Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

९० सालको भूकम्पपछि राणा शासकले के गरे ? (त्यतिबेला र अहिले तुलना गर्नोस्)

अहिले हामी साढे ७ रेक्टर स्केलको भूकम्पले आहत छौं । आजभन्दा ठ्याक्कै ८२ वर्षअघि साढे ८ रेक्टर स्केलको भूकम्पले नेपाललाई तहसनहस पारेको थियो । त्यसयता नेपालमा धेरै पटक व्यवस्था फेरिए, सत्ता बदलिए र सरकारहरु परिवर्तित भए । वि.सं. १९९० को भूकम्पका बेला नेपालमा राणा शासन बहाल थियो । भूकम्पपीडित नागरिकहरुप्रति त्यतिबेलाका राणा शासकहरुले के–कस्तो व्यवहार प्रदर्शित गरे ? र, आजको लोकतान्त्रिक गणतान्त्रिक सरकारले अहिलेका भूकम्पपीडितप्रति कस्तो व्यवहार गरिरहेको छ ? तुलनात्मक रुपले अनुभूत गर्न र ऐतिहासिक परिवेशबारे सुसूचित हुन सहयोगी हुनेठानी हामीले यहाँ वि.सं. १९९० को महाभूकम्पको साढे ४ वर्षपछि त्यतिबेलाका  प्रधानमन्त्री जुद्धशमशेर राणाले राष्ट्रको नाममा गरेको सम्बोधधनलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ । –सम्पादक \"Juddha_Shamsher_JBR\"भाइभारदार, प्रजावर्ग ! १९९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो । त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो । परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनीखोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाइरहेकालाई पाल्न छाप्रो, टहरो, बाँस, रबर, टिनपाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जे–जे काम भएको थियो– सबैलाई थाहै छ । भताभुङ्ग–लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड–मधेशको समेत जंगल खोलिदिर्इ दुनियाका निमित्त लखन रुपैयाँको काठपात बेदाममा छोडियो । ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन इँट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिनपाता, किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो । नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए । भत्किई–बिग्रिई खण्डहरसरह शून्य, उदासलाग्दो भइरहेका सहर–गाउँहरूमा ठाउँठाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटो समेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो । फन्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोबस्त पनि हुन गयो । साना–ठूला सबैलाई एकैबाजी त्यस्तो ठूलो भूकम्पको मारबाट उठ्नलाई फन्डबाट मात्र नपुग्ने, थातबासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने, पुगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने, खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातिर लागून् भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी ब्याज, घीउ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जाने भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिनाब्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास लाख रुपैयाँ पर सारियो । त्यसमध्ये मोरु २९८२३१(६२ सापटीको रुपमा गयो । यी सबै प्रबन्ध र मद्धतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुबिस्तैसँग आफ्नो थातबास तयार गरी जहान–बच्चा, मालमत्ता थान्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए । त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले, पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको, ठूलो र सुबिस्ताको घर तयार गरेका छन् । देवालय, पाटी–पौवाहरू पनि धेरै नै बने । यति हुन गएकोले अ‍ै ले देख्ने नयाँ मानिसले हेर्दा ‘नेपालमा भूकम्पको मार त्यत्तिको भएको थियो के त ?’ भनेजस्तो दृश्य प्रत्यक्षै देखिइरहेछ। यतिसम्म यति चाँडो हुन सक्नु सानो सन्तोषको कुरा होइन। भूकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै बलले फेरि यति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरू सबैले देखे–सुनेकै होलाऊ । कोहीकोही जंगी–निजामति जागिरदार, रजौटा–पुरोहितहरूले तमसुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कट्टी गराई, कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन् । ती जागिरदारमध्ये धेरै ऐले पनि जागिरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नुपरेको पनि सम्झीराखेकै छु । त्यो दैवी दुर्घटनामा भत्केका घर–पर्खालले मिची अकाल मृत्यु भएकाहरूको आत्माको शान्ति र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो । शास्त्रानुसार तिनीहरूको अवश्य उद्धार हुन गई तिनको परत्र सुध्रन गएको हुनुपर्दछ । दुर्गतिको लक्षण पनि केही–कतै देखिँदैन, सुनिँदैन । आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रब्य यस काममा उठेको फन्डमा राखिदिने बन्दोबस्त भएकोले कुल जम्मा मोरु १०७४६१३(७९ नोटंक रु २७३३१।।।।।३ आएको हो । त्यसमध्ये नानी कमान्डर इनचिफ जनरल पद्मशमशेर जंगराणा र नानी फ.क.ज. मोहनसमशेर जंगराणा प्रवृत्ति ६ जना (फ.क.ज. बबरसंशेर, द.क.ज. केसरसंशेर, ज. सिंहसंशेर, ज. कृष्णसंशेर, ज. शंकरसंशेर) हाम्रा भतिजाहरूतर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालीस हजार मोरु जम्मा हुन आयो । विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित, भारदार, दुनियाबाट र नेपालमा रहेका विदेशीहरूबाट गरी मोरु ३४९१३।७९ नोटंक रु ४२९४।। चन्दा आएको थियो। स्नेहले विशेष सहानुभूति प्रकट गरी बृटिस, जापानी, हिन्दूस्तानी सज्जनहरूले पनि नोटंक रु २३०३७।२।।३ पठाएका थिए । सो आएको जम्मै दाम फन्डमा जम्मा हुन गएको छ । यो फन्डबाट यहाँ नेपाल खाल्डाका र पहाडका समेत अकिञ्चन दीनदुःखीहरूलाई जिल्लाजिल्ला, गाउँगाउँसम्म डोर पठाई अन्न–बस्त्र बाँड्ने, ब्यु मासिएकालाई ब्यु दिने, दुनियादारको भत्केको घर, छाप्रो, कटेरा बनाउनलाई दाम दिने, माटो मिल्काइदिने इत्यादि काममा गरी जम्मा मोरु ५४४४।६८ नोटंक रु ३८४२।।। खर्च भइसकेको छ। सोबाहेक भूकम्पले भत्केका–बिग्रेका देवदेवालय, पाटीपौवाहरूको जीर्णोद्धारको खर्च, भूकम्पोद्धारसम्बन्धी काम गर्नालाई नयाँ थप भएका कामदार–कारिन्दाहरूको तलब, मसलन्द, रेलभाडामा भएको खर्च अधी फन्डतर्फबाट भइरहेको थियो तापनि तिमीहरूलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकारतर्फबाटै गर्ने बन्दोबस्त मिलाएकाले अब फन्डपट्टी नोट कम्पनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६। बाँकी रहने गराई सापटीवाला तिमी दुनियाहरूलाई पाटीमा सोधभर्ना गरिदिने बन्दोबस्त गरिएको छ। प्यारा प्रजा हो यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ। त्यस्तो परिआउँदा त्यहाँका वासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाई आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन् । यही नेपालमा पनि शक्तिसिंह देवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ। त्यत्तिको टाढाको के कुरा, सय वर्षअगाडि १८९० सालमा पनि यस्तै उत्पातले धेरै धनजन घर–देवालय, सहरको नास गरेको रहेछ। त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरू केवल आफ्नै आँट र उद्योगका जोरले फेरि उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ । यी कुराहरूले सदासर्वदा उद्योगमा दत्तचित्त भई प्रजा–प्राणीहरूले आफ्नो जीवन सुजीवन बनाउँनु र स्वावलम्बी भई आफ्नो देशको उन्नति गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ । दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्नतिर नलागे अघिका परिस्थितिसम्म पुग्न पनि गाह्रो हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ । सांसारिक जीवनमा सधैं सुखको दिन मात्र आइरहँदैन । कहिले कस्तो परि आउँदछ, कहिले कस्तो । मुलुकमा लडाइँभिडाइँको काम परिआयो भने अवस्थाअनुसार जस्तो परिआउँछ, सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरू लाग्ने गर्छन् । जस्तो लडाइँभिडाइँ उस्तै देशमा परिआएको दैवी दुर्घटना पनि दैवी लडाइँजस्तो हो। अकस्मात् त्यस्तो दैवी परिआएपछि घरबास तयारी गरी जहान–बच्चाको थान्को लगाउनामा दत्तचित्त भए झैं तिमीहरूले क्षतिपूर्तितिर जाँगर बढाई, उद्योगधन्दामा लागी मितव्ययी बानी बसाली सकेसम्म चाँडो स्वावलम्बी हुने, धन्दामा पनि दत्तचित्त हुने बेला थियो। अवस्थाअनुसार खस्रोधस्रो लगाई रुखो वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २(३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा बुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, गाइवस्तु पाल्नेले त्यसतर्फको उन्नतिमा लाग्ने, व्यापारीहरूले व्यापार बढाउने, शिल्पकार कालिगडहरूले शिल्प र कालिगडी कामतर्फ विशेष प्रयत्न पुर्याउने, यस्तै अरु ज–जसको जुन–जुन काम छ, उसमा हौसला बढाई परिश्रमसाथ उद्योग–धन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको धनले आफ्नो निर्वाह चलाई थोरबहुत जो सकिन्छ, साँच्दै जान सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसाथै देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ । नजान्ने–नबुझ्नेले पनि जान्नु–बुझ्नु योग्य छ। यही मितव्ययी हुने स्वावलम्बी हुने तरफ अर्थात् चाहिँदो बाज्जी मात्र खर्च गर्ने र, आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएको वस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेको र, उद्योगपरिषद् स्थापन र स्वदेशी चीजको प्रदर्शनी आदिको प्रबन्ध गरी बाटो देखाउने उपाय पनि भएको हो। विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका बासिन्दा प्रत्येकको आत्मीक बलको उन्नति र अवनतिसँग सम्बन्ध राख्तछ, उन्नतिको चाहना कस्लाई हुँदैन। देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पु्र्याई उपातिर लाग्नुपर्छ। टाढासम्म विचारको नजर अगाडि फैलाई, धैर्य र जाँगर दुई हातमा लिई उपाय उद्योगतिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाइदा नभई रहँदैन । यिनै कुरा मौका परेमा तिमीहरूलाई बराबर सम्झाई बोध गराउने। कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरूले देखेजानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नेमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरि थप गरिएको छ। सो म्यादसम्ममा पनि शोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैया लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तम्सुकैमा लेखिएको र, आम इस्तिहार समेत भई राखेका हुनाले त्यही घर पक्री लिलाम गर्न केही बाधा थिएन। त्यसो गर्दा भत्केको घर सबैलाई एकैचोटि तयार गर्नुपरेको पर्खेर विस्तार गर्ने अवसर नभएकोले कालिगढको र अरु ज्यालादारीको महगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नालाई पुरानो आफ्नो सामानसमेत काम लाग्नेजति काममा लगाई ती घरहरूमा तिनीहरूको निजायति धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरूको मन कल्पनातीत कुरा त छँदैछ, लिलाम लिनेले भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाइने स्वभावै हुनाले जेनकेन गरी बल्लबल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरू फेरि विनास्थानका हुन जाने छाँट देखिन आयो। कोही कोहीले ता सोही घर साहूलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्याएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगबन्धक राखिने गरी भने पनि दुवैथरीलाई पछिसम्मको टन्टा छुट्ने भएन। फेरि प्रजाहरूको बासको सुख पनि तिनीहरूका हातमा हुने भएन। ब्यांकबाट कर्जा मिल्ने प्रबन्ध हुन गएमा पनि ऋणमाथि झन् ब्याज थपिँदै जाने भयो । भाखा पाए तिर्ने थियौं भन्ने यस्तो भनाइ पनि सुनियो। के चार वर्षको भाखा कम थियो र रु त्यो चार वर्षको ब्याज सयकडा पाँचका दर्ले मात्र दिनुपरेको भए पनि कति तिनुर्पे भइसक्ने थियो, आफैं हिसाप गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरूको अवस्था विचार गरी हेर्दा सर्कारको हारगुहारबाट तनमनधन लगाई प्रजाहरूले ऐले पाइरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भूकम्पको घाउ परिँदा नपुरिँदा तिनीहरूले फेर दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होल भन्ने छाँट देखिन लाग्यो । हेर, सर्कार र दुनियाको सम्बन्ध बाबुछोराको जसतै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छता पनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ। शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ। त्यतैबाट शरीरका सारा अवयवहरूको सञ्चालन हुने हुनाले शिरलाई ‘उत्तमांग’ अंगप्रत्यंगमा जो सुखदुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमांगमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरूका उत्तमांग सर्कार हुन्। अर्थात् राज्यका अंगप्रत्यंग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन्। ती सबै मिली एक शरीर एकज्यू भएको हुन्छ । सरकारलाई परेको सुख दुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो। सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकार्रले खुद बनाउनुपर्ने दर्बार सर्कारि या घर अड्डअस्पताल असवावघर धरहरा नया बाटो ठाउँठाउँका पाटी पौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णोदार कारिन्दाहरूको तलबमसलन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झैं त्यसतर्फ पनि सर्कारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुँदैछ तापनि हार्दिक भावभक्ति राखी सर्कारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत् प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुन सकेसम्म हारगुहार गरी रक्षा गर्नु सर्कारको कर्तव्यै हो, सोहीअनुसार त्यो भयानक भूकम्पमा तिमी प्रजाहरूको उद्धार निमित्त सकभर गरी अघि यही ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुनेसम्म गर्नामा बाकी राख्ने छैन’ भनेको तिमीहरूले सम्झीराखेकै होलाऊ। यी सबै कुराको ख्याल साथसाथै संस्थाका ऋणी प्रजाहरूले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरूले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भनेबमोजिम जुन कामका निमित्त लिएको छ सोही स्ववासी घर वास खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहबासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफ्ना प्यारा प्रजालाई चिन्ता र संटबाट पार गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६।६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५६०९५६ कटाई बाँकी मोरु २४२१३६०।६२ जम्मै तिमीहरूको सुखशान्तिको खातिर माफी गरिदिएको छु। कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु। घरघर माटाका चुला भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो। त्यसौ हुनाले तिनीहरूले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तम्सुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रबन्ध हुनेछ। आजसम्म अरु जुन जुन सज्जनहरूले आफ्नै परिश्रमको कमाइले होओस् वा साहु काडेर होस् सोध बुझाउन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता लिदने बन्दोबस्त हुने छ। पाउने छौं खातिर जामासँग सुखशान्तिपूर्वक विश्रम गरुन । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजीवन गराउँदै रहुन् । यो भूकम्पोद्धार सम्बन्धी सुरुदेखि आखिरतक हरेक विषयमा आडरबमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फ का कम्पाउन्डिङ जनरल लगायत हाम्रा भाइछोराहरूबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औ स्वयंसेवकहरूबाट पनि परिश्रम र तन्देही साथ काम भई चांडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरू र पुलिहरूलाई एक लाख इनाम र विशेष काम गर्नेहरूलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरू समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ। ती राम्रो काम गर्नेहरूलाई समाप्तिको यो अवसरमा पनि फेरि धन्यवाद गर्दछु। (तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९० सालमा गएको भूकम्पपछि देशवासीका नाममा गरेको सम्बोधन)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: