के एमाले र एमाओवादीबीच एकीकरण आजको आवश्यकता हो ? अथवा आवश्यकता यी दुई पार्टीबीच कार्यगत एकताको हो ?गएको निर्वाचनमा जनताले थचक्कै बसाइदिएपछि एमाओवादी र अन्य माओवादी क्रान्तिकारीहरुले आफूलाई सर्वहाराकरण, बोल्सेभीकरण र क्रान्तिकारीकरण गर्न यथासम्भव प्रयास गर्नेछन् भन्ने धेरैको अपेक्षा थियो । तर, यसको मूल नेतृत्वले पराजयबाट पाठ सिकेजस्तो हालसम्म देखिएको छैन । अन्य संसदवादी दलका नेताको तुलनामा अझै पनि एमाओवादी नेतृत्वसँग नै बढ्ता जनअपेक्षा रहेको कुरा स्पष्टै छ । भूकम्पपछिको विषम परिस्थितिमा डा. बाबुराम भट्टराईको लोकप्रियताको ग्राफले आकाश छोएको तथ्यबाट पनि यो प्रमाणित हुन्छ । आम मानिसहरु यतिबेला ओली होइन, भट्टराई प्रधानमन्त्री भए मात्रै देशमा केही हुन्छ भनिरहेका छन् । यसो हुँदा मात्रै नवनिर्माणको काम गतिलोसँग अगाडि बढ्छ भन्ने ठानिरहेका छन् । यसको मतलब यो होइन कि अहिलेकै प्रचण्ड, बाबुराम र नारायणकाजीले नयाँ परिस्थितिमा देशको नेतृत्व गर्न सक्छन् । यसका लागि नयाँ मान्छेमा फेरिएका प्रचण्ड–बाबुराम चाहिन्छन् । जहाँसम्म नारायणकाजीको कुरा हो, प्रचण्ड–बाबुरामको तुलनामा समाजवादी चेत उनमा बढी रहेको पाइन्छ । कम्तिमा नारायणकाजी परिवर्तनले जन्माएका नयाँ ठालु होइनन् । एमाले–कांग्रेसका नेता धेरै पटक परीक्षामा सामेल भई खराब नतिजा देखाइसकेका छन् । ०४६ सालको परिवर्तनपछि देशलाई लुटेर कंगाल बनाउने र अकुत व्यक्तिगत सम्पत्ति थुपार्ने अरु कोही नभएर कांग्रेस–एमालेका नेता नै हुन् भन्ने कुरा जनताले राम्ररी बुझिसकेका छन् । एमाओवादी नेतृत्वको अझै पनि पूर्ण परीक्षण हुन सकेको छैन । उनीहरु ‘हिँङ’ त होइनन् तर ‘हिँङ बाँधेका टाला’ सम्म भने अझै पनि हुन् । अब देशको नेतृत्व माओवादी क्रान्तिकारीहरुले गर्नुपर्छ । यसको अर्थ विनाशर्त उनीहरुले नेतृत्व पाउनुपर्छ भन्ने होइन । शर्त के हो भने उनीहरुले आफ्नो टाउकामा आफैं आगो लगाउनुपर्छ । प्रचण्ड, बाबुराम, नारायणकाजी, वैद्य, बादल, विप्लवलगायतका सबै माओवादीहरु क्रान्तिकारी रुपान्तरणसहित नयाँ मान्छेमा फेरिनुपर्छ र एक ठाउँमा उभिनुपर्छ । उनीहरुले आफूलाई नयाँ ठालुबाट जनताको सेवकमा बदल्नुपर्छ ।
चिनिया महान् सर्वहारा क्रान्तिको समयमा त्यहाँ विद्यार्थी र कार्यकर्ताले आफ्नै नेतालाई पाता कसेर कालोमोसो दलेको त्यसै होइनरहेछ ।नेताहरु त्यत्तिकै ‘नयाँ मान्छे’ बन्दैनन्, उनीहरुलाई कार्यकर्ता र जनताले फेर्नुपर्छ । चिनिया महान् सर्वहारा क्रान्तिको समयमा त्यहाँ विद्यार्थी र कार्यकर्ताले आफ्नै नेतालाई पाता कसेर कालोमोसो दलेको त्यसै होइनरहेछ । त्यहाँका कतिपय नेता करोडौं सहिद (चीनको सन्दर्भमा) को रगतबाट प्राप्त क्रान्तिका उपलब्धिलाई निजीकरण गर्दै जसरी पुँजीवादी बाटोमा अगाडि बढेका थिए । सांस्कृतिक क्रान्तिताका चीनमा भ्रष्टाचार, नोकरशाहीतन्त्र र नतावाद–कृपावाद जसरी मौलाएको थियो, त्यसले आम मान्छे र कार्यकर्तामा असह्य वस्तुगत वा संरचनागत हिंसा थोपरिरहेको थियो । त्यसको जवाफमा सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा विद्यार्थी र रेडगार्डहरुले गरेको आत्मगत वा व्यक्तिपरक हिंसा नगन्य थियो । अझ भनौं संरचनागत हिंसाको प्रतिबिम्ब मात्रै थियो । आज एमाओवादीका सन्दर्भमा पनि यसको मूल नेतृत्वले आफ्नै दलभित्र गरेको मनपरी एक प्रकारको संरचनागत हिंसा नै हो । उक्त वस्तुगत वा संरचनागत हिंसाका विरुद्ध आम कार्यकर्ताले प्रतिरोधात्मक आवाज उठाउन सके मात्रै एमाओवादीको क्रान्तिकारीकरण हुन सक्छ । एमाओवादी नेताका विभिन्न निर्णयले उनीहरुको राजनीतिक भावनाको वर्गीय चरित्रलाई उजागर गरेको छ । काठमाडौंको राजनीतिक उच्च तह वा ‘एलिट’ हरुका बीचमा दशकदेखिको घुलमिलबाट उनीहरुको वर्गचरित्र फेरिएको छ । उनीहरुले आफ्नो र अर्को चिन्न छाडेका छन् । जसले आफ्नो र अर्को चिन्दैन, ऊ कतैको पनि रहँदैन । पञ्चायतकालका तानाशाही प्रधानमन्त्री सूर्यबहादुरलाई आफ्नो ‘अभिभावक’ ठान्नु, जनयुद्धका विधवालाई छाडेर रेखा थापाजस्ता ‘ग्ल्यामर’ दुनियाँका ‘रानी’ हरुलाई चुनावमा टिकट दिनु, पछिल्लो समयमा आएर ल्हारक्याल लामाजस्ता विवादास्पद छविका ‘फ्रड’ व्यक्तिलाई सभासद् बनाउनु आदि एमाओवादी उच्च तहमा विकास भएको सम्भ्रान्तहरुप्रतिको मोहरुपी विकृत राजनीतिक भावनाकै अभिव्यक्ति थियो । एमाओवादी नेताहरुको व्यवहारबाट के प्रतीत हुन्छ भने उनीहरु कार्यकर्तालाई ‘गुन्द्रुक’ ठान्छन् किनभने अरु कुनै तरकारी पाइएन भने मात्रै गुन्द्रुकबाट ‘तरकारीको खाँचो’ टार्ने गर्छन् मान्छेहरु । अहिले आफूलाई साह्रै नै अप्ठ्यारो पर्दा मात्रै कार्यकर्ता सम्झछन् एमाओवादी नेताहरु । भूकम्पपछि एमाओवादी नेताहरु अन्य दलका नेताजस्तै निकै सक्रिय भएका छन् । अन्य दलका कार्यकर्ताको भन्दा माओवादी कार्यकर्ताहरुको खटाइ प्रशंसनीय छ । तर, उद्धार र राहतमा जाँदा पनि सुरुका दिनमा कांग्रेस, एमाले र एमाओवादी सुट–पाइन्टमा सजिएर गएको पाइयो । कार्यकर्ताहरुले उनीहरुलाई फूलमालाले स्वागत गरेको देखियो । नेताहरुलाई जहाँ जाँदा पनि फूलमालाले स्वागत गर्ने ‘परम्परा’ हिजोका राजामहाराजाले बसाएको ‘परम्परा’ बाटै सापटी लिइएको हो । यस्तो ‘परम्परा’ ले नेताहरुमा यस्तो मनोग्रन्थी पैदा गरिदिन्छ, जसले गर्दा उनीहरुमा अहंकार बढ्छ, ठालुपना हुर्कन्छ । फूलमाला ‘देवता’ को मन्दिरमा चढाइन्छ । हरेक पटक फूलमालाले स्वागत गर्दा नेताहरुमा आफू पनि सानोतिनो ‘देवता’ नै हुँ कि भन्ने भान पर्दछ । त्यसो त भूकम्पका कारण हजारौंको ज्यान जाँदा पनि नेपालका राजनीतिक दलका नेताहरुले चाहिँ जहाँ गयो त्यहीँ फूलमाला लगाउनुपर्ने, खादा ओढ्नुपर्ने कुन पुरुषार्थ गरेका छन् र ! नेताहरुलाई यसरी बिगार्ने काम तुरुन्त बन्द गर्नुपर्छ । नेताहरु जनतका मालिक वा राजामहाराजा होइनन्, जनताका सेवक हुन् भन्ने कुरा नेता–कार्यकर्ता र नागरिकले भुल्नुहुँदैन ।
पञ्चायतकालका तानाशाही प्रधानमन्त्री सूर्यबहादुरलाई आफ्नो ‘अभिभावक’ ठान्नु, जनयुद्धका विधवालाई छाडेर रेखा थापाजस्ता ‘ग्ल्यामर’ दुनियाँका ‘रानी’ हरुलाई चुनावमा टिकट दिनु, पछिल्लो समयमा आएर ल्हारक्याल लामाजस्ता विवादास्पद छविका ‘फ्रड’ व्यक्तिलाई सभासद् बनाउनु आदि एमाओवादी उच्च तहमा विकास भएको सम्भ्रान्तहरुप्रतिको मोहरुपी विकृत राजनीतिक भावनाकै अभिव्यक्ति थियो । एमाओवादी नेताहरुको व्यवहारबाट के प्रतीत हुन्छ भने उनीहरु कार्यकर्तालाई ‘गुन्द्रुक’ ठान्छन् किनभने अरु कुनै तरकारी पाइएन भने मात्रै गुन्द्रुकबाट ‘तरकारीको खाँचो’ टार्ने गर्छन् मान्छेहरु ।भूकम्पले लाखौं नेपालीलाई घरबारविहीन बनायो । यो वर्ग, त्यो वर्ग भनेन । यद्यपि भूकम्पको सबभन्दा बढी मारमा पर्ने गरीबहरु नै छन् । भूकम्पका कारण घर चर्किंदा आज सरकारले काठमाडौंका भव्य महलका मालिकहरुलाई समेत टुँडिखेलमा पाल टाँगेर राखेको छ । विपत्तिले सबै वर्गलाई असर गरेकाले आम नेपाली धनीगरीब नभनी एक–अर्काको सहयोगमा जुटेका छन् । विदेशीहरु पनि सहयोगका लागि आतुर छन् । यो पक्ष निकै सह्राहनीय छ । कम्तिमा यतिबेला त यो देशका धनीमानी र तिनका प्रतिनिधि शासकहरुले बुझ्नुपर्ने हो– घरबार नहुँदा सडकको बास कत्तिको कष्टपूर्ण हुँदोरहेछ ! प्राकृतिक भुइँचालो त मान्छेको जीवनमा एक–दुईपटक आउने कुरा हो । तर, लाखौं नेपालीहरुको जीवनमा सधैं नै आर्थिक भुइँचालो आइरहेकै छ । उनीहरुका निम्ति सधैं नै न बस्ने बास छ न त खाने गास नै । लाखौं सुकुम्बासी छन् । सजिलो परिस्थितिमा भने यो देशको सरकार सुकुम्बासीको बस्तीमा डोजर चलाउँछ । दुई–चार दिन घर चर्किंदा र भूकम्पले हल्लाउँदा मानिसहरुलाई यत्रो संख्याका सरकारी पाल चाहिन्छ भने जीवनभर सडकको बास भएकालाई घर चाहिन्न ? त्यसका लागि सरकारले जिम्मेवारी पूरा गर्नु पर्दैन ? यहाँनिर यो प्रसंग उठाएको किन भने संसारमा झैं नेपालमा पनि गरिबको राज छैन । नेपाली जनतालाई गरिबको राज ल्याउने मन थियो र उनीहरुले विद्रोहको बन्दुक उठाएका थिए । त्यही विद्रोहका क्रममा बनेको हो एमाओवादी पार्टी । हजारौं सहिदको रगतबाट सिँचिएर बनेका हुन् पाँच माओवादी पार्टीहरु । उनीहरु यो देशका आवाजविहीनहरुको आवाज भइरहनुपर्छ, गरिबको पार्टी बनिरहनुपर्छ, जबसम्म गरिबीको अन्त्य हुँदैन । यदि एमाओवादीको बिलय एमालेमा भयो भने त्यो नेपालका सर्वहारा र श्रमजीवीहरुलाई ठूलो धोका हुने छ । धनीमानी र उच्चमध्यम वर्गका लागि क्रमशः कांग्रेस र एमाले छन् । एमाओवादी पनि तिनै वर्गको प्रतिनिधि बन्न चाहेको हो भने त भन्नु केही छैन । होइन भने एमालेमा मिसिनु भनेको एमाओवादीको अन्त्येष्टी हो; क्रान्तिको सपनाको अन्त्येष्टी हो । यसको अर्थ एमालेसित कार्यगत एकता गर्नुहुन्न भन्ने होइन । देशको यो विषम परिस्थितिमा कांग्रेस नेतृत्वको सरकारको नालायकीपन र भ्रष्ट चरित्रबाट नेपाली जनता आहत भइरहेका छन् । अर्थमन्त्रीकै पीएले राहतमा आएको जस्तापातासम्म बेचेर खाइरहेका छन् । रामशरण महतहरुको नवउदारवादी अर्थनीतिले नवनिर्माणमा होइन, बजारतन्त्रमा विश्वास गर्छ । नवउदारवादका कट्टर हिमायती एवम् चर्चित पुस्तक ‘क्ल्यास अफ सिभिलाइजेसन’ का लेखक स्यामुअल हन्टिङ्टनले के तर्क गर्थे भने अमेरिकी युद्धकविमानहरुले भियतनामका गाउँमा बमवर्षा गर्नाले र नेपाम खसालेर पूराका पूरा गाउँ र जङ्लहरुमा आगो लगाउनाले भियतनाममा सहरीकरण भयो, आधुनिकीकरण भयो । नवउदारवादीहरुका लागि भूकम्पले मानिसहरुलाई घरबारविहीन बनाएर श्रमबजारका लागि मनग्गे जनशक्ति तयार पारिदिएको छ; सस्तोमा मजदुरलाई कजाउने तथा मुनाफा थुपार्नका निम्ति असीमित अवसर सिर्जना गरिदिएको छ । कांग्रेस नेतृत्वको सरकारको यो चरम नालायकीको सन्दर्भमा एमाले, एमाओवादी, मधेशवादी र अन्य माओवादी क्रान्तिकारीहरुको काँधमा जनताको घाउमा मल्हम लगाउने र देशलाई नवनिर्माणको दिशामा अगाडि बढाउने जिम्मेवारी आएको छ । त्यसका लागि प्रमुख दल एमाले र एमाओवादीको कार्यगत एकता अहिलेको अपरिहार्य आवश्यकता हो । तर, पार्टी एकता होइन । पार्टी एकताका लागि एमाओवादी र एमालेले धेरै लामो दूरी पार गर्नुपर्ने हुन्छ । यतिबेला एकताको आवश्यकता त माओवादी क्रान्तिकारीहरुकै बीचमा हो । अस्तु ।
प्रतिकृया लेख्नुहोस्: