दोलखा । चिसोले कठ्याङ्ग्रीएर दोलखामा थप तीनजना वृद्धवृद्धाको ज्यान गएको छ । दोलखामा एक साताभित्र मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रुपमा जस्ताको टहरामा बस्दै आएका वृद्धवृद्धा चिसोकै कारण मृत्युको मुखमा पुगेका हुन् ।
आजसम्म आएको तथ्याङ्कअनुसार थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा बुलुङ–८ का ६६ वर्षीय भक्तबहादुर मगर, मेलुङ–८ का वर्ष ६८ की विष्णुकुमारी श्रेष्ठ र मेलुङ–८ कै ७० वर्षीय जितबहादुर श्रेष्ठको मृत्यु भएको स्थानीय जानकारी दिए । उनीहरु अस्थायी रुपमा बनाएको जस्ताको टहरामा बस्दै आएका थिए ।
भूकम्पले घर लडेपछि अस्थायी टहरामा बास बस्दै आएका विष्णुकुमारी बिहान सुतेकै अवस्थामा मृत फेला परेको उहाँका छोरा विष्णुकुमार श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिनुभयो । छोरा विष्णुका अनुसार खानासँगै खाएर कटेरमा सुत्न जान लाग्दा मुटु चिसो भयो भन्दै भोलि थप ओड्ने किन्न अनुरोध गरेका थिए।
चिसो बढेपछि ग्रामीण भेगका स्वास्थ्य संस्थामा सिताङ्ग, रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हाडजोर्नी, जिउ दुख्ने, पखला लाग्ने, दम बढ्ने, स्वासप्रस्वासमा समस्या हुनेलगायतका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिए । तीमध्ये दीर्घरोगका अधिकांश बिरामी स्वास्थ्यचौकीमा नगई घरमै थलिएर बस्ने गरेको अनुगमनका क्रममा भेटिएको डा लम्सालको भनाइ रहेको छ ।
उले त्यस्ता किसिमका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने वातावरण बिरामीका आफन्तले बनाउन आवश्यक रहेको समेत बताए । सरकारले न्यानो कपडा खरिद गर्न दिने भनिएको रु १० हजार रकम ढिलाइ गर्दा पनि धेरै चिसोका बिरामीलाई समस्या परेको स्थानीयको भनाइ रहेको छ ।
जिल्लामा ८५ हजार भूकम्पपीडित परिचयपत्र बाँडिएपछि जिल्ला विकास समिति दोलखाले गृह मन्त्रालयलाई रु ८५ करोड माग गरेको भए पनि हाल रु ५० करोड मात्र आएको बताइएको छ ।
त्यस्तै भूकम्पमा घाइतेको व्यथा झनै कष्टकर रहेको छ । वैशाख १३ गतेको भूकम्पमा खुट्टा भाँचिएका लामीडाँडा–६ का ६८ वर्षीय श्रीराम बस्नेत यतिबेला दुःखद जिन्दगी बिताइरएका छन् । चिसोको समस्याले उहाँको भाँचिएको खुट्टा कटकट खाने, रातभरि दुख्नेलगायतका समस्याले छटपटिरहेका छन् । हालसम्म उहाँले सरकारले दिने भनिएको रु १५ हजारसमेत पाएका छैनन् । ।
उहाँ भन्छन्– “नागरिकता नभएकै कारण मलाइ रु १५ हजार दिएनन् । चालीस वर्षअघि रामेछापको बाम्ती घर भएका बस्नेत हाल लामिडाँडा–६, सिँगटीमा बसोबास गरिरएका छन् । उहाँ आफैँ ६८ वर्षका भए खुट्टा भाँचिएको छ, राम्रोसँग हिँडडुल गर्न सक्दैनन्, बेलाबखत उपचार गर्न काठमाडौँ जान्छन् ।
श्रीमती ७५ वर्षकी छन् घरमा अन्य कोही छैनन्, पाँचवटी छोरीको विवाह भएर गइसके, नागरिकता नभएकै कारण उहाँले भूकम्पपीडित परिचयपत्रसमेत पाउन सकेका छैनन् । रासस
प्रतिकृया लेख्नुहोस्: