म मेरो आमाको गर्भमा चार महिनाको पुग्दा मेरो बुबा बित्नु भएछ । त्यतिबेला मेरो आमा १८ वर्षको हुनुहुन्थ्यो रे। म मेरी आमा भनेर चिनेको दिनदेखि सधैं आजसम्म उस्तै पहिरनमा हुनुहुन्छ अर्थात् रातो लगाउनु हुन्न, चुरा लगाउनु हुन्न। सादा पहिरनमा हुनुहुन्छ।
कयौंपटक सम्झाउने कोशिस गरें । बुवाले दिएको सिउँदोको सिन्दुर बाहेक अरु लगाउँदा हुन्छ भने तर, उहाँ मेरो कुरा पटक्कै मान्नु हुन्न । उहाँ भित्र सामाजिक बहिष्कृत धार्मिक नियम स्वर्ग नर्क भगवानको डरले डेरा जमाएको छ। यसरी म मेरो जन्मदिने आमालाई रंगिन रातो कुनै पनि बस्त्रमा देख्न पाउने अधिकार, म नजन्मदै खोसियो।
मेरो घरदेखि अलि माथी एक जना चर्मकार थरको उमेरले मेरो हजुरबुबा समानको निकै मीठो नरम बोल्ने एकजना वृद्ध हुनुहुन्छ । कहिलेकाँही मेरो घरमा काम विशेषले आउनुभो भने चिया अथवा समय अनुकुल खाने कुराको हकदार बन्नु भयो भने उहाँले खाएका भाँडा आफैं माझ्नु हुन्छ। कोही इच्छाले आफूले खाएको भाँडा माझ्नु छुट्टै कुरा हो तर उहाँलाई बध्यता चाहिँ जातको हो। मैले कयौंपटक नमाझ्न आग्रह गरें, तर उहाँ भन्नूहुन्छ, \'यो हाम्रो परम्परा हो, चलीआएको चलन हो, हामी मात्तिन हुन्न बाबु ईमानमा बस्नुपर्छ।\' मानौं भाँडा माझेन भने अपराध हुन्छ भन्ने उहाँको मस्तिष्कमा धर्मले लगाइदिएको छाप छ । मेरो घरमा आउने अन्य पहुनालाई खाएको ठाउँबाट भाडा उचाल्नसम्म दिइँदैन तर दलित जातीहरुले चाहिँ माझोस् नै भन्ने चाहनुहुन्छ । यो उहाँ बाहेक जुन सुकै दलित माथी गरिने व्यवहार यहि हो। यो मेरो घरमा मात्र होइन मेरो घर उदाहरण हो । गाउँभरी समाजमा जुनसुकै दलितलाई गरिने व्यवहार यहि हो।
मेरो गाउँबाट बायाँ पारीपट्टी मगर बस्ती छ। त्यही मगर बस्तीको एकजना हुनुहुन्छ । पेसाले उहाँ शिक्षक हुन्, उहाँको आमाको मृत्युपछि सबैले पुर्यौनु पर्ने घाट पुराएर हिन्दु संस्कार अनुसार दाह संस्कार गर्नु भएन । नजिकै पाएक पर्ने ठाउँमा लगेर अन्त्येष्टि गर्नुभो। यसै कारणले समाजले उहाँलाई अर्कै नजरले हेर्छ र उहाँलाई हाम्रो समाज भन्दा बाहिरको मान्छे भन्ने र उहाँले छोएको पानी पनि खान्नौ भन्ने मान्छे प्रशस्तै त्यही समाजमा छन्।
मेरो गाउँमा विभिन्न भोज भतेर हुन्छ। त्यहाँको भोज भतेरमा बसेर खाने तीन ठाउँ तय गरिएको हुन्छ। जनै लगाउने खान पाक्ने ठाँउबाट नजिकै दुरिमा हुन्छ। त्यसपछी जनै नलगाउनेहरु जनजातिकाे हुन्छ त्यसपछी दलित जाती हुन्छन् । त्यहाँ जनै लगाउनेको ठाँउमा जनै नलगाउने जनजाति जान निषेध हुन्छ। जनजाति बसेर खाने ठाउँमा दलित निषेध हुन्छ अर्थात् दलित जाती जनै लगाउने या जनजती बस्ने दुबै ठाउँमा बसेर खान त के सोच्नसम्म पनि नसकिने कुरा हुन्छ।
मेरो बस्ती वरिपरी केही त्यस्ता छिमेकी छन्र जसलाइ बिहान बेलुकाको छाक टार्न मुस्किल पर्छ । छोरा छोरीलार्इ सिसाकलम दुई औंलामा च्याप्न मिल्ने सम्म च्यापेर लेख्न लगाउँछन् । उनीहरूलार्इ स्कुल पठाउँदा न खाजा हुन्छ न खाजा खाने पैसा हुन्छ। तर केही हिन्दु धर्मको अनिवार्य पुजा हुन्छ त्यसमा कुल पुजा समाज(समक्ष) वा सामुहिक पुजा श्राद्धलगायतका पुजा गर्न छाक टारेर जम्मा गर्छन् नभए ऋण खोजेरै दान दक्षिणा र बलिको लागि कुखुरा हाँस बोका राँगा खोज्छ्न। उनीहरुलार्इ चिन्ता बच्चाको भविष्यको भन्दा भगवान रिसाउलान् र अनिष्ट होला भन्नेको हुन्छ अनि सामाजिक बहिस्कारको डर छदैंछ।
यो २१औं शताब्दीको धार्मिक उत्पीडन हो।
कुरा स्पष्ट छ। यी सबै हिन्दु धर्मले खडा गरेको समाज हो। माथिको फरक फरक घटनाको भुक्त भोगी यहि पंक्तिकार हो। यो कुनै वर्षौं पहिलेको घटना हाेइन । आजसम्म चल्दै आएको हिन्दु धर्मले खडा गरेको सामाजिक चलन हो यो । कुनै दुर्गम वस्तीका कथा हाेइनन्। यो सत्य घटना राज्यले तोकेको स्याङ्जाको वालिङ नगरपालिका अर्थात् यहि पंक्तिकारको बस्ती वरिपरिका र आफ्नै सत्य घटना हुन्। उसो त स्याङ्जा जिल्ला अन्य जिल्लाको तुलनामा बढी शिक्षित संख्या भएको जिल्ला पनि हो।
धर्म के हो? धर्मको सोझो अर्थ धारण हो अर्थात् धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य मान्यता तथा पुरातन विधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शब्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको सम्बन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जीव वा मानवको स्वभाविक गुण हो। मानव संस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र व्यक्ति अनुसार फरक फरक पाइन्छ।
बिडम्बना हो आजको आधुनिक र वैज्ञानिक युगमा पनि धार्मिक उत्पीडनमा परेको छ मेरो समाज। पश्चिमाहरु चन्द्रमा पुगेर दिसा गरि सक्दा हाम्रो तिर चन्द्र भगवान भनेर उतै फर्केर ढोग्दै छौं।
राज्यले सुगम र तुलनात्मक रूपमा गाविसभन्दा सम्पन भनेर तोकेकै ठाउँमा त यस्तो छ। अन्य दुर्गम जिल्ला र वस्तीमा कस्तो होला यसै पनि अनुमान लगाउन सकिन्छ। अहिले संविधान गर्भमैै छ । केही मान्छेहरु आफू र आफ्ना अनुकुल संविधान बनोस् भन्ने चाहन्छन उनीहरुलार्इ देश उन्नति होस भन्ने चिन्ता छैन, केवल आफ्नै मात्र चिन्ता छ, त्यसैले बुज्रुक बुद्धिजीवी भन्नेहरु राजनीतिकर्मी भन्नेहरु केही कट्टर हिन्दु धर्मभिरुहरु राज्य हिन्दु धर्म सापेक्ष हुनुपर्छ धर्म निरपेक्ष हुनुुहुँदैन भनेर अनावश्यक धर्मको बखेडा झिकेर कुर्लिरहेका छन्। साँच्चै भन्ने हो भने आजको युगमा यो त्यति जायज भन्ने लाग्दैन। कारण अरु पनि होलान् तर नेपाली समाजलाई उँधोगती तर्फ धकेल्ने चिरा चिरा बनाउने अनि खण्ड खण्डमा बिभाजन गरेको धर्म पनि प्रमुख हो यो सत्य कहीँ छिपेको छैन। माथिका घटनाले सजिलैसँग प्रष्ट पार्छ। सत्य यो हो कि बिश्वको कुनै देश धर्मले या धर्मकै आडमा विकसित भएका छैनन् बरु धर्म उन्नति र प्रगतिको बाधक हो। सायद यहि बुझेर हुनुपर्छ कार्ल माक्सले धर्म अफिम भनेको। यी कुराहरु लेखि रहँदा मलाई अन्य धर्मको अनुयायी मान्नु या नस्तिक मान्नु होला। तर अहिलेसम्म म यहि धर्म मानेको छु। यसलाई परिस्कृत गरिनु पर्छ भन्ने मेरो मान्यता चाहिँ छ अन्ध भक्त हुनुहुँदैन भन्ने मेरो मान्यता हो। त्यो संगै मानव धर्म भुलेको छैन।
सबै धर्म भित्र राम्रो नराम्रो पक्ष नभएको पनि होइनन्। अहिले बहस धर्म सापेक्ष कि निरपेक्ष भन्ने जताततै चर्का चर्की छ। निरपेक्ष भनेको हिन्दु धर्मको बिरोध गर्ने र अरु धर्मको समर्थन गर्नु भन्ने बुझाइ र भ्रम छ। अनि निरपेक्ष भनेको बिदेशबाट आयातित धर्म भन्ने छ या यसरी बुझिएको छ। जुन भ्रम हो, जसले यस्तो भ्रम छरेका छन्र त्यो अरु हैन धार्मिक अतिवादीहरुले फैलाएको कुत्सिक मानसिकताबाट प्रेरित केवल आफ्नो मात्र भलो चाहनेको प्रायोजित भ्रम हो। मलाई मेरो धर्म मान्न निरपेक्ष तगारो बन्ने छैन। यो स्पष्ट छ। निरपेक्ष त लोकतन्त्रको मुल सिद्धान्त समानता संग जोडिएको कुरा हो। जहाँ सबै धर्मलाई राज्यले समान व्यवहार गर्नेछ। शब्दको अर्थ शब्दकोषमा खोजेर जे अर्थ लगाए पनि विश्वका विभिन्न मुलुक धर्म निरपेक्ष हेरेपुग्छ निरपेक्ष भित्र थुप्रै धर्म समान तथा हर्दिकता साथ अटाएका छन्। हामी शब्दको अर्थ हैन व्यवहारिकता के हो बुझ्नुपर्छ।
प्रश्न आउन सक्छ त्यसो हो भने किन हिन्दु धर्मको मात्र विराेध हुन्छ त ? हो, अरु धर्मले आफ्नै धर्म सापेक्ष मुलुक होस् भनेर मागेका छैनन्। उनीहरुको माग हिन्दु धर्म हटाउ भन्ने हाेइन । हामी सबै धर्मावलम्बी समान र स्वतन्त्र रूपमा अटाउँ भन्ने हो। उनीहरुको माग सबै धर्मावलम्बीले राज्यको महसुस गर्न पाउँ भन्ने हो, लोकतन्त्रको मूल सिद्धान्त पनि समानता र स्वतन्त्रता नै हो। त्यसैले उनीहरु केवल निरपेक्ष मागेका हुन्। पक्कै पनि हिन्दु धर्मको सट्टामा अरु धर्मको हिजो जस्तै एकल राज्य हुन्थ्यो भनेर मुलुकको राजनैतिक अवस्था यस्तै हुन्थ्यो भने परिस्थिति पक्कै पनि आजकै जस्तो हुँदैन थियो भन्ने लाग्दैनँ। अर्थात् त्यही धर्मको चिरफार हुन्थ्यो । विश्वका अन्य देशमा पनि समय र परिस्थिति अनुसार सबै धर्म भइरहेकै छन् जुन हामीले देखे जानेकै कुरा हो। त्यसैले यसलाई अन्यथा र यहि धर्मको विरुद्ध भनेर बुझ्नु जरुरी छैन । सतही भन्दा पनि गहिराई मा पुग्नु जरुरी छ । आक्रामक भन्दा नि संयमित हुन जरुरी छ।
वास्तविकता यहि हो, हिजो कल्ली कुमारी बिकलाई मान्छेका दिशा खुवाइयो वीर बहादुरहरु चुलो छोएको निउँमा कुटिकुटि मारियो, कति महिलाहरु छाउपडिमा सर्पले डसेर मरे, कति जना जुत्ताको माला लगाएर गाउँ टोल घुमाइयो यस्ता थुप्रै घटना भए मैले यो लेख तयार गरिरहँदा पनि नवलपरासी जिल्लामा एकजना १० वर्षीय बालकलार्इ दुर्गा मन्दिरमा बलि चढाइको घटना सार्वजनिक भएको छ। आफूलार्इ हिन्दु धर्मावलम्बी भन्नेहरु धर्मकै आडमा यस्ता अमानवीय घटना हुँदा मुक दर्शक बनिरहे। देश धर्म सापेक्ष हुनुपर्छ भनेर कुर्लनेहरु मन दुखेन, मुटु बिझाएन, रमाइ रमाइ रमिते बनीरहे, रमिता हेरिरहे, मानौं ती भित्र शून्य भावना थियो त्यसैले यो गलत हो, गर्नु हुँदैन भनेनन् । धर्मको आडमा गरिएको यस्ता निच र अमानवीय कर्तुतको निन्दा गर्ने ताकत हामी संग छैन। के धर्मको खेती गरेर खान पल्केकाेसंग यसको जिम्मा लिने छ ताकत ? या यो धर्मले घटाएको दुर्घटना हाेइन भन्न सक्ने हिम्मत छ ?
अनि अहिले किन कुर्लिदै छन् हिन्दु धर्म सापेक्ष राज्य चाहिन्छ भनेर। ती जसले कोकोहोलो मच्चाइरहेछ उनीहरुलाई धर्मको चिन्ता हाेइन बरु उनीहरु आफ्नै भोलिको चिन्ता हो उनीहरुलार्इ मनको बाघले खाएको अवस्था हो। किनभने शम्भुको नाममा दान गर्नेको संख्याको कमी आउँछ कि भन्ने चिन्ता हो, अनि शम्भुकै झुट नाममा लुट मच्चाउन पाउँदिन कि भन्ने चिन्ता हो। अनि आफ्नै खुट्टा पखालेको पानीले पत्नीलाई पवित्र बनाउने साक्षत भगवान हुन पाउँदिन भन्ने चिन्ता हो। अनि आफूले जनै भिरेकै नाउँमा अरुले जदाै गर्दा नाक फुल्याउँदै उँचो बन्न पाउँदिन कि भन्ने चिन्ता हो।अनि शम्भुकै खुराकको (गाजा) खेलो गरेर कुमल्याउन पाउँदिन की भन्ने चिन्ता हो। यस्तै यस्तै थुप्रै कुराको चिन्ता हो। गल्लीका कुना बाट धर्म सापेक्षता को पक्षमा रुञ्चे स्वर निकाल्नेको चिन्ता यिनैको लागि हो। भने राज्य को उपल्लो निकायमा बसेकाको चिन्ता अलि फरक छ ती गल्लि गल्लि बाट निस्कने स्वरमा आफ्नो स्वर पनि मिसाइदिए उनीहरु पक्कै आफ्ना बन्छन् भन्ने बुझेका छन् सबैले छोडेका मेरै हुन भन्ने पनि बुझेका छन्। आफ्नै बनेन भने भोलि चुनावमा हारिन्छ भन्ने पनि बुझेका छन्। हिजोको एकात्म हिन्दुराज्य भित्र तिनको संख्या राम्रै छ भन्ने पनि बुझेका छन्। अझ दक्षिण तिरका प्रभु केदारनाथ बद्रीनाथको आशिर्वाद सजिलै लिन सकिन्छ भन्ने पनि बुझेका छन्, आशीर्वाद लिए पछि केही गर्न सकिन्छ भन्ने पनि राम्रै संग बुझेका छन् भने यता नगार्जुन आशिर्वाद दिन तयारी अवस्थामै छँदैछ । उनीहरु जित्न चहान्छन्र तर जित्नको लागि चाहिने नीति नियम समाज र जनताको उन्नति र प्रगतिशील एजेन्डाको खडेरी छ।अनि यसो भएपछि के गरून् त ? जसरी नि रुन्चे स्वरमै भएनी चिच्चाउँदै छन्। अनि धर्म युद्धको धम्की दिँदै छन् । तिनलाई साँच्चै धर्मको माया लाग्थ्यो भने धर्मकै उपदेश सत्यलाई किन मानेन ? धर्मकै उपदेश दया माया किन मानेन ? धर्मकै उपदेश शान्ति र अहिंशालाई किन मानेनन ? बरु भ्रम छरेर सोझा सिधालाइ लुटिरहे। अनि अहिले स्वयं आफैले नमानेको धर्म चाहियो भनेर कुन नैतिकताको आधारमा कुर्लदै छन् ?
धर्मले अहिलेसम्म हामीलार्इ के सिकायो ? यहाँ केही पण्डु जमातले आफ्नो स्वार्थ अनुकुल धर्मको गलत प्रयोग गर्दा धर्म जस्तो भएन। जे हुनु पर्थ्यो त्यो भएन, जे सिकाउनु पर्थ्यो तो सिकाएन। ठुलालार्इ आदार गर्नु पर्छ भन्दा बढी चाकरी गर्नुपर्छ भन्ने सिकायो, सानालार्इ माया गर्नुपर्छ भन्दा बढी सानालार्इ हेप्नु पर्छ भन्ने सिकायो । सबैलाई सम्मान गर्नु पर्छ भन्दा बढि छुत गर्न सिकायो । सत्य भन्दा झुट सिकायो। शान्ति अहिंसा भन्दा हिंसा काट्मार सिकायो। समानता भन्दा उँचो र निँचो सिकायो। हामीलाई बिश्व जगत संग शिक्षा विज्ञान र प्रविधि र उन्नति गर्न स्वस्थ प्रतिस्पर्धा गरेर अघि बढ्नु पर्छ भन्ने सिकाएन केबल \'ऊँ भुर्भ: व ....स्व\' मात्र जप्न सिकायो । फलतः पश्चिमिहरु जीउँदै स्वर्ग पुगे अब बस्ती बसाउने योजनामा छन् हामी मरेपछि पुग्छौं भन्ने दिउँसै सपना देखेर बसेका छौं उही मोक्ष र मुक्ती प्राप्त हुने आशामा मन्त्र जपेर। हो यस्तै थुप्रै कुरा सिकाएन साहस भन्दा डर सिकायो। स्वालम्बी बन्नु भन्दा अल्छी घमण्डि बन्न सिकायो। कर्म गर्न भन्दा धर्म सिकायो त्यसैले हामी बिहान बिउँझनु भन्दा पहिलै जय शम्भु दैला दैला मा आइपुग्छन् ।
अनि यिनका चेत कहिलै खुलेन। बिरोध भएको मात्रै देखे बिरोध हुनुको कारण देखेनन्। किताबका पाना भित्र धर्मको अर्थ खोजे तर मान्छेको जिवन पद्धति संग जोडिएको व्यवहार खोजेनन्, बोक्रा आफ्नो भने समाती रहे तर गुदि सबै अरुले लगे। दुबै आँखा नदेख्ने वैज्ञानिक स्टेफन हाकिन्सले यसै भित्रको गुदि समातेर खगोलिए ब्ल्याक होल पत्ता लगाए । हामी चाहिँ बोक्राको चिन्ताले मरिरहेका छौं आजसम्म। कस्तो बिडम्बना।
हामी धर्म भक्त कि अन्ध भक्त ? कुरा माथिनै आइसक्यो धर्म भनेर मान्नलाई दैवी शक्ति परमात्मा अथवा अदृश्य शक्तिमा बिश्वास हुनु पर्यो तर आजको २१औ शताब्दी विज्ञान प्रविधिको आधुनिक युगमा यो जायज होला कि नहोला ? विज्ञानले त उहिलै नै प्रष्ट पारी सकेको छ। यहाँ कुनै अदृश्य शक्ति दैवी शक्ति छैन वस्तु बिनाको शक्ति र शक्ति बिनाको वस्तु हुँदैन भनेर। जर्मनका विद्वान सामाज शास्त्री एफ डि मुलर पनि धर्मसम्बन्धी लामो गहिरो अनुसन्धान पछि कुनै इस्वरीय अदृश्य शक्तिको अस्तित्व नरहेको भन्ने निष्कर्ष निकालेका थिए यस्तै बिश्वका कयौं विद्वानहरुको गहिरो अनुसन्धानको निष्कर्षले यस्ता शक्ति छ भन्ने कुनै तथ्य भेटाएनन् भने हामी किन धर्मको पुच्छर समाउँदै छौ ? त्यो भन्दा ठूलाे मानव धर्म हैन र ?
बिश्वका अन्य मुलुकहरू हेर्दा पनि धर्म सापेक्ष भन्दा निरपेक्ष धेरै छन् अनि सापेक्षको तुलनामा निरपेक्ष हरेक कुरामा अघि छन् चाहे त्यो विज्ञान प्रबिधी होस् चाहे बिकास र उन्नति । धेरै लेखहरुमा अमेरिकाको राष्ट्रपतिले बाइबल छोएर सपथ लिनुलाइ धर्म सापेक्ष भनेर उदाहरण दिएको पाएँ । तर आधिकरिक रुपमा अमेरिका धर्म निरपेक्ष देश हो त्यहाँ सपथ लिने व्यक्तीमा भर पर्छ जसले जुन इच्छा गर्छ, कुरान गिता अरु धर्मका त्यहाँ उपलब्ध हुन्छ । हालै भारतीय मुलका एक न्यायाधीश ले गिता छोएर सपथ लिएको तथ्य सायद जानकारी भएन होला।
नासाको अभिभावक अमेरिकाले राम्रै बुझेको छ धर्म र भगवान भ्रम हो भनेर यसले मुलुकलार्इ उन्नति हैन उँधोगती हुन्छ भनेर त्यसैले उसको विद्यालय धर्म र इस्वरीय स्तुति गान प्रतिबन्ध लगाएको छ। त्यस्तै फ्रान्सको मुख्य धर्म रोमन क्यथोलिक भयता पनि फ्रान्स आधिकारिक रूपमा धर्म निरपेक्ष छ। यहाँ कुनैपनि शैक्षिक संस्थाहरूमा धार्मिक सद्भभाव झल्किने चिन्हरू लगाउन पाइँदैन। डेनमार्कमा ९० प्रतिशत भन्दा बढी क्रिश्चियन भएपनी यो देश धर्म निरपेक्ष हो यहाँ संख्याको आधारमा धर्म सापेक्ष बन्नु पर्छ भन्ने माग राखिएन। वास्तवमा धर्म समातेर कुनै मुलुकको उन्नति भएका छैनन्। बरु दुर्गति चाहिँ भएका छन् यसैको उदाहरण अफगानिस्तान पनि हो।
हामीले अब बुझ्नु पर्छ, धर्मले हामी माथी जान सक्दैनौं। हामी यसैमा अल्झिरहनु मुलुकको हाम्रो दुर्भाग्य हो। यस्ता भ्रमका पछि पर्नु युवाहरुको दुर्भाग्य हो। त्यसैले मानवता नभुलौं मानव धर्म नभुलौं, जहाँ सत्य, त्याग,बुद्धि, विवेक, चरित्र, शील, निष्ठा, सेवा, अनुशासन अनि कर्तव्यको पालन गर्दै देशलार्इ विज्ञान र प्राविधि संग जोड्दै समतामूलक समाजको निर्माण गरेर उन्नतिको खाका कोर्दै राष्ट्र राष्ट्रियता जोगाएर सभ्य भव्य र विकसित राष्ट्र बनाउने प्रण गरौं। नत्र पुच्छर समाएर बैतरणी तर्ने आशामा जीउँदै मरिरहने छौं।
प्रतिकृया लेख्नुहोस्: