Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

भूकम्पको केन्द्रविन्दुमा दुई माअाेवादीकाे हार्दिकता र अन्तर्घुलन

प्रसिद्ध भारतीय प्रगतिवादी साहित्यकार प्रेमचन्दले कुनै बेला भनेका थिए, ‘विपत्तिभन्दा ठूलो अनुभव सिकाउने विद्यालय आजसम्म खुलेकै छैन ।’ जेठको दोस्रो साता भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकदेखि ६ घन्टा उत्तरमा रहेको गुम्दा गाबिसमा पुग्दा प्रेमचन्दको भनाइको गहिराई बोध भयो । साँच्चै बैशाख १२ गते आएको बिनासकारी भूकम्पले सारा नेपालीलाई त्रसित बनाइरहेकै छ । आजसम्म पनि पराकम्पनका झड्काहरुले सबै नेपाली र गोरखालीहरुलाई झस्काइरहन्छ । तर, पीडाकै बीचबाट गोरखालीहरुले थालेको पूनर्निर्माणको अभियान देख्दा प्रेमचन्दले भनेजस्तै बिपत्तिले ठूलै विश्वविद्यालयको काम गरेको थियो । बैशाखको दोस्रो साता पार्टीका युवा नेता राजकाजी गुरुङको नेतृत्वमा हाम्रो पुनर्निर्माण टिम पोखराबाट गोरखाका लागि प्रस्थान गर्यो । गोरखा पार्टीको सल्लाहबमोजिम हाम्रो टिम भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकदेखि उत्तरमा रहेको गुम्दा गाबिसको पूनर्निर्माण अभियानका लागि अगाडि बढ्यो । सोही बमोजिम कास्कीको टिम दरौदी नदीको किनारै किनार गोरखाको उत्तरी क्षेत्रमा लम्कियो । बिनासकारी भूकम्प हाम्रो जीवनकै लागि नयाँ अनुभव थियो, त्यसमाथि पोखरा र आसपासका क्षेत्रमा भौतिक संरचनामा उल्लेखनीय रुपमा क्षति पुगे पनि मानवीय क्षतिको मात्रा न्यून नै थियो । पटकपटकका पराकम्पनले मानस्पटलमा गहिरै सन्त्रासको अनुभूति भए पनि भूकम्पको केन्द्रबिन्दुमा भएको प्रभावबारे ठोस अनुभव थिएन । \"3-640\" गोरखा बजारबाट ५ घण्टाको बस यात्रापछि सिम्जुङ गाबिसको बालुवा भन्ने ठाउँमा पुगियो । बालुवाबाट पैदल यात्रा हुँदै बारपाकको उकालो चढियो । कुनै पनि पहाडमा हरियाली थिएन, भूकम्पको धक्काले पहाडहरु ढलेका थिए, ठूल–ठूला पहिराका कारण गन्तव्य पहिचान गर्न निकै कठिन थियो । तैपनि पहिराहरु छिचोल्दै र भूकम्पद्धारा निर्मित गल्छीहरु फड्कँदै हामी बारपाकको फेदीमा रहेको मान्द्रे गाउँमा पुग्यौं । २५/३० वटा घरहरु रहेको त्यो गाउँमा एउटा पनि घर देख्न सकिदैनथ्यो । त्यही गाउँ थियो जहाँ थोरै घरमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । स्थानीयको भनाइअनुसार त्यस गाउँमा जिवितभन्दा मृतकको संख्या नै अधिक थियो । मलामीको अभावले लासहरु घरकै आँगनमा खाडल खनेर पुरिएको रहेछ । हामीले त्यहाँका स्थानीयसँग भूकम्प र यसको क्षतिबारे कुराकानी गर्यौं । तर, एक बृद्ध बुवाले आँगन देखाउँदै आफ्ना तिनै जना छोराको मृत्यु भएर आँगनमै गाडेको चिहान देखाएपछि हामीमा थप कुरा गर्ने हिम्मत नै आएन । त्यसपछि भावविह्वल हुँदै हामी बारपाकको उकालो लाग्यौं । बारपाक समुन्द्र सतहदेखि १९०१ मिटर उचाइमा रहेको पर्यटकीय गाउँ रहेछ । तर, हामी पुग्दा सिंगो गाउँ भूकम्पले क्षतविक्षत थियो । एउटै गाउँमा ७१ जनाको ज्यान लाने गरी गएको भूकम्पले कुनै पनि संरचनालाई बाँकी राखेको थिएन । प्राकृतिक रुपमा अत्यन्तै सुन्दर बारपाक गाउँ भग्नावशेषमा परिणत भएको थियो । यतिसम्म कि हिजो कसको घर कहाँ थियो भन्ने एकिन गर्नसमेत मानिसहरुलाई हम्मेहम्मे परेको थियो । गाउँ राता, खैरा, निला र हरिया त्रिपालहरुले भरिएको थियो । मानिसहरु राहतका लागि लाइनमा लागेका देखिन्थे भने कतिपय भग्नावशेष हटाउन व्यस्त थिए । हाम्रो टिम एकछिन बारपाकको कुरुप दृश्यको अवलोकनपछि गुम्दाका लागि प्रस्थान गर्यो । राहतका लागि ल्याइएको भ्यानमा चढेर हामी बेलुकापख बारपाकबाट उकालो लाग्यौं । करिब अढाई घण्टाको यात्रापछि हामी गोरखाको लाप्राक गाउँमा पुग्यौं । २१०९ मिटर उचाईमा रहेको यो गाउँ भूकम्पले क्षतविक्षत बनाएको थियो । मानवीय र भौतिक क्षति मात्र होइन, विज्ञहरुले लाप्राकलाई जोखिमपूर्ण बस्तीको रुपमा करार गरेका थिए । त्यसै कारण सिंगो गाउँ साविकबाट बिस्थापित भएको थियो, अनि अस्थायी टहराका सहारामा लाप्राकभन्दा डेढ घण्टा माथिको लेकमा अस्थायी बस्ती बन्दै थियो । एकछिन लाप्राकमा थकाई मारेर हामी गुम्दाका लागि प्रस्थान गर्यौं । गुरुङ जातिको बाहुल्यता रहेको यो बस्ती पनि बिनासकारी भूकम्पले ध्वस्त बनाएको रहेछ । हामी राति ११ बजे गुम्दा पुग्यौं र हाम्रो यात्रा रोकियो । \"1-640\"बिहान सबेरै उठेर नित्यकर्म र चियापछि हामी पुनर्निर्माण अभियानमा जुट्यौं । गाउँदेखि २० मिनेटको पैदल उकालोपछि हामी त्यहाँको सूर्योदय माध्यामिक विद्यालयमा पुग्यौं । विद्यालयका दुवै पक्की भवनहरु भूकम्पले भग्नावशेषमा परिणत भएका थिए । नयाँ संरचनाको निर्माण जति चुनौतीपूर्ण थियो, भग्नावशेषको व्यवस्थापन त्यसभन्दा कैयौं गुणा बढी चुनौतीपूर्ण थियो । सिंगो विद्यालयको छाना १/२ काठका खम्बाहरुले अडिएको थियो । हाम्रो टिमको लगावपूर्ण मेहेनतपछि भग्नावशेष हटाएर विद्यालयको पूनर्निर्माण सफलतापूर्वक सम्पन्न गरियो । अस्थायी संरचना निर्माणका लागि गएको हाम्रो अभियान टिमले अथक परिश्रमपछि कैयौं वर्ष पठनपाठन गर्न सकिने स्थायी खालकै संरचनाको निर्माण गर्यो । त्यसपछि हाम्रो टिमले जोखिमपूर्ण अवस्थामा रहेको स्वास्थ्यचौकीको भग्नावशेष हटाउने काम गर्यो । यस अवधिमा हाम्रो टिमले गुम्दा गाबिसमा विद्यालय भवन र स्वास्थ्य चौकी, लाप्राक र लापु गाबिसमा विद्यालय भवन लगायतका संरचना निर्माण ग¥यो । भूकम्पको त्रासबाट सन्त्रस्त स्थानीयमा थोरै भए पनि राहतको अनुभूति गराउन हाम्रो टिम सफल भयो । भूकम्पले मानवीय र भौतिक क्षति गरेको भए पनि स्थानीय बासिन्दाहरु क्रमशः सहज जीवनयापनमा फर्कने प्रयासमा देखिन्थे । ‘मुटुमाथि ढुङ्गा’ राखेरै भए पनि मानिसहरु हाँस्न थालेका थिए । भूकम्पपछि राज्यको उपस्थिति शून्यप्रायः थियो । एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका केही नेताहरुले गुम्दाको स्थलगत निरीक्षण गरेपनि राज्यको उपस्थिति शून्य नै थियो । उद्दारका क्रममा अभूतपूर्ण भूमिका निर्वाह गरेको नेपाली सेना र नेपाल प्रहरी पनि पुनर्निर्माणमा उदासिन देखिन्थ्यो । राज्यको औकात र नियतको राम्रै हेक्का भएर होला स्थानीयले सरकारसँग अपेक्षा गर्नै छाडेका थिए । कैयौं गैर सरकारी संस्थाहरु राहतको झोला बोकेर गुम्दा पुगेका थिए, तर उनीहरुको उद्धेश्य राहत नभएर आफ्नै नीजि भ्रमण र प्रचारका लागि त होइन ? भन्ने प्रश्न बारम्बार जन्मिरहन्थ्यो । राहतका नाममा पुर्याएका खाद्यवस्तु र लत्ताकपडाहरुको गुणस्तरियता थिएन । दर्जनौंको संख्यामा गाउँमा पुग्ने त्यस्ता एनजिओहरुले स्थानीयहरुलाई उल्टै परनिर्भर बनाएका थिए । नागरिकका लागि काम गर्ने गैर सरकारी संस्थाहरु माछा मार्न होइन, खान सिकाइरहेका थिए । दृश्य हेर्दा लाग्थ्यो, माछाको सानो पित्को पाइने आशामा कतै माझीहरु माछा मार्ने पेशा नै भुल्दै त छैनन् ? संस्थाहरुले मानिसहरुलाई क्रमशः परनिर्भर र आश्रित बनाइरहेको स्थानीय बुद्धिजीवीहरुको गुनासो थियो । \"2-640\"स्थानीय बासिन्दाको हार्दिकता र सहकार्य भने अभूतपूर्व नै रह्यो । हाम्रो अभियानमा स्थानीयले अभिभावकको भूमिका निर्वाह गरेको अनुभूति हुन्थ्यो । जब हामी गुम्दा पुग्यौं, आफ्ना सबै पीडा बिर्सेर स्थानीयले हामीसँग आत्मीय व्यवहार गरे । हाम्रो खाने बस्ने प्रबन्धमा हामीभन्दा उनीहरुले बढी चिन्तित र चनाखो देखिन्थे, त्यसैले बसाइको क्रममा हामीले सधैं गर्व र हार्दिकताको महशुस गरिरह्यौं । यति मात्र होइन, पुनर्निर्माण अभियानमा स्थानीयको स्वतस्फूर्त सहभागिता र उत्साह देखा प¥यो । सबै सामाजिक संरचना निर्माणमा तालिका नै बनाएर स्थानीयले अभूतपूर्व सहयोग गरे । उनीहरुको सहकार्य र हार्दिकता हेर्दा लाग्थ्यो, कतै यो नै माक्र्सले परिकल्पना गरेको साम्यवादी समाजको पूर्वदृश्य त होइन ? जेहोस्, आफ्नै भेषभुषा, भाषा, संस्कृति र आगन्तुकहरुप्रति हार्दिकतापूर्वक सम्मान गर्ने हाम्रो परम्परा गुम्दामा कत्ति पनि डगमगाएको थिएन । यसले हाम्रो बसाइ र अभियानमा उत्साह थपिरह्यो । हाम्रो अभियान पाँच माओवादी घटकहरुको सामूहिक निर्णयको प्रतिफल थियो । अभियान टिममा एमाओवादीको तर्फबाट नेताहरु राजकाजी गुरुङ, आसमान रोका, लेखबहादुर थापा, लोकप्रसाद बञ्जरा, सुदिप कुंवर, सभासद तेजकुमारी पौडेल, विद्यार्थी नेताहरु प्रविणा अधिकारी, कृष्णराज दाहाल, क्षितिज सापकोटा, डेविड गुरुङ, सन्तोष नेपाली, नवराज पौडेल, मजदुर नेताहरु राजेन्द्र तिमिल्सिना, मिलन गुरुङ लगायतको सहभागिता थियो भने नेकपा माओवादीको तर्फबाट चन्द्रबहादुर थापाको नेतृत्वमा साथीहरु क्रियाशील थिए ।  माओवादीको संयुक्त अभियानमा देखा परेको हार्दिकता र अन्तरघुलनले एउटै विचार र संगठनको व्यवहारिक अनुभूति गराउँदथ्यो । अभियान टिममा रहेका सबै साथीहरुमा एक प्रकारको आत्मीयता झल्कन्थ्यो, हेर्दा लाग्यो माओवादी घटकहरुबीच पार्टी एकता नै भैसक्यो । अभियानको अन्त्यतिर माओवादी नेता देव गुरुङ र श्रीनाथ अधिकारीको उपस्थितिले अभियानमा झनै उत्साह थप्यो । यसले विचार, राजनीति र पूनर्निर्माण अभियानलाई एकअर्कासँग जोड्न राम्रै भूमिका खेलेको अनुभूति भयो । \"4-640\"स्थानीयले भग्नावशेष हटाएर आफ्नो अस्थायी बसोबास बनाइसकेका थिए । अस्थायी बसोबास निर्माणमा स्थानीयको सक्रियता र तत्परता देखेर टोली नेता राजकाजी गुरुङले भन्दै थिए, ‘एक जना इन्जिनियरले सरकारले सिंहदरवार नबनाउँदै जनताले आफ्नो घर आफै बनाउँछन् भनेका थिए, हो रैछ ।’ नभन्दै सबैले आफ्नो अस्थायी बसोबासको काम सकेर सामाजिक संरचना निर्माणतिर चासो देखाएका थिए । यसले गाउँलेहरुले बिपत्तिबाट विद्यालयबाट भन्दा ठूलो व्यवहारिक शिक्षा हासिल गरेको अनुभव गर्न कुनै कठिन थिएन । अभियानले निर्धारित लक्ष्य हासिल गरेको अनुभूतिसहित फर्किए पनि मनमा अनेकौं प्रश्नहरु भने कायमै रहे । लाचार सरकार र जोखिमपूर्ण भविश्यको अन्तरविरोधले मनमा अनेकौं प्रश्नहरु जन्मिए । भूकम्पले खण्डहर बनाएका बस्तीहरु वर्षात्ले कहाँ पुर्याउने हो ? यो कहालीलाग्दो कल्पनाले मन उराठियो । ठूल–ठूला पहाडहरु गल्र्याम्मै ढलेर मानव बस्ती नै उजाड मरुभूमिमा बदलिएका दृश्यहरु आँखा अगाडि घुमिरहे । आकाशतिर कालो बादल देख्नेबित्तिकै मानिसहरुमा एक खालको त्रास र तनावको चित्र देख्न सकिन्थ्यो । यति ठूलो संकट राज्यले कसरी व्यवस्थापन गर्न सक्ला ? यो प्रश्नले मन बेचैन भइरह्यो । वर्षातको बाढीले जुनकुनै बस्ती क्षणभरमै बढार्न सक्ने खतरा अहिले पनि कायमै छ । धाँजा फाटेको जमिनको अवस्था के हुने हो ? कल्पना गर्दा पनि मनमा त्रासको अनुभूति भइरह्यो । विज्ञहरुले बस्ती सार्न सुझाव दिएपनि राज्यले सिन्को भाँच्न सकेको छैन । ‘महाबिपत्ति र कूम्भकर्ण सरकार’ यो कस्तो संयोग हो ? यस्ता कैयौं प्रश्नहरुले स्थानीयलाई जस्तै हामीलाई पनि पीडाबोध बनायो । यसको राज्यले कसरी सम्बोधन गर्छ ? त्यो भने अहिले नै निष्कर्ष निकाल्न हतार होला । हरेक बिपत्तिभित्र सम्भावना लुकेको हुन्छ । सायदै प्रेमचन्दले त्यसै भएर बिपत्तिलाई विद्यालयको शिक्षाभन्दा ठूलो ठानेका हुन् । राज्यले ठोस दिशानिर्देश गर्न सक्ने हो भने हिलोमा गुलाव फूल्न सक्ने सम्भावनाको अन्त्य भएको छैन । सरकारले सबैलाई उचित क्षतिपूर्ति दिन नसक्ला । तर, राहत, योजना र दिशानिर्देश गर्न सक्नुपर्छ । कम्तिमा विज्ञहरुको टोली खटाएर आवादीको नयाँ कार्ययोजना अगाडि सार्न सक्ने हो भने भग्नावशेषकै सदुपयोगद्धारा पर्यटकीय बस्तीहरु निर्माण गर्न सकिने सम्भावना छ । त्यसका लागि राज्यले पुनर्निर्माणको पञ्चवर्षीय योजनाद्धारा बिपत्तिलाई सम्भावनामा बदल्ने आँट गर्नुपर्छ । त्यो गर्न सक्छ कि सक्दैन ? हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE