चैत्र ३० गते, २०७१ सोमवार 13th April, 2015 Mon०८:०८:२९ मा प्रकाशित
बिहीबार अपराह्न । ५ बजेको थियो । म गोंगबु चोकबाट थोरै अगाडि, रत्नपार्क जाने रुटतर्फ दायाँपट्टि टक्क अडिएँ । अफिस छुट्ने समय भएकाले चहलपहल बाक्लिँदै थियो । मेरो नजर त्यसै रुटभएर चल्ने माइक्रोबसमा डुलिरहेको थियो । पर बानियाँटारतिरबाट एउटा माइक्रो स्पिडमा आयो । मेरै अगाडि झ्याप्प रोकियो । रत्नपार्क...रत्नपार्क... सुन्धारा... आरएनएसी... जाने हो सर ?.... सिट खाली छ.....
सानो फुच्चे सहचालक भाइ मलाई तानेरै गाडीभित्र राखौंलाजस्तै गरी आग्रह गर्दै थियो । हुन त यो सहचालकको दैनिकी नै होे । चढ्न इन्कार गरें मैले ।
१२–१३ वर्षको, सानो कद, छोटो–कैलो मुन्द्रे कपाल । गहुँगोरो वर्णको भाइ । मुखको मास्क अलि तल सारेर अझ जोडले आग्रह गर्दै थियो– ‘सर बसौं न ! म तपाईंलाई अगाडिको सिट मिलाइदिन्छु ।’ पुनः इन्कार गर्दै मैले रत्नपार्क जाने आफ्नो कामै नभएको संकेत दिएँ । तर, पछि ऊ पनि गएन । उसको सट्टामा गयो अर्कै फुच्चे भाइ ।
मलाई हेरर फिस्स हाँस्यो ऊ । जवाफमा म पनि हाँसें तर बोलिनँ । ऊ बच्चैदेखि चुरोट–खैनीको अम्मली हुनुपर्छ । उसको दाँतले त्यही संकेत दिन्थ्यो ।
गाडी हिँडिसकेपछि भाइले अलि परको पसलमा तीन पाकेट खैनी किन्यो । एक पाकेट मुखमा राख्यो र दुई पाकेट अरु दुई जनालाई दियो, सायद उसका साथी हुनुपर्छ तिनीहरु । निक्कै बेरदेखि मैले उसका गतिविधि आँखामा कैद गरिरहेको थिएँ । उसका गतिविधि नियालेपछि म उसको दिनचर्याबारे जान्न उत्सुक भएँ । खलासी पेशा नै हेपिएको पेशा, सबैले तुच्छ ठान्ने, विरसिलो, रुखो, सोमत नभएको, तल्लो स्तरको... यस्तै–यस्तै विशेषण र उपमा भिराएका छन्– ठूलाठालु भनाउँदाहरुले । मलाई त्यही विरसिलो भाइको जीवनबारे जान्न मन लाग्यो ।
सोचें– पेशा आफैंमा ठूलो र सानो हुँदैन । सबै मानिस आ–आफ्नै ठाउँमा ठूला हुन्छन् । कामको आधारमा विभेद गर्नु अन्याय हो । कामकै आधारमा विभेद गर्नु त ठूलो सामाजिक अपराध हो । वास्तविक अपराधी वा तल्लो स्तरको व्यक्ति त त्यो हो, जो आफू काम गर्दैन, अरुको श्रम–पसिनामा लुट मच्चाइरहेको हुन्छ; सयौं श्रमजीवीको सपना खरानी बनाउँदै महलमा आफ्नो सपना सजाइरहेको हुन्छ । सोचें– समाजले ठूला भनेकाहरु पैसा, पावर, पहुँच भएका व्यक्तिहरु अखबारमा ‘ब्यानर न्युज’ बन्छन् । त्यसैले मैले श्रमजीवी, जो श्रममा विश्वास गर्छ, उसैको जीवनको कथा जान्न किन नखोज्ने ? ऊ पनि यसै समाजको सदस्य हो । जन्मँदा प्रकृतिले कसैलाई ठूलो र कसैलाई सानो बनाएर पठाएको पनि त होइन । यो त समाजले जबर्जस्त थोपरेका कुसंस्कार हो; आडम्बर हो !
मनमा धेरै भावनाहरु बग्न थाले । धेरै सोचविचार गरेर अन्त्यमा सहचालक भाइसँग साथी बन्न चाहें । तर, साथी बनाउने कसरी ? वास्तविक परिचय खोल्दा सूचना लुकाउने डर, परिचय लुकाउँदा शंका गर्ने डर....। बाल मनोविज्ञानसम्बन्धी थुप्रै तर्क–वितर्क आए मनभरि । सम्बन्ध स्थापित गर्ने मेसो पाउन सकिएन ।
ह्या, जे पर्ला–पर्ला भनेर ब्यागबाट रेकर्डर झिकें । उसले थाहा नपाउनेगरी ‘अन’ गरें । अगाडीपट्टिको खल्तीमा सुटुक्क राखें । नजिकै गएर प्रश्न तेर्साएँ–
बिनाहिचकिटाहट जवाफ दियो । चिनेकोजस्तै गरी मैसँग पो प्रतिप्रश्न तेर्स्यायो– ‘सर ! तपाईं ट्राफिक होइन ? तपाईंलाई मैले सधैं यहीं देखिरा’छु । अहिले गाडीको चेकिङ गरिरहनु भा’को हो सर ?’ मैले भनें– ‘म ट्राफिक त होइन । तर, यहाँ धेरै समय तिमीलाई देखेकाले तिमीबारे जान्न खोजेको मात्र हुँ, अन्यथा नलिनुहोला ।’ प्रत्युत्तरमा भाइले जवाफ दियो–‘हजुरलाई पनि मैले धेरै पटक देखेको हुँ । तर, बोलाउने आँट चाहिँ गरिँन ।’
यसरी नै बढ्दै गयो हामीबीच कुराकानी । उसले आफ्नो जीवन–संघर्षको कथा भन्दै गयो । मैले सुन्दै गएँ... ।
मेरो नाम हो सलमान अली । पूर्व उदयपुर, सिसवारी– ३, सदरमुकाम गाईघाटबाट तीन कोष पर उत्तर पहाडमा पर्छ मेरो घर । घरमा हजुरबा–हजुरआमा बस्नुहुन्छ । मलाई सानामा कठमाडौं भन्ने थाहा थियो । तर, कस्तो छ भन्ने कुरा थाहा थिएन । ६–७ वर्ष पहिले पहिलो पटक काठमाडौं आएँ, साथीहरुको, लहैलहैमा । बिरानो ठाउँ, बासको टुंगो थिएन । साथमा रुप्पें थिएन । खाने के ? बस्ने कहाँ ? मेरो मामा भुजेल (घर्ती) । आमा पनि यतै बस्छिन् भन्ने थाहा थियो । तर, कहाँ बस्छिन् भन्ने चाहिँ थाहा थिएन । मामाका साथीहरुले मलाई आमा भएको ठाउँमा पुर्याइदिए । त्यसपछि टर्यो गाँसबासको समस्या ।
मेरो बुवा मुसलमान । पेशाले सेटिङमा मानिसलाई विदेश पठाउने एजेन्ट । आमा पहिलेदेखि नै काठमाडौं बस्ने । ब्युटीपार्लरमा काम गर्नुहुन्थ्यो । आमाले भन्नुहुन्थ्यो– ‘म उदयपुर घुम्न जाँदा तेरो बुबासँगको पहिलो भेटमै ‘लभ’ परेको, त्यसपछि तेरो बुबाले मलाई परिवारमा कसैलाई थाहै नदिई भगायो । तर, तेरो मामाले पनि मुसलमान केटी विवाह गरेकाले यो केसले उग्र रुप लिन पाएन । पछि समझदारीमै विवाह भयो ।’
पहिलो पटक काठमाडौं आउँदा म ६–७ बर्षको मात्रै थिए । सानै भएकाले काम पाउने कुरै भएन । आमा र म सामाखुसी रानीबारीमा बस्थ्यौं । बुबा गाइघाटतिर बस्नुहुन्थ्यो । घरबाट आएका साथीहरु गाडीमा काम गर्न थालेका थिए । एक दिन मैले पनि खलासी बन्ने निर्णय गरें । पहिलो पटक सेन्सा–रत्नपार्क रुटको माइक्रो बसको खलासी बनें ।
सुरुको वर्षमा गाडीमा काम गर्न निकै गाह्रो भयो । बिहान पाँच बजे उठ्नुपर्ने । गाडी सफा गर, इन्जिन चेक गर, पार्टपुर्जा चेक गर । पैसा पाउने होइन । बिहान–बेलुकीको भातको भर । गाडीमै सुत्यो । गाडीमै बस्यो । सुरुमा त ठाउँ–ठाउँको ‘लोकेसन’ चिनेको पनि होइन । प्यासेन्जरलाई बोलाउन पनि अप्ठ्यारो । हिलो–धुलो केही भन्न नपाइने । गाडीको टायर बिग्रिन्छ, बीच रोडमा सुत्यो– गाडी बनाउन थाल्यो । कहिले शरीर पूरै हिलाम्मे, कहिले धुलाम्मे । कहिले ड्राइभरको गाली खानुपर्ने त कहिले साहुको । कहिले त साहुको घरमा पनि सघाउनुपर्ने । दिक्क लाग्थ्यो । जाडोमा त झनै दिक्क लाग्थ्यो । तर, दिक्क मानेर के गर्ने ! काम त गर्नैपर्यो । हातमा केही सिप छैन ।
पछि–पछि बल्ल १५ सय रुपैयाँ महिनावारी तलब पाउन थालियो । त्यसपछि भने पैसाप्रति मोह बढ्न थाल्यो । गाडीमा दुई–तीन वर्ष काम गरेपछि मनमा पढ्ने इच्छा जाग्यो । गाडीमा चढ्ने धेरै किशोर–किशोरीहरु हातमा पुस्तक लिएका हुन्थे । स्कुल–कलेजका नयाँ–नयाँ ड्रेसमा सजिएर पढाइका कुरा गर्थे । परिचयपत्र देखाउँथे । उनीहरुको आफ्नै संसार देख्दा मलाई पनि पढ्ने इच्छा जाग्यो । कमाएको अलिकति पैसा जम्मा गरेर बानियाँटारस्थित मानसिंह स्कुल भर्ना भएँ । छ कक्षासम्म त्यसै स्कुलमा पढें । तर, मलाई काठमाडौं बस्नै मन लागेन । गएँ इन्डियातिर ।
मेरा साथीहरु इन्डियामै भएकाले म कामको खोजीमा नै इन्डिया गएको हुँ । काम राम्रै थियो । तर, एक वर्षको बसाइपछि मलाई इन्डिया बस्न मन लागेन । फेरि फर्कें नेपालतिरै ।
नेपाल फर्केको एक वर्ष नबित्दै गाडी एक्सिडेन्टमा परेर उदयपुरमै बुबा बित्नुभयो । परिवारको सम्पूर्ण जिम्मेवारी मेरै काँधमा आयो । बुबाको वर्ष दिनको काम सकिएयता पूरै परिवार काठमाडौंको बानियाँटारमा बस्दै आएका छौं ।
अहिले म गोंगबु–रत्नपार्क रुटको गाडीमा काम गरिरहेको छु । भाइ ट्याक्सी चलाउँछ । आमा खाना पकाउन सहयोग गर्नुहुन्छ ।
बिहान पाँच बजे उठ्नुपर्छ । बेलुका ९ बजेसम्म ११–१२ ट्रिप भ्याउनुपर्छ । दिनमा त्यस्तै ७–८ हजार आम्दानी हुन्छ । त्यसमा तीन हजार साहुलाई दिनुपर्छ । गाडी बिग्रिए साहुले बनाउँछ । तेलको पैसा छुट्याएर बाँकी रकम ड्राइभर र मैले आधा–आधा बाड्छौं । कहिले त साहुलाई दिने पैसा पनि पुग्दैन, भोकै सुत्नुपर्छ ।
फेरि बाटोमा ट्राफिकलाई पनि पाल्नैपर्यो । काम गर्न कहाँ सजिलो छ र सर ! तैपनि ड्राइभर र खलासी मिल्ने हो भने केही गाह्रो हुँदैन । गाडीको पैसाले पुग्दैन । कहिलेकाहीं छ्याकन पनि हानिन्छ । तर, म एउटै गाडीमा काम गर्दिनँ । एउटा गाडीमा दुई सिफ्ट गरेपछि अर्को गाडीमा काम गर्छु । यसमै मलाई फाइदा छ । ‘तपाईं यहाँ देखिरहनु भा’छ, कति साथीहरुलाई बिहानदेखि बेलुकासम्म मरिमेट्दा पनि खान–लाउन मुश्किल छ । तर, म सधैं विन्दास छु । आइडिया चाहिन्छ सर, आइडिया ।’
‘एउटै गाडीमा को जोतिएर बसिरहोस् । एउटामा एक–दुई सिफ्ट गर्यो । दुई–तीन सय आउँछ । दिनभरिमा १२–१५ सय हुन्छ । कसले दुःख गरिरहोस् ।’
‘माथि भगवानले पठाउनुभा’छ, उनै भगवानले पार लगाउनु हुन्छ’ भाइको अनौठो जवाफ थियो– ‘यस पेशामा म सन्तुष्ट छु । संसारमा मैले कोही पनि सुखी देखेको छैन । सबैलाई एक न एक समस्या छ । बाहिरबाट खुशी देखिए पनि भित्र कोही पनि सुखी छैनन् । म दावाका साथ भन्छु, बाहिरबाट हेर्दा तपाईं सुकिलोमुकिलो देखिए पनि तापाईंको भित्री मन खुशी छैन ।’
एकै सासमा निष्कर्ष सुनाउँदै सहचालक सलमान अली भाइले भने– ‘अरु रुटभन्दा मलाई यस रुटमा काम गर्न आनन्द आउँछ । यस रुटमा पैसा पनि महँगो छ । साथीहरु पनि धेरै छन् । यहाँ काम गर्नुको छुट्टै मज्जा छ । ड्राइभर–खलासी गर्नेको बानी एउटा के खराब छ भने, पैसा टन्न कमाउँछन् तर राति भएपछि भट्टी र डिस्को पसेर उल्टै ऋण लगाएर आउँछन् । तर, म त्यो बाटोमा छैन । हेरौं, भविष्यले कहाँ पुर्याउँछ !’
राति अबेर भैसकेको थियो । सहचालक भाइलाइ धन्यवाद दिँदै लागें आफ्नो गन्तव्यतिर । ऊ भन्दै थियो– ‘भोलि ठीक यसै बेला यहाँ आउनोस् है सर ! म हजुरकै पर्खाइमा हुन्छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: