हामी मोदीको चामत्कारिक नेतृत्व क्षमताको फ्यान नहुने कुरै भएन । परिणामतः हामी समानान्तर ढंगबाट नेपालमै पनि ‘मोदीको व्यक्तित्व’ खोजिरहेका छौं ।अनि हामीलाई जहिल्यै पनि नेता र नेतृत्वको अभाव खड्किने गरेको छ । त्यसैले कोही चर्चामा आउनेवित्तीकै हामीलाई उसको व्यक्तित्वले तानिहाल्छ, आकर्षित गरिहाल्छ । अनि भन्छौं नेता होस् त फलानो जस्तो । जसै भारतमा नरेन्द्र मोदीको उदय भयो, नेपालमा पनि नरेन्द्र मोदीको खोजी सुरु भयो । अझ हामी त उनको चामत्कारिक ढंगबाट सबैलाई सम्मोहित पार्ने भाषणकला र ‘बोल्ड पर्सनालिटी’ को त फ्यान नै बन्यौं । त्यसमाथि नेपाललाई हेर्ने भारतीय संस्थापन पक्षको पुरानो ‘ब्युरोकेटिक’ दृष्टिकोणलाई मोदीले नेपालको भ्रमण गरेसँगै राजनीतिक तहमा विकास गर्न जुन पहलकदमी गरे, त्यसले उनीप्रति नेपालमा एक खालको सदासयता उत्पन्न भएको छ । अनि हामी मोदीको चामत्कारिक नेतृत्व क्षमताको फ्यान नहुने कुरै भएन । परिणामतः हामी समानान्तर ढंगबाट नेपालमै पनि ‘मोदीको व्यक्तित्व’ खोजिरहेका छौं । उता मोदीको क्रेज कम हुन नपाउँदै अरविन्द केजरीवालको एपिसोड सुरु भयो । जसै उनको नवगठित आम आदमी पार्टीले गत फेब्रुअरीमा सम्पन्न दिल्ली विधानसभाको चुनावमा अप्रत्यासित ऐतिहासिक बहुमत ल्यायो र त्यसले केजरीवाललाई दिल्लीको मुख्यमन्त्री बनाइदियो, हामी फेरि तुरुन्तै उनको फ्यान बनिहाल्यौं । अनि नेपालमा पनि फेरि केजरीवाल र आम आदमीको खोजी सुरु हुन थाल्यो । अघिल्लो दिनसम्म चल्तीमा रहेको मोदीगफ एकाएक केजरीवालतर्फ मोडियो । यसरी नेता खोज्ने क्रममा अहिले हामी आधुनिक सिंगापुरका निर्माण ली क्वान यूलाई खोजीरहेका छौं । किनकि केही दिनअघि उनको मृत्यु भएस“गै हामी एकाएक उनको नेतृत्वबाट द्रवीभूत भएका छौं । अब हामीलाई मोदी, कजेरीवालले पुगेन र ली क्वान चाहिएको छ । तर, हामी निराश छौं किनकि हामीसँग ली क्वान छैनन् । हो, यसरी हामीलाई नेता खोज्नु परेको छ र नेता खोज्दा निराशा मात्रै हात लाग्ने गरेको छ । हामीले हाम्रा नेतागणहरुमा कहिले ‘मोदी’ को चामत्कारिक व्यक्तित्व खोज्छौं, कहिले ‘केजरीवाल’को आकर्षण त कहिले ‘ली क्वान’को विकास चेतना । तर अहँ इतिहासका कालखण्डहरुमा ती नेतृत्व कसरी जन्मिए र तिनलाई कसरी टिकाइयो ? उत्तरका लागि कहिल्यै घोत्लिन जानेका छैनौं । नेता, नेतृत्व र व्यक्तित्वको खोजी त गरेका छौं, तर त्यो व्यक्तित्व कसरी निर्माण हुन्छ, अहँ पत्तै पाएका छैनौं । के हामीले हाम्रो राजनीतिक नेतृत्वलाई त्यो हैसियतमा पुर्याउने पहल कहिल्यै गरेका छौं ? अहँ छैन, बरु हामी नेतृत्वलाई खुइल्याउन तल्लीन हुन्छौं । यदि कुनै अमूक व्यक्तिले मुलुकको परिवर्तनका लागि नेतृत्व गरेर आएको छ, उसले केही नयाँ कुरा दिने क्षमता राख्छ भने उसलाई राजनीतिक दूराग्रहका आधारमा दुत्कार्ने गर्दर्छौं । अनि उसलाई खुइल्याउनमै मजा मानिरहेका हुन्छौं । त्यसैलाई आफ्नो धर्म बनाइरहेका हुन्छौं । विभिन्न उखान, टुक्काको सहाराले राजनीतिक नेतृत्वको उछितो काड्न भरमग्दुर प्रयत्न गरिरहेका हुन्छौं । हामीलाई त्यही कुरा रमाइलो लाग्छ र मजा पनि आउँछ । अनि हरबखत हामी त्यसैको पछि दगुरिरहेका हुन्छौं, मानौं उखान टुक्का र ठट्यौली नै हाम्रो जीवन शैली हो । नेपालले किन अहिलेसम्म दृढ, आत्मविश्वासी र दूरगामी नेतृत्व पाउन सकेन ? यसका पछाडि हामीमा विकसित हुन नसकेको राजनीतिक संस्कार नै मुख्य दोषी हो । विपक्षीहरुको अस्तित्वलाई कहिल्यै पनि स्वीकार नगर्ने अनि जहिल्यै पनि सत्ताको छिनाझपटीमै रुमल्लिने राजनीतिक संस्कारले मुलुकमा असल नेतृत्वको निर्माण हुन सकेन र यसको संभावना पनि न्यून हुंदै गएको देखिन्छ । के यसका लागि राजनीतिक दलहरु र तिनका नेताहरु मात्रै दोषी होलान् त ? २०६२/०६३ को राजनीतिक संघर्षका क्रममा सबैले स्वीकार्य नेतृत्वको रुपमा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला स्थापित भएका थिए । उनको नेतृत्वलाई राज्यविरुद्ध हिंसात्मक युद्ध लडिरहेको नेकपा माओवादीले पनि स्वीकार गरेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । जीपी कोइरालाको निधन भएसँगै माओवादी अध्यक्ष प्रचण्ड मुलुककै नेताको रुपमा उदाउने संभावना भने कायमै थियो । तर, २०६३ को परिवर्तनपछि जसरी नेकपा माओवादीको नेतृत्व संभावनाका साथ उदाएको थियो, त्यसलाई त्यही रुपमा सबैको साथ, समर्थन र सहयोग भएन । बरु त्यसले भय उत्पन्न गरिदियो र समाजको एउटा तप्का पूरै माओवादी विरुद्ध मोर्चाबन्दीमा उत्रियो । अनि तत्कालीन रुपमा चुनावी परिणामले खुम्चिन पुगेका एमाले–कांग्रेसले पनि त्यही अभियानलाई साथ दियो । यदि माओवादीको शान्तिपूर्ण राजनीतिक रुपान्तरणलाई राजनीतिक वृत्तमा सहज र सकारात्मक ढंगबाट लिइएको हुन्थ्यो र संक्रमणकालीन नेतृत्वलाई स्वीकार गरिएको हुन्थ्यो भने यो दश वर्षको अवधिमा मुलुकले एउटा खालको कोर्स पूरा गरेको हुने थियो । तर, नेपालको राजनीति त्यो आदर्शले त्यो आदर्शको मार्ग अवलम्बन गर्न सकेन ।
प्रधानमन्त्री सुशिल कोइरालाको ‘सुस्त’गतिले मुलुक चुप मात्र होइन ‘ठप्प’ भएझैं देखिन्छ । हो, मुलुक अहिले तदर्थवादमा चलिरहेको छ, तदर्थवाद कुनै गति होइन । यसले फगत एक खालको नयाँ भ्रमको सृजना मात्रै गरेको छ ।माओवादी नेतृत्वमा पनि त्यसयता सत्ताको उन्माद चढ्दै गयो र नेतृत्व स्खलित हुँदै गयो । त्यहींबाट एउटा संभावित नेतृत्वको विनिर्माण सुरु भयो । र, अहिलेसम्म पनि हामी त्यही नेतृत्वको अभाव झेलिरहेका छौं । मुलुकमा राजनीतिक दलहरु छन्, दलका नेताहरु पनि छन्, सरकार छ, प्रधानमन्त्री पनि छन्, तर मुलुकमा उच्च तहको राजनीतिक नेतृत्व छैन । कुनै पनि देशको राजनीति र राजनीतिक नेतृत्व सदैव गतिशील हुनैपर्छ । अहिले मुलुक लम्बिँदो संक्रमणबाट आक्रान्त छ । तर, मुलुकलाई गतिशील बनाउन अर्थात् मुलुक ‘ज्यूँदो’ भएको आभास दिने नेतृत्व छैन । खासगरी २०६३ सालयताको राजनीतिक परिदृष्यलाई हेर्ने हो भने केही अपवाद बाहेक मुलुकले गतिशील नेतृत्व नै पाउन सकेन । अहिले झन् प्रधानमन्त्री सुशिल कोइरालाको ‘सुस्त’गतिले मुलुक चुप मात्र होइन ‘ठप्प’ भएझैं देखिन्छ । हो, मुलुक अहिले तदर्थवादमा चलिरहेको छ, तदर्थवाद कुनै गति होइन । यसले फगत एक खालको नयाँ भ्रमको सृजना मात्रै गरेको छ । जसै पहिलो संविधानसभाको अवसान र दोस्रोको उत्पत्ति भयो, त्यसले राजनीतिलाई पुरानै विन्दुमा फर्काइदियो । अनि राजनीतिको परिदृष्यमा देखिएका हक, अधिकार र पहिचानका अनगिन्ती मुद्दाहरुको भविष्य के हुने हो ? के यी मुद्दाहरु संस्थागत हुन्छन् ? के मुलुकमा उदाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन्छ ? के पहिचानसहितको संघीयता लागू हुन्छ ? के राज्यको दमन र उत्पीडनमा परेका नागरिकहरुले आफ्ना हकअधिकार स्थापित भएको संविधान पाउन सक्छन् ? के जनयुद्धको सार्थकता प्रमाणित हुन्छ ? ती भोका नाङ्गाहरुको पेट र आङ भरिन्छ ? यी सबै प्रश्नहरु अहिले मूल्तवीमा छ । थाहा छैन, बहुमतको गीत गाइरहने सत्ताधारी दलहरुले संविधानसभामा ती प्रश्नहरुको उत्तर खोज्नेछन् वा छैनन् । ती प्रश्नहरुको सटिक र सहज जवाफ अहिलेको संक्रमणमा पाउन गाह्रो छ । यद्यपि अब बन्ने भनिएको संविधानले ती यावत् प्रश्नहरुलाई कसरी सम्बोधन गर्दछ ? त्यसैमा यो देशको भविष्य पनि जोडिएको छ । अनि नया“ नेतृत्व निर्माणको प्रश्न पनि यिनै मुद्दाहरुको सम्बोधन र व्यवस्थापनको कसीबाट सुरु हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: