प्रचण्डजीको र मेरो सम्बन्ध बारेमा कसैले पनि बुझेनन् । हामी बाँचुञ्जेल त कसैले बुझ्दैनन् । हामी मरेपछि हाम्रो सम्बन्धको बारेमा अनुसन्धान हुनेछ ।पार्टीमा ३१ वर्षदेखि निरन्तर सँगसँगै र नेतृत्वदायी भूमिकामा रहेका दुईजना नेताको सम्बन्ध कस्तो हुनुपर्ने र कस्तो छ ? उनीहरु असल साथी हुन् कि औपचारिक साथी मात्र ? कि अझ कुनै कम्पनीको शेयर सदस्यजस्तो नाफा घाटामा आधारित स्वार्थपूर्ण ? उनीहरु प्रतिस्पर्धी हुन् कि एक–अर्काको सहयोगी ? विभिन्न समयमा गम्भीर प्रश्न उठ्ने गरेको छ । प्रचण्ड भावनात्मक हिसाबले एमाओवादी आन्दोलनमा आएका र पछि विज्ञान जोडिएको बताउँछन् बाबुराम । भावनात्मक बढी हुँदा कहिलेकाँही ‘एक्ट्रीमिस्ट’ र बढी ‘तरंगित’ भइदिनाले समस्या आइदिने उनको बुझाई छ । त्यस्तै प्रचण्ड पनि अप्ठेरो परेको बेला भट्टराईले कहिलेकाँही बचाउ नगरेको गुनासो गर्ने गर्छन् । क्रान्ति, वर्गीय मुक्ति र संघर्षको तरिकामा दुवैजना एकठाउँमा रहेको बाबुरामको बुझाई छ । तर स्टालिनकालीन पुरानो संगठनात्मक शैली र तरिकामा मुख्य टक्राव हुने गरेको भट्टराईले बताउने गरेका छन् । विज्ञानले नै दुई फरक व्यक्तिलाई अद्तिीय मान्छ । सबै कुरा उस्तै हुन त असम्भव नै छ । तर, सबै कुरा उस्तै हुनु र असल साथी हुनु फरक कुरा हो । ज्यानलाई हत्केलामा राखेर जीवनमरणको लडाईमा लागेको तीन दशकसम्मको अविराम यात्रामा कस्तो स्वार्थ र महत्वाकांक्षा अगाडि आउँछन्, जसले उनीहरुलाई आरोप–प्रत्यारोपको रणमैदानमा उतारिदिन्छ ? यो उनीहरुको व्यक्तिगत कमजोरी हो कि उनीहरुले विकास गरेको पार्टी सञ्चालन प्रणालीको दोष हो ? कम्युनिष्ट पार्टीमा एकता र संघर्षलाई आलोचनात्मक ढंगले हेर्न र बुझ्न सिकाइयो कि सिकाइएन ? दुई नेता मिल्छन् सबै ठिक अनि यी झगडा गर्छन् सबै बेठीक ! त्यसपछि आ–आफ्ना पक्षका नेताको बचाउमा तथानाम गालीगलौज । यहाँ व्यक्ति ठिक हुनुपर्ने कि प्रणाली ? नेता कार्यकर्ताहरु रोबोर्ट जस्ता आदेशपालक हुनुपर्ने कि आफ्नै मष्तिष्कको प्रयोग गर्ने अनुशासित मान्छे ? यी सोचनीय प्रश्नमा छलफल बहस हुनु जरुरी छ । केही समयअगाडि सूचना प्रविधिको प्रयोगबारे आफ्नै निवास सानेपामा गरिएको एक भेटघाटमा पत्रकार र केही अगुवा कार्यकर्ताबीच एमाओवादी नेता बाबुराम भट्टराईले उद्देलित हुँदै भनेका थिए, ‘प्रचण्डजीको र मेरो सम्बन्ध बारेमा कसैले पनि बुझेनन् । हामी बाँचुञ्जेल त कसैले बुझ्दैनन् । हामी मरेपछि हाम्रो सम्बन्धको बारेमा अनुसन्धान हुनेछ ।’ गला अवरुद्ध हुनेगरी नेता भट्टराईले प्रचण्ड र आफ्नोबीच भएको गहिरो सम्बन्धलाई स्पष्ट पार्ने प्रयत्न गरेका थिए । नेता भट्टराईले रुकुमको लावाङ बैठकअघि प्रचण्डले पार्टीबाट निष्काशन गरेको कुरा सम्झिँदै भने, ‘मैले उहाँलाई त्यतिबेला पनि हाँस्दै तपाईंले गल्ती गर्नुभयो भनेको थिएँ ।’ त्यसो त, पालुंगटार बैठकसम्म आएर जनविद्रोहको निर्णय गरिँदा भट्टराईले नोट अफ डिसेन्ट लेख्दै भनेका थिए, ‘इतिहासमा यस्तो गल्ती निर्णय हुँदा पनि बोल्ने कोही भएनछ भन्ने हुनसक्छ । त्यसकारण म यो निर्णयमा नोट अफ डिसेन्ट लेख्छु ।’ त्यतिबेला प्रचण्ड र वैद्य एउटा कित्तामा उभिए र ‘कमजोर’ भट्टराई अर्को कित्तामा । त्यसो त, बाबुराम पनि बेलामौकामा प्रचण्डविरुद्ध खनिएकै छन् । विभिन्न समयमा विभिन्न बुँदे आरोप प्रहार गरेको घटना सम्झँदा बाबुराम नेतृत्वमा भए पनि प्रचण्डलाई कहाँ छोड्थे र भनेजस्तो लाग्छ । हुन त, कम्युनिष्ट पार्टीमा सिद्धान्तका आधारमा एकता र संघर्ष सामान्य कुरा हो । तर के प्रचण्ड–बाबुरामको एकता र संघर्ष सिद्धान्तका आधारमा मात्रै छ त ? सजिलै प्रश्न उठाउन सकिन्छ ।
दुई प्रभावशाली व्यक्तिहरुको सम्बन्ध भनेको रासायनिक प्रतिक्रिया जस्तै हो, उनीहरुको सम्बन्धमा एकले अर्कोलाई रुपान्तरण गर्छन् र नयाँ प्रवृति जन्मन्छऔपचारिक कार्यक्रमहरुमा प्रचण्ड बाबुरामले एक अर्काको प्रशंसाको लागि समय खर्चिन्छन् । कार्यकर्ताको सेन्टिमेन्ट हेरेर बोल्ने नेताहरुले एकअर्काको बचाउ पनि गर्छन् तर भित्रभित्र दुवै नेताबीच चरम अविश्वास, शंका र कटुतापूर्ण सम्बन्ध छ भनेर उनीहरु नजिकैका विश्वासपात्रहरु दावी गर्दछन् । राजनीतिक विश्लेषण र एजेन्डामा बाबुराम र संगठनमा प्रचण्डको पकड र कलाको जोड नै माओवादी आन्दोलन हो भन्नेहरु पनि छन् । तर यो सन्तुलन कहिलेकाँही दुवैमा हुर्कने महत्वकांक्षा र एकबाट अर्को असुरक्षित देख्ने भ्रम र अविश्वासले खलल् हुनपुग्छ । जब एकले अर्कोलाई माया गर्छन्, त्यहाँ विश्वास पैदा हुन्छ । एकबाट अर्को सुरक्षित र सजिलो महसुस गर्छन् । दुई प्रभावशाली व्यक्तिहरुको सम्बन्ध भनेको रासायनिक प्रतिक्रिया जस्तै हो, उनीहरुको सम्बन्धमा एकले अर्कोलाई रुपान्तरण गर्छन् र नयाँ प्रवृति जन्मन्छ । तर रासायनिक प्रतिक्रियाको लागि जति दुई रसायानको चरित्र प्रधान हुन्छ, कहिलेकाँही केही यस्ता ‘कण्डिसन्स्’हरु अनिवार्य हुन्छ, जसको अभावमा दुई रसायनको प्रतिक्रिया असम्भव नै हुन्छ र सम्भव भएपनि अनपेक्षित परिणाम निस्कन्छ । के माओवादी आन्दोलनले विकास गरेको पार्टी पद्धति र प्रणाली उनीहरुको राजनीतिक सम्बन्धको लागि प्रतिकूल नै भएको हो त ? हालसालै पोखरा गएको बेला भट्टराई निकट एक नेताले भने, ‘प्रचण्ड–बाबुराम’ मिलेको बेला पार्टी नै भंग पनि गर्न सक्छन् । त्यो कुरा कुनै नजिकका भन्नेहरुले पनि चुइक्कसम्म थाहा पाउँदैनन् ।’ सँगसँगै भट्टराई र प्रचण्ड मिल्दाखेरी खाएकै नरुच्ने केही नेताहरु पनि दुवै खेमामा छन् । यो कुरा उनीहरुको प्रतिक्रिया र व्यवहारले नै जनाउँछ । त्यसो त, दृष्टिकोण देखिँदैन, व्यवहार देखिन्छ । हामीले पनि व्यवहारिक हल्लीचल्ली मात्रै देखिने भएको हुनाले ‘व्यवहार’लाई मात्रै प्राथमिकता दिएको हुनसक्छौं । तर व्यवहारलाई निर्धारण गर्ने दृष्टिकोण हुन्छ । त्यो हामीले देख्न र छुन सक्दैनौं । समुद्रमा तैरिएको हिउँको ढिक्का ९० प्रतिशत त पानीभित्र लुकेको हुन्छ, देखिने त मात्र १० प्रतिशत हो । हामीलाई नदेखिएको ९० प्रतिशत भन्दा देखिएको १० प्रतिशत ‘ठूलो र महत्वपूर्ण’ लागेको हुनसक्छ । के बाबुराम र प्रचण्डको सम्बन्ध पनि यस्तै हो त ? सबैलाई थाहा छ, प्रचण्ड–भट्टराई सम्बन्धको उतारचढावको लामो श्रृंखला छ । यो श्रृंखलाको क्रममा जहिले–जहिले प्रचण्ड र बाबुराम एकठाउँमा उभिएका छन्, माओवादी राजनीति अगाडि बढेको छ । देशको रुपान्तरणले पनि गुणात्मक गति लिएको छ । जहिले–जहिले उनीहरु छुटेका छन्, नफुटेरै पनि फुटेका छन्, त्यतिबेला माओवादी राजनीति पनि कुहिरोको काग बनेको छ र देश संक्रमणको लम्बेतान यात्रामा जबरजस्त हिंडिरहेको छ । कल्पना गरौं त, पालुंगटारमा शान्ति र संविधान भन्दै दुवै नेता सँगै भएको भए अहिले हामी कहाँ हुन्थ्यौं ? देश कहाँ पुगिसकेको हुन्थ्यो ? सहश्राव्दि पुरुषको सर्वमान्य उपाधि पाएका माक्र्स र उनका अभिन्न मित्र फ्रेडरिक एंगेल्सको सम्बन्धको आयाम राजनीतिमा गहिरो रुचि राख्नेको लागि नौलो कुरा होइन् । उनीहरुको सम्बन्ध कृतघ्न भन्दा कृतज्ञताको उचाईमा चुलिएको थियो । उनीहरुको त्यही कृतज्ञ र अद्भूत सम्बन्धले नै माक्र्स सहश्राव्दि पुरुष बन्न सके र एंगेल्स इतिहासमा नबिर्सने पात्र बने । माक्र्स र एंगेल्स दुवैले एउटा अभिन्न आदर्शका लागि आफ्ना सम्पूर्ण जीवन समर्पण गरे । उनीहरुले एकले अर्कोलाई परिपूरकका रुपमा लिए न कि प्रतिस्पर्धी । एंगेल्सले माक्र्सको निधनपछि पनि माक्र्सवादी सिद्धान्तलाई पूर्णता दिन अहोरात्र खटिइरहे । जब–जब जर्मन पुँजीवादले माक्र्समाथि आक्रमणको वर्षा गर्यो, एंगेल्सले त्यसको प्रतिवाद गरिरहे । त्यस्तै माक्र्सले पनि । माक्र्सको निधनपछि पनि पुँजीलाई पूर्णता दिन उनको अद्वितीय योगदान रह्यो । के प्रचण्ड–बाबुरामको सम्बन्ध ‘लिने बढी दिने कम’ स्वार्थमा आधारित र उपयोगवादी सम्बन्ध हो त ? हुन त, मानवीय सम्बन्धहरु समाजको उत्पादन सम्बन्धसँग पनि सम्बन्धित हुन्छ । सामन्तवादको प्रतिनिधित्व गर्ने उत्पादन सम्बन्धको उपज पिछडिएको चेतनाबीचको सम्बन्ध निषेधात्मक हुन्छ । जबकि पुँजीवादी उत्पादन सम्बन्ध सामन्तवादी भन्दा अलि बढी हार्दिक र फराकिलो हुन्छ । १८औं शताब्दीमा युरोपको उत्पादन सम्बन्ध भन्दा अहिले नेपालको उत्पादन सम्बन्ध अझै पिछडिएको पाइन्छ ।
पूर्वीय दर्शनमा ‘कृष्ण र सुदामा’को सम्बन्धलाई यही कृतज्ञ सम्बन्धको रुपमा चित्रित गरिन्छ । यस्तै कम्युनिष्टहरुले ‘माक्र्स र एंगेल्स’को सम्बन्धलाई कृतज्ञ सम्बन्धको रुपमा चित्रित गर्नेगर्दछन् ।यहाँ कतिपय यस्ता सम्बन्धहरु हुन्छन्, जुन नितान्त औपचारिकतामा सिमित हुन्छन् । औपचारिक सम्बन्ध त्यागमा आधारित हुँदैन, त्यो स्वार्थमा आधारित हुन्छ । यस्तो सम्बन्ध कहिल्यै कृतज्ञ सम्बन्ध हुनसक्दैन । एउटाको लागि अर्को सिद्धिन पनि तयार हुने सम्बन्ध नै कृतज्ञ सम्बन्ध हो । अथवा आफ्नो जीवनको मूल्यभन्दा सम्बन्धको मूल्यलाई महत्व दिने सम्बन्ध नै कृतज्ञ सम्बन्ध हो । त्यसरी नै आफ्नो जीवनको लागि अर्कोलाई सिध्याउन पनि तयार हुने सम्बन्ध कृतघ्न सम्बन्ध हो । जनयुद्धको बेला यस्तो सम्बन्धलाई ‘अर्काको मृत्यूमा आफ्नो जीवन देख्ने’ सम्बन्धको रुपमा चर्चा गरिन्थ्यो । विज्ञानले पूर्ण वस्तुको कल्पना गरेको छैन । केही पनि शतप्रतिशत हुँदैन । आफूलाई कम्युनिष्ट भन्नेहरुले स्वार्थमा र्याल चुहाउँदै वा भ्रमवश कुनै नेतालाई अति आदर्शीकरण गरेर देवता नै बनाउँछन् र उसको सकार–नकारसहित मान्छे हुने अधिकार छिनिदिन्छन् । उसलाई यति हावामा उडाइदिन्छन् कि कुनै दिन अंगभंग हुने गरी जमिनमा पछारिनुपर्छ । अनि पछारिँदा सहयोग गर्नुपर्नेमा जीवनभरीका नराम्रा कुराहरु जम्मा गरेर दानवीकरण गर्न थाल्छन् । यो भयो आफूलाई ‘कम्युनिष्ट’ भन्ने ‘भौतिकवादी’हरुले गर्ने गरेको अभौतिक वा अलौकिक करामत । तर कुनै पनि मानिस पूर्ण हुनसक्दैन भने उसलाई कसैको साथ चाहिन्छ । पूर्वीय दर्शनमा ‘कृष्ण र सुदामा’को सम्बन्धलाई यही कृतज्ञ सम्बन्धको रुपमा चित्रित गरिन्छ । यस्तै कम्युनिष्टहरुले ‘माक्र्स र एंगेल्स’को सम्बन्धलाई कृतज्ञ सम्बन्धको रुपमा चित्रित गर्नेगर्दछन् । एउटा भनाई छ, ‘म तपाईंको खान्छु, तपाईं मेरो जीवन जिउने साधन बन्नुहुन्छ । यसलाई विकृति भन्छन् । तपाईं तपाईंको खानुहोस्, म मेरो खान्छु, त्यसलाई प्रकृति भन्दछन् । तपाईं खान सक्नुहोस् भन्ने चिन्ता गर्दै म खान्छु भने, यसलाई संस्कृति भनिन्छ ।’ यसरी हेर्दा विकृतिलाई जितेर, प्रकृतिभन्दा माथि उठेर संस्कृतिको रुपमा स्थापित सम्बन्ध नै कृतज्ञ सम्बन्ध हुनसक्छ । यसको लागि नेता राजनेताको रुपमा उठेको हुनुपर्छ । के प्रचण्ड बाबुरामको सम्बन्ध यही उचाईमा छ त ? नर्कको अँध्यारो कोठा तिनीहरुको लागि निश्चित गरिएको छ, जसले संकटको समयमा तटस्थ भूमिका खेल्छन् भनेर दाँते एलिघिइरीले आक्रोशपूर्वक भनेका छन् । देशमा राजनीतिक संक्रमण डरलाग्दोगरी लम्बिइरहेको छ । एमाओवादी, जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरेको शक्ति हो र प्रचण्ड–बाबुराम यो शक्तिको मुख्य नेता हुन् । उनीहरुको सम्बन्धबारे उनीहरु नै भ्रममा छन् कि भन्ने भ्रममा यो स्तम्भकार पनि छ । तर म तटस्ठ बस्न चाहन्न । एउटा गम्भीर बहस उनीहरुले पनि गरुन् । आदेशपालक नेता कार्यकर्ताले पनि गरुन् र अनुशासित नेता कार्यकर्ताले पनि । किनकी बाबुरामले भनेझैं ‘मरिसकेपछि प्रचण्ड–बाबुराम’को सम्बन्धमाथि अनुसन्धान भयो भने त्यो धेरै ढिलो भैसकेको हुनेछ । प्रतिक्रियाको लागि– phuchche@gmail.com
प्रतिकृया लेख्नुहोस्: