काठमाडौँ। मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि नेकपा एमालेले चार सरकार गठन गरेको थियो।
जसमध्ये दुई सरकार गठन भइसकेका छन् भने अन्य सरकार पनि ढल्ने क्रममा छन्।
संघमा एमाले सरकारबाट बाहिरिसकेको छ। एमालेको नेतृत्वमा गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोसी प्रदेश सरकार बनेका थिए।
गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए भने कोशीमा हिक्मत कार्की छन्।
तर सोमबारसम्म आइपुग्दा अधिकारी, गिरी र रावल नेतृत्वका तीन वटा प्रदेश सरकार ढलिसकेका छन्। चारमध्ये अब एमाले नेतृत्वमा कोसी प्रदेश सरकार मात्र बाँकी छ।
आफू नेतृत्वको सरकार बनाएबाहेक एमालेले मधेस, बागमती र कर्णालीमा माओवादी तथा जसपालाई सरकार बनाउन सहयोग गर्दै आफू पनि सहभागी भएको थियो। यी प्रदेशमा सत्ता सहकार्यबाट समेत एमाले बाहिरिइसकेको छ।
सुदूरपश्चिमबाट ढल्न सुरु भएको एमाले नेतृत्वका प्रदेश सरकार गण्डकी हुँदै लुम्बिनी पुगेको छ। सुदूरपश्चिममा एमाले नेतृत्वको रावल सरकार ढलेपछि कांग्रेस माओवादीले मिलेर कांग्रेसको नेता कमलबहादुर शाह नेतृत्वको सरकार बनिसकेको छ।
यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठन भइसकेका छैनन्।
गण्डकी र लुम्बिनीमा पनि कांग्रेसले नै सरकार बनाउन चाहेको छ। लुम्बिनीमा कांग्रेस नेता डिल्ली चौधरीले सरकारको दाबी गर्दै प्रदेश प्रमुखलाई सांसदहरूको हस्ताक्षर बुझाइसकेका छन्।
गण्डकीमा भने कांग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि आकांक्षा देखाएका छन्। तर प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसेकाले कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भैसकेको छैन।
६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। जसमा कांग्रेसका कांग्रेस र माओवादीका २७ र ७ सांसद छन्। यो प्रदेशमा कांग्रेस र माओवादी मिल्दा सरकार बनाउन बहुमत पुग्छ । यस्तै लुम्बिनीमा प्रदेशमा ८७ सदस्यीय प्रदेश सभा रहेकोमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ।
यो प्रदेशमा एमालेबाहेकका अन्य धेरै दलको साथ लिएर मात्रै कांग्रेस माओवादीले सरकार बनाउनुपर्ने हुन्छ । लुम्बिनी प्रदेशमा एमालेका २९ सांसद छन् भने कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत ३, जसपा ३, लोसपा ३, जनमोर्चा र एकीकृत समाजवादी एकाएक र स्वतन्त्र २ सांसद रहेका छन्।
यद्यपि सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछि लुम्बिनीमा पुन नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । एमालेले लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी चौधरीले अव धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरी मुख्यमन्त्री लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताए ।
उनले प्रदेश प्रमुखले धारा २ अनुसार प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै त्यसमा ठुलो दलको हैसियतमा एमालेले पुन एक महिना सरकार चलाउने बताए।
यसैगरी कोशीको हकमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले राप्रपाको सहयोगमा सरकार चलाइरहेका छन्।
यो प्रदेशमा कांग्रेस र माओवादीसहितको गठबन्धनसँग स्पष्ट बहुमत नरहेकाले उनीहरुलाई कार्की नेतृत्वको सरकार ढाल्न सकस भइरहेको छ। उसो त माओवादी समेत वर्तमान सरकार ढाल्न खुलेर लागेको छैन।
प्रतिकृया लेख्नुहोस्: