महिला अधिकारका बारेमा अरु बेला कम चर्चा भए पनि मार्च ८ को सेरोफेरोमा महिलामाथि हुने अन्याय, अत्याचार र महिला स्वतन्त्रता, लैंगिक समानता आदिका बारेमा निकै चर्चा गरिन्छ ।
यस्तो चर्चा महिलाहरु असाध्यै स्वतन्त्र छन् भन्ने गरिएका मुलुकहरुमा समेत हुने गरेको छ । फेरि ८ मार्च आएको छ र महिला हिंसाबारे चर्चा हुन थालेको छ ।
हरेक राष्ट्रमा महिलाका समस्या महिलाको मात्र नभएर सम्पूर्ण समाज र राष्ट्रकै समस्याका रुपमा रहँदै आएको छ । राज्यले दण्डहिनतालाई भरणपोषण गरिरहेको खण्डमा महिलामाथि हुने समस्याको समाधान उचित तरिकाले नभई यो समस्या अन्ततः समाजको क्यान्सर सावित हुन सक्छ ।
कुनै पनि महिला आफैंमा सक्षम हुँदैनन् भनेर महिलालाई सधैं असक्षम नै देखिराख्ने दृष्टिकोणले नै महिलालाई जबर्जस्ती कमजोर पारिरहेको छ । मूलतः सामाजिक कुसंस्कार, परम्परागत धारणा, आर्थिक स्थिति र सामाजिक तथा पारिवारिक मूल्यमान्यता– यिनै चार तत्वहरुले नै महिलालाई कमजोर बनाएको मात्र छैन कि हिंसा सहन समेत बाध्य पारेको छ ।
नेपालको सन्दर्भमा इतिहासको खास कालखण्डमा हुने ठूलठूला आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको छ । तर, इतिहासका हरेक परिवर्तनपछि लैङ्गिक विभेद र भेद्भावको अन्त्य हुन किन सकिरहेको छैन ? यो प्रश्नको उत्तर सम्भवतः हाम्रो देशका सत्तासञ्चालक कुनै पनि शाषकसँग छैन । न त यो प्रशनको जवाफ नारी अधिकारका कुरा उठाउँदै सहरका आलिशान महल र पाँचतारे होटलमा सभा–सेमिनार र गोष्ठी गरेर डलरको खेती गर्ने कथित महिला अधिकारकर्मीसँग नै छ ।
म सबैभन्दा बढ्ता दोषी त तिनै ‘महिला अधिकारकर्मी’ लाई देख्छु, जसले नारी अधिकार र महिला सशक्तीकरणका खोक्रा नारा अगाडि सारेर करोडौं डरल मात्रै कुम्ल्याउँदै आएका छन् । उनीहरुले खै कति महिलाहरुलाई कहाँ, कसरी र कहिले सशक्त बनाए ?
आजको आधुनिक युगसम्म आइपुग्दा नेपालको सन्दर्भमा महिला आफ्नो घरपरिवारबाट नै असुरक्षित छन् । एउटा दाजुले बहिनीको र जन्म दिने बाबुले नै आफ्नी छोरीको अस्मिता लुटेका थुप्रै उदाहरणहरु छन् हाम्रा सामु । बैतडीकी पूजा बोहोराको जस्तै खुल्न बाँकी बलात्कारका रहस्यमय घटना कति लुकेका छन् कति ! यो कुरा जोकोहीले पनि सजिलै अनुमान गर्न सक्दछ ।
गतसाल राजधानीमा अधिकारकर्मी र राजनीतिक पार्टी निकट महिला संगठनहरुले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेकै दिन राजविराज निवासी गुडु अन्सारीकी श्रीमती नजराना खातुनलाई दिउँसो २ बजेतिर सुतिरहेका बेला अचानक जलाएर हत्या गर्ने प्रयास गरियो ।
भर्खरै मात्र पनि काठमाडौंमा भएको एसिड आक्रमणको घटनात्रले महिलाहरु माथिको हिंसा र सत्ताधारीहरुको निरीहता प्रष्ट्याएको छ । सके शारीरिक, नभए मानसिक र भावनात्मक रुपमा र अन्त्यमा केही सिप नलागे सुन्नै गाह्रो हुने खालका फोहोरी शब्दहरु बोलेरै किन नहोस्– महिलाहरुलाई तनाव हुनेगरी पुरुषहरुले गर्दै आएको दुर्व्यवहार जतासुकै देख्न पाइन्छ ।
आम नारीलाई हेर्ने दृष्टिकोण आदिम कालपछि विशेषतः बर्बर युगका रुपमा चिनिएको मध्ययुगीन सामन्ती धर्म र त्यसले निर्माण गरेको मानव संरचनाले नै आजसम्म आइपुग्दा हरेक देश र जातिका लागि अतीतका नमीठा घटना बनेर कालो छाप छाडी गएका छन् ।
समाजले विकासमा जतिसुकै फड्को मा¥यो भनिए पनि हाम्रा पवित्र भनिएका धर्मग्रन्थ र सामाजिक परम्पराले नारीलाई अपमान गर्न अद्यापि छाडेका छैनन् । यो वा त्यो समाज र सम्प्रदायभन्दा पनि तत्कालीन भौगालिक परिवेशको सामाजिक संरचनाले गर्दा अझै नेपालमा नारीहरुको अवस्था दयनीय नै छ । लैङ्गिक भेद्भाव आज पनि समाजका सबै क्षेत्रमा व्याप्त छ । पुरुषले त्यही काम गर्दा सही हुने र महिलाले गर्दा गलत हुने संस्कार यथावत् छ ।
महिलाहरुमाथि जति अन्याय गरिए पनि उनीहरुले ‘सहनशील’ भएर सहिदिनुपर्ने रे ! कति हास्यास्पद छ हाम्रै समाजका कयौं पुरुष भनिनेहरुको सोच ! एउटी महिलाले आफूलाई जति गाह्रो भए पनि धर्तीभन्दा सहनशील बनिदिनुपर्ने अनि पुरुषले चाहिँ आप्नो कर्तव्यबाट विमुख भए पनि कसैले प्रश्न नगर्ने/गर्नु नहुने– यो पुरुषप्रधानताको कुन हद हो ?
आखिर कति दिन चल्छ, महिलामाथि पुरुषप्रधान समाजको यस्तो थिचोमिचो ? एउटी महिला भएर जन्मेकै मात्र कारणले समाजमा कति दिन अपहेलित भएर बाँच्नुपर्ने हो नाीजातिले ? महिला अधिकारकर्मीहरुले महिला अधिकारको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्न किन नसकेका ? दोषीलाई कारबाही र पीडितलाई न्याय दिन नसक्दा र देशमा फटाहा, शोषक, सामन्तहरुको बिगबिगी बढ्दै जाँदा; आफ्नो गाउँ–समाजभित्रै समेत काममा स्वतन्त्र रुपले आवतजावत गर्न पनि समस्या हुँदै गइरहँदा राज्य मौन छ, आखिर किन ?
कतिपय प्रतिवेदनले नारीको अवस्था सुधार भएको देखाइरहेका छन् । तर, आजको विकासको तुलनामा नगन्य मात्रामा भएको सुधारले उपलब्धिको पुष्टि गर्दैन । घरैबाट, आफ्नै छरछिमेकबाट समेत नारीहरुप्रति विभेद र हिंसा सुरु हुँदै पर, अन्यत्रसम्म पलपल कुनै न कुनै रुपमा हिंसाको शिकार भइरहनुपर्ने स्थिति यथावत छ । पिँढी जति परिवर्तन भए पनि र समाज जतिसुकै ‘सभ्य’ कहलिए पनि नारीप्रतिको सामाजिक सोच भने पुरानै संस्कारमा अड्केर बसेको छ । सृष्टिको उत्पत्ति भएदेखि नै महिला र पुरुषलाई ‘एक रथका दुई पाँङ्ग्रा’ र ‘एकै सिक्काका दुई पाटा’ भनिएकै छ । तर, व्यवहार यी भनाइभन्दा नितान्त फरक छ ।
‘शून्य सहनशीलता’ को नारा घन्काइए पनि र जतिसुकै नियम–कानुनको हवाला दिइए पनि समय, काल र परिवेशअनुसार नारीहिंसा र अपराधहरु जस्ताका तस्तै छन् । हाम्रो समाजमा महिलाहरु जन्मैदेखि लैङ्गिक विभेदको शिकार छन् । सानै उमेरदेखि समाजले छोरा र छोरीलाई भिन्न व्यवहार सिकाएको हुन्छ । बुबा, श्रीमान् वा छोरा– जोसुकै किन नहोऊन्, महिलाले पुरुषको अधीनमा रहनुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
महिलाहरु विभेदकारी सामाजिक मान्यताको अनुशरण गर्ने, घरपरिवार सञ्चालन गर्ने, बच्चा जन्माउने तथा परिवार र पुरुषको आवश्यकतापूति गर्ने ‘साधन’ का रुपमा प्रयोग हुँदै आएका छन् । हाम्रो देशको संविधानमा महिला हिंसालाई दण्डनीय अपराधका रुपमा परिभाषित गरी आधारभूत मानवअधिकारको ग्यारेन्टी गरिए पनि महिलाविरुद्धको हिंसा निराकरण हुन सकिरहेको छैन । आर्थिक स्वतन्त्रता प्रदान गर्न सक्ने सामाजिक क्रियाकलापहरु पुरुषका लागि मात्र सुरक्षित छन् । निजी सम्पत्ति, पारिवारिक सङ्गठन तथा पुरुषको हैकममा आधारित समाजमा महिला केवल प्राकृतिक जिम्मेवारी पूरा गर्ने हदसम्म सीमित छन् । महिला घरको काम गर्ने उपकरण र बच्चा जन्माउने मेसिनका रुपमा मात्र कतिन्जेल प्रयोग हुने ? अधिकारको कुरा गर्नेले कि त समान अवसर र स्थान देऊ, होइन भने तिम्रा खोक्रा भाषण बन्द गर ।
अबका शिक्षित नारी एक कदम अगाडि बढिसकेका छन्, चाहे समाजलाई परिवर्तन गर्ने कार्यमा होस् या देश निर्माणमाको अभियानमा; महिला कहिँ–कतै चुकेका छैनन् र चुक्दैनन् पनि । परम्परावादी, सामन्तवादी राज्यव्यवस्थामा आधरित नेपाली शासन व्यवस्था र पुरुषप्रधान नेपाली समाजको बनोटका कारण नेपाली महिलाहरुलाई पुरुषको दासका रुपमा मात्र उपयोग गरिँदै आइएकोमा अझै पनि यही व्यवस्थालाई ‘नेपाली परम्परा’ भनेर यथावत लागू गर्ने प्रयास भइरहेको पाइन्छ ।
चुलो–चौकाको घेराबन्दीमा रहेका नेपाली महिलाहरुले ‘परम्परा र इतिहास’ तोड्दै १० वर्षे महान् जनयुद्धमा होमिएर आफूलाई साहसी महिलाहरुका रुपमा परिचित गराउँदै महिलाहरु समाज परिवर्तन गर्न सक्षम छन् भन्ने इतिहास कायम गरिसकेका छन् ।
१९१० मार्च ८ का दिन विश्वका केही अग्रगामी महिलाले सङ्गठित रुपमा थालनी गरेको ऐतिहासिक प्रयासलाई सम्मान गर्दै सोही दिनको सम्झनामा प्रत्येक वर्र्षको ८ मार्चलाई संसारभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउँदै आइएको छ । जनसंख्याको आधारमा विश्वमै आधा हिस्सा ओगटेका महिलाहरुको अवस्था सुधार नगरिएसम्म समाज अघि बढ्न सक्दैन भन्ने धारणालाई विश्वभर फैलाउन यो दिवसले सघाएको छ ।
विश्वभरका नारीहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विभिन्नखाले घरेलु–सामाजिक हिंसा, आर्थिक–राजनीतिक–शैक्षिक विभेद, विभिन्न क्षेत्रमा भइरहेका शोषण–दमन–उत्पीडनका विरुद्ध आवाज उठाउदै र सङ्घर्ष गर्दै मनाउने गरेका छन् । तर, के वर्षमा एक दिन दसैं–तिहारजस्ता चाडपर्व मनाएजस्तै गरी मनाइने नारी दिवसले नारीका पीडा, ब्यथा र कथाहरुको सम्बोधन हुन सक्ला ?
विगत ६ दशकदेखि आवाज उठाउँदै आए पनि नेपाली महिलाहरुले मतदान गर्ने, उम्मेदवार हुने, निर्वाचित हुने अधिकार त पाएका छन् तर राज्यका समग्र क्षेत्रमा समान र अर्थपूर्ण सहभागितालगायतका सवालमा पूर्ण अधिकार पाउन सकेका छैनन् ।
यसर्थ, एउटी नारीमाथि हिंसा गरेर तन र मनबाट सुन्दर नारीलाई कुरुप बनाएर नारी दिवसलाई औपचारिकतामा सीमित नपारौं । समाजको सानो एकाई घरपरिवार हो भने बृहत्तर एकाई राज्य र सिङ्गो समाज हो । जसरी जग कमजेर रहेको घर टिक्न सक्दैन, ठीक त्यसरी नै नारी र पुरुषको एकीकृक सोच, समान व्यवहार, समान चिन्तन नभएको परिवार सफल हुन सक्दैन ।
आफ्नो अस्तित्व रक्षाका निम्ति महाभारतको लडाइँ आफैंले लड्नका निम्ति सबै नारीहरुले साहस जुटाउँदै र गाउँदेखि सहरसम्म विभिन्न माध्यमबाट चेतना फैलाउँदै गएको खण्डमा प्रत्येक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको औचित्य क्रमिक रुपमा साकार हुँदै जाने छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना !
प्रतिकृया लेख्नुहोस्: