Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

पपुलारिटीको भोकभित्र हराएको नेपाली राजनीति

कमल भट्टराई लिखु-५, ओखलढुंगा
कमल भट्टराई लिखु-५, ओखलढुंगा

राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै गुमाउँदै गएको अनुभूति आम नागरिकले गर्न थालेका छन्। नीति, सिद्धान्त र दूरदृष्टिभन्दा माथि आज पपुलारिटी, ट्रेन्ड, ताली र जयजयकार उभिएका छन्। राजनीति अब विचारको संघर्ष होइन, दृश्यको प्रतिस्पर्धा बन्दै गएको छ।

आज नेतृत्व विचारले होइन, क्यामेराको एङ्गल, भाषणको नाटकीयता, सामाजिक सञ्जालको ट्रेन्ड र बनावटी सरलताले मापन हुन थालेको छ। को कति गम्भीर छ भन्नेभन्दा पनि को कति भाइरल भयो भन्ने प्रश्न प्रधान बन्न पुगेको छ। सत्य बोल्नु जोखिमपूर्ण हुँदै गएको छ, तर भीडले मन पराउने कुरा भन्नु सुरक्षित र लाभदायक देखिन्छ।

नीतिको स्थानमा नारा, दृष्टिको स्थानमा दृश्य

लोकतन्त्रमा नीति निर्माण सबैभन्दा केन्द्रीय विषय हुनुपर्ने हो। देशको आर्थिक मोडेल के हुने? शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, औद्योगिकरण र परराष्ट्र नीति कता जाने? तर यस्ता गम्भीर प्रश्नहरू आजको राजनीतिक बहसबाट क्रमशः हराउँदै गएका छन्। यसको सट्टा छोटा, चर्का, भावनात्मक नारा बिक्ने बजार बनेको छ।

दृष्टि होइन, दृश्य बिक्छ। योजना होइन, प्रस्तुति बिक्छ। तथ्य होइन, भावना बिक्छ।
राजनीति अब “समाधान के हो?” भन्ने प्रश्नभन्दा “कसले बढी ताली पायो?” भन्ने प्रतिस्पर्धामा सिमित हुँदै गएको छ।

प्रश्न गर्नेहरू किन शत्रु ठहरिन्छन्?

लोकतन्त्रको प्राण नै प्रश्न हो। सत्तामा बसेकाहरूलाई प्रश्न गर्न सक्ने नागरिक, पत्रकार, बुद्धिजीवी र कार्यकर्ताले नै लोकतन्त्रलाई जीवित राख्छन्। तर नेपाली राजनीतिमा प्रश्न सोध्नु अपराध जस्तै बन्दै गएको छ।

जहाँ प्रश्न उठाउनुपर्ने थियो, त्यहाँ प्रशंसा खोजिन्छ। जहाँ उत्तर दिनुपर्ने थियो, त्यहाँ स्टन्ट देखाइन्छ। जहाँ बहस हुनुपर्ने थियो, त्यहाँ चुप्पी थोपरिन्छ। प्रश्न सोध्नेहरूलाई ‘वर्ग–शत्रु’, ‘एजेन्ट’, ‘दलाल’ वा ‘प्रतिक्रान्तिकारी’को ट्याग लगाइन्छ। यसरी आलोचनालाई दमन गर्दै जाने प्रवृत्तिले राजनीति सुधार होइन, अझ गहिरो संकटतर्फ धकेलिन्छ।

देवत्वकरण र राक्षसीकरणको खतरनाक रोग

नेपाली समाज आज दुई अतिवादबीच फसेको छ .  एकातिर कसैलाई देवता बनाउने रोग,
अर्कोतिर कसैलाई पूर्ण रूपमा राक्षस बनाउने प्रवृत्ति।

नेताहरू गल्ती नगर्ने देवता होइनन्, न त सबै समस्याको जड एउटै व्यक्ति मात्रै हो। तर हाम्रो राजनीतिक चेतना यति भावनात्मक र सतही बनाइएको छ कि विवेकपूर्ण मूल्यांकन गर्ने ठाउँ नै बाँकी छैन।

इतिहास साक्षी छ—राजा आए, गए। राणा आए, गए। पञ्चायत आयो, गयो। कांग्रेस, एमाले, माओवादी—सबैको उदय र अवसानको चक्र घुमिरहेकै छ।

आज जसलाई ‘उद्धारकर्ता’ ठानिँदैछ, भोलि उसैलाई ‘धोकेबाज’ भनिने सम्भावना उत्तिकै छ। ट्रेन्ड कहिल्यै स्थायी हुँदैन।

जनता दर्शक बनाइएको राजनीति

सबैभन्दा दुःखद पक्ष के हो भने, जनता अब राजनीतिका सक्रिय भागीदार होइनन्, दर्शक बनाइएका छन्। देश रंगमञ्च बनेको छ, नेताहरू कलाकार र जनता ताली बजाउने भीड।

निर्णय माथिबाट हुन्छ, जनता तलबाट ताली बजाउँछन्। चुनावमा मत हाल्नु बाहेक जनताको भूमिका लगभग समाप्त जस्तै बनाइएको छ। नीति निर्माण, प्राथमिकता निर्धारण र राज्यको दीर्घकालीन दिशा तय गर्ने प्रक्रियाबाट जनता टाढा राखिएका छन्। यसले लोकतन्त्रलाई औपचारिक बनाएको छ, सारहीन बनाएको छ।

स्वदेशी–विदेशी स्वार्थको प्रयोगशाला

राजनीति जब विचार र आत्माबाट खाली हुन्छ, तब त्यो स्वार्थको प्रयोगशाला बन्छ। नेपाल आज त्यही अवस्थाबाट गुज्रिरहेको छ। स्वदेशी शक्ति केन्द्रहरू र विदेशी हित समूहहरूका लागि देश प्रयोग हुने थलो बन्दै गएको छ।

नेतृत्व कमजोर हुँदा, नीति अस्पष्ट हुँदा र जनताको चेतना विभाजित हुँदा बाह्य प्रभाव सजिलै हावी हुन्छ। राष्ट्रको हितभन्दा दल, गुट र व्यक्तिगत लाभ प्राथमिक बन्न पुग्छ।

इतिहास पढ्न नचाहने समाज

हामी २००७ सालदेखि २०८२ सालसम्म आइपुग्दा पनि आफ्नो राजनीतिक इतिहासलाई गम्भीर रूपमा अध्ययन गर्न चाहँदैनौं। हरेक पुस्ता नयाँ भ्रम, नयाँ नारामा बग्छ। पुराना गल्ती दोहोरिन्छन्।

हिजो पञ्चायतलाई गाली गर्दै समर्थन गरियो, पछि राजालाई गाली गर्दै समर्थन गरियो,
त्यसपछि कुनै दललाई, अहिले कुनै व्यक्तिलाई।

लगानी सधैँ शक्ति देखिने ठाउँमा गरिन्छ। तर शक्ति सधैँ स्थायी हुँदैन। इतिहास नबुझ्दा हामी व्यक्तिपूजाको चक्रमा फसिरहन्छौं।

समस्या नेता मात्र होइन, व्यवस्था पनि हो

सबै दोष नेता र नेतृत्वमा मात्र थोपर्नु सजिलो छ, तर सत्य त्यति सरल छैन। हामीले अंगालेको राजनीतिक संरचनामा पनि गम्भीर कमजोरीहरू छन्। अस्थिर सरकार, कमजोर कार्यकारी नेतृत्व, गठबन्धनको सौदाबाजी र जिम्मेवारी नलिने संस्कृति—यी सबै संरचनागत समस्या हुन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुनुले निर्णय क्षमता कमजोर बनाएको छ। शक्ति छरिएको छ, तर जिम्मेवारी केन्द्रित छैन। परिणामस्वरूप कसैले पनि पूर्ण उत्तरदायित्व लिँदैन।

अब के गर्ने?

अब प्रश्न उठ्छ   के हो त समाधान ? पहिलो, नागरिक चेतना गहिरो बनाउनु जरुरी छ।  दोस्रो, व्यक्तिपूजाबाट माथि उठेर नीतिको मूल्यांकन गर्ने संस्कार विकास गर्नुपर्छ। तेस्रो, आलोचनालाई शत्रुता होइन, सुधारको आधार मान्नुपर्छ र चौथो, इतिहास पढ्ने, बुझ्ने र त्यसबाट सिक्ने साहस गर्नुपर्छ।

राजनीति मनोरञ्जन होइन। यो देशको भविष्यसँग जोडिएको गम्भीर जिम्मेवारी हो।

 

ट्रेन्ड सकिन्छ, ताली थामिन्छ, हिरोहरू बदलिन्छन् तर देश रही रहन्छ। देशलाई सधैँ जिम्मेवार काँध चाहिन्छ । न कि क्षणिक पपुलारिटी। यदि नेपाली राजनीतिले आत्मा फिर्ता ल्याउनुपर्छ भने, त्यो आत्मा जनता, विवेक र जिम्मेवारीबाट मात्रै फर्किन सक्छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending