०५९ मा त्यो युद्धविरामको समय थियो । दुईपक्षबीच आफू भएको स्थानबाट ५ किलोमिटर टाढा नजाने सम्झौता थियो । तर, उनीहरुको युद्धविराम भङ्ग गर्ने योजना रहेछ । मध्यान्ह १२ः ३० मा सेनाले एक्कासी आक्रमण गर्यो । त्यहाँ हामी ३३ जना साथीहरु थियौं । त्यसमध्ये ११ जना फूत्किन सफल भयौं । २२ जना साथीहरु सेनाको आक्रमणबाट मारिए । २ जनालाई घटनास्थलमै गोली हानेर मार्यो । अरु बाँकीहरुलाई सेनाले समायो । डेढ घण्टा जति पर डाँडाकट्डीमा लगे । गोठालाहरुले सुनाए अनुसार–‘हामीलाई कहाँ लैजान खोजेको भनेर सोध्दा मन्थली भनेका थिए ।’ त्यतिबेला उहाँहरुले हामीलाई की यही छोड्दे की यही मार भनेका थिए । ‘यो युद्ध विरामको बेला छ । यो अन्तर्राष्ट्रिय नियम हो । तिमीहरुले समाउन पाउँदैनौं । हामीले पनि तिमीहरुलाई केही गरेका छैनौं ।’ पक्राउ परेका साथीहरुले भनेका थिए ।
दोरम्बा घटनालाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मानवअधिकार उलंघनको घटनाको रुपमा व्याख्या गरेको छ । त्यस घटनालाई युद्ध अपराध भनिएको छ । मानवअधिकार आयोगले पनि युद्ध अपराधको रुपमा पुष्टि गरेको छ । अहिले लामो समय भइसक्यो । यस घटनालाई कसैले बिर्सिए होलान् । तर यो बिर्सने खालको घटना होइन । जनयुद्धको सबैभन्दा ठूलो घटना हो । त्यसले युद्धविराम भङ्ग भयो । त्यसले देशलाई थप द्वन्द्वमा लग्यो ।
निस्किनेवित्तिकै घरको सुरमा एक सेना मलाई गोली हान्न तयार थियो । म फूत्त निस्कें । त्यो सेनाको राईफल च्याप्प समातेर उसलाई त्यहीं लडाइदिएँ । उत्तापट्टि मकै घारी थियो । म उत्ता फड्किएँ । म दुई कान्ला झर्ने बेलासम्म एक जना गयो भनेर कराउँदै थिए । मलाई गोली हाने तर लागेन । म तेस्रो कान्लामुनी गएर बसेँ । भित्रभएका साथीहरु भित्रै थिए । मसँगै निस्केको भए एक दुई जनालाई मार्न सक्थ्यो, हतासमा नमार्न पनि सक्थ्यो । म निस्केपछि भित्र भएका साथीहरुले सेनासँग वार्ताको प्रस्ताव राख्नुभएछ । तर सेनाले किन वार्ता गथ्र्यो । सबैलाई समायो । पछाडि हात बाध्यो लिएर हिड्यो ।
यसरी फुत्किएँ म
त्यो दिन दोरम्बामा हाम्रो पार्टीको एरिया समितिको मिटिङ थियो । म रामेछाप जिल्लाको इन्चार्ज थिएँ । बिहान खाना खाएर मिटिङको तयारीमा थियौं । कुहिरो लागेको थियो । बिहानैदेखि पानी परेको पर्यै थियो । सेनाले अघिल्लो दिनदेखि नै मूभ गरेको रहेछ । साथीहरुलाई बुझ्न लगाउँदा त्यस्ता गतिविधिहरु केही पनि देखिएन । त्यो दिन एक साइड सेन्ट्री पनि राखेका थियौं । तर उनीहरु मन्थलीबाट जंगलैजंगल रातभरी हिडेर आएछन् । हामी बसेको घरभन्दा डेढ किलोमिटर पर जंगलमा लुकेर बसेका रहेछन् । जुन घरमा सेना बसेको थियो । त्यही घरको मान्छे मासु खोज्ने बहानाले हामी बसेको ठाउँमा आएको थियो । हामीले त्यसलाई खासै चासो गरेनौं ।
उनीहरुले बिस्तारै गाउँलाई घेरा हालेछन् । गाउँलेहरुलाई कसैलाई पनि बाहिर निस्कन पाउँदैनौ भनेछन् । हामीलाई भन्न आउन चाहने मान्छेलाई पनि उनीहरुले आउन दिएनन् । हामी बसेको घर पनि घेरा हाले । घरको मुनीबाट केही साथीहरु मिटिङको लागि आउँदै थिए । उनीहरुलाई गोली हानियो । उनीहरु त्यही लडे । एक जना आर्मी पोजिसनमा बसेको रहेछ । साथीहरुलाई बाहिर निस्कँऔं भनाैँ । म बाहिर निस्केँ ।
म अगाडि लाग्छु । तिमीहरु पछिपछि आउनु भनेँ । निस्किने वित्तिकै घरको सुरमा एक जना सेना देखेँ । ढोकापट्टी बन्दुक सोझ्याएर बसेको थियो । म फूत्त गएर त्यसको राईफल च्याप्प समातेर त्यसलाई त्यहीं लडाइदिएँ । म अर्कोपट्टी फड्किएँ । मकै घारी थियो । दुई कान्ला झर्ने बेलासम्म ‘एक जना गयो भनेर कराउँदै थिए’ । मलाई गोली हाने तर लागेन । म तेस्रो कान्लामुनी गएर बसेँ । भित्र भएका साथीहरु त्यही बेला निस्केछन् । मसँगै निस्केको भए एक दुई जनालाई मार्न सक्थ्यो । हतासमा नमार्न पनि सक्थ्यो ।
म निस्केपछि भित्र भएका साथीहरुले ल वार्ता गरौं भनेछन् । तर सेनाले किन वार्ता गथ्र्यो । सबैलाई समायो । पछाडि हात बाँधेर लिएर हिड्यो । गाउँका मान्छेहरु हेरेको हेर्यै भए । म सानो खोल्सी नजिकै रहेको अर्को घरमा गएर बसें । एक जना साथीलाई पिछा गर्न लगाएँ । दोरम्बा बजारमै बन्दुकको आवाज आयो । उनीहरुले हामीसँग भएको एउटा राईफल लगे । डिउटीमा भएका साथीलाई पनि मारे ।
यसरी गरिएछ विभत्स हत्या
जंगलमा गाइबाख्रा चराइरहेका गोठालाहरुले सुनाए— सबैका हात पछाडि बाधिएको थियो । दोरम्बाबाट १ घण्टाको दुरीमा रहेको जंगलमा समातिएका माओवादी नेता कार्यकर्तालाई पुर्याउँदा उनीहरु रक्तमुच्छेल अवस्थामा थिए ।
समातिएकाहरुलाई लाइनै हिडाइएको थियो । बीचबीचमा सेनाका जवानहरु थिए । समातिएकाहरुलाई उनीहरु प्रत्येक मिनेटमा बन्दुकका कुन्दाले हान्थे र समातिएकाहरु चिच्याउँथे । जंगलमा राखिएको १ घण्टासम्म निर्मम याताना दिइयो । मानिसहरु चिच्याएको आजाव टाढाटाढासम्म सुनिन्थ्यो । १ घण्टापछि लगातार गोली पड्किएको आवाज आयो ।
उनीहरुको विभत्स हत्या गरिएको थियो। कसैका हात बाधिएको बाधिएकै थियो भने कसैका हात फुकाइएको अवस्थामा थियो । जंगलमा छरपष्ट २१ जनाको लाश थियो ।
ती साथीहरुलाई सम्झदा
त्यतिबेला मैनकुमार मोक्तान भन्ने रामेछाप जिल्ला सेक्रेटरी थिए । राज्य समितिका सदस्य बाबुराम तामाङ ‘पुष्प’ लाई पनि त्यहीँ हत्या गरियो । मेरी श्रीमती अम्बिका दाहाल उनलाई पनि सेनाले त्यहीं मार्यो । जुन इलाकाको बैठक बस्दै थियौं त्यो इलाकाको सचिव नै मेरी श्रीमती थिइन् । त्यहाँ ललिका भनेर सबै मान्छेले चिन्थे । रामेछापमा मभन्दा उनी बढी चर्चित थिईन् । अघिल्लो दिन हामीले आन्दोलनका विषयमा कुरा गरेका थियौं । अरु विषयमा कुरा हुन पाएन । पहिले अलि बिरामी थिइन् । संकटकालकै बेला उपचार पनि गरिराखेकै थियौं । टाउको सम्बन्धी समस्या थियो । ठीक त्यसैबेला त्यो रोग भने निको भइसकेको थियो । पार्टीमा पहिलेभन्दा निकै राम्रो काम गर्ने लक्ष्य थियो उनको । हामीले मिटिङ कसरी बस्ने, संगठनात्मक विषय के हुनसक्छन् भन्ने विषयमा कुरा गरेका थियौं । तर सेनाले बर्बर हत्या गर्यो ।
त्यो घटनालाई सम्झदाँ
दोरम्बा घटनालाई मैले दुईवटा कोणबाट हेरेको छु । सकारात्मक कोण भनेको त्यतिबेला वार्ता भन्दै पार्टी नेतृत्वलाई एक ठाउँमा लगेर सक्याउने दुश्मनको रणनीति थियो । त्यो घटनाले त्यो रणनीतिलाई फेल गराइदियो । त्यो बलिदानीले विश्वव्यापी रुपमा माओवादी आन्दोलनलाई चिनायो । बलिदानले थप उर्जा थप्यो । त्यसैको आडमा संविधानसभा, गोलमेच सम्मेलन, अन्तरिम सरकारको कुरा सुरु भयो । त्यो घटनाले यहाँको शासक ती मुद्दाहरुलाई छिटो लागू गर्न बाध्य भए । यहाँको शासकलाई अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्यो । यहाँको राज्य सत्ता अपराधिक रहेछ भन्ने पुष्टि गर्यो । दोरम्बा घटनालाई नकारात्मक रुपमा हेर्ने हो भने, हामीले त्यति ठूलो जनशक्ति सुरक्षा गर्न सकेनौं । त्यसको पछाडि युद्धविरामको मनस्थितिले भूमिका खेल्यो ।
यो घटनाले नेपालको राजनीतिमा ठूलो अर्थ राख्छ तर नेताहरुले यो घटनालाई बिर्सेका छन् । त्यस्तै बलिदानले यो पार्टी यहाँसम्म आईपुगेको हो । अझ यो घटना युद्धविरामको बेलाको घटना भएका कारणले यसको उचाई अलि बढी नै छ । त्यो अवस्थाबाट आएको पार्टी यतिबेला लथालिंग ५/६ वटा भएका छन् । त्यो बलिदानलाई नेताहरुले उपहास गरे भन्ने मलाई लाग्छ । फूट्न हुन्न थियो । हाम्रो योजना फूटेर सफल हुदैन थियो । पछिल्लो समय नेताहरुमा नीजि स्वार्थ, सत्ताको स्वार्थ देखियो । सिंहदरबार भित्र छिरेपछि नेताहरुले बलिदानीको कुरा बिर्सिए । मान्छे बेपत्ता भएको कुरा पनि बिर्से । सत्ताको वरिपरि घुम्नाले पार्टीको आकार पनि सानो बन्न गयो ।
(दाहाल हाल नेकपाका केन्द्रिय सदस्य छन्)
प्रतिकृया लेख्नुहोस्: