कार्तिक १३ गते, २०७३ शनिवार 29th October, 2016 Sat१२:४०:१३ मा प्रकाशित
[caption id=\"attachment_99193\" align=\"alignleft\" width=\"629\"] नरमायाँ तामाङ छोरा चन्द्रमानको तस्विर देखाउँदै[/caption]
काहुले–४ नुवाकोट बस्ने बुद्धिबहादुर तामाङको घरमा २०५९ मंसिर १२ गते विहान झिसमिसेमै एक हुल सेना आए । ‘माथि डाँडाडमा माओवादी मारेको छ, लाश पुर्न बेल्चा, कोदालो बोकेर हिड्नुस्’–उनीहरु मध्येको एउटा सैनिकले भन्यो । गाउँको आफ्नो तीन रोपनी पाखोबारीबाट गुजारा चलाउँदै आएका बुद्धिबहादुर सेनासँगै उकालो लागे ।
माथि वालागाउँ भन्ने कुलो छेउमा रहेको घटनास्थल पुग्दा उनलाई थाहा भयो, मारिनेमा आफ्नै १६ वर्षीय छोरा चन्द्रमान तामाङसमेत रहेछन् । ‘बाबु त्यो देख्ने वित्तिकै रोएर बेहोस भयो,’ चन्द्रमानकी ४० वर्षीया आमा नरुमायाँ तामाङले भनिन् । अरु गाउँले पनि भेला भए । एउटै गाउँका पाँच जना युवाको हत्या भएको देखेरे पूरै गाउँ एक साथ शोक र आक्रोशमा डुब्यो ।
‘मलाइ त सेना गइसकेपछि मात्रै थाहा भयो,’ घटना भएको ८ वर्षपछि नरुमायाँले बताइन्, ‘रोएर जिउ छाडेपछि मलाइ पनि गाउँलेहरुले त्याहाँ लिएर गए ।’ पछि गएर अघिल्लो रात मारिएका पाँच जनाको नाम सार्वजनिक गरियो । उनीहरु थिए– १४ वर्षका कान्छामान तामाङ, १५ वर्षका चोक्ता तामाङ, १६ वर्षका चन्द्रमान तामाङ, १७ वर्षका जीतबहादुर तामाङ र परिमान तामाङ ।
मंसिर ११ गते साँझ घटनास्थलबाट ४५ मिनेटमा हिडेर पुगिने गुम्बाडाँडामा केही समयअघि दिवंगत भएका पुर्को तामाङको घेवा हुँदै थियो । घेवा तामाङ जातीले मृत्युको १३ दिनपछि तीन दिनसम्म मनाउने मृत्यु संस्कार हो ।
८५ वर्षे पुर्को तामाङ वालागाउँमा मारिएका कतिपय ती युवाहरुका हजुरबुवा पर्थे । झण्डै शतप्रतिशत तामाङ रहेको त्यस गाउँमा बस्ने पुर्कोका आफन्तहरु चमक, कोदो, रक्सी र पैसा बोकेर घेवाको अन्तिम दिन त्याहाँ भेला भएका थिए ।
‘करिब पाँच सय जति भेला भएका थियौं,’ मृतक परिमानका दाजु कालुमान तामाङले सुनाए, ‘भोलिपल्ट पाँचै भाइ गाउँ छाड्दै थिए ।’ जीतबहादुर काठमाडौंमा दैनिकी ज्यालादारी काम गर्थे भने पाँच कक्षा पढेर छाडेका परिमान पोखराको एक पसलमा सहयोगी थिए । चन्द्रमान, चोक्ता र कान्छामान स्थानीय पञ्चलिंग निमाविमा क्रमशः ८,७ र ६ कक्षामा पढ्थे । ‘मैले परिमानलाई त्याहाँ भेटेको थिएँ,’ कालुमानले बताए ।
त्यसअघि कहिल्यै पनि सेना सेना गस्ती गर्दै त्यस गाउँमा पाइलो टेकेको गाउँलेहरुलाई हेक्का थिएन । तर मंसिर ११ गते झण्डै २ सयको संख्यामा सेनाको गस्ती डाँडागाउँबाट अर्को गाउँ भाल्चो जाने योजना स्थगित गर्दै उनीहरुले त्यहीँ सेन्ट्री बस्ने निधो गरे । कालुमानकाअनुसार सैनिकहरुले वालागाउँ भन्ने कुलोदेखि अलि मास्तिरको घरबाट २० लिटर रक्सी लिएर गए र नजिकैको खेतमा पाल टाँगेर बसे ।
राती १ बजे १५जना युवाको समूह घेवाबाट घर जान हिड्यो । सेनाको गस्ती गाउँमा आएकोबारे उनीहरु बेखरबर थिए । टर्चलाइट र राँकोको भरमा हिडिरहेको त्यो समूहबीच बाटोमा घर हुनेहरुलाई छाड्दै अघि बढ्दै थियो । उक्त समूहमा केही महिलासमेत रहेकाले उनीहरुलाई घर पुर्याउँदै युवाहरु अघि बढ्दै थिए ।
लारावाङ भन्ने ठाउँनेर आइपुगेपछि ७ जना युवक बाँकी रहे । तीमध्ये दुई जना त्यहाँबाट सोझै आफ्नो घरतिर लागे । बाँकी ५ जना डाँडैडाँडाको बाटो ओरालो झरे । अचानक राती १ः ४५ बजे गोली पड्केको आवाज आयो । त्यसको १५ मिनेटपछि फेरि गोली चल्यो । पहिलो फायरिङमा चन्द्रमान, चोक्ता र कान्छामानको ज्यान गएछ, दोस्रोमा परिमान र जीतबहादुरको । चार जनाको लाश लस्करै कुलोमा भोलिपल्ट फेला परेको थियो । अर्को एक जनाको लाश गहुँ खेतमा लडेको पाइयो । कालुमानकाअनुसार चन्द्रको छातीमा, परिमानको खुट्टामा, जीतबहादुरको भुँडीमा, कान्छामानको निधारमा र चोक्ताको दायाँ खुट्टामा गोली लागेको थियो ।
त्यसअघि त्यस्तो घटना नभएको गाउँमा ५ युवाको हत्याले सबैलाई मर्माहत बनायो । सेनाले रक्सी लिएर गएको घटनास्थल छेउको घरमा मानिसहरु घरै छोडेर भागिसकेका थिए । बिहान साढे १० बजेसम्म पनि लाश सेनाले आफ्नो नियन्त्रणमा राख्यो । सेना हिँडेपछि मात्र आफन्तहरुले मृतकका शरीर हेर्न पाए । सबैजना शोकमा डुबेका थिए । दिउँसो अबेरमात्र लाश जलाउन नजिकैको दोङलेडाँडा लगियो ।
‘दुई तीन सय गाउँले भेला भएका थिए,’ कालुमान सम्झिन्छन् । स्कुल बन्द भयो, शिक्षक विद्यार्थी सबै घटनास्थल गए । लाश जलाउन थालियो । तर, जलाएर नसक्दै सेनाबाट ‘त्यहाँ नबस्नु भन्ने खबर आएकाले मलामीहरुले अधुरै छाडेर हिँड्नुपरेको कालुमान बताउँछन् । ‘भोलिपल्ट घरघरबाट दाउरा लगेर जलायौं,’ उनले भने ।
नुवाकोटको त्यस विकट र अविकसित गाउँमा भएको घटनाले चर्चा पायो, तर झण्डै दुई सातापछि मात्रै । २०५९ मंसिर २५ गते कान्तिपुरमा ‘स्कुले किशोर मारिएको दाबी, क्षतिपूर्ति माग’ शीर्षकमा छापियो । तर घटनालगत्तै रक्षामन्त्रालयले मंसिर १३ गते जारी गरेको विज्ञप्तिमा भनेको थियो, ‘काहुले इलाकामा सुरक्षाफौजको अस्थायी सुरक्षा वेसको पेरिमिटर इलाकामा केही ब्यक्तिहरुलाई शंकास्पद गतिविधि गरेकाले सुरक्षा सेन्ट्रीको कारबाहीमा पाँच शंकास्पद ब्यक्तिको मृत्यु भयो ।’
एक जना चिनेको सैनिकले ‘अन्योलमा पर्यो, तपाइँहरुको भाइ परेछ’ भनेर गल्ती स्वीकारेको कालुमान बताउँछन् । तर, पीडित परिवार चुप लागेर बसेन । मंसिर २५गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा क्षतिपूर्ति पाउँ भनी निवेदन दिए । त्यसपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)बाट समेत छानबिनका लागि प्रतिनिधि गाउँ आएको उनी बताउँछन् । ती निर्दोष युवाहरुलाई ‘हाम्रो पार्टीका हुन्’ भनेर माओवादीले पनि दाबी गर्न नसकेको उनको भनाइ छ । कालुमानकाअनुसार सैनिक मुख्यालयलेसमेत पत्रकार सम्मेलन गरेर त्यो घटना गल्तीले हुन पुगेको जनाएको थियो ।
कलुमानको भनाइमा घटनापछि माओवादीले हस्तक्षेप गर्ने प्रयास गर्यो । ‘पैसा लिन सदरमुकाम जाँदा पैसा नलिनु भन्थ्यो,’ उनले बताए । गाउँकै दुई तीन जना माओवादी र बाहिरका तीन चार नजाले त्यसो भनेको उनी बताउँछन् । ‘हामी यताबाट त्रिशुली जान नसक्ने’ नरुमायाले भनिन् ।
त्यसबेला मुलुकमा द्वन्द्व उत्कर्षमा पुगेको थियो । २०५२ फागुन १ गतेदेखि शुरु गरेको सशस्त्र युद्धमा परी ४ हजार ३ सय ९४ जनाले ज्यान गुमाइसकेका थिए ।
मुलुकका तीन जिल्लामा सानातिना आक्रमण गरेर शुरु गरेको जनयुद्ध मेचीदेखि महाकाली फैलिसकेको थियो । माओवादीविरुद्ध लड्न सरकारले छुट्टै सशस्त्र प्रहरी बलसमेत गठन गरिसकेको थियो । घटनापछि गाउँलेले उजुरी गरे पनि केही दिन त्रासको वातावरण रहेको कालुमान बताउँछन् । २०६१ सालमा प्रत्येक मृतक परिवारले एक लाख रुपैयाँ पायो । ‘एक लाख पाए पनि दुई लाख पाए पनि आफ्नो छोरा छैन ।’ नरुमायाले भन्छिन् । त्यो पैसा ऋण तिर्दातिर्दै सकिएको उनी बताउँछिन् ।
काहुलेको घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय चासो पायो । तत्कालिन शाही नेपाली सेनाले उसको मानवअधिकार सेलका सेनानी पंकज कार्कीसहित तीन सदस्य टोली गठन गर्यो । सो टोलीले गाउँका झण्डै ६० जनासँग सोधपुछ गरेको थियो ।
(मिडिया फाउण्डेशनद्वारा प्रकाशित पुस्तक घाउमा मलमबाट)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: