Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

देउवा–प्रचण्ड सम्बन्धको रामकहानी : मर्ने–मार्नेदेखि सत्ता सहयोगीसम्म

\"prachanda_deuwa\"नेपाली राजनीतिमा तत्काल निर्णय लिन सक्ने नेताका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चिनिन्छ । त्यस्तै निर्णय गर्न सक्ने क्षमताले अहिले दुई नेतालाई एकठाउँमा उभ्याएको छ । माओवादी जनयुद्धको सुरुवात देउवा प्रधानमन्त्री हुँदा भएको थियो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । २१ वर्षे यो समयावधिमा देउवा–प्रचण्डबीचको सम्बन्धमा निकै उतार–चढाव आएको देखिन्छ ।

स्वभावजन्य पृष्ठभूमि

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै आँटिला नेतामा पर्छन् । नेपाली राजनीतिमा कुनै पनि निर्णय तत्काल लिन सक्ने नेताका रूपमा दुवैलाई चिनिन्छ । पछि पर्न सक्ने प्रभावका विषयमा कुनै लेखाजोखा नगरी निर्णय लिन दुवै खप्पिस छन् । जोखिम मोलेरै भए पनि आफूलाई लागेको कुरामा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेताका रूपमा चिन्छन्, दुवै पार्टीका नेताहरू देउवा–प्रचण्डलाई । प्रचण्ड आफूलाई लागेको विषयमा प्रस्ट खुलेर कुरा गर्न रुचाउँछन्, तर देउवा अलिक ‘रिजर्भ’ बस्न रुचाउने नेता हुन् । सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यत्ति नजानेजस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् । तर, प्रचण्ड भने आफ्ना कुरा बढी जानकारी दिन चाहन्छन् । सुरुमा काम गर्ने, तर त्यसको नतिजा पछि नराम्रो आए त्यही वेला पछुताउने खालको शैलीमा दुवैमा समानता देखिन्छ ।

‘पोजिसन’ फेर्ने स्वभाव

यी दुई नेताको विगत कटुता र शत्रुतापूर्ण भए पनि राजनीतिक सम्बन्ध र यिनीहरूले राख्ने र विचार भने केही हदसम्म मिल्छन् । ‘प्रचण्डमा कुरा राखेर बुझाउन खोज्दा चाँडै कन्भिन्स हुने स्वभाव छ । कहिलेकाहीँ पोजिसन फेर्ने स्वभाव छ, तर अप्ठ्यारो र रिजिड होइन,’ कांग्रेस केन्द्रीय सदस्य डा। प्रकाशशरण महत भन्छन्, ‘तर, धेरै अप्ठ्यारो नेता होइन । अरूका कुरामा चित्त बुझ्दा आफ्नो कुरा हुनैपर्छ भन्ने पनि छैन । देउवाजी पनि मिलाएर जाऊँ, मैले जे भनेँ त्यही हुनुपर्छ नभनी अडानबाट फेरिने नेता हुनुहुन्छ ।’

देउवा–प्रचण्ड पहिलो भेट

\"prachanda_shirsha\"२०४८ सालको आमनिर्वाचनताका देउवासँग पहिलो भेट भएको प्रचण्ड बताउँछन् । ‘२०४८ सालको निर्वाचनका क्रममा संसद् उपयोग गर्ने हाम्रो नीति थियो । त्यही क्रममा देउवासँग भेट भएको हो,’ प्रचण्डले नयाँ पत्रिकासित भने, ‘त्यसवेलादेखि नै उहाँसँग कुनै न कुनै रूपमा प्रत्यक्ष, कहिले परोक्ष रूपमा छलफल हुँदै आएको छ ।’ देउवासँग द्वन्द्वकालमै पनि टेलिफोन संवाद हुने गरेको प्रचण्डले खुलासा गरे । ‘देउवाजीसँग अलि बढी शान्ति प्रक्रियामा आउने सन्दर्भमा कुरा हुन्थ्यो,’ उनले भने, ‘म दाङमा थिएँ, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, दाङबाट उहाँसँग मैले त्यतिवेला फोनमा कुरा गरेको थिएँ । शान्ति प्रक्रियाको वातावरण बनाउने क्रममा उहाँसँग दाङ जिल्लाबाट फोनमा कुराकानी गरियो, त्यो नै उहाँसँगको सम्बन्धमा आइसब्रेक थियो ।’ आफूसँग कुराकानी भएपछि नै देउवाले वार्ताका लागि उभ्याएको प्रचण्ड बताउँछन् । ‘मसँग कुरा भएपछि देउवाले शान्ति प्रक्रियाको वार्ताको पक्षमा आफूलाई उभ्याउनुभयो । मसँग कुरा गरेपछि उहाँले नेपालको एउटा बहादुर नेता प्रचण्ड हो भनेर बाहिर बोल्नु पनि भयो । त्यो सकारात्मक भनाइ बाहिर दिनुभयो र शान्ति सम्झौता गर्नुपर्छ भनेर वातावरण पनि बनाउनुभयो ।’ शान्ति वार्ताको सुरुवात भएपछि माओवादीले संविधानसभाको निर्वाचनलाई सर्त बनाएको थियो । तर, देउवाले नमानेपछि पहिलो वार्ता सफल हुन नसकेको प्रचण्ड स्मरण गर्छन् । त्यतिवेलादेखि देउवासँग राजनीतिक रूपले परिणाममुखी संवाद हुन थालेको उनले सुनाए ।

युद्धकालमा देउवा–प्रचण्डबीच भेट भएन

माओवादीले चलाएको युद्धकालमा देउवा–प्रचण्डका बीचमा भेट भएन । माओवादी नेताहरूले त्यसवेला पनि एमालेका शीर्ष नेता, अन्य वामपन्थी पार्टीका नेताहरू र कांग्रेसकै पनि कतिपय नेताहरूसँग भेटघाट र छलफल गरे पनि देउवासँग भने त्यस्तो भेटघाट हुन पाएको थिएन । त्यसो त देउवाले माओवादी नेताहरूको सबैभन्दा माथिल्लो नेतालाई भेटेको भनेको कृष्णबहादुर महरालाई नै हो । २०५८ सालमा सरकार–माओवादीबीच चलेको पहिलो वार्तामा प्रचण्डले महराको नेतृत्वको वार्ता टोली बनाएर पठाएका थिए । देउवासँग माओवादीको उच्चस्तरीय नेतृत्वले भेटेको त्यो नै पहिलो हो । त्यहीवेलादेखि माओवादी नेतृत्वले देउवासँग आवश्यकताका आधारमा क्रमशः सम्बन्ध र भेटघाट स्थापित गर्दै लगेको हो । ‘सम्बन्ध राजनीतिक उद्देश्यका कारण हुन्छ, व्यक्तिगत सम्बन्ध पनि हुन्छन्,’ महराले भने, ‘राजनीतिक सम्बन्ध भइराख्ने भन्ने हुँदैन, राजनीतिक उतारचढावसँगै सम्बन्धमा पनि उतारचढाव भइराख्छ ।’ देउवानिकट कांग्रेस नेता डा। महत पनि यी दुई नेताबीच दोस्रो जनआन्दोलनपछि पहिलो भेट भएको बताउँछन् । ‘माओवादीले ०५२ सालमा प्रधानमन्त्री देउवासमक्ष ४० बुँदे मागपत्र बुझाउँदा डा।बाबुराम भट्टराईले भेटेकाले त्यसअघि ०४८ सालतिरै देउवा र प्रचण्डबीच भेट भएको होला,’ उनले भने ।

डिनरका लागि देउवानिवास पुगिरहन्छन् प्रचण्ड

\"deuwa\"शान्ति प्रक्रियामा आएपछि भने देउवा–प्रचण्ड सम्बन्ध अलिक बढी बाक्लिन थालेको हो । खासखास अप्ठ्यारा समयमा दुई नेताहरूबीचमा बढी नै भेटघाट हुने गर्दथ्यो । कांग्रेस सभापति गिरिजाप्रसादको निधनपछि देउवा–प्रचण्ड भेट थप बाक्लिएको थियो । ‘शान्ति प्रक्रियामा आइसकेपछि उहाँसँग अलिक बढी नजिकबाट छलफल हुन थाल्यो,’ प्रचण्ड भन्छन्, ‘पछिल्लो चरणको कुरा गर्ने हो भने उहाँसँग मेरो राजनीतिक विषयको छलफल मात्र नभएर पारिवारिक सम्बन्ध पनि बढ्दै गएको छ । मेरो र उहाँको परिवारबीच आपसमा भेटघाट गर्ने, सँगै खाना खाने क्रम बढ्न थाल्यो ।’ पारिवारिक भेटघाटले पनि देउवासँग खुलेर कुराकानी गर्ने वातावरण बनेको प्रचण्ड बताउँछन् । ‘परिवारका सदस्यसँगको भेटघाटपछि उहासँग खुलेर कुराकानी गर्न सकिने, उहाँले हामीसँग कुराकानी गर्न सक्ने वातावरण बन्यो,’ देउवासँगको सम्बन्ध प्रस्ट्याउँदै प्रचण्ड भन्छन्, ‘त्यो कुराले पनि अहिले समझदारी बनाउन मद्दत पुगेजस्तो मलाई लाग्छ ।’ गिरिजाप्रसादको निधनपछि कांग्रेस सभापति सुशील कोइराला भए पनि देउवा पार्टीभित्र प्रभावशाली थिए । कतिपय विषय देउवासँगको सहमतिमा मात्र टुंग्याउन सहज हुने हुँदा प्रचण्ड उनीसँगको परामर्शलाई पनि उत्तिकै महत्व दिन्थे । देउवाले पनि प्रचण्डलाई वेलावेलामा आफ्नै निवासमा डिनरका लागि आमन्त्रण गरिरहन्थे । यी दुई नेताका बीचमा पछिल्ला केही वर्षयता पारिवारिक सम्बन्ध पनि स्थापित हुँदै जान थालेको माओवादी नेताहरू बताउँछन् । देउवाले खासखास सन्दर्भमा प्रचण्डको सपरिवारलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर डिनर खुवाउँथे । प्रचण्डकहाँ भने देउवा एकपटक मात्र खाना खान पुगेका छन् । बिहानको समयमा यी दुई नेताहरूबीच भेटघाट हुँदा चियाकफीमा मन भुलाउँछन् । तर, साँझको समयमा डिनर सँगै बसेर खान्छन् ।

लामो हुँदैन भेटघाट

दुई नेताहरूबीच राजनीतिक विषयमा खासै लामो समयसम्म कुरा हुँदैन । बिहान–दिउँसोको समयमा भेटघाट हुँदा बढीमा १५–२० मिनेटमै छलफलका विषय टुंगिन्छन् । तर, डिनरसहितको भेटघाट भए भने राजनीतिक सँगसँगै अन्य पारिवारिक कुराकानी पनि हुने गरेको बताइन्छ । देउवा सीधा कुरा गर्न रुचाउने भएका कारण छलफलका विषयमा सोही ढंगले कुराकानी गर्छन् । तर, प्रचण्ड अलि भूमिकासहित प्रस्ट पार्न खोज्छन् । कांग्रेस नेता डा। महत दुवै नेतामा राजनीतिलाई अड्काउन नहुने सोचाइ रहेको बताउँछन् । सीधा रूपमा विषय प्रवेश गरेर जटिलतालाई फुकाउन सक्ने नेताको रूपमा उनी देउवा र प्रचण्डलाई अथ्र्याउँछन् ।

सम्बन्धमा नयाँ मोड

संविधान निर्माणका वेला प्रमुख तीन दल कांग्रेस, माओवादी र एमाले एक ठाउँमा उभिएका थिए । तर, त्यो उभ्याइ साथसाथ रहन सकेन । कांग्रेस प्रतिपक्षमा बस्न पुग्यो भने एमाले माओवादीले मिलेर सरकार गठन गरे । एमाले माओवादी सरकार गठनका क्रममा तित्तता पनि जन्मँदै गयो । यसैक्रममा गत वैशाख तेस्रो साता कांग्रेस–माओवादीबीच सरकारका विषयलाई लिएर सम्बन्ध नयाँ मोडमा पुग्न थाल्यो । माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेसले सरकारमा साथ दिने आश्वासन दियो । दुई पार्टीबीच औपचारिक–अनौपचारिक छलफल पनि उत्तिकै भए । तर, त्यसवेला त्यो प्रयासले सार्थकता दिन सकेन । त्यसले दुई नेताबीच विश्वासको संकट देखिन थाल्यो । अहिले फेरि ओली नेतृत्वको सरकार ढाल्ने क्रममा देउवा–प्रचण्ड एकै ठाउँमा उभिएका छन् । दुवै मिलेर ओली नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

पहिलेका शत्रु, अहिलेका मित्र

मुलुकमा माओवादी संघर्ष सुरु हुँदा देउवा नै प्रधानमन्त्री थिए, उत्कर्षमा पुग्दा पनि उनै प्रधानमन्त्री भए । माओवादीका शीर्ष नेतको टाउकोको मोल पनि तोके । तर, २०६२–६३ को जनआन्दोलनपछि अवस्था फेरियो । दुई–दुईवटा संविधानसभा चुनावमध्ये कांग्रेस पहिलोमा दोस्रो भयो, दोस्रो चुनावमा पहिलो भयो । माओवादीले पहिलो चुनावमा पहिलो हुने अवसर प्राप्त ग(यो । दोस्रो चुनावमा तेस्रो भयो । यी दुवै दल संविधान बनाउन क्रियाशील भए । कतिपय मुद्दामा यिनीहरूबीच टसल पनि भयो । देउवा अखण्ड सुदूरपश्चिको मागमा रहे । तर, माओवादी पश्चिमका थारूलाई पनि अधिकार दिनुपर्ने पक्षमा उभियो । फेरि सन्दर्भ र अवस्था फेरिँंदै यी दुवै दल र दुवै नेता सत्ता सहयोगीसमेत बन्दै छन् । यस्तो वेला पहिलेका मर्ने र मार्ने खेलको अध्याय अब सकिएको बताउँछन्, कांग्रेस केन्द्रीय सदस्य कँडेल । ‘द्वन्द्वकालमा माओवादी आफ्नो क्रियाकलापमा थियो, हामी शान्ति स्थापनामा लागेका थियौँ, राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुँदैन भनेजस्तै अहिले फेरि कांग्रेस–माओवादी सत्ता सहयोगीसम्म हुनु परिवर्तनका लागि हो,’ कँडेल भन्छन्, ‘दुवैलाई सत्तामा आउन एक अर्को नभई भएको छैन । एक–अर्कालाई सिध्याउने होडबाजी थियो । तर, यी शक्ति एक ठाउँमा आएका छन् ।’

०५२ देखि ०६२ सालका घटना बिर्साउन नजिकिंदैँ देउवा र प्रचण्ड

एक राजनीतिक विश्लेषक देउवा र प्रचण्डबीचको विकसित सम्बन्ध र घटनालाई २०५२ देखि २०६२ सम्ममा घटनाक्रम बिर्सने प्रयत्नमा रहेको रूपमा व्याख्या गर्छन् । ‘५२ सालदेखि ६२ सालसम्म राजनीतिक, आपराधिक जे घटना भए, यी घटनाक्रम बिर्सने प्रयत्नमा दुई नेता देखिन्छन्,’ ती राजनीतिक विश्लेषक भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने छ । प्राज्ञिक, बौद्धिक र कानुनी रूपले ५२ देखि ६२ सम्मको विषय उठ्लान्, तर अब राजनीतिक रूपमा उठाउनुका कुनै अर्थ छैन भन्ने सन्देश देउवा र प्रचण्डले दिन खोजेका छन् ।’ प्रधानमन्त्री केपी ओलीको ‘चर्को राष्ट्रवाद’, तीनवटै चुनाव आफैँ गर्छु भन्ने दम्भले पनि देउवा र प्रचण्डलाई एकठाउँमा ल्याउने काम गरेको ती विश्लेषकको टिप्पणी छ ।

देउवाले प्रचण्डको टाउकाको मूल्य तोके

माओवादीले देउवालाई झन्डै एम्बुसमा पारे २०५८ मंसिरमा सरकार–माओवादी वार्ता भंग भएपछि सबैभन्दा तीतो सम्बन्ध देउवा प्रचण्डबीच नै रह्यो । देउवाले देशमा संकटकाल लगाए । माओवादीलाई आतंककारी घोषणा गर्दै नियन्त्रणका लागि आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश० मात्र ल्याएनन्, २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्यसमेत तोकिदिए । त्यसपछि इन्टरपोलले रेड कर्नर नोटिससमेत जारी ग(यो । प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोकियो । गृहमन्त्री थिए खुमबहादुर खड्का । देउवा सरकारका गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ‘जसले मारेर ल्याए पनि हुन्छ । त्यही झोलाभरि पैसा लिएर जानुस्’ भनेर सरकारको निर्णय सार्वजनिक गरे । माओवादी नेताको टाउको ल्याएकै झोलामा पैसा पनि लिएर जाने गरी तत्कालीन सरकारले घोषणा गरेपछि माओवादी देउवाविरुद्ध झन् आक्रामक हुन पुगेको थियो ।

देउवालाई एम्बुस

सत्तामा छँदा देखाएको व्यववहारकै कारण माओवादीले उनी सरकारबाट बाहिरिएपछि पनि रिसइवी साँधिरह्यो । कैलालीमा माओवादीले देउवाको गाडीमा एम्बुस राख्यो, तर देउवालाई केही भएन । उनी बालबाल बच्न पुगे । डोटीबाट फर्किंदै गर्दा देउवाको गाडीलाई लक्षित गरी एम्बुस थापिएको थियो ।

देउवाका गृहराज्यमन्त्रीलाई गोली

टाउकाको मोल तोकेको घोषणा गर्ने तत्कालीन गृहराज्यमन्त्री कँडेललाई समेत माओवादीले निसाना बनायो । ललितपुर कुसुन्तीमा १२ भदौ २०६० मा माओवादीका सात कार्यकर्ताले कँडेलमाथि गोली प्रहार गरेका थिए । ६ वटा गोली लागेर पनि उनी बाँच्न सफल भए । ‘चित्रलेखा यादवको सानेपाको घरबाट फर्किंदै थिएँ, कुसुन्ती पञ्चेश्वर मन्दिरछेउमा सातजनाको जत्थाले आक्रमण ग¥यो । दुई हतियारधारीले गाडीमा फाइरिङ गरे,’ कहालीलाग्दो सो घटनाबारे कँडेल भन्छन्, ‘१७ राउन्ड गोली प्रहार भएकोमा ६ वटा गोली ढाड, पाखुरा, काखीमा लागेर पनि बाँच्न सकेँ । अहिले पनि काखीमा एउटा गोली बोकेर हिँडेको छु ।’ नयाँ पत्रिका दैनिकमा प्रकािशित रमेश सापकाेटा र रामकृष्ण अधिकारीकाे रिपाेर्ट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE