भिडियो/फोटोमा हेर्नुहोस् वल्र्डकप हुने १२ रंगशाला, कहाँ कुन खेल ?
जेष्ठ १८ गते, २०७५ शुक्रवार 1st June, 2018 Fri०९:३२:०४ मा प्रकाशित
यतिवेला विश्वको ध्यान फुटबलकै ठूलो प्रतियोगिता विश्वकपमा केन्द्रित छ । रसियाले पहिलोपटक आयोजना गर्न लागेको विश्वकपलाई सफल बनाउन ११ सहरका १२ अत्याधुनिक रंगशाला तयारी अवस्थामा छन् । अत्याधुनिक शैलीमा तयार पारिएका रंगशालाबारे अधिकांशको चासो हुनु स्वाभाविक हो । राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा विश्वकप उद्घाटन र समापन हुनेछ । यसलाई विश्वकै महँगो रंगशाला मानिएको छ ।
१– काजान एरिना
दर्शक क्षमताः ४५,३७९
पुनर्निर्माण : जुलाई २०१३
लागत : ४५९.७ मिलियन डलर (करिब ४९ अर्ब १८ करोड ८० लाख रुपैयाँ)
खेलहरू
१६ जुनमा फ्रान्स र अस्ट्रेलिया, २० जुनमा इरान र स्पेन, २४ जुनमा पोल्यान्ड र कोलम्बिया, २७ जुनमा दक्षिण कोरिया र जर्मनी, ३० जुनमा प्रि–क्वाटरफाइनल, ६ जुलाईमा क्वार्टरफाइनल ।
रसियाको काजान क्षेत्र खेलकुदको राजधानीका रूपमा परिचित छ । सन् २०१३ मा काजान एरिना रंगशाला पुनर्निर्माण भयो । काजान रंगशाला वर्तमान समयकै उत्कृष्ट आधुनिक, कलात्मक, महँगो र सुविधासम्पन्न छ । पुनर्निर्माण गर्दा यसको स्वरूपलाई बेम्वली तथा आर्सनलका इमरेट्सजस्तै पारिएको छ । अमेरिकी कम्पनी पोपुलोसले वाटर लिलीको आकारमा रंगशाला निर्माण गरेको हो । काजानमा राखेको स्किन युरोपकै सबैभन्दा ठूलो हो । काजानका नदीको छेउमा रहेको रंगशालाको दर्शक क्षमता ४५ हजार ३ सय ७९ रहेको छ । ४ सय ५९ दशमलव ७ मिलियन डलर अर्थात् करिब ४९ अर्ब १८ करोड ८० लाख नेपाली रुपैयाँ खर्चमा रंगशाला निर्माण भएको हो । यस रंगशालामा एथलेटिक्स र फुटबल खेल आयोजना गर्न सकिन्छ ।
२ – इकाटेरिनबर्ग एरिना
क्षमता : ३५,६९६
पुनर्निर्माण : २०१७ डिसेम्बर
लागत : २ सय १५ मिलियन डलर ( २३ अर्ब ५० लाख रुपैयाँ)
खेलहरू
१५ जुनमा इजिप्ट र उरुग्वे, २१ जुनमा फ्रान्स र पेरु, २४ जुनमा जापान र सेनेगल, २७ जुनमा मेक्सिको र स्विडेन
लुज्निकी रंगशालाभन्दा १ हजार माइल टाढा इकाटेरिनबर्ग एरिना रंगशाला छ । इकाटेरिनबर्ग सहरको यो सबैभन्दा पुरानो रंगशाला हो । सोभियत संघ टुक्रिनुअघि यो रंगशाला १९५७ मै बनेको थियो । त्यसवेला यहाँ २३ हजार दर्शकले सहजै फुटबल हेर्थे । विश्वकपका लागि पुनर्निर्माण हुँदा यसको पुरानो स्वरूप भने परिवर्तन गरिएन । अहिले यसको क्षमता ३५ हजार ६ सय ९६ रहेको छ । यहाँ समूह चरणका खेलहरू मात्र हुनेछन् ।
३–फिस्ट ओलम्पिक
क्षमता ४७,६५९
निर्माण : २०१३ डिसेम्बर
लागत : ५ सय १९ मिलियन डलर (५५ अर्ब, ५३ करोड, ३० लाख रुपैयाँ)
खेलहरू
१५ जुनमा स्पेन र पोर्चुगल, १८ जुनमा बेल्जियम र पानामा, २३ जुनमा स्विडेन र जर्मनी, २६ जुन अस्ट्रेलिया र पेरु, ३० जुनमा प्रिक्वार्टरफाइनल, ७ जुनमा क्वार्टरफाइनल
विश्वकप आयोजना गर्न पाउनुभन्दा अघि नै रसियाले सन् २०१४ को विन्टर र पारा ओलम्पिक खेलकुद प्रतियोगिताका लागि नै फिस्ट रंगशाला निर्माण सुरु गरेको थियो । यो रंगशाला ‘अन्डा’ आकारमा निर्माण गरिएको छ । रंगशालाको छत तापक्रमअनुसार बन्द र खुल्ने सुविधाको छ । यसको दक्षिण भागमा ‘ब्ल्याक सी’ छ । फिस्ट पहाडनजिकै रहेकाले यो रंगशालाको नाम पनि फिस्ट नै राखिएको बताइन्छ । ५ सय १९ मिलियन डलर अर्थात् करिब ५५ अर्ब, ५३ करोड, ३० लाख रुपैयाँ लागतमा यो रंगशाला निर्माण भएको हो । फिस्ट इटालीको टुरिनपछि विश्वमा दोस्रो ऐतिहासिक रंगशाला हो । जसले विन्टर र फिफा विश्वकप फुटबल दुवै आयोजना गर्ने अवसर पाएको छ ।
४–कालिनिगार्ड
क्षमता : ३५,२१२
पुनर्निर्माण : २०१७ डिसेम्बर
खर्च : ३ सय मिलियन डलर (३२ अर्ब १० करोड रुपैयाँ)
खेलहरू
१६ जुनमा क्रोएसिया र नाइजेरिया, २२ जुनमा सर्भिया र स्विट्जरल्यान्ड, २५ जुनमा मोरोको र स्पेन, २८ जुनमा इंग्ल्यान्ड र बेल्जियम
आलियान्ज एरिनाको ढाँचामै कालिनिगार्ड रंगशाला पनि निर्माण भएको हो । यो रंगशाला ओक्त्याब्रिस्की आइसल्यान्डमा छ । यसको पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुनियाको भूभागले घेरिएको छ । यसको डिजाइन बार्यन म्युनिखका पूर्वखेलाडी एलियन्जले गरेका हुन् । २०१५ सेप्टेम्बरमा रंगशालाको पुनर्निर्माण भएको हो । औद्योगिक तथा सुक्खा स्थानमा रंगशाला निर्माण गर्दा कामदारले धेरै कठिनाइ सामना गरेका थिए । पुनर्निर्माणअघि २५ हजार दर्शक क्षमता रहेको रंगशालामा अब ३५ हजार २ सय १२ दर्शकले फुटबल खेल हेर्न सक्नेछन् । यो रंगशाला करिब ३२ अर्ब १० करोड नेपाली रुपैयाँमा तयार भएको हो ।
५– स्पार्टक
क्षमता : ४५,३६०
प’नर्निर्माण : २०१४ सेप्टेम्बर
लागत : ४ सय ३० मिलियन डलर (४६ अर्ब, एक करोड रुपैयाँ)
खेलहरू
१६ जुनमा अर्जेन्टिना र आइसल्यान्ड, १९ जुनमा पोल्यान्ड र सेनेगल, २३ जुनमा ट्युनेसिया र बेल्जियम, २७ जुनमा ब्राजिल र सर्भिया, ३ जुलाईमा प्रिक्वार्टरफाइनल
यो स्पार्टक मस्कोको घरेलु मैदान हो । ओटक्रिएटिए एरिना नामले पनि यो प्रसिद्ध छ । स्पार्टक क्लबले आर्थिक मन्दीको सामना गरेपछि सन् २००० अघिसम्म स्पार्टक रंगशाला लगभग भग्नावशेष अवस्थामा पुगेको थियो । रसियाकै पुरानो रंगशालामध्ये एक स्पार्टकको पुनर्निर्माण धेरैपटक भयो । तर, सन् २००७ मा मात्र यसको पुनर्निर्माण गतिलोसँग अगाडि बढ्यो । २०१४ सम्म रंगशालाको निर्माण पूरा भयो । पुनर्निर्माणपछि स्पार्टक रंगशाला रसियाकै एक उत्कृष्ट रंगशाला बनेको छ । ४ सय ३० मिलियन डलर अर्थात् लगभग ४६ अर्ब एक करोड रुपैयाँको लागतमा यो रंगशाला निर्माण भएको हो । चारकुने आकारको रंगशालामा समूह चरण र क्वार्टरफाइनल खेल हुनेछन् । रंगशालाको अगाडि स्पार्टक्सको ठूलो मूर्ति राखिएको छ ।
६–लुज्निकी
क्षमता : ८० हजार
प’नर्निर्माण : २०१७ जुन
लागत : ४ सय मिलियन डलर (४२ अर्ब ८० करोड रुपैयाँ)
खेलहरू
१४ जुन रसिया र साउदी अरेबिया, १७ जुन जर्मनी र मेक्सिको, २० जुन पोर्चुगल र मोरक्को, २६ जुन फ्रान्स र डेनमार्क, १ जुलाई प्रि–क्वाटरफाइनल, ११ जुलाई सेमिफाइनल, १५ जुलाईमा फाइनल
लुज्निकी रंगशाला युरोपकै उत्कृष्ट रंगशालामध्येको एक हो । विश्वकै धेरै दर्शक अटाउनेमध्येमा यो रंगशाला पर्छ । यही रंगशालामा विश्वकप फुटबलको फाइनल खेल हुनेछ । यहाँ समूह चरण र सेमिफाइनल खेल हुनेछन् । सन् १९५६ मै यसको निर्माण भएको थियो । विश्वकपका लागि आयोजकले यसको पुनर्निर्माण गर्न ४ सय मिलियन डलर अर्थात् करिब ४२ अर्ब ८० करोड नेपाली रुपैयाँ खर्च गरेको छ । पुनर्निर्माणपछि यस रंगशालाले सन् २०१७ कै उत्कृष्ट रंगशालाको उपाधि प्राप्त ग-यो । यहाँ ओलम्पिक, युइएफए फाइनल तथा च्याम्पियन्स लिग फाइनल भएका छन् । विश्वकपकै सर्वाधिक महत्वपूर्ण र आकर्षक रंगशाला लुज्निकी मोस्कभा नदीको छेउमा छ । रंगशालाको तीनतिर नदीले घेरिएको छ । जाने बाटोमै कम्युनिस्ट नेता लेलिनको ठूलो कदको सालिक राखिएको छ । यो रंगशालामा अहिलेसम्म साना र ठूला गरी ३ हजारभन्दा बढी खेल भइसकेका छन् । गोलाकार रंगशालाको छत स्वचालित छ ।
७. निज्नी नोभ्गोरोड
क्षमता : ४४,८९९
पुनर्निर्माण : डिसेम्बर २०१७
खर्च : २ सय ९० मिलियन डलर (३१ अर्ब, तीन करोड रुपैयाँ)
खेलहरू
१८ जुन स्विडेन र दक्षिण कोरिया, २१ जुन अर्जेन्टिना र क्रोएसिया, २४ जुन इंग्ल्यान्ड र पानामा, २७ जुन स्विट्रल्यान्ड र कोस्टारिका, १ जुलाई प्रि–क्वार्टरफाइनल, ६ जुलाई क्वार्टरफाइनल
निज्नी नोभ्गोरोड रंगशाला भोल्गा र ओका नदीको छेउमा निर्माण गरिएको छ । सन् २०१५ मा रंगशाला पूरै भत्काइएको थियो । यसको पुनर्निर्माण गरिएको हो । यो क्षेत्रमा ५ सय वर्षदेखि निज्नी क्रेम्लिन जातिका मानिस बसोवास गर्छन् । निज्नी रंगशाला आकर्षक मानिन्छ । गोलाकार रंगशालाको छत खुला बनाइएको छ । घाम लाग्दा मैदानको बीच खण्डमा मात्र सूर्यको प्रकाश पर्छ । दुई वर्षमा यस रंगशालाको निर्माण पूरा भएको हो ।
८–रोस्टोभ एरिना
क्षमता : ४५,१४५
निर्माण : डिसेम्बर २०१७
लागत : ३ सय ३० मिलियन डलर (३५ अर्ब ३१ करोड रुपैयाँ)
खेलहरू
१७ जुनमा स्विटरल्यान्ड र ब्राजिल, २० जुनमा उरुग्वे र साउदी अरेबिया, २३ जुन मेक्सिको र दक्षिण कोरिया, २६ जुन आइसल्यान्ड र क्रोएसिया, २ जुलाईमा प्रि–क्वार्टरफाइनल
रोस्टोभ एरिना रसियाको प्रमुख नदी डोनको किनारमै रहेको रंगशाला हो । रंगशालाको छतलाई विशेष शैलीमा निर्माण गरिएको छ । सन् २०१४ मै यसको निर्माण कार्य पूरा भए पनि साना–साना कामले गर्दा यसले पूर्णता भने २०१७ मा मात्र पायो । अनुमानित बजेटभन्दा १५ प्रतिशत कम लागत अर्थात् करिब ३५ अर्ब ३१ करोड रुपैयाँमा रंगशाला पुनर्निर्माण भएको हो । रंगशालालाई आकर्षक पार्ने क्रममा ५ हजार दर्शक क्षमता घटाइएको छ । यस रंगशालाबाट रसियाको दक्षिण र पश्चिम सहर सजिलै अवलोकन गर्न सकिन्छ ।
९ – सेन्ट पिटर्सवर्ग
क्षमता : ६४,२८७
निर्माण : अप्रिल २०१७
लागत : १.५ बिलियन डलर (१ खर्ब ६० अर्ब ५० करोड रुपैयाँ)
खेलहरू
१५ जुनमा मोरक्को र इरान, १९ जुनमा रसिया र इजिप्ट, २२ जुनमा कोस्टारिका र ब्राजिल, २६ जुनमा नाइजेरिया र अर्जेन्टिना, ३ जुलाईमा प्रि–क्वार्टरफाइनल, १० जुलाईमा सेमिफाइनल, १४ जुलाईमा तेस्रो स्थानका लागि खेल हुने
रसियाको दोस्रो ठूलो सहरमा रहेको सेन्ट पिटर्सवर्ग विश्वकै अति सुन्दर स्पोर्टस एरिनामा उल्लेख छ । क्रेस्टभेस्कीलाई सेन्ट पिटरसवर्ग रंगशालाका नामले पनि चिनिन्छ । रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगरसमेत रहेकाले यो क्षेत्र अति नै संवेदनशील मानिन्छ । यो रंगशाला विश्वकै महँगो तथा उत्कृष्ट रंगशालामध्येमा पर्छ । रसियाले विश्वकप आयोजना गर्नुअघि नै यसको निर्माण गरिएको हो । यो रंगशालाको डिजाइन जापानी आर्किटेक्ट किसो कुरोसवालेले गरेका हुन् । रंगशालाबाहिरको मौसमअनुसार यसको छत खुल्ने र बन्द हुने गर्छ । सन् २०१० देखि यसको निर्माण थालनी भएको थियो । ८ वर्षको कडा मिहिनेतपछि सेन्ट पिटरसबर्ग रंगशाला निर्माण भएको हो । रंगशाला निर्माण गर्न १ दशमलव ५ बिलियन डलर खर्च भएको छ । यो रंगशाला विश्वकै महँगो रंगशालामा पर्छ । यसको डिजाइन बन्द कोठाभित्रको ‘जहाज’जस्तो बनाइएको छ । रंगशालालाई पूरै छानाले छोपिएको छ । यहाँबाट फिनल्यान्डको खाडी क्षेत्र सहजै अवलोकन गर्न सकिन्छ ।
१० – समरा एरिना
क्षमता : ४४,८०७
निर्माण : २०१८ जनवरी
लागत : ३ सय २० मिलियन डलर (३४ अर्ब २४ करोड रुपैयाँ)
खेलहरू
१७ जुनमा सर्भिया र कोस्टारिका, २१ जुनमा डेनमार्क र अस्ट्रेलिया, २५ जुनमा उरुग्वे र रसिया, २८ जुनमा सेनेगल र कोलम्बिया, २ जुलाईमा प्रि–क्वार्टरफाइनल, ७ जुलाईमा क्वार्टरफाइनल
विश्वकपका लागि भनेरै समरा एरिना रंगशाला निर्माण गरिएको हो । समरा बन्नुअघि यहाँ कोस्मोस एरिना थियो । सन् २०१४ मा नयाँ समरा रंगशाला निर्माण आरम्भ भएको हो । विश्वकपका लागि निर्माण सुरु भएका रंगशालामध्ये समरा सबैभन्दा ढिलो गरी सम्पन्न भएको हो । यही रंगशालामा विश्वकप खेलको उद्घाटन हुनेछ । रंगशालालाई चारैतिर ६५ मिटर हाइटको ग्लासले ढाकिएको छ । भोग्गा नदीको किनारमा रहेको समरा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको मुख्यस्थल थियो । रंगशाला बन्नुअघि स्थानीय र सरकारबीच विवादसमेत भएको थियो । दुवै पक्षबीच सम्झौता भएपछि समरा रंगशालाको काम अगाडि बढेको थियो । यस क्षेत्रलाई रसियाको पखेँटा पनि भनिन्छ ।
११–मोर्डिभिया एरिना
क्षमता : ४४,४४२
निर्माण : २०१८
लागत : ३ सय मिलियन डलर (३२ अर्ब, १० करोड रुपैयाँ)
खेलहरू
१६ जुनमा डेनमार्क र पेरु, १९ जुनमा कोलम्बिया र जापान, २५ जुनमा पोर्चुगल र इरान, २८ जुनमा ट्युनेसिया र पानामा
मोर्डिभिया एरिना विश्वकपको सानो रंगशाला हो । मार्डिभिया सहरमा विश्वकप खेल हुने भन्दा सबैले आश्चर्य व्यक्त गरेका थिए । सन् २०१० मा यस रंगशालाको निर्माण सुरु भएको हो । सन् २०१८ मा आएर निर्माण कार्य पूरा भयो । रंगशालानजिक रेल–वे, हाइवे तथा विमानस्थल छन् । सुरुमा २८ हजार दर्शक क्षमताको योजना बने पनि पछि यसलाई ४४ हजारभन्दा बढी दर्शक अट्ने डिजाइनको निर्माण गरियो । इन्सार नदीको छेउमा रहेको रंगशाला ओभल आकारको छ । जर्मन आर्टिटेक्टरको डिजाइनमा बनेको रंगशालाको दुईतले बेसमेन्ट छ ।
१२–भोल्गोग्राड एरिना
क्षमता : ४५,५६८
पुनर्निर्माण : सन २०१८
खर्च : २ सय ८० मिलियन डलर (२९ अर्ब, ९६ करोड रुपैयाँ)
खेलहरू
१८ जुनमा ट्युनेसिया र इंग्ल्यान्ड, २२ जुनमा नाइजेरिया र आइसल्यान्ड, २५ जुनमा इजिप्ट र साउदी अरेबिया, २८ जुनमा जापान र पोल्यान्ड
रसियाको कम विकसित सहरमा रहेको भोल्गोग्राड रंगशाला यसै वर्ष पुनर्निर्माण सम्पन्न भएको हो । सन् १९५८ मै भोल्गोग्राड रंगशाला बनेको थियो । पुनर्निर्माणका क्रममा सन् २०१४ मा यहाँ विस्फोट नभएका बम भेटिएका थिए । भोग्गा नदी रंगशालाको एक भाग हुँदै बग्छ । सन् २०१५ मा यसको डिजाइन परिवर्तन भयो । आकर्षक बनाउने क्रममा यसको छतको किनारमा खाली भाग राखिएको छ ।
(नयाँ पत्रिकाबाट साभार स्टोरी )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: