त्रिविका क्याम्पसमा तनाव : कार्यतालिका प्रभावित, त्रिवि कीर्तिपुरमा निर्वाचन स्थगित
फाल्गुन १५ गते, २०७३ आइतवार 26th February, 2017 Sun०७:३४:४० मा प्रकाशित
काठमाडौं, १५ फागुन । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । ठूला संगठनबाटै क्याम्पसहरूमा आगजनी, तालाबन्दीजस्ता गतिविधि भएपछि शनिबार अधिकांश क्याम्पसमा उम्मेदवार मनोनयन रोकिएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– शनिबारै बसेको त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिको बैठकले निर्वाचन भने नरोक्ने निर्णय गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय कमिटी संयोजक सुधा त्रिपाठीले १८ फागुनमै मतदान हुने गरी अरू तालिका मिलाएर चुनाव गर्न बैठकमा सहमति भएको जानकारी दिइन् । १८ फागुनमा मतदान हुने गरी अरू कार्यतालिका मिलाएर काम गर्न क्याम्पस प्रमुखहरूलाई अधिकार दिइएको उनले जानकारी दिइन् । शनिबार स्थागित मनोनयन दर्ताको काम आइतबार सात बजेसम्म तय गरिएको छ । यस्तै सोमबार अन्तिम नामावली प्रकाशन गरिने भएको छ । त्रिविले विभिन्न क्याम्पसमा लगाएको ताला पनि फुटाउने निर्णय गरेको छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा रोकियो
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भने निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन अधिकृत प्रा।डा। लालुप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी निर्वाचन स्थगित गरिएको जनाएका छन् । असहज परिस्थितिकाकारण निर्वाचन रोक्नु परेको विज्ञप्तिमा जनाइएको छ । केन्द्रीय क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
एक–अर्कामाथि आरोप
शनिबारको मनोनयन कार्यक्रममा अधिकांश ठाउँमा नेविसंघले अवरोध सिर्जना गरेको हो । कतिपय विद्यार्थी संगठनले आफूले नजित्ने सम्भावना देखेपछि विवाद निकालेर तालाबन्दीसमेत गरेको पाइएको छ ।
तर, तीन ठूला संगठनले तालाबन्दी, आगजनी र अवरोधका घटना हुनुमा एक–अर्कालाई आरोप लगाएका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले नेविसंघ, अखिल क्रान्तिकारीलगायतले चुनाव बिथोल्ने गतिविधि गरेको बताइन् । नेविसंघले पेसेबर गुन्डाहरूको प्रयोग गरी विद्यार्थीलाई आतंकित पार्ने, विपक्षी संगठनको ब्यानर च्यात्ने, तोडफोड गर्ने, ढुंगामुढा गर्ने र धम्क्याउने गरेको लामाको आरोप छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघ १८ फागुनमै मतदान हुने गरी चुनावी प्रक्रियाका लागि तयार रहेको बताए । ‘एकाधबाहेक नेविसंघका कारण उम्मेदवारी मनोनयन रोकिएको छैन,’ उनले भने । अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)का अध्यक्ष नरेन्द्र न्यौपानेले मनोनयन प्रभावित पार्न भएका गतिविधिप्रति आपत्ति जनाएका छन् । ‘मनोनयनपत्र दाखिला गर्ने दिन निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने मनसायले अस्वाभाविक गतिविधि गर्नु आपत्तिजनक छ,’ न्यौपानेले नयाँ पत्रिकासँग भने, ‘अधिकांश क्याम्पसहरूमा गरिएको तालाबन्दीको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’
क्रान्तिकारीले विज्ञप्ति जारी गरी निर्वाचनमा देखिएका सबै व्यवधान तत्काल हटाई निर्धारित मितिमै मतदान सम्पन्न गर्न त्रिवि पदाधिकारीसँग माग गरेको छ ।
कुन क्याम्पसमा के भयो ?त्रिवि केन्द्रीय क्याम्पस
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी ९प्रचण्ड०ले केन्द्रीय क्याम्पसमा एकलौटी हस्तक्षेप गरेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै अन्य विद्यार्थी संघ–संगठनले तालाबन्दी गरेका हुन् । त्यस्तै, घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा एक साताअघि लागेको ताला अझै पनि खुल्न सकेको छैन ।
रत्नराज्यलक्ष्मी क्याम्पस
रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि विभिन्न संगठनले शनिबार फेरि तालाबन्दी गरेका छन् । नेविसंघलगायतका संगठनहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारीले अध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।
शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतले तालाबन्दी लगाएका छन् ।
सरस्वती बहुमुखी क्याम्पस
सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा बिबिए तेस्रो वर्ष, बिबिएस चौथो वर्ष र मास्टर्स दोस्रो वर्षका विद्यार्थीले तालाबन्दी गरेका हुन् । बिबिएमका विद्यार्थीले आफ्नो नाम मतदाता सूचीमा छुटाएको विरोधमा पनि तालाबन्दी गरेका छन् ।
पशुपति बहुमुखी क्याम्पस
चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतका संगठनले तालाबन्दी गरेका छन् ।
पब्लिक युथ क्याम्पस
पब्लिक युथ क्याम्पस पकनाजोलमा विद्यार्थी संगठनले मतदाता नामावलीमा त्रुटि रहेको र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले स्ववियुमा निर्वाचित पधादिकारीको म्याद २ वर्षमा नै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।
थापाथली इन्जिनियरिङ
थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेक्राविसंघ दुई संगठनले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् । थापाथली ई क्रान्तिकारी र नेक्राविसंघले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।
महेन्द्ररत्न क्याम्पस
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लवले तालाबन्दी गरेका छन् ।
विश्वभाषा क्याम्पस
विश्वभाषा क्याम्पसमा वैद्य र विप्लवनिकटका अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
पुल्चोक इन्जिनियरिङ
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विप्लव र वैद्यनिकट अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनलगायतले तालाबन्दी गरेका छन् ।
यी क्याम्पसमा भयो उम्मेदवारी मनोनयन
त्रिविको कार्यतालिकाअनुसार सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर क्याम्पसमा मनोनयन दर्ता भएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि मनोनयन तर्दा हुँदाहुँदै तालाबन्दी भएको हो । रत्नराज्यलक्ष्मी क्याम्पसमा केही संगठनले अझकल्टो मनोनयन दर्ता गराएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले अध्यक्षको मनोनयन दर्ता गराएका छन् । नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षको मनोनयन दर्ता
गराएको छ ।
त्यस्तै, महाराजगन्जस्थित नर्सिङ क्याम्पसमा पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी प्रचण्डलगायतका संगठनले मनोनयन दर्ता गरेका छन् । राजधानीका जनप्रशासन, महाराजगन्ज मेडिकल, कोटेश्वर बहुमुखीलगायतका क्याम्पसहरूमा मनोनयन दर्ता सम्पन्न भएको छ ।
बानेश्वर क्याम्पसमा थुनिए क्याम्पस प्रमुख
बानेश्वर क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो मताधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै क्याम्पस प्रमुख, निर्वाचन कमिटीलगायतको बैठक बसिरहेको समयमा तालाबन्दी गरे । ०६५ सालको निर्वाचन कक्षा ११ र १२ का विद्यार्थीलाई मतदान गर्न दिइएको, तर अहिलेको चुनावमा मताधिकारबाट वञ्चित गराएको भन्दै आक्रोशित विद्यार्थीले बैठककोठामै उनीहरूलाई थुनेका हुन् । विद्यार्थीले उनीहरूलाई चार घन्टापछि मुक्त गरेका थिए ।
क्याम्पस प्रशासनले नेविसंघको मिलेमतोमा ११ र १२ का विद्यार्थीलाई मतदान गर्नबाट वञ्चित गराएको अखिल क्रान्तिकारी र अनेरास्ववियुले आरोप लगाएको छ । हाल अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रहेकी नवीना लामा विगतमा सो क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भएकी थिइन् र अहिले अनेरास्ववियुले हार्ने देखेपछि उसले यो बखेडा निकालेको नेविसंघको आरोप छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले कक्षा ११ र १२ का विद्यार्थी त्रिविका मतदाता हुन नसक्ने बताइन् । त्रिविको कार्यक्रममा नपर्ने विद्यार्थी मतदाता नहुने त्रिपाठीको भनाइ छ ।
आरआर क्याम्पसमा आगजनी
राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा शनिबार साँझ आगजनी गरिएको छ । आरआर क्याम्पसको शौचालयनजिकै रहेको स्टोर रुममा आगजनी भएको हो । आगजनीका कारण क्याम्पसका पुराना कागजपत्र र पुराना फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको थियो । आगजनी कसले र किन गरेको भन्ने खुलेको छैन ।
आगलागीबाट मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीको सहयोगमा करिब १५ मिनेटमा आगलागी नियन्त्रणमा लिइएको थियो । क्याम्पस हाताभित्र विद्यार्थी परिचयपत्र भएकालाई मात्र प्रवेश गराउने सहमति भएको थियो । तर, क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गरेको आरआर नेविसंघका विद्यार्थी नेता उत्तम साउदले आरोप लगाएका छन् ।
क्याम्पसहरूमा स्ववियुको चुनाव हुन नदिने षड्यन्त्र भएपछि त्यस्ता विद्यार्थीलाई लखेट्दा झडपको अवस्था सिर्जना भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।
झडपमा परी नेविसंघका विद्यार्थी नेता ऋषि पोखरेल, सुरेश सुवेदी, महेश गौतम, उत्तम साउद घाइते भएको नेविसंघका नेता दिनेश थपलियाले जानकारी दिए । गम्भीर घाइते भएका सूर्य सुवेदीको न्युरो अस्पताल तथा अन्य घाइतेहरूको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । झडपमा विद्यार्थी दिनेश शर्माको मोटरसाइकल तोडफोड भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: