाँडा उक्लिरहेका हुन्थे । उनीहरुसँगै गाउँका समर्थक र मिलिशियाहरु पनि उक्लिन्थे । छोराछोरीलाई युद्धमा पठाएका बा–आमाहरु साथमा हुन्थे । एन्टेनाका टुप्पामा रेशमी तार बाधेर झुन्ड्याइएका हुन्थे । रेडियो स्वाँ..गरी सुस्स्याईरहेको । यो काठमाडौं नजिकका जिल्लाको मंगलबारे दिनचर्या थियो ।

साँझपख सेनाका हेलिकोप्टर घुम्थे डाँडाकाँडामा । छापामारहरु र आफन्तहरु रेडियो नटिप्ला भनेर डाँडा उक्लिन्थे बेशीबाट । सेनाका हेलिहरु रेडियो स्टेशन खोज्न उड्थे डाँडाहरुमा र केहीमा बम खसालिन्थे उत्तिखेरै ।

मतलब मंगलबार तात्कालिन माओवादी जनयुद्धमा चलाइएको रेडियो बज्ने बार थियो । छापामारहरु, आफन्तहरु र मिलिशियाहरु रेडियोमा जनयुद्धको खबर सुन्न उक्लिन्थे । आफन्तको चिठ्ठी सुनेपछि ढुक्क हुन उक्लिन्थे । सेनाहरु डोकोमा बोकेर कुनै डाँडोको टुप्पोबाट बजाईने रेडियो स्टेशनमा बम हान्न हेलि घुमाउँथे ।

०५२ देखि ०६२ सम्मको एक दशकमा इतिहासमा कहिल्यै नभएका घटनाहरु भए । हजारौंको बलिदानले रंगिएको त्यो दशकको ऐतिहासिकता सयौं वर्ष अमर रहन्छ सायद । त्यो दशक कुवार्नी र परिवर्तनको दशक थियो । एउटा वर्गलाई त्यसले आतंकित तुल्यायो भने अर्को वर्गलाई उत्सवको दशक बन्यो ।

पितृसत्तात्मक समाजको कुरीतिले थिलोथिलो भएका महिलाहरु आधारातमा बन्दुक बोकेर निस्किए । तोडिदिए तमाम् रुढीवादी मान्यता र जंजीरहरु । तीन हजार वर्षदेखि कथित उच्च जातको ढोका बाहिरै अपमानित जीवन बाँच्न विवश दलितहरुले त्यो एक दशक आरनमा विष्टका हतियार मात्रै अर्जापेनन् । जनमुक्ति सेनाका हतियारहरु पनि अर्जापे। यही माटोमा जन्मिएर पराइ बनाइएका आदिवासीहरुले माटोमा कोदो र फापर मात्रै उब्जाएनन् त्यो दशक । उब्जाए माटोमा बारुद पनि ।

स्कुलमा नानीहरुले श्रीमान गम्भीर प्रचण्ड प्रतापी गाएनन्, बरु गाए ‘उठ जाग ए भोका नाङ्गा’ । रेडियो भित्र बजिरहेको मान्छे यही भाँडोमा त छैन भनि खोतल्ने किसानहरु आफ्नै गोठबाट आँगनमा घटिरहेको सत्यघट्ना समाचारमा भनिरहेको सुने ।

हो, दश वर्षमा यस्तै यस्तै भयो । देशैभरी डोकोको प्वालबाट सु–समाचार बोकेर जनताको आँगनमा पुग्यो रेडियो जनगणतन्त्र ९५.१ मेघाहर्ज । जब बज्थ्यो रेडियो जनगणन्तन्त्र तब किसानहरु रोकिन्थे हलो जोत्दा जोद्दै । महिलाहरु रोकिन्थे जाँतोमा मकै पिस्दा पिस्दै । सुन्थे देशमा के भइरहेको छ ? कहाँकहाँ जिते अस्तिभर्खर यहिँ मकै गोडेर गएका जनसेनाहरुले । के भनेर चिठी पठाए रोल्पाको जलजला पहाडबाट गाउँको ठूलेले ? जनयुद्धमा सञ्चालन भएका देशैभरका आधा दर्जन बढी डोके रेडियोहरु यसरी बनेका थिए जनताको सच्चा सारथि ।

यसरी चलाइन्थ्यो रेडियो माओवादीका तात्कालिन युवा नेता भक्तपूरका देवेन्द्र श्र्रेष्ठ ‘दिवाकर’ रेडियो संचालन सम्बन्धि दक्ष प्राविधिक थिए । उतिबेला उनी माओवादी युद्धका लागि आवश्यक प्राविधिक सामाग्रीको उत्पादन गर्थे । उनैले रेडियो संचालन गर्न सकिनेबारे पार्टी नेतृत्वलाई जानकारी गराए । पार्टी नेतृत्वले तत्कालै रेडियो संचालनको अनुमति दियो ।

उतिबेला यूरोपमा रहेका माओवादी समर्थकहरुले रेडियो ट्रान्समिटर किनेर नेपाल पठाउने व्यवस्था मिलाउने गर्थे । नेपालमा ट्रान्समिटरका लागि नेपाल सरकारबाट स्विकृति लिनुपर्ने भएका कारण ती ट्रान्समिटरहरु अरु कुनै उपकरणको नाममा एयरपोर्ट भन्सारबाट भित्र्याइन्थ्यो । ट्रान्समिटरका लागि आवश्यक पर्ने अन्य उपकरणहरु पनि छुट्टाछुट्टै नाममा भित्र्याइन्थ्यो र एक ठाउँमा जम्मा गरिन्थ्यो ।

उनै दिवाकरले सबभन्दा पहिला प्युठानकाे स्वर्गद्वारी आसपासबाट रेडियो जनगणतन्त्र नेपालको पहिलो परीक्षण प्रशारण गरे । सोही प्रशारणमा मध्यपश्चिम र सुदूरपश्चिमका कमाण्डहरुबाट बोलाइएको प्रशिक्षार्थीलाई समेत रेडियो संचालन सम्बन्धि प्राविधिक प्रशिक्षण दिइएको कुरा दिवाकर बताउँछन् ।

त्यसपछि काभ्रेको फलामेटारमा मध्यकमाण्ड र पूर्वी कमाण्डका लागि प्राविधिक प्रशिक्षण चलाइयो । सोही प्रशिक्षण पश्चात काभ्रेलाई आधार मानेर मध्यकमाण्ड रेडियो संचालनमा आयो ।

उतिबेला रेडियो संचालनका लागि तीन वटा शाखाहरु हुन्थे । पत्रकारहरुको शाखा, प्राविधिक शाखा र सुरक्षा शाखा । पूर्वी कमाण्ड, मध्यकमाण्ड, मध्यपश्चिम कमाण्ड, विशेष कमाण्ड (आधारक्षेत्र, रोल्पा, रुकुम लगायत) भेरी र कर्णाली गरेर ५ वटा जनगणतन्त्र रेडियो संचालनमा आयो ।

प्रत्येक रेडियो स्टेशनका लागि जनमुक्ति सेनाको एउटा सुरक्षा टुकडी (९देखि १५ जना सम्मको) आधुनिक हतियारसहित हुन्थ्यो भने प्राविधिक रुपमा तीन जनाको जनशक्ति रहन्थ्यो ।

उनीहरु रेडियो संचालन हुने बार उक्त इलाकाको सबैभन्दा अग्लो डाँडोमा पुग्थे र जेनेरेटरबाट इलेक्ट्रिक उत्पादन गरी ट्रान्समिटर संचालनमा ल्याउँथे । रुख वा बाँसको टुप्पोमा टावरको एन्टेना फिट गर्थे र रेडियो बजाउन सुरु गर्थे । पूर्वी कमाण्डका विष्णु सापकोटा ‘जुगल’ भन्छन्, –‘कार्यक्रम सेल्टर घरमा रेकर्ड हुन्थे भने बजाउन मात्रै डाँडोमा लगिन्थ्यो ।’

पूर्वी तथा पश्चिमका केही रेडियोहरुले माथिल्ला र उपल्ला इलाकाहरुमा गएर पछिल्लो केही समय स्थायी जस्तै गरी रेडियो संचालन गरे । तर मध्य कमाण्ड लगायतका रेडियोहरु एउटै स्थानबाट त परै जाओस् एउटै डाँडोबाट समेत रेडियो बजाउन सकेनन् । नेपाली सेनाको अप्रेशन र उपस्थितिले डाँडाहरु परिवर्तन गरिरहनु उनिहरुको लागी अनिवार्य थियो ।

रेडियो बजाउँदा बजाउँदै सेनाको नाइटभिजन हेलिकोप्टरले गस्ती सुरु गथ्र्यो । रेडियोकर्मीहरु रातको अँध्यारोमा गुपचुप रेडियो बजाईरहेका हुन्थे ।

सौजन्य–नेपालमा अर्को क्रान्तिको अपरिहार्यता facebook

रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रसारण सेवा

पूर्वाञ्चलका जिल्लाहरुमा केन्द्रित रहेर सञ्चालन भएको थियो रेडियो जनगणतन्त्र ९५.१ मेघाहर्ज पूर्वी प्रशारण सेवा । त्यहीका प्रमुख थिए सापकोटा । उनको टीममा थिए, बबिन शर्मा, सबिना केसी, कल्पना न्यौपाने, प्रज्वल श्रेष्ठ, शोभित नेपाल, गणेश विक, सन्देश, शिव, जीवन लगायतको टिम थियो । उनीहरुले सुरु सुरुमा हप्ताको एक पटक मात्रै रेडियो संचालन गरे । पछि हप्ताको चार दिन चलाए । शुरुवाती चरणमा समाचार मात्रै प्रचारण गर्ने उनीहरुले पछि जनसंगीतका कार्यक्रमहरु चलाए । पत्रसन्देश जस्ता जनतासँग जोडिने कार्यक्रमहरु पनि चलाए ।

पूर्वाञ्चलका करिव १२ वटा जिल्लामा उनीहरुको प्रशारण सुनिथ्यो । सबै भन्दा पहिला परीक्षण प्रशारण उदयपुरको कमेरेमा भयो । सोलुखुम्बुको पिल्ले (कालिडाँडो) डाँडाबाट प्रशारण शुरु गरे । त्यसपछि खोटाङको ट्याम्के डाँडाबाट प्रशारण गरे र पछि भोजपुरको खेनाबाट पुगेर प्रशारण गरे । एक ठाउँबाट अर्को ठाउँमा डोकोमा बोकेर उनीहरुले सामान पु¥याउँथे । त्यसबेलाका प्राविधिक शोभित नेपाल आफ्नो अनुभूति सुनाउँदै भन्छन्, ‘तत्कालीन सत्ताको भ्रामक र गलत कुराका सुगा रटाईबाट कान टट्याएका जनता र माओवादी कार्यकता सबैको प्यारो थियो रेडियो जनगणतन्त्र ।’ तत्कालीन शाही सत्ताका कुकृत्यप्रति घोँचपेच गर्ने उद्देश्यले ब्यङ्ग्यात्मक कार्यक्रम ‘च्वास्स’ समेत चलाए उनीहरुले । त्यसपछि उनीहरुले रेडियो कार्यक्रम मार्फत सामाजिक विकृतिमाथि प्रहार गर्न थाले । जाँड–रक्सी, कुलत जस्ता सामाजिक विकृतीविरुद्ध सांस्कृतिक अभियान नै छेंडे । कार्यक्रम मार्फत कुलतबाट कसरी हामी पछाडि परिरहेका छौं भन्ने चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन हुन थाल्यो ।

उनीहरु विशुुद्ध संचारकर्मी मात्रै भएनन् । उनीहरु बन्दुक बोक्दा बोक्दै माइक्रोफोनमा बोल्न पुगेका छापामारहरु थिए । जनतालाई संगठित गराउँदा गराउँदै समाचार बटुल्न पुगेका संगठकहरु थिए र थिए मादल बजाउँदा बजाउँदै युद्धका चिठीहरु पढ्न पुगेका युद्ध संम्वाददाताहरु । पत्रकारिताको इतिहासमा कहिल्यै नदेखेको कसैले नलेखेको नयाँ अध्याय थियो युद्धकालिन पत्रकारिता ।

आफ्नो अनुभूति सुनाउँदै शोभित नेपाल भन्छन् “हामी त एक हिसावले पानी जस्तै थियौं । पानी कहिले हिमाली चट्टानमा हिँउको रुपमा हुन्छ । अलि तल आउँदा तरल बनेर बग्न थाल्छ, तताउँदा बाफ बन्छ माथि पुगेर बादल बन्छ र वर्षाको रुपमा तल झर्छ । हाम्रो आवश्यकता पनि यस्तै हुन्थ्यो । सेना, संगठक, पत्रकार, कलाकार सबै सबै ।”

उनीहरु लाइव कार्यक्रम गर्दैन थिए । कुनै अनाम गोठमा बसी टेप रेकर्डरमा कार्यक्रम रेकर्ड गरी डोकोमा सामान बोकेर पुग्थे सबै भन्दा अग्लो डाँडा । सुकेका र लामा बाँसमा बाँधिदिन्थे एन्टेना । बाँसलाई कडा चट्टानयुक्त ढुङ्गामा अड्याउँथे र सुरु गर्थे कार्यक्रम ः–‘लाल सलाम, यो जनगणतन्त्र रेडियो ९५.१ मेघाहर्ज हो’

करिब चारघण्टाको प्रसारण सकेर उनीहरु सामान झाडीमा लुकाएर ओर्लन्थे पुनः सेल्टरमा ।

उनीहरुलाई सेना र तात्कालिन सत्ताले ‘डोके रेडियो’को उपमा दिएपनि डोको मै सही सुनाउन छाडेनन् जनताका विरताका गाथाहरु । चिनाउन छाडेनन् सत्यता । शान्तिकालमा पछि धनकुटा र मोरङको सीमानामा स्टुडियो समेत बनाएर दैनिक १८ घन्टासम्म रेडियो सञ्चालन गरे ।

रेडियो जनगणतन्त्र नेपाल मध्य कमाण्ड प्रसारण सेवा

पूर्वमा जस्तै मध्याञ्चल जसलाई माओवादीले मध्यकमाण्ड भनेर नामाकरण गरेको थियो । मध्य कमाण्डमा २०६० साल कार्तिक २१ गतेदेखि रेडियो प्रसारण सुरु भयो । यो रेडियोमा ईश्वरचन्द्र ज्ञवाली, चन्द्रमान श्रेष्ठ, रोशन जनकपुरी, छिन्ताङ, आशा नेपाली, सुशील सिंह ठकुरी, शैलेन्द्र घिमिरे ‘राजन’, एकराज तामाङ, संगीता खड्का, सन्तोष पौडेल ‘सुमन’ लगायतको टिम क्रियाशील थियो । उनीहरु जनताद्वारा सञ्चालित जनयुद्धको बारेमा जनतासम्म सत्य तथ्य समाचार पु¥याउन अहोरात्र खटिरहे ।

त्यसबेलाका युद्ध संचारकर्मी मध्ये छिन्ताङ आफ्नो अनुभूति सुनाउँदै भन्छन्, “दुश्मनले गोयवल्स शैलीमा प्रचार गरिरहेको थियो । सरकारी सञ्चारबाट भ्रम मात्र आउँथ्यो । त्यसलाई चिरेर जनतालाई सुसुचित गर्न पनि रेडियो चाहिएको थियो । त्यसैले हामीले पार्टीको निर्देशनमा काम सुरु ग¥यौं ।” उनीहरुसँग प्रविधिको राम्रो ज्ञान थिएन । पदार्थबाट चेतनाको बिकास हुन्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्ने उनीहरुले जानी नजानी सुरु गरे । काम गर्दै सिक्दै गए । उनीहरु पनि कार्यक्रम टेपरेकर्डरमा रेकर्ड गरी सकेर डोकोमा उपकरण बोकी उकालो लाग्थे । अग्लो डाँडामा गएर कार्यक्रम चलाउँथे । छिन्ताङ ती दिनहरु स्मरण गर्दै सबै भन्दा पहिलो कार्यक्रम काभ्रेको थामडाँडाबाट बाँसको टुप्पोमा ऐन्टेना फिट गरेर सुरु गरेको बताउँछन् ।

उनीहरुले जिल्ला जिल्लाबाट समाचार बटुल्थे । कहाँ के भइरहेको छ जनता र स्थानीय पार्टी मार्फत समाचार थाहा पाउँथे । एक किसिमले सबै जनताहरु अघोषित युद्ध सम्वादाता नै थिए ।

‘ आम मानिसहरु सरकारी सञ्चार माध्यमबाट एक हप्ता दिएको समाचारलाई रेडियो जनगगणतन्त्रसँग दाँजेर सुन्थे। रेडियो नेपालले भनेको झुटो रहेछ भन्ने पत्ता लगाउँथे । शाही सेनाले गरिव किसान, हली गोठालाहरु मुठभेडको नाममा माथ्र्यो अनि रेडियो नेपालले भन्थ्यो आतंकारीको मृत्यु ।’–छिन्ताङ आफ्नो अनुभूति सुनाउँछन् । सुचना संचार युद्धका आँखा भएको थियो । रेडियो नेपालको पक्षपाती खबरलाई उनीहरुले तोडिदिएका थिए ।

मध्यकमाण्डमा केही हप्ता एकै ठाउँमा बसेर कार्यक्रम चलाए पनि उनीहरु सुुरक्षाका कारण प्रत्येक हप्ता फरक फरक स्थानमा गएर कार्यक्रम चलाउँथे । उनीहरुले सुरुमा समाचार मात्रै प्रशारण गरे । पछि जनतासँग प्रत्यक्ष जोड्न पत्रसन्देश जस्ता कार्यक्रम सञ्चालनमा ल्याए । त्यसपछि तामाङ जनघनत्वमा कार्यक्षेत्र रहेका कारण उनीहरुले तामाङ भाषाको कार्यक्रम पनि चलाए ।

छिन्ताङ ती दिनहरु सम्झिदै भन्छन् “राज्यको टाउको धेरै नै दुखी रहेको थियो । हाम्रो रेडियोले जनता सुसुचित हुन थाले पछि राज्यले हेलिकप्टरमार्फत ब्यापक खोज्यो । कयौं पटक स्थलगत सर्च ग¥यो । प्रचण्ड बाबुराम खोज्नतिर भन्दा रेडियो खोज्नतिर लागे उनीहरु । तर हामी एकदमै छापामार शैलीमा थियौं ।”

यो मध्यकमाण्डको जनगणतन्त्र रेडियोले काठमाडौंमा रहेको सत्ताको निद हराम गरेको थियो । किनभने यो काठमाडौंको काठ इलाकासम्म सुनिन्थ्यो र राजधानीलाई समेत प्रत्यक्ष प्रभावमा पारेको थियो ।

तत्कालिन सेनाले बिदेशबाट फ्रिक्वेन्सी जुधाएर डिस्टर्ब गर्ने प्रविधि ल्याएर रेडियो जनगणतन्त्र सुन्न नमिल्ने गरी जाम गरिदियो । प्रायः काभ्रेका डाँडाहरुबाट बज्ने रेडियो गणतन्त्र जाम गर्दा पनि उनीहरुले फ्रिक्वेन्सी परिवर्तन गरी गरी संचालन गरे । तर उनीको केही लागेन । अन्तमा राज्यले मध्यमाञ्चलमा संचालित रेडियोलाई बन्द गरी छाड्यो । तर देशका अन्य स्थानहरुमा भने राज्य सफल हुन सकेन ।

उनीहरुले सुरु सुरुमा समाचारमुलक कार्यक्रमहरु सञ्चालन गरे । पछि जनतासँग जोड्न पत्रसन्देश जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरे । जहाँ जनमुक्ति सेनाका पत्रहरु बढी हुन्थे । उनीहरुले जनसम्बाद कार्यक्रम, शहीद गाथा, अन्तरक्रिया, भाषिक कार्यक्रम, अन्र्तवार्ता पनि चलाए ।

ती दिनको स्मरण गर्दै छिन्ताङले सुनाए, “एक दिन हामी थाम डाँडामा रेडियो बजाइरहेका थियौं । कामीडाँडामा शाही सेना आएछ । रेडियोका उपकरणहरु खोल्न नै निकै समय लाग्थ्यो । तर पनि हामीले छिटो छिटो खोलेर सामान डोकोमा बोकेर त्यहाँबाट अर्को डाँडातिर लाग्यौं । हामीले मुल ट्रान्समिटर जोगाउनु पथ्र्यो । त्यो जोगायौं ।”

जनसेनाहरु आफ्नो गाउँघर भन्दा निकै टाढा पुगेका हुन्थे । आफन्तहरुसँग भेट नभएको वर्षौ भइसकेको हुन्थ्यो । घर गाउँबाट चिठी पत्र आउने कुनै माध्यम थिएन । गाउँसम्म जोड्ने हुलाक कार्यलयहरु बन्द थिए । त्यस्तो अवस्थामा जनसेनाको खबर परिवारसम्म आदान प्रदान गर्ने एउटै माध्यम जनगणतन्त्र रेडियो थियो ।

छिन्ताङ रगत लतपतिएका जनसेनाका चिठीहरु सम्झँदै भन्छन् “जनसेनाका चिठीहरु बढो मार्मिक र युद्धमय परिवेशबाट आउँथ्यो । उनको चिठिमा भनिएको हुन्थ्यो । ‘आमा, हामी देश र जनताको मुक्तीको निम्ति बर्गयुद्धमा लडिरहेका छौं । यो देशको सिङगो जनताको परिवर्तनसँगै हाम्रो पनि जीवनमा परिवर्तन आउने छ । मेरो एउटा परिश्रमले मेरो एउटा घर त सप्रिएला तर छिमेकीको घर सप्रिदैन । यो देश सप्रिदैन । त्यसकारण यो देश बनाउन म जनयुद्धमा लागेको छु । म लड्दा लड्दै ढल्न पनि सक्छु । यदि ढले भने आँशु नझार्नु आमा । इतिहासले मेरो नाम सदा सदा सम्झिनेछन् । यस्तै यस्तै चिठी आउँथ्यो ।”

उनी कतिपय बैहिनी र दिदीको पनि चिठी आउने गरेको उनले बताउँछन् । घरपरिवारको तर्फबाट आउने चिठीहरुको बारेमा उनले भने, “छोरा, मैले तिमीलाई मेरो मात्रै छोरा सोचेको थिएँ । तर तिमी त मेरो मात्रै नभई देशकै छोरा रहेछौं, तिमी बिचारमा अतिकति पनि बिचलित नभइ साहसका साथ अघि बढिरहनु ।”

रेडियोले सांस्कृतिक रुपान्तरणको समेत काम गरेको थियो । उनीहरुले कार्यक्रममा शसक्तीकरणका कार्यक्रमहरु पनि सञ्चालन गरे । उनीहरुले दशैं मान्नु पदैन त भनेनन् तर तर दशैसँग जोडिएका नराम्रा पक्षहरुको रेडियो कार्यक्रममार्फत जनतालाई जागरुक गराए ।

जनयुद्धका संचारकर्मीहरु आजको परिस्थितिसँग त्यति सकारात्मक देखिदैनन् । छिन्ताङ भन्छन् “हामीले जुन सपना देखेका थियौं, जुन भरोसा जनताले हामीप्रति राखेका थिए त्यो पुरा हुन पाएन । र पनि केही त पुरा भएको मान्नु पर्छ । माओवादीमा योजना बन्छ तर कार्यान्यवन हुँदैन । मुख्य समस्या कार्यान्यवनको हो ।” उनी यो देशको रुपान्तरण माओवादीले मात्रै गर्न सक्छ भन्ने कुरा अझै विश्वस्त देखिन्छन् । माओवादी नामको नाङ्ले पलसहरु नचाहिएको र जनताको मुक्ति श्रमजीवी गरिव किसानको मुक्ती चाहिएको उनी बताउँछन् । छिन्ताङ लामो श्वास फेर्र्दै भन्छन् “आज माओवादी नामका बिभिन्न पार्टीहरु खोलेर कसलाई फाइदा भयो ? सर्वहारा बर्गलाई के फाइदा भयो ? हामीले चाहेको कम्युनिष्ट नामको विभिन्न गुट होइन मुक्ति चाहिएको हो मुक्ति ।”

रेडियो जनगणतन्त्र नेपाल मध्य पश्चिम कमाण्ड प्रसारण सेवा

जनयुद्धको उद्गम थलो रोल्पा । जहाँबाट शुरु भयो संसार हल्लाउने जनयुद्धको आँधीबेहरी । आम मानिसले कल्पना समेत गरेका थिएनन् जनयुद्ध यति रफ्तारमा अघि बढेर वासिङटन डिसी सम्मलाई हल्लाउन भन्ने कुरा । यही क्षेत्रमा क्रियाशील थियो एउटा रेडियो टिम । यस क्षेत्रका संचारकर्मीहरु थिए सचिन रोका, मौसम रोका, अरुणा रायमाझी, अरुणा चन्द, राजेश चौधरी, सबि बाँनिया र हिरालाल केसी । यस क्षेत्रबाट प्रशारण भएको कार्यक्रम रोल्पा, रुकुम, सल्यान लगायतका जिल्लाहरुमा सुनिन्थ्यो । उक्त इलाकालाई माओवादीले आधार इलाका नामाकरण गरेको थियो । सचिन रोकाको टिमले २०६० भाद्र २३ गतेबाट रेडियो सुरु गरे । उनीहरुले न्यून बुलेटिन, समाचार बिश्लेषण, शैक्षिक कार्यक्रम, जनवादी गीत संगीत जस्ता कार्यक्रमहरु सञ्चालन गरे । उनीहरुले बिहान ५ बजे देखि ७ बजे सम्म र बेलुकी ५ बजेदेखि ९ बजेसम्म प्रशारण गर्थे । पूर्व र मध्यमा जस्तै चिठी पत्रहरुको पत्रसन्देश कार्यक्रम पनि चलाए ।

उनीहरु आधार ईलाकामा भएका कारण २/३ महिनासम्म एकै स्थानमा बसेर पनि कार्यक्रम चलाउँथे । उनीहरुले पहिलो कार्यक्रम चुनवाङ तिनबैनी डाँडाबाट सुरु गरे । उनीहरु कहिले रोल्पाको जलजलामा डोकोमा रेडियो बोकेर पुगे, कहिले रुकुमको झिझिडाँडा त रुकुमको लेकसम्म ।

ती अविस्मरणीय क्षण सम्झिँदै सचिन रोकाया भन्छन् “एकपटक हामी रोल्पाको फुन्टीवानबाट प्रशासन गरी गरेका थियौं । पल्लो डाँडामा सेना आईसकेको रहेछ । हामीले घोडामा सामान राख्यौं । स्थाननीय जनतालाई पनि सहयोग माग्यौं र रातरात त्यहाँबाट अर्को डाँडातिर लाग्यौं ।”

उनी जनताको घर दैलोमा पुगे । जनताकै समाचार भने । रेडियो नेपालले चौंरी गोठमा गोठालो मारेर आतंकारी भन्थे, उनीहरुले निर्दोष गोठालो मारिएको भने ।

उनीहरुले जनताबाट एकदमै राम्रो प्रतिक्रिया पाए । जहाँ जहाँ डोकोमा रेडियो बोकेर उनीहरु पुगे त्यहाँ त्यहाँ सत्य समाचार भन्नु है भन्दै जनताले सचिनहरुलाई फूलमालाले स्वागत गरे ।

राज्यपक्षले रेडियो निस्तेज पार्न धेरै नै कोशिस ग¥यो । दुई वटा गुल्म सकियोस् तर रेडियो सिध्याउँनै पर्छ भन्दै ब्यापक सर्च गरे । सचिनहरुसँग पनि थियो सेनाको ब्यारेकबाट कब्जा गरेको संञ्चार सेट । उनीहरु त्यहीबाट कतिपय समाचार लिन्थे ।

गम्भिर मुद्रामा सचिन अहिलेको समय सम्झँदै भन्छन् “ खै के भन्ने होला । आधा गिलास पानी जस्तो छ अवस्था । आधा घाम आधा छायाँ जस्तो । हामीले खोजेको उद्देश्यहरु पुरा भएको छैन ।” उनले जलजलाको पहाडमा डोकोमा रेडियो बोकेर उक्लदै गर्दा सहयोद्धा साथीहरुलाई भनेका रहेछन् “ कमरेडहरु नेपाली क्रान्ति सम्पन्न भएपछि हामी रेडियो नेपालमा गएर बोल्नुपर्छ है ।” खै कस्तो भावाकृति भयो होला साथीहरुको अनुहारमा उनले अध्यारोमा देखेनन् । तर उनले शान्ति प्रक्रियापछि बोले रेडियो नेपालमा । उनको त सपना पुरा भयो । तर खै नेपाली श्रमजीवी जनताको आवाज बोलिएको ? उनी असन्तुष्ट छन् , उनी भन्छन् मैले त बोले नी रेडियो नेपालमा, तर साँचो अर्थमा जनताले बोल्न पाएको छैन ।”

जनगणतन्त्र भेरी/कणार्ली प्रशारण केन्द्र

सदियौंदेखि एकात्मक राज्य सत्ताले अपहेलित बनाई राखेकोे दुर्गम क्षेत्रका जनताको आवाज डोकोमा बोकेर पुगे रामलाल विश्वकर्मा, देवीराम देवकोटा, टकबहादुर सिह ‘सुशील’ , कल्पना बिसुराल, आशा शर्मा, गणेश कञ्चन भारती र धर्मराज जोशीहरु । उनीहरुले २०६० साउन २३ बाट सुरु प्रशारण सुरु गरे ।

उनीहरुले पनि समाचारमुलक कार्यक्रम नै चलाए सुरुमा । त्यसपछि जनसंगीत कार्यक्रम चलाए । पार्टीका गतिविधिहरुमा बढी केन्द्रत भए उनीहरु । फौजी कारवाहीका प्रत्यक्ष रिपोर्ट समेत गरे । साथमा उनीहरुले आदिवासी जनजाति महिला, किसान, जनमुक्ति सेनासँग सम्बन्धीत विषेश कार्यक्रमहरु पनि चलाए ।

उनीहरुले बिहान ३ घन्टा र बेलुकी ३ घन्टा कार्यक्रम चलाउँथे । हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, दैलेखका भिर कन्दराहरु, टाकुराहरुमा गएर उनीहरुले कार्यक्रम चलाए । सबै भन्दा पहिला जाजरकोटको गर्खाकोटको लेकबाट उनीहरुले कार्यक्रम चलाए । उनीहरुको आवाज सिङ्गै कर्णालीमा चेतनाको आवाज भएर गुन्जियो । भेरी नदीको सुसाहटमा उनीहरुको पनि आवाज मिसियो । कालीकोट जुम्ला र दैलेखका टाकुराबाट प्रशासण गरे उनीहरुले ।

त्यसबेलाका अविश्मरणीय क्षण सम्झिँदै देवीराम देवकोटा भन्छन् “हामी कालिकोटको तिनचुलीमा कार्यक्रम चलाईरहेका थियौं । हामी भन्दा माथिबाट दुश्मनले हामीलाई आक्रमण गर्न ठिक्क प¥या रहेछ । हामी तुरुन्तै त्यहाँबाट हिड्यौं । एकछिन मात्रै ढिला भएको भए हामी कोही पनि नबाँच्ने रहेछौं ।”

उनले अर्को पनि रोचक घटना सुनाए । “हामीले कालिकोट पिलीको घटनाको प्रत्यक्ष प्रसारण ग¥यौं । युद्ध सम्वाददाता शंकरबहादर रोकायाले त्यसको प्रत्यक्ष प्रसारण गर्नु भएको थियो । त्यो युद्धको फौजी कमाण्डर जनार्दन शर्मा प्रभाकरसँग समेत प्रत्यक्ष सम्वाद गरेका थियौं ।”

उनीहरु कयौं पटक दुश्मनको घेरा तोड्दै अघि बढिरहे । उनीहरुसँग सुरक्षाको लागि जनमुक्ति सेनाको टुकडी पनि सँगै थियो । जनताहरु रेडियो नेपाल सुन्थे भ्रमित हुन्थे अनि भ्रममुक्त हुन रेडियो जनगणतन्त्र सुन्थे ।

उनी त्यतिबेलाको अवस्था हेरी आजको समाज हेर्दा जनताले अपेक्षा गरेको फल प्राप्त गर्न नसकेको बताउँछन् ।

के छ आज ती डोके रेडियोको अवस्था माओवादी जनयुद्धकालमा संचालन गरिएका ति रेडियो अहिले जिवित छन् कि छैनन् ? पक्कै छन् । पूर्वी कमाण्डको रेडियो धरानबाट अहिले पनि उहि नामबाट चलिरहेको छ । मध्यकमाण्डको जनगणतन्त्र रेडियो अहिले काठमाडौंको कीर्तिपुरबाट नवज्योति एफएमका नाममा चलिरहेको बताइन्छ ।

यसैगरी विशेष क्षेत्रको रेडियो दाङबाट गणतन्त्र रेडियोको नाममा, सुदुरपश्चिमका दुई रेडियो जनआवाजका नाममा धनगढी र नेपालगन्जबाट प्रसारण भए । तर धनगढीबाट प्रशारण भएको रेडियो भने अहिले बन्द छ ।

हेर्नुहोस् केही तात्कालिन फोटाहरु :

[caption id=\"attachment_52190\" align=\"alignleft\" width=\"604\"]\"1\" पूर्वी कमाण्डले सन्चालन गरेको रेडियोको अन्डर ग्राउन्ड स्टेशन । तस्वीर साैजन्य : विनाेद घिमिरे[/caption]

\"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo \"rediyo

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies