श्रावण ११ गते, २०७२ सोमवार 27th July, 2015 Mon१४:१५:२३ मा प्रकाशित
संविधानसभाको पहिलो मस्यौदामा सुझाव संकलन गर्ने क्रममा चार मधेसी दलहरुले मधेसमा त्यसको चर्को विरोध गरे । संविधानको मस्यौदामाथि विरोध गर्नुका कारण तथा वर्तमान परिस्थितिको निकासकाबारे मधेसका पुराना तथा सम्मानित नेताहरु मध्येका एक तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग खबरडबलीका लागि नरेश ज्ञवालीले गरेकाे कुराकानी ।संविधानको प्रारम्भीक मस्यौदालाई लिएर मधेसी दलहरु विरोध गरे, यसको मुल कारण के होला ?
नेपाली राज्यमा एउटै समुदाय छैन, यहाँ तीन समुदाय छन्– मधेसी, जनजाती र खस । जनसंख्याको हिसाबले लगभग सबैको अवस्था बराबर छ । सबैभन्दा कम त अहिलेका शासकहरु नै छन् जो खस समुदायका हुन् । अहिलेको मुल समस्या भनेको सत्तापक्षीय दलहरु पछाडी फर्कन चाहनु नै हो । मधेसी तथा जनजाति समुदायसँग जुन सहमति भएको थियो, त्यसलाई लागु गर्नुको सट्टा कुल्चनु नै अहिलेको मुख्य समस्या हो । पिछडिएका र सिमान्तकृत समुदायलाई अधिकार दिने भन्ने विषय अन्तरिम संविधानको धारा १३८ मा पनि उल्लेख गरिएको छ तर, अहिलेको मस्यौदामा यस कुरालाई समावेश गरिएको छैन ।
मस्यौदामा यो मुल कुरासहित यस्ता कयौं विषयहरु छन् जसले गर्दा त्यसको विरोध भइरहेको छ । पहिलो– यसको वैधानिकतामा प्रश्न चिन्ह खडा छ । दोस्रो– जुन जुन विषयलाई संवोधन गर्ने भनेर सहमति गरिएको थियो त्यसलाई संविधानको मस्यौदामा समावेश गरिएको छैन । तेस्रो– नागरिकताको समस्यालाई यसमा झनै बल्झाइएको छ । मधेसी समुदायलाई नागरिकता दिने सवालमा मस्यौदा निक्कै अनुदार रहेको छ । अंगिकृत नागरिकता लिएका मानिस कुनै पनि संवैधानिक निकायमा सहभागी हुन नपाउने उल्लेख गरिएको छ ।
अंगिकृत नागरिकता लिएकाहरुलाई यहाँका मान्छेले बाहिर (भारत)बाट आएको बुझ्ने गर्दछन् । हामी पहिलादेखि नै राज्यमा दोस्रो दर्जाको मानिस भएर जीवन बिताइरहेका थियौं तर, मस्यौदामा नागरिकताको धाराले हामीलाई तेस्रो दर्जाको नागरिक बनाई दियो । चौथो– प्रतिनिधित्वको सवाल छ, जुन जनसंख्याको आधारमा हुनुपर्छ भनिएको थियो तर अहिले त्यसलाई पनि हटाइएको छ । समग्रमा भन्दा अहिलेको मस्यौदा अन्तरिम संविधान भन्दा पनि पश्चगामी र पछाडी फर्किएको छ । यहाँ जनसंख्यालाई भन्दा धेरै महत्व भूगोललाई दिइएको छ ।
तपाईंले संघीयताको सन्दर्भमा भूगोलको कुरा गर्नु भयो किनभने, पिछडिएका समुदायलाई अधिकार सम्पन्न गर्नु पर्छ भनेर । तर तपाईंहरु नै एक मधेस एक प्रदेशको नारा घन्काउनु हुन्छ जो अहिले दुई प्रदेशमा विभाजित गरिएको छ । जबकी मधेसमा मधेसीहरुको मात्र बसाई छैन । तपाईंलाई लाग्दैन यस विषयमा तपाईंहरुको चिन्तनमा कमी छ ?
मधेसी समाज भनेको धेरै पुरानो समाज हो । त्यसमा विविधता पहाड भन्दा धेरै छ । अनेकौं प्रकारका जातजाती र धर्म सम्प्रदायका मानिसहरु यहाँ मिलेर बसोबास गर्दछन् । हामीले के बुझेका छौं भने पूर्वदेखि पश्चिमसम्म मधेसी सेन्टिमेन्ट जिवित छ तर, जनसंख्याको वितरण र सामाजिक बनोट भने केही भिन्न रहेको छ । पश्चिमका केही जिल्लामा थारु र अन्य जाती जनजातीको पनि बसोबास रहेको छ । पूर्वी मधेसमा बस्नेहरुले आफूलाई ‘कोच’ भन्ने गर्दछन् । यो प्राचिन भूमि र प्राचिन संस्कृति भएको भूमि हुनाले यो विविधतामा देखिएको हो । अहिलेको आधुनिक युगमा यो धरातल कमजोर भएको छ । जबदेखि नेपाल राज्यमा यी भूभागलाई सुगौली सन्धी पछि गाभियो, यहाँको विकास गति रोकिएको छ । अहिले स्वभाविक कुरा के हो भने, लोकतन्त्र आएपछि सबैले आफ्नो भूमिका र अधिकार खोजी रहेका छन् ।
तपाईं मधेसको पुरानो र पाको नेता अबको आन्दोलन कसरी अगाडी बढाउनु हुन्छ ?
संविधानको मस्यौदामा दुई दिनको समय दिएर जसरी सुझाव संकलनको नाटक गरियो हामी त्यसको विरोधमा थियौं । सुझाव लिने कार्यक्रम सबै ठाँउमा हुन सकेको छैन । अहिले अग्रगामी प्रगतिशील संविधानलाई लत्याएर प्रतिगामी खालको संविधान ल्याउने कुरा चलिरहको छ । कांग्रेस–एमालेका लागि ०४७ सालकै संविधान काफी छ । अहिलेको संविधान चाहिएको भनेको माओवादी र मधेसी तथा उत्पीडित समुदायका लागि हो । माओवादीले नयाँ संविधानको लागि जनयुद्ध नै ग¥यो । परिवर्तनका लागि नै संघर्ष गरिएको थियो तर अहिले संविधानमा परिवर्तनलाई संस्थागत गर्न खोज्दा सत्तापक्ष पछाडी फर्किएको छ । हामीहरु यस्तो अवस्थामा आई पुग्यौं कि जति सकिन्छ त्यति अधिकारलाई संविधानमा संस्थागत गरेर जाउँ भनियो । सत्तापक्षको मानसिकताले मानिसहरुमा आक्रोस पलाएको छ । अहिलेको अवस्था यस्तो छ कि पहिला जुन अधिकार पाइएको थियो त्यो पनि कटौती गरिएको छ ।
जति सकिन्छ त्यति अधिकारलाई सुनिश्चित गरौं भन्ने हो भने आन्दोलन गर्नुको के अर्थ हो ?
हामीहरु देश संघीयतामा जाओस् भन्ने चाहन्छौं । गणतन्त्र पनि साझा आन्दोलनकै देन हो । यहाँ धेरै कुरा छन् हेर्नुस् । सबै कुराको निचोड निकाल्ने हो भने आन्दोलनबाट जे हासिल गरिएको थियो, त्यो अहिलेको सत्तापक्षका कांग्रेस–एमालेले त्यसबाट पछि हट्दै जनताको अधिकारमा कटौती गर्न खोजीरहेका छन् ।
तपाईंका पार्टीका नेताहरु अनौपचारिक छलफलमा हिन्दु राष्ट्रका पक्षमा मत जाहेर गर्दछन्, तपाईंलाई के लाग्छ हिन्दु राष्ट्र हुनु राम्रो अथवा धर्म निरपेक्ष राष्ट्र ?
हामीहरु धार्मिक स्वतन्त्रताको पक्षमा छौं ।
धार्मिक स्वतन्त्रताको के अर्थ हो ?
आफ्नो रितीथिती अनुसार स्वतन्त्रतापूर्वक काम गर्न पाउने नै यसको मुल मर्म हो । त्यसैले हामीहरु धार्मिक स्वतन्त्रताको पक्षमा छौं । कुनै पनि भाषा धर्मका साथ भेदभाव होस् भन्ने हामी चाहँदैनौं ।
सत्तापक्षीय दलहरुलाई केही भन्न चाहनुहुन्छ ?
सत्तापक्षले विषयहरुलाई बुझुन् कि जनतामा मस्यौदाप्रति असन्तोष छ । सिमान्तकृत मानिसहरुसँग जस्तो प्रकारको भेदभाव हुँदै गइरहेको छ, त्यो भेदभाव मेटाउन गरिएको साझा संकल्पमा इमान्दारीपूर्ण तवरले सम्बोधन गरुन् । अन्तरिम संविधानलाई र विगतमा भएका सहमतिहरुलाई सत्तापक्षले लत्याएमा जनताको झनै ठूलो आक्रोश झेल्नु पर्ने हुन्छ । अझै पनि समय घर्किएको छैन, सत्तापक्षले आँखा खोलोस् । पूर्ण मस्यौदाको रुपमा संविधानसभामा संविधान पेश हुँदा जनताको भावना र आन्दोलनको उद्देश्यको प्रतिनिधित्व होस् ।
अबको निकासको बाटो के होला ?
हामीले मत पायौं भनेर सत्तापक्ष जस्तो खाले अहंकार र दम्भमा डुबेको छ, त्यो विषय विगतको कुरा भइसक्यो । आजको दिनमा पहाडमा होस् अथवा मधेसमा तपाईं त्यसभन्दा धेरै अगाडी पुगिसक्नु भएको छ । जुन मतको कुरा गरेर तपाईं मनपरी गर्दै हुनुहुन्छ अथवा जुन मतलाई देखाएर तपाईं पश्चगमनतर्फ फर्कदैं आफूलाई स्थापित र बलियो बनाउने सपना देख्दै हुनुहुन्छ, त्यो पुरानो कुरा भइसक्यो । आजको दिनमा जनताको मत फेरिइसकेको छ । जनताले नै पुरानो कुरालाई अस्विकार गरी सके । त्यो मत भनेको आवाधिक मत थियो, अहिले जनताले त्यसलाई हुत्याईसके । त्यसैले सत्तापक्ष आन्दोलन र सहमतिको विरुद्ध नजाओस्, त्यही नै उपयुक्त निकासको बाटो हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: