१० साउन, इलाम । व्यावसायिक पशुपालन गरेर यहाँका किसानले सवा चार अर्ब रुपैयाँबराबरको दूध उत्पादन गरेका छन् ।
व्यावसायिक पशुपालनमा पूर्वमै पहिलो र देशमै नमुना मानिएको इलाममा एक लाख २१ हजार पाँच सय ४३ मेट्रिक टन दूध उत्पादन भई रु चार अर्ब २५ करोड ४० लाखको कारोबार भएको हो ।
यहाँ दूध सरदर रु ३५ प्रतिलिटरमा बिक्री हुन्छ । दुग्धजन्य पदार्थ बिक्रीबाट रु ४२ करोड ८४ लाख ७२ हजार पाँच सय जिल्ला भित्रिएको छ । चिजबाट रु २५ करोड १० लाख, घ्यूबाट रु चार करोड ६० लाख ५० हजार र छुर्पीबाट रु १३ करोड १४ लाख २२ हजारको कारोबार भएको छ ।
पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीका अनुसार जिल्लामा २४ वटा चिज उद्योग, १४२ डेरी उद्योग तथा धेरैको सङ्ख्यामा ललीपप उद्योग स्थापना भई सञ्चालनमा छन् । चिज र घ्यू प्रतिकिलो सरदर रु पाँच सय र छुर्पी रु ४५० का दरले बिक्री हुने गरेको छ । विशेष गरेर यहाँको छुर्पी कुकुरको आहाराका लागि अमेरिका निर्यात हुन थालेपछि उत्पादन र बिक्री दुवै बढेको फाकफोक–९ का किशोर शर्मा बताउनुहुन्छ । दुग्धजन्य पदार्थमध्ये ललीपप बिक्रीबाट रु ५० लाख ४७ हजार आम्दानी भएको छ । बीस हजार ५४० किलोग्राम ललीपप उत्पादन भएको छ ।
यहाँ उत्पादित दूधमध्ये दैनिक ४० हजार लिटर विराटनगरस्थित दुग्ध वितरण संस्थानमा निर्यात हुँदै आएको छ भने निजीस्तरबाट दैनिक २० हजार लिटर दूध डेरी उद्योग इटहरी निर्यात हुने गरेको पशुसेवा कार्यालयले जानकारी दिएको छ । सूर्याेदय नगरपालिका, गोदक, सुलुबुङ, साँखेजुङ, देउमाई नगरपालिका, शान्तिडाँडा, सुम्वेक, बरबोटे, इलाम नगरपालिका तथा अन्य गाविसमा व्यावसायिक गाईपालन तथा पश्चिमी गाविसमा भैँसीपालन व्यवसाय फस्टाउने क्रममा छ ।
कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार भई दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताउनुभयो । जिल्लामा जर्सी, हालिस्टिन र स्थानीय जातका गरी ५८ हजार ६२० वटा गाई, मुर्रा र स्थानीय जातका गरी नौ हजार ७१ वटा भैँसी रहेको तथ्याङ्क छ । राम्रो आहारा र स्याहार चाकर पुग्दा एउटा उन्नत गाईले दैनिक १८ देखि २० लिटरसम्म र भैँसीले १० लिटरसम्म दूध दिने गरेको किसान बताउँछन् । अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा ४.७ प्रतिशतले वृद्धि भएको पशुसेवा कार्यालयले जनाएको छ ।
जिल्लामा १२० वटा व्यावसायिक पशु फार्म सञ्चालनमा छन् । यीमध्ये ५० प्रतिशतमा पाँचवटाभन्दा बढी दुधालु गाई छन् । पछिल्लो समय पशुपालनमा किसानको आकर्षण बढ्नु, गाईभैँसीमा कृत्रिम गर्भाधान तथा उन्नत जातका घाँसखेतीले समेत दूध उत्पादनमा वृद्धि भएको पशु विकास अधिकृत ढुङ्गाना बताउँछन् । यहाँ टिओसेन्टी, जै, सुडान, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घाँस लगाउन थालिएको छ । रासस
प्रतिकृया लेख्नुहोस्: