बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका एक तिहाई महिला तथा युवतीहरु आफ्नो जीवनकालमा एक न एकपटक घरेलु तथा यौन हिंसाको शिकार हुने गरेका छन् ।
पुरुषमाथि हुने घरेलु वा यौन हिंसाका मामिलाहरु एकदमै कम सार्वजनिक हुने गर्छन् । बाहिर आएको खण्डमा पनि यसमाथि खासै चर्चा हुँदैन ।
यसमाथि हुने बहसलाई पनि एकदमै भेदभावपूर्ण दृष्टिले हेरिन्छ । यस्तो अवस्थामा पीडितले हाम्रो समाजमा एकलै नै संघर्ष गर्ने गरेका छन् ।
तर हालै युक्रेनका एक युवकले बीबीसीसँग पहिचान गोप्य राख्ने शर्तमा आफ्नो व्यथा बाँडेका छन् ।
‘मलाई थाहा छैन । मेरा साथीहरुलाई कुनै शंका भएको छ की छैन । बाहिरबाट हेर्दा सबै राम्रो देखिन्थ्योः हँसिलो अनुहार, धेरै पैसा र आत्मविश्वास । हामीले सँगसँगै आधी विश्व घुम्यौं ।
हामी जब एक साथ यात्रामा हुन्थ्यौं तब मलाई उसँग डर लाग्दैन थियो । अन्य मानिसहरुको अगाडि उनी मलाई पीडा दिँदैनथिइन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक्लो हुँदा उनीबाट बच्नु थियो ।
मलाई आजभोलि महसुस हुँदैछ, मेरी पूर्वश्रीमतीले पछिल्लो दश वर्षदेखि मेरो बलात्कार गर्दै रहिछिन् ।
इरा मेरो जीवनमा आएकी पहिलो केटी थिइन् । हामी पहिलोपटक भेट्दा हाम्रो उमेर २० वर्षको वरपर थियो । उनले नै मलाई पहिलोपटक प्रेम प्रस्ताव राखेकी थिइन् ।
मेरा बुवा आमालाई प्रेम सम्बन्धमा विश्वास थिएन । उहाँहरुले कसैसँग मेरो प्रेम सम्बन्ध भए मैले घर छोड्नु पर्ने धम्की दिनु भएको थियो । यसकारण मैले बुवा आमाको दबाबमा आएर घर छोड्नु पर्यो ।
बुवा आमाको नियमबाट पहिलेदेखि नै म डराउँथे । यसकारण म छुट्टिएर बस्ने सक्ने गरी पैसा कमाउन सक्ने भए पछि मात्र म सम्बन्ध सुरु गर्न चाहन्थेँ ।
मेरो आमा मेरो अनुहारका कारण एकदमै लज्जा र अपमानित महसुस गर्नु हुन्थ्यो । यहीँ कारण मभित्र आत्मविश्वासको पनि कमि थियो ।
मैले यौन सम्पर्कको प्रयास पनि पहिलोपटक इरासँग नै गरेको थिए । त्यो समय म यो कुरा चाहन्थेँ । तर हाम्रो यौन सम्पर्क सामान्य थिएन । यो डरलाग्दो, पीडादायी र आक्रमक हुने गर्दथ्यो । हाम्रो पहिलो सेक्स करिब पाँच घण्टासम्म भयो । त्यसबेला मलाई एकदमै पीडा भयो ।
हाम्रो यौन सम्पर्क औसत एक दुई घण्टाको हुन्थ्यो । यौन सम्पर्क भनेको यस्तो हुनुपर्छ जसले तपाईलाई आनन्द महसुस गराउन सकोस् तर मेरो हकमा यस्तो भएन । मलाई यसअघि कहिल्यै अनुभव थिएन । मलाई लाग्थ्यो सेक्स यस्तै हुन्छ यसकारण म मेरो सहमति दिने गर्दथे ।
तर एकदिन मैले सेक्सका लागि अस्वीकार गरिदिए । तर उनी रोक्किनन् । त्यो समय यो बलात्कारमा परिणत भयो ।
मलाई एउटा लामो व्यापारिक यात्राको लागि विदेश जानु पर्ने थियो । म भित्र इरालाई गुमाउँछु कि भन्ने डर थियो । यसकारण मैले उसलाई पनि साथै जानका लागि आग्रह गरे । तब मैले विवाहको लागि पनि उनलाई प्रस्ताव गरेको थिए । उनले विवाहको प्रस्ताव त अस्विकार गरिन् तर विदेश साथै हिड्न भने तयार भइन् । र फेरी यहाँबाट उत्पीडन सुरु भयो ।
अबेरसम्म काम गरेको कारण म थकित हुन्थेँ । म आराम चाहन्थेँ तर उनी सेक्स चाहन्थिन् । उनी भन्छिन्, ‘म धेरै समयदेखि प्रतिक्षा गरिरहेकी छु । तिमी तयार हुनैपर्छ ।’
मैले अस्वीकार गर्दा उनी मलाई पिट्ने गर्थिन् र म केही गर्न सक्दिनँ थिए । उनी मलाई आफ्नो नङले कोपर्थिन् । मलाई मुड्कीले हान्थिन् । उनले मेरो अनुहारमा कुनै निशान चोट पुर्याउँदैन थिइन् । उनी मलाई नदेखिने ठाउँहरु छाती, पिठ्यु र हातमा पिट्ने गर्थिन् ।
केटीहरुमाथि हात उठाउनु गलत हो भन्ने संस्कार दिइएको कारण म उनीमाथि कहिल्यै हात उठाउँदैथेँ । मैले आफूले आफूलाई सानो र निरिह सोच्न थालिसकेको थिएँ । मसँग बचेर निस्कने कुनै उपाय थिएन ।
मैले होटलमा अलग्गै कोठा लिने प्रयास गरे तर यस्तो हुन सकेन ।
मलाई कामबाट होटल फर्कन डर लाग्थ्यो । यसकारण म बजार बन्द नभइन्जेलसम्म महलहरु घुमिरहन्थेँ । बजार बन्द भए पछि पनि म शहर घुमिरहन्थेँ । त्यो चिसो मौसम थियो र मैले मसँग न्यायो कपडा ल्याएको थिइनँ । मलाई ज्वरो र इन्फेक्सन भएको थियो । तर इरालाई यो कुराहरुले केही फरक पारेन । उसले त्यही गरिरहिन् जो उनी चाहन्थिन् ।
सबैभन्दा खराब अवस्था त सप्ताहन्तमा हुन्थ्यो । शनिबार रातीदेखि आईतबार बिहानसम्म मलाई उसले यातना दिन्थिन् । म युक्रेन कहिले फर्कने भनेर दिन गन्न थालेँ । मैले सोचेको थिएँ म इरासँग सम्बन्ध तोड्छु भनेर तर म गलत थिएँ ।
म आफ्नो बुवा आमा भएको ठाउँमा फर्केर आएँ । मैले सोचेको थिएँ- म इरासँग बस्दिनँ र उसँग सम्पर्कमा नै आउँदिन । मैले आफ्नो मोबाइल स्विच अफ गरेँ र उसलाई सबैतिरबाट ब्लक गरिदिएँ ।
म आफ्नो घरभित्र लुकेर बस्थेँ तर ऊ मेरो घरको बन्द ढोकाबाहिर आएर बस्थिन् । उनले मलाई सबै कुरा ठिक भएर जाने आश्वासन दिन्थिन् । अन्ततः एक्लिने डरका कारण म उसँगै फर्किएर गएँ ।
यसपटक उसले विवाह गर्नका लागि दबाब दिइन् । यसपटक म विवाह गर्न चाहँदिन थिए तर पनि हामीले विवाह गर्यौं ।
इरा सबैदेखि रिसाउने र इर्ष्या गर्ने गर्थिन् । चाहे ती मेरा साथी हुन् वा मेरा आफन्तजन । म जहाँ भए पनि मैले उसको फोन उठाउनु पर्थ्यो । उनी अचम्म अचम्मको प्रश्न गर्थिन् । जस्तो कि तिमी त्यो सम्मेलनमा किन जान्छौ ? तिमी ती साथीहरुसँग किन भेटघाट गर्छौं ?’
म सधैं उसको वरीपरी बस्नुपर्छ भन्ने उसको मान्यता थियो । म उसको लागि एउटा खेलौना जस्तो थिए । जसले हरेक समय उसलाई खुशी पार्नु पर्थ्यो ।
इराको कुनै जागिर थिएन । म काम गर्थँ । मै खाना बनाउँथेँ र सफाई म पनि गर्थेँ । हामीले एउटा ठूलो अपार्टमेन्ट भाडामा लिएका थियौं । त्यसमा दुईओटा बाथरुम थियो । म सधैं पाहुनाले प्रयोग गर्ने बाथरुम जान्थेँ । उ भएको बाथरुम म जानै सक्दिनँ थिए ।
दैनिक मैले १० बजेसम्म उसले उठ्ने समयसम्म प्रतिक्षा गर्नु पर्थ्यो ताकी उसको निद्रा नखलबलियोस् । उसले हामी भिन्दाभिन्दै कोठामा सुत्ने भनेर निर्णय गरेकी थिइन् । तर मेरो कोठामा लक हुनु हुँदैन थियो । मलाई कहिल्यै उनी एक्लै बस्न दिँदैन थिइन् ।
जब कसैले गल्ती गर्थ्यो तब उनी मलाई हप्काउने र पिट्ने काम गर्थिन् । यो दैनिक हुने गर्दथ्यो ।
उसको रिस देख्न नपरोस् भनेर म उनको हरेक दोष र अन्याय सहन्थेँ ।
म सधैं कौंशीदेखि तल गएर कारमा बसेर रुन्थेँ । उनी मेरो पछि पछि आउँथिन् र म रोएको देख्थिन् । जब म फर्केर कोठामा आउँथे तब उनी मेरो पीडाबाट आहत भएको सुनाउँथिन् । तर आफूलाई रोक्न नसकेको बाध्यता पनि सुनाउँछिन् ।
मैले जति नराम्रो माने पनि यो यातना रोक्किएन । म पनि परफेक्ट थिइनँ । यो सबैबाट बच्न म दैनिक १०, १२ पछि १४ घण्टासम्म काम गर्न थालेँ । म सप्ताहन्त र छुट्टिहरुमा पनि काम गर्न थाले । मलाई यो सजिलो लाग्थ्यो ।
पहिलो तीन वर्षसम्म त मलाई सेक्ससँग घृणा मात्र थियो तर पछि नाम सुनेर नै मलाई डर लाग्न थाल्यो । यसपछि जब इरा ममाथि जबरजस्ती गर्न खोज्थिन् तब म उसलाई धकेलेर कतै लुक्न जान्थेँ । कति पटक त म घरबाट पनि भागेँ ।
इरालाई लाग्थ्यो कि हाम्रो सेक्स लाइफ मेरो कारणले खराब भएको छ । उनले मलाई कतिपटक त सेक्सोलजिस्टकहाँ पनि लिएर गइन् । तर मैले उनीहरुको सामू पनि आफूमाथि भएको उत्पीडनको कुरा गर्न सकिनँ । यसरी सबै दोष मेरैमाथि आउन थाल्यो ।
मैले आफ्नो सम्बन्धविच्छेदको केही वर्ष अघि मात्र आफूमाथि भएको उत्पीडनको बारेमा बोल्न सकेँ ।
त्यो उजाड मौसम थियो । म ब्रोंकाइटिस र ज्वरोको कारण दुई हप्तादेखि ओच्छ्यानमा थिएँ । तब मेरो स्यहार गर्ने कोही थिएन । त्यस समय मैले मेरो श्रीमतीलाई यो सबै कुराले केही असर नगर्ने कुरा थाहा पाएँ । म त्यहाँ मरेँ भने पनि कसैले मलाई ध्यान दिदैँन भन्ने कुरा मैले आभाष गरेँ ।
मभित्र डर र घृणा थियो । म एकपटक आफ्नो बुवा आमालाई यो कुरा सुनाउनु घर गएँ तर त्यस बेला उहाँहरु घरमा हुनुहुन्न थियो । म त्यस बेला पनि एक्लो भएँ ।
एकदिन इन्टरनेटमा काम गर्दै गर्दा विज्ञापनवाला विण्डोमा एउटा च्याट पप अप भयो । मैले त्यहाँ कुराकानी गर्न थाले । त्यहाँ सबै कुरा गोपनीय थियो । त्यो पहिलोपटक थियो जब मैले कसैलाई मेरो जीवनको वास्तविकता सुनाउँदै थिएँ । तर त्यो बेला पनि मैले आफूमाथि यौन उत्पीडन भएको कुरा स्विकार गर्न सकिरहेको थिइनँ । म लगातार हैन भरिरहेको थिएँ ।
पछि मैले एकजना थेरापिस्ट भेटेँ जसले मलाई सहयोग गरे ।
थेरापी सेसनमा म र इरा दुवैले कुरा गर्नुपर्ने थियो । जब मेरो बोल्ने पालो थियो तब मलाई केही भन्न उसलाई दिएको थिएन । त्यस बेला मैले आफूविरुद्ध भएको सबै उत्पीडनको बयान गरेँ ।
त्यस समय इरा मेरो कुरा सुनेर खूब रिसाइन् । उसले मेरो कुरा झूठो भएको बताइन् । मलाई कराइन् । गाली गरिन् । तर यसपछि उनले मसँग सम्बन्धविच्छेद गर्ने कुरा गरिन् । तर मलाई उनले मसँग साँच्चै डिभोर्स चाहन्छिन् भनेर विश्वास लागेको नै थिएन ।
सायद उसले मलाई चुप गराउन त्यस्तो भनेकी थिइन् होला । तर मैले तुरुन्तै मन्जुरी दिएँ ।
त्यसपछि एकमहिनापछि मलाई डिभोर्सको कागजात मिल्यो । त्यो मेरो जीवनको सबैभन्दा खुशीको दिन थियो ।
डिभोर्सको एकदिन पछि उसलाई चिच्याउँदै मैले भनेँ, ‘तिमी मेरो रेप गरिरहेको थियौ ।’
उनले मलाई भनिन्, ‘म तिम्रो रेप गरिरहेको थिएँ ? त के भयो त ?’ उनले एक तरिकाले आफ्नो गल्ती स्विकार गरेकी थिइन् तर उनी हाँसी रहेकी थिइन् । किन हो मलाई थाहा थिएन ।
त्यसपछि म आफ्नो बुवा आमाको घरमा फिर्ता आए । मैले आफ्नो काम पनि छोडिदिएँ र केही दिनका लागि घरभित्रै बसेँ । एक दिन उनी मेरो घरमा आएर चिच्याउन थालिन् । त्यो देखेर मेरी आमा डराइन् । त्यस बेला म मनमनै हाँसेर भने, ‘आमा तपाई कल्पना पनि गर्न सक्नुहुन्न मैले के झेलेको छु भनेर ।’
यो सबैले आफ्नो ज्यान लिन सक्छन्
मैले न त ऊविरुद्ध कुनै प्रमाण संकलन गरेँ न त उसबारे कसैलाई केही सुनाएँ ।
म कुनै सहयोगी संस्थाको खोजीमा थिएँ । तर युक्रेनमा महिलाको लागि मात्र संस्था र समूहहरु थिए । तर मलाई अन्तिममा स्यानफ्रान्सिस्कोस्थित एउटा अनलाइन सपोर्ट ग्रुप मिल्यो जो पुरुषहरुका लागि काम गर्थ्यो ।
मैले युक्रेनको जुन थेरापिस्टलाई पहिलोपटक भेटे उसले मेरो हाँसी मजाक उडायो । उनले भनेका थिए, ‘यस्तो हुँदैन, तिमी पुरुष हो उनी महिला हुन् ।’
मैले छजना थेरापिस्टहरु बदले तब अन्तिममा गएर मलाई सहयोग मिल्यो । मैले कसैमाथि भरोसा गर्न आठ महिना लाग्यो ।
मैले उनीमाथि मुद्दा चलाउने पनि विचार गरेँ तर त्यो मैले फेरी चाहिनँ । मैले यही चाहे कि उनीले ममाथि गरेको अपराधको प्रायश्चित गरेर मसँग माफी मागून् ।
म अझै पनि काममा जान्नँ । मलाई बिहान ओच्छ्यानबाट उठ्न पनि गाह्रो हुन्छ । मसँग जिउनका लागि केही छैन । मलाई थाहा छैन म यतिका वर्षसम्म के गर्दै थिएँ ।
अब मैले मेरो कुनै बच्चा वा सम्बन्ध हुन्छ भन्ने कुराको आशै गर्न छोडी दिइसकेको छु । तर मैले यति लामो समयसम्म चुपचाप बस्नु हुन्न थियो भन्ने कुरा मेरो दिमागमा आउँछ ।
‘यदि यो कथा कुनै पुरुषले पढ्दैछ भने थाहा पाइराख्नुहोस् यिनीहरुले तपाईको ज्यान पनि लिनसक्छन् । यदि तपाईले यो कुरा बुझ्नु भयो भने तपाईले आफूलाई बचाउने मौका पाउनु हुनेछ ।’
(युक्रेनी र रुसी बीबीसी सेवाका लागि भिक्टोरिया जुहान, याना ग्रिबोभ्सकाया र डेनिस कोरोलेभद्वारा तयार गरिएको रिपोर्टको भावानुवाद)
प्रतिकृया लेख्नुहोस्: