कार्तिक १२ गते, २०७३ शुक्रवार 28th October, 2016 Fri१६:४२:४७ मा प्रकाशित
हिजोआज घुम्न रुची राख्ने युवाहरुको गन्तव्यको रुपमा मुस्ताङ्ग औधि रुचाईएको ठाउँको नाम हो । एकातिर हिमाल पारीको जिल्ला र अर्कोतिर धार्मिक छटाँले भरिपूर्ण मुस्ताङ्ग जिल्लामा पर्ने मार्फा र मुक्तिनाथ पनि त्यहाँसम्मको यात्राको लागी लालयित गराउने ठाउँहरु हुन ।
सभ्यता, संस्कृती र धार्मिक एवं पर्यटकीय रुपमा सम्मिश्रण मुस्ताङ्गको उपमा यतिले मात्रै समेट्दैन, ति डाडाँ ति पहरा, त्यो बाटो र त्यो यात्राभर केवल मान्छे शारिरिक रुपले मात्रै होईन मानसिक रुपमा पनि ‘रिफ्रेस’ हुनको लागी उचित गन्तव्य मुस्ताङ्ग हो । नेपालको एउटा प्राचिन सभ्यता बोकेर ढिंग उभिएको मुस्ताङ्गेहरु आज पनि नेपालभित्रको अर्को नेपालको परिकल्पनामा डुबिरहेका छन् । नेपालको हरेक कुनादेखी विदेशका अनेक सहरबाट एउटा मानसिक थकान मार्नको लागी शारीरिक कसरत गर्दै पुग्ने ठाउँ नेपालको मुस्ताङ्ग जिल्ला पछिल्लो समय सबैभन्दा धेरै आन्तरिक पर्यटक र उत्तिकै बाह्य पर्यटकको गन्तव्यको रुपमा नेपाल पर्यटन फाटँले लिने गरेको छ ।
सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिकमात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो, संस्कृतिको सम्मान हो अनी पुर्खाको आस्थाको धरोहर पनि हो । प्रायः बर्खेमास सकेपछि हिउँदमा पर्यटकहरु पोखराबाट उत्तर पूर्व हानिएपछि उनीहरुलाई नसोधिकनै उनीहरुको गन्तव्य थाहा पाउन सकिन्छ । अहिलेको पुस्ताले घुमाईको केन्द्रविन्दु मुस्ताङ्गलाई नै बनाउनुको पछाडी केही कारणहरु पनि होलान् । तर सजिलै भन्न सकिने के हो भने मुस्ताङ्ग नेपाली सभ्यताको प्रतिक हो, हिमालहरुलाई उभ्याएको एउटा सालिन ठाउँ हो, मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो । योबाहेक नेपालमा पनि एउटा स्वर्गको टुक्रा झरेको जस्तो देखिने ठाउँ मुस्ताङ्ग बडो सामरिक महत्वको ठाउँ पनि हो । पछिल्लो समय नेपाली चलचित्रहरु धेरै मुस्ताङ्ग र मनाङ्गकै डाडाँपाखामा सुटिङ्ग हुन्छन्, नाटक र उपन्यासहरुले यिनैलाई आधार मान्छन्, पटकथा र बृत्तचित्रहरुमा यिनै सुन्दर मुहारहरु झल्किन्छन् जसले मुस्ताङ्गमा पर्यटकहरुलाई तानिरहेको छ । हिमश्रृंखलाको रस्सास्वादन गर्न पाईने यो ठाउँमा पुगेका जोकोहीले पनि जीवनको एउटा यात्रा सम्पन्न गरेको ठान्दा हुन् ।
पेशागत रुपमै पनि घुम्नुपर्ने पेशा, अध्ययन गर्नुपर्ने पेशा, अनी रुचि पनि फकिरजस्तै घुमिरहने रुचि भएकोले हामी पनि दशैंभन्दा अगाडी मुस्ताङ्ग पुग्ने योजना बुन्यौं, व्यवस्थापन मिलायौं, मुस्ताङ्गको वृत्तचित्र हे¥यौं, एकपटक फेरी मुस्ताङ्गीका ति पाखाँ र त्यो हावाको स्पर्श गर्ने कौतुहलताले तान्यो र हाम्रो पत्रिका अकला आवाज साप्ताहिक स्याङ्गजाको टिम सहित हामी मुस्ताङ्गलाई हाम्रो गन्तव्य बनाएर हिन्यौं दशै भन्दा एक हप्ता पहिले । म्याग्दीको बेनीमा पत्रकारिताको विमर्श कार्यक्रममा सहभागि बन्ने हाम्रो सहायक उद्देश्य बन्यो किनकी त्योभन्दा महान उद्देश्य हामी मुस्ताङ्ग पुग्नु थियो । रुपन्देही, पाल्पा, स्याङ्गजा, कास्की, पर्वत, म्याग्दी हुँदै मुस्ताङ्ग जाँदा देशभित्रै पनि यत्रो आगँन छ जहाँ जतिपल्ट दौडिएपनि घुमेर सकिदैँन भन्ने मनभित्र लागिरहेकै थियो ।
पहिलो रात कुस्मामा पर्वतेली पत्रकारहरुसँगको भेटघाटमै वित्यो, दोस्रो दिन हामी म्याग्दीका अग्रजहरुसँग दाना सम्म पुग्यौं र अर्को रात हामी मुस्ताङ्ग प्रवेश मात्रै गरेनौं मुस्ताङ्गलाई मस्तिष्कमै राखिसकेका थियौं ।
हिउँदको यात्रा पनि त्यती हिलाम्य हुन्छ भन्ने सायदै सोचेका थियौ हामीले । जब हामीले यात्रा तय ग¥यौं सँगै बर्षाले पनि यात्रा तय गरेछ क्यारे हामीलाई साथ दिईरह्यो । हाम्रो यात्राको सुरुवातदेखी अन्तिमसम्म हामीलाई साथ दिईरहेने बर्षाले हामीलाई साथमात्र दिएन कच्ची सडक पुरै हिलाम्य बनायो । बेनिदेखी जोमसोमसम्मको ७३ कि।मी। कच्ची सडक र पुरै हिलाम्य सडकको यात्रा सबैभन्दा यादगार र रोचक बन्छ हाम्रा लागी मात्रै नभएर सबै पर्यटकको लागी । श्री बेनी जोमसोम सडक निर्माण कार्यगण नेपाली सेनाद्धार निर्माण गरिएको र तत्कालिन प्रधानसेनापती रुक्मांगत कटुवालद्धारा समुद्घाटन गरेको बेनी को रघुगंगाको पुललाई छोडेर जब यात्रा सुरु गरियो त्यसपछिको त्यो यात्रा यति स्मरणीय रह्यो कि सायदै ति दिन भुलिदैनन् ।
मोटरसाईकलको यात्रा दुईदुई जना, कतिपय ठाउँमा सिंगल, धेरै ठाउँमा बाईकले हामीलाई बोक्यो त कतिपय ठाउँमा हामीले बाईक बोक्यौं, तल अविरल बगिरहेको महासागरको सिक्वेल कालिगण्डकी माथी ठूला ठूला भिर र खसौ कि नखसौं भनेर सोचिरहेका बडेमानका ढुंगाहरु, विचमा गोरेटो दुई पांगा्रा सकिनसकी अट्ने बाटो, बाटोकै विचबिचमा उचालिएका ढुंगा, रिसाएर खाल्डो परेका डिम्पले गालाजस्ता बाटो, कँहि कहिँ फसाउने जाल विछ्एाझैं हिलोहरु, पुरै कपडा भिजेपनि मन भने चंगा थियो यात्राभर । कहि गाडीहरु विग्रिएर घासँ खा भनेर कोचाएजस्तो देखीने, कहि रुख लडेर माथी नजाउँ भनेजस्तो भान हुने बाटोमा मोटरसाईकले भने हामीलाई छिटो कुँद भन्ने संकेत गरेर बेतोडले यात्रा गराईरह्यो । म्याग्दीको बेनी कटेर झण्डै २० किमिको यात्रा नगर्दै डाडाँहरुमा रुख देखिन छाडिसकेका थिए, बाझो खेतजस्तै झारहरु मात्रै उम्रिएका डाडाँहरुले हामीलाई बगेको बगर उपहार दिईरहेजस्तो देखिन्थ्यो ।
खुट्टा उचालेर गरिएका यात्राका बीचबीचमा टेण्ड र त्रिपालमुनी बसेका चिया व्यापारीहरु हाम्रा साथी बनिसकेजस्ता हुन्थ्ये । तल ठुलै आन्दोलनमाजस्तो आवाज निकालेर बगिरेको कालिगण्डकीको बेगलाई बेतोड बनाउन सहायता गर्ने फुच्चे नदिहरुले बाटोलाई चिर्दै झरीरहेका थिए । विचमा पर्ने फुच्चे झरनाले बाटोमा हिड्ने यात्रीहरुलाई जबरजस्ती नुहाईदिन खोजेजस्तै गर्थे तर धेरै यात्रीहरु भने त्यही झरनामा भिजाईको प्रवाह नगरी तस्वीर कैद गरेर झरना चोरेर लैजादा पनि झरनाले कसैप्रति गुनासो गरिरहेको थिएन । बाटोमा बाईक लडेको पटक याद गर्न निकै कठिन छ, सौभाग्य यत्ति हो कि लड्दा पनि कुनै चोटपटक लाग्दै लागेन किनकी मनभरी मुस्ताङ्ग पुगेर थकाई मार्ने दरो चहाना छदै थियो । यति नै पटक लडियो र बाईक उठाईयो अनी हिडियो जब महान लक्ष्य बोकेर हिडेकामान्छेहरु साना साना कुरामा अल्झन्न तब बल्ल पासाङ्ग बन्छ भन्ने हाम्रो विचार थियो । लड्नसाथ फर्केका भए तेन्जिङ्ग र पासाङ्गहरुले सगरमाथामा कहाँ खुट्टो टेक्थे र भन्ने दृढता हामीमा थियो नै । पानिले हाम्रो ओजनलाई झण्डै ५ किलो थप अपर दिएको थियो, हिलोले पनि २ किलो पक्कै दिएको हुँदो हो, जब हामी म्याग्दीको विचभागतिर पुगियो त्यहाँ पर्ने बेगखोलाको कहाँनी पनि रोचकै छ । एउटा खोला छ जुन खोला कालिगण्डकीमा मिसिनको लागी बेतोडले दौडन्छ हाम्रो यात्रामा त्यसलाई तर्नुपर्ने हुन्छ ।
झण्डै महिनादिन अगाडी ४ जनाको मृत्यु, ७ घरहरु बगाएको त्यही बेगखोला अझैं बौलारहेको रहेछ, ढुंगा र माटोसँगै बग्ने बेगखोला नकटी मुस्ताङ्ग टेक्न नपाईन कट्न बडो मुस्कील हुने, यात्रामै दुई जना मान्छे र एक बाईक कालिले पचाईसकेको रहेछ । ट्याक्टर सिण्डिकेट भएको एउटा नमुना त्यहाँ देखियो र ट्याक्टर व्यवसायीहरुले राम्रो मुनाफा कमाएका रहेछन् झण्डै १० मिटरको एउटा बाईक पारी तारेको ठ्याक्कै १ हजार । यसरी एक दिनमा झण्डै १०० वटा बाईक औसतमा तारेभने उनीहरुले एक दिनमै एक लाख कमाउँछन्, र १ महिनामा ३० लाख र ६ महिनासम्म खोलाले साथ दियो भने उनीहरुको कमाई झण्डै अढाई करोड पुग्छ । हामीले भनसुनपछि झण्डै आधा नाफामा बाईक खोलाबाट ट्याक्टरको सहायतमा कटायौं । त्यसपछिको महभिर र मौरीभिरले हामीलाई औधि तर्सायो, तल भोकले गर्जिजस्तो लाग्ने काली र माथीबाट घरी घरी ढुंगा खसेर तर्साउने भिरहरुले हामीलाई तकदिरमै प्रश्न उठाईरहेथे । ति त्यस्ता गोरेटोमा पनि ट्याक्सी, कार, जीप भ्यान, बाईक, साईकल, गाडी, डिलक्स, ट्रक, १८ चक्केसम्मले हामीलाई उछिन्दै हर्न बजाउँदा हामीलाई गिज्जाएको भान पनि हुन्थ्यो ।
हामी विध्नहरुलाई चिर्दै चिसो मन लिएर तातोपानी कुण्ड पुगिसकेपछि भने एकपटक फेरी रिफ्रेस भएको अनुभूत भयो । भुरुङ्ग तातोपानी ९, म्याग्दीमा पर्ने प्राकृतिक तातोपानीलाई हस्तक्षेप गर्दै त्यहाँ मानवनिर्मित केही हर्कतले तातोपानी कुण्डको महत्व जोखिममा थियो । कुण्डकै आडँमा रहेको टपअफ रेष्टुरामा खाना खाएर तातोपानीको तापलाई शरिरले स्पर्श गर्दै झण्डै आधा घण्टासम्म पुरै तातोपानीसँग डुविरह्यौं हामी, हामीसँगै धेरै मान्छेहरु पनि डुबे तातोपानीको ताप मा । कहिलेकाही जाडो भएर शरिर लुग्लुग्ती कामेपनि तातोपानीलाई सम्झिएपछि शरीरमा छुट्टै उर्जा आईराख्छ अहिले । तातोपानीपछि हाम्रो यात्रा म्याग्दीको दाना गाविसमा पुग्यो त्यहाँको स्थानीयसँग भलाकुसारी गर्दै पर्यटकीय यात्राको विचमा पर्ने यी छोटाछोटा ठाउँका मोटा कहानीसमेत हामीले क्यामेरामा कैद गरिह्यौं ।
ज्यान थकित थियो तर एकाविहानै दानाबाटै देखिएको छानाजस्तै हिमालले हामीलाई थप उर्जा दियो र बोलाएजस्तै आभास बनाईदियो उतिरै । हाम्रो यात्रा अविरल बगिरेको गण्डकीको विपरित भएपनि गण्डकीसँग सँगै बगेको आभास भैरहेथ्यो । दानाबाट नजिकै पर्ने रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो । माथीबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिएजस्तै उसको तस्वीरहरु चोरिरह्यौ । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्को रमाईलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथीपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिएजस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल उर्जाहरु भरिदियो । अब यात्रा मुस्ताङ्ग जिल्ला प्रवेशको थियो । बगरै बगर, चारकोषे झाडी र चुचुरोमा हिमाल त्यसैबाट बगेका सानासाना झरनाहरु बादलमाथी पुगेको जस्तो हुन थाल्यो बीचमा चिया खुवाउन प्रतिक्षा गरिरहेको गुरुङ्ग र शेर्पाहरुलाई हामीले मनग्य समय दियौ, हरियो पहाडबाट सिन्दुर बनेर बगेको सेतो झरनाले दृश्य हेर्नलायक बनाउँथ्यो उतिबेलै ।
अब बल्ल हामी मुस्ताङ्ग पुगेजस्तो लाग्न थाल्यो । घासाँ पुगेर बाईक नं। दर्ता गर्न बसेका प्रहरीसँग केहीबेर झलाकुसारी गरेपछि हामी उक्ल्यिौं, हाम्रो अबको यात्रा लेतेसम्म पुग्नु थियो सँगै पुग्नु थियो मार्फा । न बन जंगल, न चारकोषे झाडी, न झरना, न पहरा, सबै छोडेर हामी पोथ्राहरुसँग बात मार्दै थुलाम्य बाटो र बगरको बीचबाट यात्रामा निक्ल्यौं । तर यसबीच पनि टाढाटाढा सम्म देखिन ति हिमदृश्यले भने हामीलाई गिज्याएजस्तै भयो । मुस्ताङ्गको लेते पुगिसकेपछि हामीलाई बाटोको केही सहजता प्राप्त भयो, त्यहाँका बुद्धिजिवीहरुसँग केहीबेर गफिएपछि हामी मार्फा आईपुग्यौ । मार्फासम्म आउँदा पेटले चियाको चुस्कीबाहेक केही फेला पारेन, तर जब मार्फामा आएर ति रुख्खा पहाडको फेदीमा हरियो रुखमा स्याउँका दानाहरु देखियो अनी बल्ल नेपालको नेपालभित्रै पसेजस्तो लाग्यो । ति मार्फा गाउँको स्याउँको बगैचाँ, ति स्याउँका दाना, त्यो रुखो डाडालाई पनि हराभरा बनाएजस्तो लाग्यो । हरियो पातबाट छेलिएर ति स्याउँहरुले हामीलाई लुकिलुकी हेरिरहेका थिए र क्यामेरामा आउँन तछाडमछाड गर्दै थिए स्याउँहरु, स्थानीय सुरेन्द्र हिराचनसँगको एउटा स्याउँको खेती विषयक अन्तरक्रिया गर्यौं, नेपाली बजारमा स्याउँले नपाउने बजार अहिले यातायातको सुविधाले स्याउँ लिन घरमै आउने गरेको प्रतिक्रिया आम जनताको थियो ।
गोल्डेन स्याउ र लोकल स्याउँ कुहिएकाहरु बोरामा थियो, सफाहरुले कार्टुन भर्दै थिए, केही असामान्य स्याउँहरु अल्कोहल बनाउन डोकोमै थिए ।मनग्य स्याउँ खान हामीलाई बगैचाँ सुम्पने ति मार्फाबासीहरु पनि हाम्रो यात्राको क्रममा धन्यवादका पात्र हुन् । मार्फालाई फर्कदा मनग्य भेट्ने बाँचा सहित हामी जम्मा ७ किमि टाढा रहेको जोमसोम हानियौं बाटोका ति कैदवाला तस्वीरमा आएका विदेशी पर्यटकका सेतो छालाहरुमा टासिएको नेपाली धुलो त्यतिबेला निकै लचकदार लाग्थ्यो । त्यति धेरै गाडी चल्दासमेत पर्यटकहरु १० बर्षदेखी ९० बर्षसम्मका पर्यटकहरु पैदल यात्रा गरीरहे, लौरो र गाईडको सहारामा । मुस्ताङ्गको सदरमुकाम जोमसोम गाविसमा पुगेपछि त्यहाँको उपत्यकालाई निकै बेल नियालिरह्यौ, ति पाखा पखेरा, त्यो खोला, त्यो धुलाम्य गाडीभित्र बसेका शेर्पा र मुस्ताङ्गबासीहरु, मुखभरी धुलो लिदैं पर्यटकको भारी बोकिरहेका ति बासिन्दाहरुसँग कत्ति पनि गुनासो थिएन उनको पसिनासँग, थियो त केवल अझैं धेरै गह्रौ भारी बोक्ने लक्ष्य । जोमसोमका गाविस सचिवलाई त्यहाँ भेट्न नपाएपनि ट्राफिक प्रमुख हाम्रै साथी भएको हुँदा हामीलाई जोमसोमका रमणीय स्थलहरु घुम्न खासै गाईडको आवश्यकता परेन ।
जोमसोमको विश्रामपछि हाम्रो यात्रा कागबेनीतिर सोझियो । दुई वटा विशाल नांगा पहाडको साधँ बनेर बगेको बगरको विचविच हाम्रो मोटरसाईकलहरु कतिबेला पुगौ भनेजस्तो गरी सोझिएर दौडिरहेका थिए , प्रेम गित फिल्मको नायकजस्तो अनुभूत भैर्हयो हामीलाई पनि त्यहाँ बाईक चलाउँदा । अध्यात्मबादीहरुले विश्वाश गर्ने गरेको स्वर्गको एउटा टुक्रो नेपालकै मुस्ताङ्गमा झरेको हुँदो हो त नपत्याउन कसैलाई बाध्य थिएन । अब कागँबेनीको एउटा बेनी पुगियो । सानो गाउँमा पनि यति ठूलो सभ्यता देखिदो रहेछ भन्ने उच्च नमुना थियो कागँबेनी माथिबाट बगेको थोराङ्ग हिमालको झरना र तलतिर बगेका गण्डकीका शिरको विचबाट हामीलाई कागँबेनीमा स्वागत गर्ने प्रहरी असई पदम कार्कीले यसको महत्व बताईरहे ।
कागँबेनी रहँदा केही नदेखिएपनि जब काँगबेनीमै हामीले बाईक राखेर पैदल यात्रा गर्दै शिरसम्म पुग्यौ तब देखियो काँगबेनी अनी भनिरहन मन लाग्यो कहिल्यै नछोडियो यो ठाउँ, एउटा सभ्यताको प्रतिक, नाँगा डाडाँहरु, पोथ्रासँग कुरा गरेजस्ता देखिने भेडा च्याङ्गग्राहरु र टाढाटाढा पुगेका चौरीहरुले हामीलाई स्वागत गरिरहेको थिए, ति के खाईरहेका हुन ति चौरीहरु देखिएन तर कतिबेलै पनि भुईबाट शिर ठाडो नगरिकन झुकाईरहे हामीलाई स्वागत गरे या आफ्नै धुनमा चरे त्यो उनीहरुलाई नै थाहा होस् । जब हाम्रो यात्रा डाडातिर उक्लियो तब हावाले हामीलाई नआईज भनेजसरी घुच्याईरह्यो तलतिर तर हामीले त्यो हावालाई स्पर्श गर्दै यात्रा भने चढिरह्यौ पदयात्री बनेर उकालिमा । पात पहेला भएका केही रुखहरु, लटरम्म फलेका स्याउँहरु, स्योस्यो र ¥याङ्ग याङ्गगर्दै बोलिरहेका चौरीहरु, हिंहिंहीं गरिरहेका ति घोडा र खच्चरका धुनहरु, याकका बच्चाहरु, भारी बोक्न मागिरहेका गधाका बच्चाहरुको लामको बीचबाट माने घुमाउँदै ओम मेने पेम हुँ भन्दै मन्त्राणी बनेका भिक्षुका बीचमा हाम्रो यात्रा खुट्टालाई सकस भएपनि मलाई उर्जा र उत्साह नै थियो ।
पितृको नाममा बनेका ति मठहरु, ढुंगामा लेखिएका ति मन्त्रहरु र चौरीको दुधको चियाको स्वाद लिएर हामीले घोडामा यात्रा गर्ने जमर्को ग¥यौ । स्याउँबारीको बीचमा हिडेका ति शेर्पा, गुरुङ्गका छोराछोरीहरु, र त्यो दृश्य देख्दा कहिल्यै फर्कर नजाउँजस्तै लागिरहेथ्यो हामीलाई पनि । घोडामा चढेर हामी मुक्तिनाथ मन्दिरको छेऊछाऊसम्म पुग्दा कर्मा शेर्पा हामीलाई लिन बाटैमा आईपुगे, उनी हाम्रो पत्रकारिता यात्राका साथी पनि हुन्, उनी भएपछि हामीलाई खान बस्न र पर्यटक बन्न अब गारो थिएन । मुक्तिनाथ को बरपर पुगेर ति गुम्बाहरुको तस्वीर खिच्दा छुट्टै ठाउँमा पुगेछुजस्तो भएको थियो । ति ढुंगा र बगरमात्रै भएका रुखा पहाडहरु पनि यति मायालाग्दा थिए कि उनीहरु निरिह बनेर कुरेर बसरिहेका थिए पर्यटकहरुलाई । कयौंको क्यामेरामा भरिएपनि उनीहरु हास्न सकिरहेका थिएनन् । शेर्पाका छोराछोरीहरुको हालत पनि उस्तै थियो, जाडोमा बख्खु लगाएर वरपर गरिरहेका ति बच्चाको फोटो देखाएर अमेरिकामा आईएनजिओसँग पैसा असुल्ने धेरै पत्रकार पुगिसकेकोले पनि होला त्यहाँको बच्चाहरु अचेल फोटा खिच्दा त्यति खुसी देखिन्नथे ।
अब मुक्तिनाथ मन्दिरको आसपासमै बसेर धौलागिरी र अन्नपुर्ण र थोराङ्ग हिमाललाई नजिकैबाट स्पर्श गरेको अनुभूत भयो मनमा । त्यहाँबाट अझैं दुई दिनको यात्रामा थोराङ्ग पुग्ने तिब्र चहाना मनभरी हुँदहुँदै पनि पुरा हुन सकेन । घोडामा चढेर मन्दिरमा पुगेर त्यहाँको पुरातत्व, संस्कृति र सभ्यताबीचको सौरम्यताको अध्ययन गरेपछि हामी त्यहिको ज्वालामुखी माई हुँदै मुक्तिनाथका हरेक कुनामा पुगियो । बौद्ध धर्मालम्बीहरुको माने पनि त्यहाँ छ, हिन्दु धर्मालम्बीहरुको शंख घन्टी पनि त्यहाँ छ, हिमालबाट झरेका १०८ गौमुख धाराको पानीमा नुहाउने प्रचलन र मुक्तिधाम अगाडीको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं । ढुंगाहरुको पर्खालका बीचको यात्राले हामीलाई मुक्तिनाथमा पुगेको आभास दिलाउथ्यो त्यहाँ लामा गुरुदेखी पुजारीसम्मको मिलनले धार्मिक सहिष्णुताको एउटा प्रतिकको रुपमा मुक्तिनाथलाई बुझ्न भनिरहेथ्यो । मोटरबाटो मन्दिको गेटसम्मै पुग्छ, बाईक लैजानेहरुलाई तलको यात्रा जति कठिन छ त्यति सजिलो माथिको यात्रा पनि छ भन्ने ज्ञात हुनुपर्छ । हिमालसँग नजिकै बसेर धेरै बेर मौन कुरा गरेपछि हामी थाईल्याण्डका पत्रकार मित्रहरुसँग डिनरमा सहभागी बन्यौं । त्यहाँ दर्शनार्थीको भीडलाई हामीले छोडेर, सामान्य अध्ययनपछि हामीलाई त्यहाँको व्यवस्थापन बारे समितिकै शेरमान लामाले बताएपछि हामी मुक्तिनाथलाई त्यही छाड्यौ र अगाडी बढ्यौं ।
नेपालको नमुना उपर मुस्ताङ्ग पुग्ने योजना निर्धारित कार्यक्रमले गर्दा पुग्न नसक्ने भएपछि हामी फेरी उही बाटो लाई साक्षी राख्दै यात्रालाई त्यही टुङ्गाएर हामी फर्कियौं । बाटोमा छुटेका केही मनोरम दृश्यहरुलाई कैद गर्दै हामीहरु एकपटक फेरी मुस्ताङ्गलाई भेट्ने र उपर मुस्ताङ्ग पुग्ने सर्तमा त्यहाँबाट मुस्ताङ्गी मनहरुलाई धन्यवाद दिदैं फर्कियौं ।
सडकको केही असुविधा, ट्रेकिङ्ग रुचाउँनेहरुलाई पुरानो टे«क बाटो, घुम्नैपर्ने लेते, मार्फा, जोमसोम र कागँबेनी, अनी जोमसोमबाट दक्षिणतिर पर्ने रुम्बा ताल, त्यहाँको डाडाहरुको सभ्यता, त्यहाँको मान्छेको जीवन, त्यहाँका विद्यालयहरुको अवस्था, शिक्षा, राजनीति र स्वास्थ्यपोचारको अवस्था लगायतको अध्ययन पछि हामी जहाँ पुग्यौं र जहाँ पुग्नुपर्ने हो त्यो निकै सर्वोत्कृष्ट गन्तव्य भएको निष्र्कष निकाल्यौ । त्यो एउटा धार्मिक यात्रामात्रै थिएन त्यो त संस्कृतिको अध्ययन र नेपालको आन्तरिक पर्यटकलाई बढवा दिने हाम्रो सिद्धान्त पनि थियो । मानसिक रुपमा रिफ्रेस हुन र हिमाल पारीका जिल्लाले कसरी जिवन चलाईरहेछन त्यो बुझ्न एकपटक पुग्नैपर्ने नेपालीको गन्तव्य निर्विकल्प मुस्ताङ्ग हो ।
यात्राको संस्मरणमा लेखिएको लेख डुम्रेको अध्ययन फिचर हो ।
फोटो : शिव डुम्रे
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: