Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

मृत्युसँग ८ जम्काभेट

\"pasang\"म धेरैपटक मृत्युनजिक पुगेको छु । जितेर फर्किएको पनि छु । मलाई मृत्युनजिक पुर्‍याएको कसैले होइन, आफ्नै हाँसीखुसीले हो । जनसेनाको कमान्डरका रूपमा म धेरै युद्धहरूमा सहभागी भएँ । त्यहाँ पनि हामीले जितेर फर्कियौँ । त्यो जित युद्धमाथिको जित मात्र थिएन, मृत्युमाथिको जित पनि थियो । मृत्युको सँघारमै पुगेर फर्किएका दिन म झस्कन्थेँ । लाग्थ्यो, ‘कस्सो बाँचियो, अन्यथा आन्दोलनलाई घाटा हुने थियो ।
१४ मंसिर ०५१ त्यतिवेला म स्थायी शिक्षक थिएँ । गाउँकै स्कुल जनसेवा मावि, राङ्सीमा पढाउँथँे । तत्कालीन जनमोर्चामा पनि सक्रिय थिएँ । गाउँमा वेला–वेला राजनीतिसँग सम्बन्धित झगडा भइरहन्थे । ती झगडा लामो समयसम्म राजनीतिक इस्यु बन्थे । त्यस्ता झगडामा म पनि परेको छु । एकपटक गाउँमै कांग्रेसका कार्यकर्तासँग झडप हुँदा मेरो टाउकोमा गम्भीर चोट लागेको थियो । तर, कांग्रेसीहरूले हामीलाई च्यालेन्ज दिन छाडेका थिएनन् । घरनजिकै चप्कामा मेला लाग्थ्यो । त्यो मेलामा जनमोर्चालाई सोत्तर बनाउने कांग्रेसीहरूले च्यालेन्ज गरे । टाउकोमा चोट बोकेरै म त्यो मेलामा पुगेँ । १४ मंसिर ०५१ । म चप्का पुगेँ । मेला चलिरहेको थियो । साथीभाइले पैसेरु नाच्ने भन्नुभयो । बुबाले अगुवा नाच्न थाल्नुभयो । मैले मादल बजाउन थालेँ । नाच चलिरहेको थियो । हामी रमाइरहेका थियौँ । एक्कासि प्रहरी आएर मलाई घेरा हाल्यो । नाचिरहेको त्यो ठाउँमा त अचानक गोली पो चल्न थाल्यो † त्यो गोली ममाथि प्रहार गरिएको थियो । तर, संयोग † मलाई गोली लागेन । मनबहादुर पुन र लोकबहादुर घर्तीलाई गोली लागेछ । उहाँहरूको मृत्यु भयो । त्यसपछि मेलामा भागाभाग भयो । तर, प्रहरीले गोली चलाउन छाडेको थिएन । एउटा प्रहरीले मतिर बन्दुकको नाल सोझ्याएको देखेँ । तत्कालै जम्प गरेँ । उसलाई नाघेँ । पाखुरामा काँडाले घोचेजस्तो भयो । म त्यहाँबाट भागिसकेको थिएँ । सोझै माडी खोलापारि पुगेँ । प्रहरीले मलाई पिछा गरे पनि नचिनोस् भनेर ज्याकेट चेन्ज गरेँ । त्यतिवेला बल्ल थाहा भयो, पाखुरामा त गोली पो लागेको रहेछ । मैले त्यो प्रहरीलाई जम्प गरेर ननाघेको भए त्यो गोली मेरो पिठ्युँमा लाग्ने रहेछ । म त्यहीँ ढल्ने रहेछु । सरकारले आफ्नै शिक्षकमाथि गोली चलाएको थियो, त्यो वेला । म त्यहाँबाट भागेपछि स्थानीय प्रशासनले मेरो टाउकाको मूल्य तोकेको थियो– ३५ हजार । फागुन ०५३ त्यतिवेला हामीले सशस्त्र संघर्ष सुरु गरिसकेका थियौँ । म पार्टीको जिल्लास्तरीय नेता थिएँ । रोल्पाको कुरेलीमा पार्टी प्रशिक्षण थियो । हामी प्रहरी चौकीनजिकैको एउटा घरमा प्रशिक्षण चलाउँदै थियौँ । मैले प्रशिक्षण दिँदै थिएँ । प्रहरी हामी भएकै घरमा आइपुग्यो । आँगनमा पुगेको प्रहरी भित्र पस्न खोज्दै थियो । आठ/दशजना थिए । उनीहरू घरको ढोकैमा पुगिसकेका थिए । उनीहरूले राइफल बोकेका रहेछन् । त्यतिवेला त्यहाँबाट भाग्न सकिने कुनै चान्स नै थिएन । मैले सोचेको थिएँ, ‘आजै हो मेरो अन्तिम दिन ।’ साथीहरू सबैको अनुहार आत्तिएको देखिन्थ्यो । मुखामुख गरिरहेका थियौँ हामी । सानो आवाज पनि निकालेका थिएनौँ । तर, संयोग नै मान्नुपर्छ, ढोकैमा पुगिसकेको प्रहरी यत्तिकै फर्कियो । उनीहरू फर्किएपछि हामी त्यहाँबाट भाग्यौँ । ती प्रहरी ढोकाबाट भित्र पसेको भए के हुन्थ्यो होला ? उनीहरू सशस्त्र थिए, हामी खाली हात । मलाई लाग्छ, यो म दोस्रोपटक मृत्युको सँघारबाट फर्किएको घटना हो । २१ चैत ०५६ प्रहरीविरुद्ध हाम्रो युद्धले मोर्चाबन्दीको रूप लिइसकेको थियो । रुकुमको तकसेरास्थित इलाका प्रहरी कार्यालयमाथि हमला गरेर हामीले मोर्चाबद्ध युद्धको योजना बनाएका थियौँ । त्यसका लागि हामीले २१ चैत ०५६ को रातलाई छान्यौँ । रातको एक बजे हामीले फायरिङ सुरु गर्‍यौँ । त्यो आक्रमणमा म आफैँले पनि हतियार चलाइरहेको थिएँ । प्रहरीले पनि जवाफी आक्रमण सुरु गरिसकेको थियो । तर, उनीहरू हामीभन्दा कमजोर देखिएका थिए । हामी इलाका प्रहरी कार्यालयनजिक पुगिसकेका थियौँ । त्यति नै वेला प्रहरीले फायर गरेको गोली मेरो आँखानजिकैबाट गयो । आँखामा धुलो परेजस्तो भयो । केही बेरसम्म त आँखै देखिनँ । त्यो गोली दबिएर एक इन्च आँखा भएतिरबाट आएको भए गोलीले मेरो टाउको नै उडाउँथ्यो । थ्री–नट–थ्री राइफलको गोली टाउकोमा लागिहाल्यो भने बाँच्ने सम्भावना कमै हुन्छ । तर, गोली मेरो टाउकोमा लागेन । तेस्रोपटक मेरो मृत्युसँग जम्काभेट भयो । तर, त्यतिवेला त्यो गोलीका कारण मेरा आँखाले क्लियर देख्दैनन् । ०५८ साउन ०५८ दरबार हत्याकाण्डपछिको बुटवल घटनामा पनि म संयोगले बाँचेँ । त्यतिवेला पार्टीले मलाई पर्वत, बागलुङ र म्याग्दीका सदरमुकामको रेक्की गर्न खटाएको थियो । यी तीन सदरमुकाममध्ये एकमा हामीले केही समयपछि आक्रमण गर्ने योजना थियो । स्थानीय साथीहरूले पर्वतको कुश्मा सिफारिस गर्नुभयो । त्यसको सर्भेका लागि म कुश्मा पुगेँ । जिल्ला प्रशासन कार्यालयभित्रै गएर सर्भे सुरु भयो । जिल्ला प्रहरी कार्यालय र सञ्चार टावरको सर्भे गरेँ । सबैको फोटो खिचेँ । मसँग राजेश (धनबहादुर मास्की) थिए । कुश्माका सरकारी कार्यालयमा आक्रमण गर्ने हाम्रो योजना थियो । ती सबै कार्यालयको हामीले सर्भे गर्‍यौँ । सर्भे सकिएपछि रिपोर्ट लिएर बुटवल फर्कियौँ । एउटा होटलमा पस्यौँ । कुश्मा सर्भेमा खिचिएका फोटा धुलाएर हेर्दै थिएँ । राजेश पेन्टी मात्रै लगाएर सुतिरहेको थियो । कोठामा पसेको आधा घन्टाजस्तो भएको थियो । कुश्माबाट फर्कने वेला बुटवल बजारबाट ‘प्रचण्डपथका आधारहरू’ नामक किताब पनि किनेर लगेको थिएँ । त्यति नै वेला कसैले ढोका ढकढक्यायो । मैले तत्कालै ढोका खोलेँ । बाहिर त हतियारधारी प्रहरी पो रहेछन् । एउटाले सोध्यो, ‘कहाँबाट आउनुभएको ?’ ‘दाङबाट आएको । व्यापार गर्छु ।’ ‘कहाँ ?’ उसले फेरि सोध्यो । ‘घोराहीको नयाँ बजारमा ।’ ‘नयाँ बजार, कहाँनेर ?’ प्रहरीले सोध्न छाडेन । ‘पृथ्वी (पृथ्वी रोका)को घर छेउमा ।’ मलाई लाग्यो, ती प्रहरी सूचना पाएर त्यहाँ आएका हुन् । अब मलाई पक्रेर मार्ने भए । तर, सोचेजस्तो भएन । उनीहरूलाई मेरो जवाफले कन्फ्युजनमा पारेजस्तो लाग्यो । फेरि भित्र राजेश फ्वाँफ्वाँ गरेर सुतिरहेको थियो । उनीहरूले मेरो कुममा धाप मारे, र फर्किए । मैले कुश्माको फोटो र किताब लगेर ट्वाइलेटको बाल्टीमा लुकाएँ । उनीहरू फर्किएपछि मैले राजेशलाई उठाएँ । हामी तल गयौँ । होटलवालालाई मैले सोधेँ, ‘किन आएका हुन् यिनीहरू ?’ ‘कसैले सूचना पो दियो कि ?’ होटलवालाको जवाफ थियो । होटलवालाको जवाफ सुनेलगत्तै म कोठामा फर्किएँ । झोला बोकेँ र फेरि तल झरेँ । प्रहरी होटलबाहिर थियो । नजिकैको पत्रिका पसलमा पत्रिका किनेजस्तो गरेँ, र अन्तत: भागेँ । मृत्यु मुखैमा पुगेको यो चौथोपटक थियो । तर, मैले यसपटक पनि मृत्युलाई झुक्याउन सफल भएँ । २४ वैशाख ०६९ २४ चैत ०६९ को राति ११ बजे हामीले रोल्पाको गाम गाविसमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमाथि आक्रमण गर्ने भयौँ । त्यो ब्यारेक अमेरिकी सेनाको सहयोगमा बनेको थियो । त्यसमाथि आक्रमण गर्नु एउटा ठूलो चुनौती थियो । तर, हामीले त्यो चुनौतीको पर्वाह गरेनौँ, ब्यारेकमाथि पहिलो फायर खोल्यौँ । चकमन्न रात थियो । म सहयोगीसहित ब्यारेकतर्फ अगाडि बढ्दै थिएँ । जुन बाटो म गइरहेको थिएँ, त्यही बाटोमा शाही सेनाका एक जवान बसिरहेका रहेछन् । म अगाडि बढ्दै थिएँ । प्लाटुन कमान्डर धर्मेन्द्र (कालिकोट घर भएका) मभन्दा अलि मास्तिर थिए । उनले मलाई रोके । भने, ‘सर तपाईं रोकिनुस्, म जान्छु अगाडि ।’ मैले मानेँ । उनी मेरो अघि लागे । धर्मेन्द्रले दुई पाइला मात्र के सारेका थिए, उनलाई गोली लाग्यो । उनी ढलिहाले । ऐया भन्न पाएनन् । मलाई रोकेर उनी अघि नगएको भए त्यो गोली मैले खान्थेँ, र ढल्थेँ । धर्मेन्द्र ढलेपछि म पछि हटेँ । केहीपछि हाम्रा साथीहरूले बाटो क्लियर गरे, र बल्ल म अगाडि बढेँ । धर्मेन्द्र मलाई रोकेर अगाडि नगएको भए त्यतिवेला मेरो मृत्यु निश्चितप्राय: थियो । ४ फागुन ०५८ अछाम सदरमुकाम मंगलसेनमाथि आक्रमण योजना बन्यो । ४ फागुन ०५८ राति ११ बजे हामीले फायर खोल्यौँ । हामी सैनिक ब्यारेकनजिकै पुग्यौँ । सेनाले जवाफी फायरिङ गरिरहेको थियो । हामी ब्यारेकतर्फ बढिरहेका थियौँ । सेनाले चलाएका गोली खुट्टाका छेउछाउ बर्सिन्थे । संयोगले एउटै गोली पनि खुट्टामा लागेन । जमिनमा ठोकिएका गोलीले उडाएको धुलोले मेरो खुट्टाभरि हुन्थ्यो । यो घटनामा पनि मेरो मृत्यु हुन सक्थ्यो । गोली बर्सिएकै ठाउँबाट हिँडिरहेको यो घटनालाई पनि मृत्युको मुखबाट फर्किएको घटना मान्छु । ७ चैत ०६१ ७ चैत ०६१ मा हामीले म्याग्दी सदरमुकाममाथि आक्रमण गर्ने योजना बनायौँ । राति १२ बजे लडाइँका लागि फायर खोलेका थियौँ । बिहानसम्मै दोहोरो लडाइँ चल्यो । बिहानपख विजयको झन्डा फहराएर बेनीबाट फर्कियौँ । फर्कंदा हामीमाथि हेलिकोप्टरबाट बम वर्षा भयो । हामी ठाउँ–ठाउँमा प्रतिरोध गर्दै अगाडि बढ्दै थियौँ । हेलिकोप्टरबाट हानिएका दुईवटा गोली मेरो दायाँ खुट्टाको बुढीऔँला छेउबाट गए । त्यसपछि म ढलमुनि छिरेँ, र बाँचे । १७ जेठ ०६९ हामी सशस्त्र युद्धमा हुँदा म पटक–पटक मृत्युको मुखमा पुगेको थिएँ । मृत्युसँगको त्यो जम्काभेट शान्तिप्रक्रियामा आएपछि नदोहोरिएला भन्ने लागेको थियो । तर, मेरो स्वास्थ्यमा समस्या देखिन थाल्यो । सामान्य स्वास्थ्यमा गडबडी होला भन्ने सोचेको थिएँ । १६ जेठ ०६९ मा स्वास्थ्य परीक्षण गराएँ । तर, फेरि भोलिपल्ट गाह्रो भयो । १७ गते फेरि म अस्पताल पुगेँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा रिफर गरियो । त्यहाँ आइसियुमा उपचार भयो । मेरा दुवै मिर्गाैला काम नलाग्ने भइसकेका रहेछन् । डाक्टरहरूले नै तपाईं आधा घन्टाभित्र यहाँ नआइपुगेको भए ढल्नुहुन्थ्यो, ढलेको भए तपाईंलाई उठाउन सकिने थिएन भन्नुभयो । काठमाडौंबाहिर भएको भए त्यतिवेला नै मेरो मृत्यु हुने रहेछ । तर, संयोगले म काठमाडौंमै थिएँ । समयमै अस्पताल पुग्न सकेँ, र मृत्युको मुखबाट फर्किएँ । यस्तो होस् मेरो मृत्यु युद्धमा होमिनु मृत्युलाई पनि चुनौती दिनुसरह हो । म जति लडाइँमा सहभागी भएँ र तिनको नेतृत्व गरेँ, ती सबै मैले मृत्युलाई चुनौती दिएका घटना हुन् । मान्छे जन्मनु र मर्नु स्वाभाविक प्रक्रिया हो । मैले मृत्युबारे त्यस्तो ठोस विचार बनाएको छैन । तर, मृत्युवरण गौरवका साथ गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सामान्य मृत्यु त जसको पनि हुन्छ । तर, एउटा मानिसले आफ्नो मृत्युलाई पनि गौरवमय बनाउने प्रयास गर्नुपर्छ । जस्तो, हाम्रा साथीहरूले जनयुद्धमा सहादत प्राप्त गर्नुभयो, उहाँहरूको मृत्यु साँच्चिकै गौरवपूर्ण छ । म चाहन्छु, मेरो मृत्युपछि मेरो नकारात्मक टिप्पणी नहोस् । कसैको कुभलो गर्न चाहेको छैन मैले । मेरो मृत्युपछि मेराबारे नकारात्मक कुरा गर्नेहरू नभेटिऊन् भन्ने मेरो चाहना छ । र, मेरो मृत्युमा धेरैको आँसु बगोस् † मलामी धेरै होऊन् । यसका लागि म इमानदार भइरहन चाहन्छु र सधैँ जनताका लािग समर्पित हुनेछु । ’पूर्वमाओवादी सेना कमान्डर तथा एमाओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’को मृत्युसँग जम्काभेट बारम्बार भयो । आफ्नै मृत्युको खबरले सनसनी रूप लिएपछि उनी आफैँ खण्डन गर्दै पनि हिँड्न बाध्य भए । तत्कालीन सरकारी सेना–माओवादी सेनाबीच भएका भिडन्तपछि सरकारले प्रत्येकपल्टजसो पासाङको मृत्यु भएको दाबी गथ्र्यो । माओवादीको सशस्त्र युद्ध सुरु हुनुअघि नै पासाङले गोलीको सामना गर्नुपरेको थियो । युद्धबिराम भएर माओवादी शान्तिप्रक्रियामा आइसकेपछि पनि पासाङले मृत्युको सामना गरे । ती घटनाबारे पासाङले नयाँ पत्रिकाका मनोज घर्तीमगरलाई सुनाए :
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE