गुर्जामा परम्परागत पेसा बनेको महसिकारलाई विभिन्न चार समूह बनाएर आलोपालो मिलाएर मह काढ्ने गरिएको स्थानीय झकबहादुर छन्त्यालले जानकारी दिए । \'हरेक वर्ष एउटा मात्रै समूहले मह काढ्छन्\', छन्त्यालले भने– \'एउटा समूहमा ४० देखि ५० घरधुरी गरी गाविसका सबै घरधुरी समेटिएका छन् ।\'
करिब दुई महिनासम्म निरन्तर रुपमा महसिकार गरेपछि समूहमा आबद्ध घरधुरीलाई बराबर मह बाँड्ने चलन रहेको छन्त्यालले बताए ।
ल्यासपुर, सितमनाथ, बरमथान, छहरा, रातोभिर, कुन्ना, ठूलोभिर, रिमतालालगायतका ५० भन्दा बढी भीरमा महसिकार हुने गर्छ । गुर्जामा एक वर्षमा महको उत्पादन अनुसार एउटा समूहका हरेक घरधुरीको भागमा पाँचदेखि २५ लिटरसम्म मह पर्छ । जोखिमयुक्त र साहसिक मानिने भीरमहलाई सामूहिक रुपमा सङ्कलन गरेपछि एकमुष्ट रुपमा पकाएर प्रशोधन गरी बाँडफाँड गरिने स्थानीय प्रेमबहादुर छन्त्यालले बताए ।
\'आफ्नो भागमा परेको मह केही घरायसी उपभोग हुने भए पनि धेरैजसो बिक्री हुन्छ, बजारमा दिनहुँ यसको माग बढिरहेको छ\', उनले भने । बजारमा प्रतिलिटर एक हजारसम्ममा भीरमह बिक्री हुने गर्छ । भीरपहराबाट निकालिने मह खरिद गर्न सहरी क्षेत्रका ग्राहक जङ्गलमै पुग्न थालेपछि जिल्लामा महसिकार पनि फस्टाउँदै गएको छ । \'भीरबाट मह निकाल्न सक्नुपर्यो, जति पनि बिक्री हुन्छ\', लुलाङका केशरबहादुर पुर्जाले भने– \'स्थानीयवासीदेखि बेनी, पोखरा, काठमाडौँ र विदेशबाट समेत महको माग आउने गरेको छ ।\'
चैत महिनामा बेंसीका भीरबाट मह निकालिने भए पनि उच्च पहाडी क्षेत्रका पहाडमा असारसम्म पनि मह निकाल्ने गरिन्छ । गर्मी सुरु भएपछि माहुरीहरु लेकमा र जाडो सुरु भएपछि बेंसीमा बसाइँसराइ गर्ने भएकाले दुवै क्षेत्रमा भीरमाहुरीको बासस्थान हुन्छ । महसिकारका लागि पहाडमा चढ्नुअघि महको चाकाको मुन्तिर पहाडको फेदीमा आगोमा हरियो स्याउला पोलेर धुवाँ बनार्इ माहुरी भगाउने गरिन्छ ।
धुवाँ लगाइसकेपछि भर्याङको सहायताले भीरमा चढ्ने सिकारीले डालोजस्तै चोयाको भाँडोमा मह काढ्ने गर्छन् भने पहाडको फेदीमा बसेकाहरुले भीरमा झिकेको महलाई सुरक्षित ठाउँमा राख्ने काममा सघाउने गर्छन् । भीरमह काढिसकेपछि चाका र महलाई छुट्याएर महमात्रै सङ्कलन गर्ने गरिन्छ ।
जिल्लाका विभिन्न २० गाविसमा भीरमह उत्पादन हुने गर्छ । तीमध्ये तल्लो क्षेत्रमा महसिकारीको अभावले महसिकार नै नहुने समस्या छ । केही क्षेत्रमा सामुदायिक वन र प्रभावित क्षेत्रका बासिन्दालाई एक हजारदेखि पाँच हजारसम्म कर तिरेर माथिल्लो भेगका सिपालु महसिकारीले महसिकार गर्ने गरेको पाइन्छ ।
घरमा उत्पादन हुने महजस्तै भीरमह पनि गुलियो, स्वादिलो र विभिन्न रोगको औषधिका रुपमा प्रयोग गरिन्छ । भीरमाहुरीको चरन क्षेत्र फराकिलो हुने र विभिन्न फलफूलदेखि जडीबुटीको समेत रस खाने हुँदा भीरमह बढी कडा हुने भएकाले एकैपटक धेरै खानु नहुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठ बताउँछन् । जङ्गलमा हुने भीरपहराबाट निकालिने भीरमहको सिकारका लागि अनुमति लिएर निश्चित परिणाममा मात्रै मह निकाल्न पाउने प्रावधान छ ।
जिल्ला वन कार्यालयबाट अनुमति लिएर निश्चित परिमाणमा मात्रै मह निकाल्न सकिने प्रावधान भए पनि स्थानीयस्तरमा आफूखुसी मह सिकार गर्ने प्रचलन बढेको छ । जिल्लामा अहिले न्यून मात्रामा अनुमति लिएर महसिकार हुने गरेको निमित्त जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताए ।
जिल्लामा विभिन्न स्थानमा गरी २ हजार २ सय ८० किलो भीरमह उत्पादन हुने बताइन्छ । त्यसमध्ये वार्षिक १ हजार २ सय ७६ किलो मह सङ्कलन गर्न पाइने भए पनि चालु आर्थिक वर्षमा ३० किलो भीरमह सङ्कलनको पुर्जी मात्रै जारी भएको उनले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: