पौष १७ गते, २०७२ शुक्रवार 1st January, 2016 Fri१२:१०:३३ मा प्रकाशित
नेपालको माओवादी आन्दोलनबारे ‘आजको माक्र्सवाद र नेपाली क्रान्ति’ का लेखक घनश्याम भुषालका धेरै विश्लेषणसित म सहमत छैन । किनकि माओवादी आन्दोलन मूलतः सामाजिक क्रान्ति थियो भन्ने मेरो मान्यता हो । यो समाजिक क्रान्ति मूलतः दुई कारणले थियो– पहिलो, यसले समाजको संगठनसम्बन्धी वैकल्पिक कल्पनाशीलताको प्रतिनिधित्व गर्दथ्यो र सोहीअनुरुपको यसको कार्यक्रम थियो । दोस्रो, नेपालमा राजतन्त्रको विस्थापनमा मूलतः माओवादी जनयुद्धकै योगदान थियो । नेपालले नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र पाइसकेपछि माओवादी जनयुद्धले गणतान्त्रिक क्रान्तिसम्म पु¥याएकोमा अब कुनै द्विविधा रहनु हुन्न । तर, माओवादी आन्दोलनको खासगरी त्यसको नेतृत्वमा रहेको चिन्तनपद्धतिका बारेमा विद्वान भुषालले औंल्याएको एउटा तथ्यमा भने म पूर्णतः सहमत छु । त्यो के भने माओवादी नेतृत्वको सोचमा शून्यवाद वा निहिलिजम्ले नराम्ररी घर गरेको छ ।
फेरि प्रश्न उठ्छ— शून्यवादीले नेतृत्व गरेको आन्दोलन कसरी क्रान्तिकारी हुनसक्छ? माओवादी नेतृत्व पूरै शून्यवादी भयो भन्ने पंक्तिकारको दाबी होइन, उनीहरुलाई शून्यवादले काफी हदसम्म दिग्भ्रमित बनाएको छ भन्ने मात्रै हो । त्यसैगरी, माओवादी जनयुद्ध मूलतः नेपालका उत्पीडित वर्ग, समुदाय, लिङ्ग र क्षेत्रका जनताले लडेको युद्ध थियो । जनयुद्ध सुरु हुनुभन्दा पहिले मशाल वा एकताकेन्द्र वा जनयुद्ध सुरु गर्दाको माओवादी एउटा सानो समूह थियो । जनयुद्ध सुरु भएपछि यसमा विभिन्न दलमा सामेल उत्पीडित समुदायको ठूलो संख्याको सहभागिता रह्यो । तर, यसको उपल्लो तहको नेतृत्व हिजोकै विभिन्न वामपन्थी समूहबीच रहेको फुटपरस्त झगडाबाट मुक्त हुन सकेन । जनयुद्धमा भएको विभिन्न उत्पीडित समुदायको सहभागिताको प्रतिबिम्बन उपल्लो नेतृत्वमा हुन सकेन । र, आज मुसीको बिहे मुसासँगै भनेझैं माओवादी पार्टी विभिन्न पूर्ववत गुटमा विभाजित भएको छ । पूर्व मसालमा रहेका व्यक्तिहरुलाई लिएर डा. बाबुराम भट्टराई छुट्टै दल खोल्ने तयारीमा छन् । यसका लागि उनले नयाँ शक्ति नामको पातलो बर्को ओडेका छन् । मोहन वैद्यले पुरानो मशालका आफ्ना पुराना सहकर्मी लिएर छुट्टै दल खोल्न पुगेका छन् । नेत्रविक्रम चन्दले छुट्टै समूह खोलेका छन् । नारायणकाजी श्रेष्ठको समूह पनि ज्यूँ का त्यूँ छ एमओवादीभित्र । त्यतिमात्र होइन, वैद्य र भट्टराईले पार्टी छाडेकामा माओवादी आन्दोलनको मूलधार मानिएको एमाओवादीभित्रको एउटा तप्कामा किञ्चित तनाव छैन । उमंग मात्रै छ । उनीहरु भनिरहेका छन्— वैद्यले पार्टी छाडेर संविधान बन्यो, भट्टराईले छाडेर पार्टी बन्छ । एमाओवादी नेताहरुलाई यस्तो उटपट्याङ बुद्धि कसले दिन्छ हँ ? खासमा त्यसो भन्नेहरुलाई पार्टी बन्छ भन्ने लागेको होइन, बचेखुचेको क्रान्तिको साख प्रयोग गरेर सत्तामा एक्लै राइँदाइँ गर्न पाइन्छ र एक्लै कुम्ल्याउन पाइन्छ भनेर मात्रै खुसी लागेको हो ।
एमाओवादी नेताहरुको यो उट्पट्याङ बुद्धिको मुहान भुषालले औंल्याएजस्तै शून्यवाद हो । निहिलिजम् हो । आज माओ होइन, नित्से माओवादी समूहहरुका असली गुरु भएका छन् । यो निहिलिजम्को स्रोत ‘एक दुईमा विभाजित हुन्छ’ भन्ने दार्शनिक मान्यताको गलत बुझाइमा आधारित छ । एक दुईमा विभाजित हुन्छ भनेर एकभित्र दुईको संघर्षशील अस्तित्व हुन्छ, अझ एकमा अनेकको अस्तित्व हुन्छ भन्नेतर्फ औंल्याउनु माओको तात्पर्य थियो । तर, नेपालका माओवादीहरुले यसलाई ठीक विपरित ब्याख्या गरिदिए । त्यत्रो सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसपछि देङको सुधारबाट गुज्रेको चीनको कम्युनिस्ट पार्टी अझ पनि एउटै छ । तर, नेपालका कम्युनिस्ट आन्दोलन खडेरीले चिरिएको सुख्खा भूमिजस्तो चिरैचिरा परेको छ । यसको के कारण हो त्यसको खोजी कम्तीमा पनि नेपालका माओवादीहरुले गर्नुपछ कि पर्दैन ?
एक दुईमा विभाजन हुन्छ भन्ने मान्यताको गलत बुझाइका कारण नेपाली माओवादी आन्दोलन शून्यवादको शिकार भएको छ । यो अमिवाजस्तो टुक्रेको टुक्रेकै छ । नेपाली कांग्रेसमा कसैले कसैलाई गद्दार घोषणा गरेको सुन्नुभएको छ ? तर, माओवादी पार्टीका पुराना नेताहरु हरदम गद्दारको खोजीमा हुन्छन् । उनीहरुको दस्तावेजमा भुषालले औंल्याएजस्तो कोही क्रान्तिकारी, कोही वाम लफ्फाबाजी, कोही दक्षिणपन्थी, कोही मध्यपन्थी र कोही क्रान्तिकारी हुनै पर्छ । हरेक समूहले आफूलाई क्रान्तिकारी र अरुलाई अरुवादी बताउँछन् । उनीहरु मानिसका अनेक रङ्ग हुन्छन् भन्ने बुझ्न सक्दैनन् । यसरी, एउटा शून्यवादी गलत दार्शनिक मान्यताका कारण पार्टी फुट्दा उनीहरु झनै खुसी हुन्छन् ।
खासमा माओवादी आन्दोलनबाट आएका एकथरी नेतृत्वदायी तहमा रहेका व्यक्तिहरु जनयुद्धको स्वामित्व लिन पनि हिचकिचाउने भैसकेको रहेछ । मोहन वैद्य समूह आफूलाई सबभन्दा क्रान्तिकारी बताउँछ तर सबभन्दा गैरजिम्मेवार र गैरराजनीतिक समूह यही हो । यसका नेता वैद्यमा केबल प्रचण्डप्रतिको पूर्वाग्रह र कुण्ठा छ । उनी प्रचण्ड समूहलाई सिध्याउन कहिले तत्कालीन राष्ट्रपति रामवरण यादव गुहार्छन् त कहिले उनका कार्यकर्ता उनले नै भनेका जनदुश्मनसित बिटोका बिटो नगद लिएर भोट बेचिदिन्छन् । एमाओवादीलाई कमजोर पार्नु नै वैद्यको क्रान्ति हो । शान्तिसम्झौतामा आएर गल्ती भयो भन्दै हिँड्ने उनी आफै फेरि जनयुद्धलाई निरन्तरता पनि दिन्नन् । केबल जनयुद्धलाई निरन्तरता दिएन भनेर प्रचण्डसमूहलाई आलोचना गर्नमै आफ्नो दैनिकी बिताउँछन् । माओवादी समूहहरुबीच एकताका सबभन्दा ठूला बाधक पनि यिनै वैद्य हुन् ।
डा. भट्टराईको बारेमा त धेरै लेखिरहनै पर्दैन । उनी यतिबेला नेपालमा गैरराजनीतिक र कम्युनिस्टइतर विकासे बहसको सिर्जना गर्नमा व्यस्त छन् । उनको नयाँ शक्ति अभियानका नारा कुनै गैसस वा एनजीओका नारा जस्ता छन् । माओवादी आन्दोलनकै कारण डा. भट्टराईले यतिधेरै वैचारिक प्राधिकार पाएका थिए । उनको कुरा सुन्न मानिसहरु तयार भएको उनी जनयुद्धका नेता भएकाले थियो । तर, भष्मासुरले महादेवबाट पाएको वरदान आफ्नै टाउकोमा परीक्षण गरेजस्तो डा. भट्टराईले पनि आफ्नो वैचारिक प्राधिकारको परीक्षा सबभन्दा पहिले बचेखुचेको माओवादी आन्दोलनलाई क्षतविक्षत गर्नमा लगाएका छन् । यस मामिलामा भारतको संस्थापन पक्ष र डा. भट्टराईबीच अघोषित कार्यगत एकता जस्तो देखिएको छ । आउने चुनावसम्म यो वा त्यो प्रकारको नाकाबन्दी लम्ब्याएर नेपाली जनतालाई थकाउने र जसले ग्याँस वा तेल ल्याउन सक्छ उसैलाई मत दिने भन्ने बनाउने जसले गर्दा नेपालका कम्युनिस्टहरुले चुनाव हारुन्— उक्त अघोषित गठबन्धनको रणनीति हो ।
यसअघि नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई बधाइ दिने क्रममा डा. बाबुराम भट्टराईले पूर्वलडाकू भनेकै हुन् । पूर्वलडाकू भन्नु र पूर्व जनमुक्ति सेना भन्नुमा आकाश जमिनको फरक छ । काँग्रेस वा एमालेका नेताले उनलाई पूर्व लडाकू भन्नु बुझ्न सकिने कुरा हो । तर, जनयुद्धकै नेतृत्व गरेर आएका डा. भट्टराईले जनमुक्ति सेना नभनी लडाकू पदावली प्रयोग गर्नु चाहिँ निकै विडम्बनापूर्ण छ । डा. भट्टराईले माओ जयन्तीका सन्दर्भमा कुनै वक्तव्य दिनु जरुरी ठाननन् । तर, क्रिसमसको शुभकामना दिन यी भौतिकवादी चुकेनन् । डा. भट्टराईले जति सजिलै आफ्नै इतिहासलाई पोल्दै छन्, त्यसबाट उनले आर्जन गर्ने शक्ति भनेको घर पोलेपछि खरानीको के दुःख भनेजस्तै हो । यी घटनाक्रमले मलाई पूर्वमाओवादी नेतृत्वको बारेमा बुढा वामपन्थी नेता मोहनविक्रम सिंहको विश्लेषणसित नजिक पु¥याएकोे छ । उनको पछिल्लो भनाइ के छ भने माओवादी जनयुद्ध भुइँतहबाट उठेको क्रान्ति थियो तर यसको नेतृत्व क्यारियरवादी र महान् व्यक्तिवादीहरुको पकडमा पुग्नु यसको सबभन्दा ठूलो दुर्भाग्य हो ।
संक्षेपमा भन्नुपर्दा, माओवादी आन्दोलन आज छियाछिया हुनुमा एमाओवादीको मूल नेतृत्व एवम् डा. भट्टराईजस्तो हिजो उच्च नेतृत्वतहमा रहेकाहरुमा रहेको महान् व्यक्तिवाद र वैद्य समूहमा रहेको परिशुद्धतावादी प्रवृत्ति, र एक हदसम्म उनीहरुमा रहेको अऐतिहासिक एवम् विद्वान भुषालको विश्लेषण सापट लिनुपर्दा, शून्यवादी चिन्तनपद्धति जिम्मेवार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: