काठमाडौं । गृह प्रशासनको समेत नेतृत्व गरिरहेको प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसको गुटको लडाइँ क्याम्पसमा पुग्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६२ मध्ये १६ आंगिक क्याम्पसको स्ववियू निर्वाचन अवरुद्ध भएको छ ।
कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा संस्थापन पक्ष, डा.शेखर कोइराला पक्ष र महामन्त्री गगन थापा पक्षबीच विश्वविद्यालयमा प्रष्ट तीनधार देखिएको छ । अझ केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत कतिपय क्याम्पसमा कृष्ण प्रसाद सिटौला गुट समेत निस्किएपछि स्ववियू निर्वाचन अवरुद्ध भएको हो ।
त्रिविका पदाधिकारीले नेविसंघकै विवादका कारण १६ वटा क्याम्पसमा निर्वाचन अवरुद्ध भएको र अरू केहीमा निहुँ खोज्ने प्रयास भइरहेको बताएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने उम्मेदवारीका कारण केही क्याम्पसमा विवाद भए पनि आफूहरूकै कारण ती क्याम्पसमा निर्वाचन अवरुद्ध नभएको दाबी गरे ।
शेर्पाले त्यसो भनिरहँदा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघकै उनीविरोधी पक्षले पत्रकार सम्मेलन गरेरै निर्वाचन हुन नदिने बताएको छ । पद्मकन्या क्याम्पसमा बहालवाला स्ववियु सभापति ज्योति पनेरुकै नेतृत्वमा निर्वाचन अवरुद्ध बनाइएको थियो । यद्यपि त्यहाँ चैत ७ गते निर्वाचन हुने भएको छ ।
त्रिविले आइतबार सबै आंगिक क्याम्पसमा पत्राचार गरी निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । तर काठमाडौंको शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस, विश्वभाषा क्याम्पस, पब्लिक युथलगायतमा नेविसंघकै कारण निर्वाचन अवरुद्ध छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेविसंघको आन्तरिक विवादका कारण निर्वाचनमा असर परेको र स्ववियू निर्वाचन अवरुद्ध बन्न पुगेको बताए ।
निर्वाचन रोकिएका अधिकांश क्याम्पसमा नेविसंघकै कारण प्रक्रिया अघि नबढेको अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले बताए ।
नेपाल ल क्याम्पस र सानो ठिमी क्याम्पसमा नेविसंघले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेका छन् भने सरस्वती क्याम्पस लैनचौरमा भने नेकपा एसनिकट अनेरास्ववियूले तालाबन्दी गरेको बताइएको छ ।
उपत्यकाबाहिरका सिद्धनाथ क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन अवरुद्ध छ । यीमध्ये अधिकांश क्याम्पसमा पनि नेविसंघकै कारण निर्वाचन प्रक्रिया अघि नबढेको अन्य संगठनको आरोप छ ।
विद्यार्थी संगठनहरु आफैँ विवाद गर्ने र आन्तरिक विवाद मिलाउन नसक्दा चुनाव प्रक्रिया अवरुद्ध बनेको त्रिविका रेक्टर डा.खड्ग केसीले बताए । पार्टीका आन्तरिक विवादमा विश्वविद्यालय प्रवेश गर्न नमिल्ने भएकाले विद्यार्थीहरू नै मिलेर आउनुपर्ने उनको भनाइ रहेको छ ।
चैत ५ गते निर्धारित मितिमा निर्वाचन हुन नसकेका क्याम्पसमा एक साताभित्र सहमतिमा निर्वाचन हुनेगरी छलफल भइरहेको केसीले बताए । चैत २० गतेभित्र निर्वाचन नभए ती क्याम्पसमा स्ववियू विघटन हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: